+
+

शेखरको रणनीतिक ‘मूभ’

देउवा समूहमा रहेकाहरुको विश्वास जित्नु र महामन्त्रीहरुको महत्वाकांक्षालाई सन्तुलनमा राख्न सक्नु शेखरको प्रमुख चुनौती।

लिलु डुम्रे लिलु डुम्रे
२०८० जेठ २९ गते २०:५३

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैली माथि कडा आलोचक रहँदै आएका नेता शेखर कोइराला पछिल्लो समय उनीप्रति नरम देखिन थालेका छन्। सभापति देउवाले ‘विधान र पद्धति’ अनुसार कार्यसम्पादन नगरेको मुद्दा चर्को रुपमा उठाउने शेखर अहिले पुरानै शैलीमा उनीप्रति आक्रामक छैनन्।

शेखरले आफनो पुरानो शैली अहिले किन परिवर्तन गरे होलान् ? कांग्रेसका नेता तथा कार्यकर्तामा व्यापक चासो छ। शेखरको राजनीतिलाई नजिकबाट बुझेकाहरु यसलाई उनको रणनीतिक कदमको रुपमा अर्थ्याउँछन्।

पार्टीभित्र आफ्नो ४० प्रतिशत शक्तिबाट उनले माथि उठ्ने प्रयास गरेको रुपमा पनि यसको व्याख्या भइरहेको छ। सभापति देउवासँग गएको महाधिवेशनमा अन्तिम प्रतिस्पर्धामा शेखरले ४० प्रतिशत हाराहारी मत प्राप्त गरेका थिए।

कोइराला परिवारको राजनीतिबारे जानकार विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘४० प्रतिशतलाई बोकेर हिंडिराखेर पार्टीभित्र सबैको नेता हुन सकिन्न। सबैले स्वीकार्ने मियोको भूमिकामा देखिने प्रयत्न हुनसक्छ।’

हुन पनि देउवासँग निकट सम्बन्ध कायम राखेर अघि बढ्ने मनस्थितिमा शेखर पुगेको पछिल्ला केही घटनाक्रमले देखाउँछन्। पछिल्ला दिनमा देउवा-शेखर एउटै मञ्चमा देखिन थालेका छन्।

कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को चितवनमा शुक्रबार सुरु भएको कार्यक्रममा उनीहरु सँगसँगै आउजाउ गरे।

देउवा–शेखरको निकटता बढ्दै जानुमा दुई विषय कारक हुनसक्ने नेताहरुको विश्लेषण छ। कार्यकर्तामा बढेको नैराश्यता कम गर्न र पहिलो उमेर समूह एकत्रित रहेको देखाउने प्रयास हुनसक्ने विश्लेषण एक केन्द्रीय सदस्य गर्छन्।

‘पार्टी अप्ठ्यारो र संकटमा छ । कार्यकर्ताको आत्मबल बढाउन र पार्टीभित्र एकता देखाउन हुनसक्छ’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘पुस्तान्तरणको लडाईं दोस्रो कारण हो। पाको उमेर समूहका एक ठाउँमा रहनुपर्ने भावना पनि विकसित भयो होला।’

निर्वाचनपछि पहिलो दल बने पनि कांग्रेसमा उत्साह नभएको नेता कार्यकर्ता स्वीकार्छन्। भ्रातृ संस्थाहरु सक्रिय र क्रियाशील हुनसकेका छैनन्। जसका कारणले पार्टीमा शिथिलता आएको छ। दुई शीर्ष नेता उर्जा पैदा गर्ने उद्देश्यले कार्यकर्तामाझ पुगेको आकलन पार्टीभित्र गरिएको छ।

नेताहरुका अनुसार त्यसबाहेक दुई शीर्ष नेताको निकटता बढ्नुमा तेस्रो उमेर समूहको गठजोड हुने संशयले पनि काम गरेको हुनसक्छ। महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल एकढिक्का हुने आशंका पहिलो उमेर समूहका नेताहरुमा छ।

शेखर-गगन बीचको सम्बन्ध नजिक न टाढाको अवस्थामा रहेको संस्थापनइतरका नेताहरुको बुझाइ छ। उनीहरु एकले अर्कालाई पूर्ण विश्वास गर्न सकिरहेका छैनन्। उनीहरुको बुझाइमा, दुई नेता बीचको सम्बन्ध प्रगाढ नहुनुमा १५औं महाधिवेशनको डर अहिले पनि देखिनु नै हो।

‘शेखर दाइको मनमा गगनको समर्थनमा सभापतिको उम्मेदवार बन्न सक्दिनँ भन्ने छ’ संस्थापनइतरका एक नेता भन्छन्, ‘पुरानो पुस्ताबाट कांग्रेस रुपान्तरण हुनै नसक्ने निष्कर्षमा गगनजी हुनुहुन्छ। उहाँ सभापतिमा लड्ने नै देखिनुहुन्छ।’

यसका लागि आफ्नो समूहलाई बचाउनुपर्ने चुनौती शेखरलाई छ । कांग्रेसका एकथरी कार्यकर्ताका भनाइमा, आफ्नो समूहलाई एकढिक्का राखेर संस्थापन पक्षका नेताहरुको विश्वास जित्ने शेखरको ‘रणनीतिक मूभ’ हो।

पार्टीमा सुधारका लागि परम्परागत गुट भत्काउनुपर्ने निष्कर्षमा रहेका शेखरले अर्को पक्षका नेताहरुलाई साथ लिने प्रयत्न गरेका हुन्। गुट राजनीतिले पार्टी समाप्त हुने उनको निचोड छ।

यसको स्पष्ट संकेत उनले शनिबार भक्तपुरकाे एउटा कार्यक्रममा पनि व्यक्त गरे। ‘गुट उपगुट छैन त भन्न म सक्दिनँ । गुट उपगुट गरेर अब पनि बढ्न थाल्यौं भने हामी समाप्त हुन्छौं’, शेखरले भने।

विचारणीय पक्ष के छ भने कांग्रेसको महाधिवेशनमा पुरानै गुटलाई आधार बनाएर त्यस अनुरुपको चुनावी समीकरण बन्ने गरेको छैन। त्यसैले सभापति देउवालाई चिढ्याएर भन्दा पनि सहकार्य गरेर आगामी महाधिवेशनमा लाभ लिने पक्षमा शेखर देखिन्छन्। उनीहरु दुईबीच केन्द्रदेखि प्रदेशसम्म मन्त्री भागबण्डामा कुनै गुनासो रहेको देखिएको छैन।

केन्द्रमा उपसभापति धनराज गुरुङ र मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई मन्त्री बनाएका शेखरले प्रदेशमा पनि भाग पाएका छन्। बागमतीमा उत्तम जोशी, गण्डकीमा महेन्द्रध्वज जिसी, कर्णालीमा कृष्णकुमार बीसी लगायत शेखर पक्षबाट मन्त्री बनेका छन्।

विधानत: देउवा पुनः सभापति हुन मिल्दैन। संस्थापन समूहमा देउवाको उत्तराधिकारी को हुने भन्ने पनि स्पष्ट भइसकेको छैन। पूर्व उपसभापति विमलेन्द्र निधिलाई धेरैले देउवाको उत्तराधिकारीका रुपमा हेरेका थिए। उनी १४औं महाधिवेशनमा सभापतिमा देउवासँग प्रतिस्पर्धा गरेसँगै अब उनी उत्तराधिकारी हुने लाइनमा छैनन्।

कांग्रेस नेताहरुका अनुसार आफ्नो समूहबाट नै देउवाले शेखरलाई सभापतिको उम्मेदवार बनाउन पनि सक्छन्। शेखर समेत सहभागी कार्यक्रममा शुक्रबार चितवनमा बोल्ने क्रममा देउवाले तेस्रोपटक सभापतिमा उठ्न नपाउने भएकाले डर नराख्न नेताहरुलाई सुझाव दिएका थिए।

पार्टीभित्र नकारात्मक प्रवृत्ति बढेर गएको छ

‘अधिवेशनमा प्रथम र द्वितीय भएको व्यक्ति एउटै मञ्चमा उभिंदा सकारात्मक सन्देश जान्छ नि’ संस्थापन पक्षका केन्द्रीय सदस्य गुरु बराल भन्छन्। आउट गोइङ सभापतिसँग सम्बन्ध बिगार्न उचित नहुने सोचेर शेखरले निकटता बढाएको हुनसक्ने बराल आकलन गर्छन्।

तर, कतिपय नेताका भनाइमा, यसमा देउवाकाे चलाखीले पनि काम गरेको हुनसक्छ। किनकि आवश्यकता अनुसार नेताहरुलाई प्रयोग गर्ने र आफ्नो उद्देश्य प्राप्त गरेपछि बेवास्ता गर्ने देउवा शैली यसअघि पनि देखिएको थियो ।  उपसभापतिद्वय विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्व महामन्त्री डा. शशांक कोइराला लगायतलाई आफ्नो स्वार्थमा देउवाले प्रयोग गरेर समयक्रममा बेवास्ता गरेको स्पष्ट छ।

कतिपयलाई चाहिं देउवाले ‘भोलिको सभापति तपाईं नै हो’ भनेर शेखरलाई आश्वासन दिएको पनि हुनसक्छ । देउवाको त्यही आश्वासनमा ‘मक्ख परेर’ शेखर त्यता लत्रिन थालेको उनीहरुको बुझाइ छ। त्यसैले यसअघि देउवाले किनारा लगाएकाहरुकै नियत शेखरले पनि भोग्नुपर्ने संशय उनीहरु व्यक्त गर्छन्।

तर अर्कोथरी कांग्रेस कार्यकर्ताहरु यसमा विश्वस्त छैनन् । ‘शेखरले १८०० प्लस मत ल्याएका हुन् । उनले एउटा समूहको नेता बनेर देउवालाई टक्कर दिइसके’ शेखर निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘अरुले उनी बराबरको हैसियत बनाउन सकेका थिएनन् । त्यसैले अरु जस्तै आश्वासनमा परेर उनले आफ्नो राजनीतिक जीवन समाप्त गर्दैनन् ।’ हुन पनि गएको महाधिवेशनमा देउवाले २ हजार ७३३ मत पाएर दोस्रो चरणमा निर्वाचित हुँदा शेखरले १ हजार ८५५ मत पाएका थिए ।

सभापति र नेता शेखर बीच मुद्दागत विषयमा सँगै हिंड्नुलाई अस्वाभाविक ठान्नु नहुने केन्द्रीय सदस्य उमेशजंग रायमाझी बताउँछन् । ‘१५औं महाधिवेशनलाई लिएर सुषुप्त चाहना केही होला । सबैले तयारी गरिहाल्छन्’ संस्थापन पक्षका केन्द्रीय सदस्य रायमाझी भन्छन्, ‘लोकतान्त्रिक पार्टीमा आलोचना र सहकार्य स्वाभाविक हो ।’

१४औं महाधिवेशनमा कोइराला परिवारका अन्य नेताको साथ नहुँदा पनि शेखरले दोस्रो चरणमा मत बढाएका थिए । ‘शशांक र सुजाताले साथ नदिए पनि शेखर नेता भइसकेका छन् । त्यो उनको सफलता हो’, आचार्य भन्छन् ।

देउवा समूहमा रहेकाहरुको विश्वास जित्नु र महामन्त्रीहरुको महात्वाकांक्षालाई सन्तुलनमा राख्नसक्नु शेखरको चुनौती रहेको आचार्य बताउँछन् । ‘उहाँलाई विश्वास गरेर साथ दिनेहरुको राजनीतिक जीवन सुरक्षित रहेको महसुस गराउन सक्नुपर्यो’, आचार्य भन्छन् ।

प्रतिनिधि तथा प्रदेशको प्रत्यक्षतर्फको उम्मेदवारको टिकट वितरणसँगै देउवा–शेखर नजिकिएको बुझाइ पार्टीभित्र छ । टिकट वितरण सकिएर मोरङमा चुनावी सभामा पुगेका उनले सभापति देउवासँग कटुता सकिएको बताएका थिए । त्यसयता, शेखर–देउवा बीच सार्वजनिक रुपमा आरोप–प्रत्यारोपको स्वर सुनिएको छैन ।

सभापतिमा निकटतम प्रतिस्पर्धीलाई वरिष्ठ नेताको उपाधि दिने कांग्रेसमा प्रचलन छ । तथापि, विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन । वरिष्ठ नेताका रुपमा मान्यता नदिइएको भनेर शेखरले गुनासो पनि गरेका छैनन् । पार्टीमा वर्तमान र पूर्व पदाधिकारी पछिको पहिलो नम्बरमा रहने गरी २६औं वरीयता उनले पाएका छन् । केन्द्रीय कार्यालयमा उनको कार्यकक्ष बनेको छ ।

देउवा–शेखर सम्बन्ध सुधारिंदा संस्थापन पक्षकै कतिपय नेताहरुले खुसी व्यक्त गरेका छन् । शेखरलाई संस्थापन पक्षबाट अघि सारेको अवस्थामा परम्परागत गुट सकिने देउवा पक्षका एक नेताको भनाइ छ ।

‘१५औं महाधिवेशनमा शेखरसँग लड्ने अर्को उम्मेदवार पाउन मुस्किल पर्छ’ ती नेता भन्छन्, ‘कोही उम्मेदवार बने गिरिजाबाबुसँग चिरञ्जीवी वाग्ले लडे जस्तो हुन्छ ।’

२०५३ सालमा भएको नवौं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाले सभापतिमा ८१ प्रतिशत मत प्राप्त गरेका थिए । कोइरालासँग चिरञ्जीवी वाग्ले र रामहरि जोशीले प्रतिस्पर्धा गरेका थिए । कोइराला ११४४ मत सहित निर्वाचित हुँदा वाग्लेले २५४ र जोशीले १२ मत पाएका थिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?