+
+

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानको तयारी, ड्रागन बोट फेस्टिभल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १९:२७

२५ जेठ, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानको तयारी गरिएको छ । पोखरामा आयोजना हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’का लागि चीनबाट चार्टर्ड उडानबाट जहाज ल्याउन प्रयास भइरहेको आयोजकले जनाएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजना एवम् होटल एसोसिएसन नेपाल (हान) र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) सँगको सहकार्यमा ८–९ असारमा यस्तो फेस्टिभल हुँदैछ । फेस्टिभलमा सहभागी हुनेहरुलाई चार्टर्ड उडानबाट पोखरामा लैजाने प्रयास भइरहेको नेपाल पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीले जानकारी दिए ।

फेस्टिभलको तयारीका सम्बन्धमा जानकारी दिन नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ दूतावास, काठमाडौंका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले नेपाल र चीन बीच लामो समयदेखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बनध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्ने बताए ।

डीसीएम वाङ जिनले यस्तो बोट फेस्टिभल ५० भन्दा बढी देश तथा क्षेत्रहरुमा आयोजना हुँदै आइरहेको जानकारी दिँदै नेपालमा आयोजना गरिएको यो कार्यक्रम दक्षिण एसियामै पहिलो भएको बताए । उनले यो फेस्टिवल एसियन गेममा समेत सहभागी गराइने खेल रहेको जानकारी दिए ।

बोर्डका कार्यकारी प्रमुख रेग्मीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपालकै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए । उनले यो कार्यक्रम एक पटकका लागि मात्र नभई हरेक वर्ष निरन्तरता दिने गरी अगाडि बढाउने सोच रहेको समेत जानकारी दिए ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न भएको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पनि यस कार्यक्रमले सघाउ पुग्ने अपेक्षा गरिएको बताए । कार्यक्रमका अवसरमा फेस्टिभलको लोगो तथा प्रवर्द्धनात्मक भिडियो समेत अनावरण गरियो ।

नेपालमा चीनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमका सम्बन्धमा गत २१ वैशाखमा नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारी तथा पोखरा महानगरपालिका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?