
२६ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पास हुन नदिने बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेट अन्यायपूर्ण रहेको भन्दै उनले यथास्थितिमा संसदबाट पास हुन नदिने बताएका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले बजेट पास नगर्दा सरकार छाड्नु परे पनि छाड्न तयार रहेको उनले बताए ।
‘यही अवस्थामा, यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ,’ उनले भने, ‘…अब कुनैपनि ठाउँमा हामी विभेद, अन्यायको बिरुद्धमा लड्नेछौँ । सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन ।’
उनले माओवादी अध्यक्ष प्रचण्ड, कांग्रे सभापति शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा बढी बजेट छुट्याइएको भन्दै विरोध जनाए ।
‘भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा ५ अर्ब भएको काम सञ्चालन गर्दा ५ अर्ब बाँकी रह्यो । अब त्यो ५ अर्बमा ११० करोड डडेलधुरामा, ५५ करोड गोरखामा ७०/७५ करोड नुवाकोटमा यो सबै जोड्दा २३२ करोड ५ अर्बमध्ये ३ वटा जिल्लामा बाँकी २६८ करोड ७४ जिल्लामा । यसरी बजेट विनियोजन भएको छ,’ उनले भने ।
‘आजको स्थितिमा यस्तो अन्यायपूर्ण गतिविधि हुन सक्दैन । १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन । आजको जनता २०४८ सालको जनता होइन ।’
(यसअघि यो समाचारमा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेको सट्टा अध्यक्ष माधव नेपालको नाम उल्लेख भएकाले समाचार प्रतिस्थापन गरिएको छ । सं.)
प्रतिक्रिया 4