+
+
ब्लग :

जीवन फाल्नु त मूर्खता मात्र हो

डा. मीरा लामिछाने डा. मीरा लामिछाने
२०८० जेठ २३ गते १८:४९

सृष्टि र यथार्थ बच्चैदेखिका घनिष्ट मित्र थिए। सृष्टि नेपालमै बैंकमा काम गर्थिन् भने यथार्थ अमेरिकाबाट डाक्टरको पढाइ सकेर भर्खर नेपाल आएको थियो। एक दशकपश्चात् दुवैजना पुरानो चिया पसलमा तातो चियाको चुस्कीसँगै भलाकुसारी गर्दैथिए—

सृष्टि: ओई यथार्थ, के छ हो खबर? तँलाई त हेर्दै अमेरिकाको हावा लागेको देखिन्छ त! अनि मलाई के कोसेली लेराइस् त, तेरो अमेरिकाबाट?

यथार्थ: ह्या के जिस्काएको तैंले पनि! बल्ल त पढाइ सकियो। अब नेपालमै काम गर्ने कि अमेरिका फर्किने केही सोच बनाइसकेको छैन। बरु तेरो भन्न के छ नयाँ–नौलो? हाम्रो देश अनि टोलको खबर के छ? विदेशमा बसेपछि उतैको मात्र थाहा हुनेरहेछ।

सृष्टि: मेरो त ठिकै छ यार, तर देशको हालत खराब छ अहिले। बेरोजगार, अशिक्षा, घुसखोरी, प्रदूषण त छँदैथियो एउटा नयाँ रोग आएको छ। तैंले नि सुनेकै त होलास् नि!

यथार्थ: के हो त्यस्तो रोग? मैले त सुन्या छैन। कोरोना त कम भइसक्यो हैन र? अनि के छ त अर्को?

सृष्टि: के हुनु नि! आत्महत्या। हरेक २-४ दिनमा आत्महत्याको समाचार आउँछ अनि एकातिर रुन मन लाग्छ भने अर्कोतिर रिस उठ्छ। समाचार पढ्दा दिक्कै लाग्ने भइसक्यो।

यथार्थ: हो र ? किन गर्दा रहेछन् त आत्महत्या? कुनै विशेष कारण? तर जस्तो बाध्यता भएनि आत्महत्या चाहिं विकल्प पक्कै हैन।

सृष्टि: एउटा कारण भए पो ? केटोले मायामा धोका दियो– आत्महत्या, व्यापारमा घाटा भयो– आत्महत्या, पटक पटक छोरी जन्मियो– आत्महत्या, जाँचमा पास भएन– आत्महत्या, प्रशस्त दाइजो नदिएर तनाव दिए– आत्महत्या, बाबुआमाले भनेको महँगो सामान दिन नसके– आत्महत्या। हैन यो हरेक समस्याको समाधान आत्महत्या नै हो त ? मान्छेको जुनी चौरासी लाख जन्मपछि पाइन्छ भन्छन् पुराणमा, यहाँ भने एउटा सानो भावनामा बगेर विनाश गरिरहेछन् अमूल्य जीवन।

यथार्थ: यो त सारै नराम्रो भयो। जबसम्म मानिस हुन्छ तबसम्म समस्या भइरहन्छ। भनिन्छ रात पछि दिन आउँछ। समस्यालाई डटेर लड्ने पो हो, यसरी कायर भएर आफ्नो जीवन फाल्नु त मूर्खता मात्र हो। भगवानले जब समस्या दिन्छन् त्योसँगै समाधान पनि पठाएका हुन्छन् रे!

अलि धैर्य भएर समाधान खोज्ने पो हो। क्षणिक भावनालाई सम्हाल्न नसकेर अन्धो रूपमा आत्महत्या गर्नु त कायरता हो भन्छु म। नेपालमा भन्दा विदेशमा झन् कत्ति दुःख छ। बिहान खाए बेलुका के खाने थाहा हुन्न धेरैको। न त आफ्नो घर छ, न परिवार, न पैतृक सम्पत्ति। आज दुःख गरे भोलि राम्रो होला भन्दै मरिमेट्ने धेरै छन्। सामाजिक सञ्जालमा नयाँ–नयाँ ठाउँ, चिल्ला गाडी, मस्ती गर्दै घुमेको देखिन्छ तर त्यति घुम्नु अगाडि गधा जस्तो खटिएर काम गरेको कसले देख्छ र? अनि यो आत्महत्या अत्यधिक बढ्नुमा कसको गल्ती छ जस्तो लाग्छ तँलाई? केही अन्दाज गरिछेस्?

सृष्टि: गल्ती कोही एकको मात्र नभएर हामी सबैको छ। अभिभावक, मित्र, शिक्षा प्रणाली, फोहोरी राजनीति, स्वास्थ्य प्रणाली, सामाजिक सञ्जाल। तर सबैभन्दा ठूलो गल्ती चाहिं आत्महत्या गर्ने व्यक्ति स्वयंको हो भन्छु म।

यथार्थ: आत्महत्या गर्ने विचराको के गल्ती? विचरा मानसिक समस्या भएर पीडाको चरम सीमामा पुगेरै त होला यति ठूलो निर्णय लिएको। नत्र वर्षौंदेखि बुनेका सपनालाई चट्टै चुँडेर फाल्न के मन मान्थ्यो? मरेर जानेलाई नि के दोषी भन्नु?

सृष्टि: किन नभन्ने? २-४ वर्ष मायामा सँगै डुल्दैमा जीवन र परिवार भन्दा ठूलो त्यो प्रेमी कसरी हुन्छ? एउटा जाँचमा पास नहुँदैमा त्योभन्दा अगाडि पास भएका र अझै दिन बाँकी जाँच कसरी बिर्सिन्छ? व्यापारमा कैले घाटा कहिले नाफा त भइहाल्छ नि! छिटै विना कुनै परिपक्व योजनाले आफ्नो बौद्धिक क्षमता र आर्थिक अवस्था भन्दा निकै माथिको लगानी किन गरेको?  छोरा र छोरी भनेको बराबर हो भन्ने किन नबुझेको?

बाबुआमाले भनेको पुर्‍याउन नसक्नुको ठोस कारण किन नबुझेको? आवेशमा आएर आफ्नो बहुमूल्य जीवन किन नष्ट गरेको? आफूलाई जिउँदै जलाउनु अगाडि, सानोमा आगोको झिल्काले पोल्दा रुने आमाको याद किन नआएको? नौ महिना कोखमा राखेर, दूध खुवाई, आजीवन उनीहरूकै खुसीलाई आफ्नो जीवन सुम्पने आमाको मायाको मूल्य यही हो? आफ्नो हरेक चाहना मारेर सन्तानलाई महँगा विद्यालयमा पढाउने, राम्रो र मीठो खाना दिने बाबाको मेहनतको फल यही हो? यही दिन देख्न हो बाबाआमाले सन्तान जन्माउने? एकदिन तिमीलाई ज्वरो आउँदा रातभर जागा हुने मान्छे तिम्रो जलेको अनि झुण्डिएको लास हेरेर कसरी बच्न सक्लान्, सोच त? कति स्वार्थी भएको तिमी? मर्नुअघि एक पटक सम्झेको भए यत्रो गलत निर्णय किन हुन्थ्यो?

यथार्थ: मर्नेको त गल्ती हो मैले बुझें अनि अभिभावकको चाहिं के गल्ती?

सृष्टि: किन छैन अभिभावकको गल्ती? सधैं पढेर धेरै अंक ल्याउनुपर्दछ भनेर दबाब दिने। भोज भतेर जता गए पनि फलानाको बच्चा जस्तो भए पो भनेर सधैं तुलना गर्दै होच्याउनेl सबैको दिमाग बराबर हुँदैन। कोही पढ्नमा चलाख हुन्छन् त कोही संगीत, नृत्य, कला, खेलकुदमा। आफ्नो बच्चाको क्षमता अनुसार मद्दत पो गर्ने हो। जबर्जस्ती आफ्नो अपुरो सपना र रवाफ बच्चामा लाद्ने त हैन नि!

अनि ऋण–धन गरेर आफ्नो आर्थिक क्षमता भन्दा माथिको विद्यालयमा पढाउने अनि साथी सरहको खर्च गर्न खोज्दा हप्काउने? बच्चाको पहिलो पाठशाला घर हो अनि गुरु अभिभावक। आफ्नो बच्चा कस्तोको संगतमा छ? क्रियाकलाप कस्तो छ? बच्चाको साथी बनेर आफ्नो मनको सुख, पीडा अनि जिज्ञासा खुलेर भन्न सक्ने माहोल आफूले बनाउनुपर्‍यो नि! जहिले यत्रो खर्च गरेर पढाइयो यस्तो पारा भनेर गाली मात्र गरेर कहाँ हुन्छ!

आजकल त एउटा सन्तान पायो, सब लागानी त्यसैमा लगायो, ठूलो सपना बुन्यो, सन्तानका हरेक इच्छा पुर्‍यायो । यसो जिन्दगीमा परिआउने समस्यासँग जुध्ने, आफूलाई साथीझैं हरेक समस्या भन्ने, एउटा परीक्षा बिग्रिंदैमा जिन्दगी डुब्दैन भनेर बुझाउने, जीवनयात्रामा अनेकौं मनपराउने भेटिन सकिन्छ तर आफू र परिवार भन्दा ठूलो केही होइन भनेर सम्झाउन पनि त सक्नुपर्‍यो। बच्चामा कुनै मानसिक तनावको लक्षण देखिएमा बेलैमा चिकित्सकको परामर्श लिनुपर्‍यो।

यथार्थ: तिमीले भनेको कुरा सोह्रैआना सही हो। तर अघि त अरु धेरैको नि गल्ती भन्दै थियौ त? त्यो पनि बुझाऊ न मलाई।

सृष्टि: आत्महत्यामा मित्रको पनि ठूलो हात छ। आफ्नो साथीसँग उसको मनमा लागेको सबै समस्या खुलेर भन्न सक्ने वातावरण बनाउनुपर्‍यो। जीवनमा कुनै गलत काममा लागेको, गलत मानिससँग सम्बन्ध गाँसेको, या मानसिक रोगको कुनै लक्षण देखिएमा, आफूले बेलैमा सम्झाउने, उसको परिवारलाई त्यसको जानकारी दिने वा परिवारसँगै नभए शिक्षकलाई भनेर उसको समस्याको समाधानतिर लाग्ने। घरबाट टाढा बस्दा सबैभन्दा प्रिय साथी नै हुन्छ।

हाम्रो देशमा अझसम्म पनि त्यही पुरानै शिक्षा प्रणाली छ। कति विधाहरू जस्तै चिकित्सा शिक्षा निकै गाह्रो हुने, किताब रट्ने भन्दा पनि व्यावहारिक शिक्षा दिने, मानसिक तनाव कम गराउन ध्यान, व्यायाम, बेला–बेलामा सिकाउने गर्नुपर्‍यो नि! भनेको जस्तो अंक ल्याउन नसक्दा गाली गर्ने, मानसिक दुर्व्यवहार गरेर कहाँ हुन्छ? अभिभावकले जस्तै, शिक्षकले पनि त्यसको कारण पत्ता लगाएर समाधान गर्नुपर्‍यो। सरकारले पनि पढेलेखेका जनतालाई उसको शैक्षिक योग्यता अनुरूपको रोजगारी दिनुपर्‍यो। कम पढेका तर राम्रो सीप भएकालाई कम ब्याजमा ऋण दिएर व्यवसाय सञ्चालन गर्न मद्दत गर्नुपर्‍यो।

स्वास्थ्य संस्थामा पनि सहज तरिकाले मनरोगका बिरामीलाई समयमै सही सुझाव र उपचार दिनुपर्‍यो। देशको चौथो अंग- सूचना अनि सञ्चारमाध्यमले पनि यस्ता मानसिक समस्याका बारेमा पटक पटक जनचेतना फैलाउनुपर्‍यो। अनि मात्र यस्ता आत्महत्याका घटनाहरू कम सुनिनेछन्।

यथार्थ: निकै ठूलो कुरा गर्ने भइछेस् है सृष्टि तँ। मैले सोचेको थिएन तँमा यस्तो परिपक्वता आउँछ भनेर। जेहोस् तेरो विश्लेषण सुनेर मन खुसी भयो। अब अर्को कप चिया खाउँ है! अँधेरो हुनलागेछ, तेरो घरबाट फोन आउने बेला भइसक्यो।

सृष्टि: समय र परिस्थितिले आफैं परिपक्व बनाउने रहेछ। आमा भएपछि बल्ल थाहा भयो सन्तान हुर्काउन कति गाह्रो रहेछ। यस्तो भर्खरका युवाको आत्महत्या सुन्दा कहिलेकाहीं आफ्नो बच्चालाई त्यो ठाउँमा कल्पना गर्छु अनि जीउ नै सिरिङ्ग हुन्छ।

मैले बेलाबेलामा आफ्नो छरछिमेकमा हुनेलाई यस्तै परामर्श दिने गरेको छु, मन पर्नेलाई ठिकै छ, नपर्नेले ठूलो गफ लाउँछे भन्लान्। तर मेरो कुनै विचारले कसैको जिन्दगीमा परिवर्तन आउँछ भने म त्यो लालचमा सहजै सहिदिन्छु। यसमा छुट्टै आनन्द आउँछ। एउटा कुरा भन्छु मान्छस्? तँ पनि यतै बस्न यार!

यथार्थ: किन र? म बसेर के नै फरक पर्ने हो र?

सृष्टि: त जस्तो पढेलेखेका सबै विदेश जान्छन् अनि देशको विकास भएन भन्छन्। चिल्लो गाडी, टन्न पैसा मात्र जिन्दगी हो र? तेरो पेशामा खान–लाउन त मजाले पुग्छ नेपालमा पनि। यतै बसेर परिवार र समाजको लागि केही गर्न हुँदैन? तँ त झन् डाक्टर मान्छे, जता बसे पनि मानिसको जिन्दगी बचाउने हो। आफ्नै दाजुभाइको ज्यान बचाए हुँदैन?

हामी मिलेर युवाको समस्या, मानसिक तनाव र त्यसको समाधानमा कुनै काम गरौंला। अरूलाई मद्दत गर्दा कस्तो खुसी हुन्छ त्यो मलाई भन्दा डाक्टर साहेबलाई अझै बढी थाहा होला। एक पटक विचार गर ल।

यथार्थ: कुरा त ठिकै हो, अहिले यसै भन्न त सक्दिनँ। अँध्यारो पनि भयो, बाँकी कुरो अर्को भेटमा। अनि तेरो कुरा सुनेर एउटा कुरा बुझें। आजको वार्ताको सार ‘समस्या अनेक उपाय एक: आत्महत्या’ जुन आज भोलिको जल्दोबल्दो समस्या रहेछ।

यति भन्दै अर्को भेट गर्ने बाचा सँगै दुवै जना आ–आफ्नो घर लाग्छन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?