+
+

आजियाटा र एनसेलले भने-आईसीएसआईडीको निर्णयलाई सम्मान गर्छौं, सरकारलाई तिर्न बाँकी छैन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १२:५२

२९ जेठ , काठमाडौं । एनसेल तथा आजियाटा इन्भेस्टमेन्टस् (यूके) लिमिटेडले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) मध्यस्थता सम्बन्धमा गरेको कारबाहीको जानकारी प्राप्त गरेको जानकारी मातृ कम्पनी आजियाटा गु्रप बरहादले दिएको छ । दुई कम्पनीले आफूहरूले सन् २०१६ मा एनसेलको ८० प्रतिशत शेयर अप्रत्यक्ष रूपमा अधिग्रहण (कारोबार) गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन सन् २०१९ मा आईसीएसआईडीमा निवेदन दिएका थिए । आईसीएसआईडीले दिएका निर्णयको सम्मान गर्ने पनि आजियाटाले जनाएको छ । ‘यो निर्णयअनुसार अब आजियाटा यूके र एनसेलले कुनै रकम तिर्न बाँकी रहेको छैन,’ एनसेलले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आजियाटा युकेले एनसेलको ८० प्रतिशत शेयर अप्रत्यक्ष रूपमा खरिद गर्दा नेपाल सरकारले पुँजीगत लाभकर लिने विषय ग्रेट ब्रिटेन तथा उत्तरी आयरल्याण्ड र नेपाल सरकारबीच फागुन १९, २०४९ मा भएको द्विपक्षीय लगानी प्रवद्र्घन र संरक्षण सम्झौताको विरुद्धमा भएको दाबी गर्दै सन् २०१९ मा आईसीएसआईडीमा निवेदन दिएका थिए । ‘आईसीएसआईडी कम्भेन्सनको धारा ३७(२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले जेठ २६, २०८० मा आजियाटा यूके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निर्णय दिएको हो । न्यायाधिकरणले आफ्नो निर्णयमा अब नेपालले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको छ,’ एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधीकरणको आदेशको पालना नगरेको कारणले गर्दा आजियाटा युके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि आईसीएसआईडीले नेपाललाई आदेश दिएको दाबी पनि विज्ञप्तिमा गरिएको छ । ‘यस्तो रकममा आजियाटालाई र एनसेलले लिएको ऋण फिर्ता गर्ने समेत गररी करिब १४ लाख अमेरिकी डलर रहेको छ,’ आजियाटाले भनेको छ ।

आजियाटाले न्यायाधीकरणको निर्णयलाई सम्मान गर्ने र निर्णयका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको पनि जनाएको छ । यस विषयमा अद्यावधिक जानकारीहरूपछि घोषणा गरिने पनि उसले उल्लेख गरेको छ । आजियाटा नेपाल सरकारसँग सदाझैँ रचनात्मक रूपमा संलग्न रहने पनि विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८/७९ सम्ममा कर तथा विविध शुल्कहरूबापत २ खर्ब ८३ अर्ब योगदान गरिसकेको दाबी एनसेलले गरेको छ । ‘एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरी २५ हजार भन्दा बढीलाई रोजगारी प्रदान गरेको छ र १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत जोडेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

एनसेलले स्थापनादेखि गत सालसम्म व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत शिक्षा, स्वास्थ्य, र वातावरणका विभिन्न आयोजनाहरूमा १ अर्ब ७५ करोड भन्दा बढि लगानी गरेको जानकारी पनि उसले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?