+
+

काकाकुल कोइलाबासमा दमकलको पानी

विनोद घिमिरे विनोद घिमिरे
२०८० जेठ ३० गते १०:२५

३० जेठ, काठमाडौं । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई बिहानै ६ बजे कोइलाबास पुग्नु छ पानी लिएर । त्यसैले उनी धैरेनीको घरबाट ५ बज्दानबज्दै पालिका कार्यालय गढवा हानिन्छन् । दमकल पानी भरेर कार्यालय परिसरमा तम्तयार छ । अध्यक्ष आउनासाथ दमकल अघि लाग्छ, अध्यक्ष पछि-पछि ।

उता कोइलाबासवासी पानी भर्ने रित्ता भाँडा लिएर दमकल पर्खिरहेका छन् । बाल्टी, गाग्री, बट्टा, जार, बोत्तल सबै जम्मा गरेका छन् उनीहरु । हेर्दा यस्तो लाग्छ, पानी भर्न मिल्ने कुनै भाँडा बाँकी छाडेका छैनन् उनीहरुले । पानीको सवाल जो छ ।

पालिकाको केन्द्र गढवाबाट करिब २८ किलोमिटर यात्रा तय गर्दै चुरे पहाड कटेर भारतसँग सीमा जोडिएको कोइलाबास बजार पुग्छ दमकल । दमकलका कर्मचारी पाइपको सहायताले स्थानीयका सबै रित्ता भाँडा भरिदिन्छन् अनि फर्किन्छन् गढवा । त्यसपछि पुनः दमकल पानी भरेर दिनभर कार्यालय परिसरमै थन्किन्छ । दमकलमा अट्ने ४५ सय लिटर पानी बाँड्दै फर्किंदै गर्ने दैनिकी अहिले चलिरहेको छ ।

कसैले पानी पाउने, कसैले नपाउने नहोस् भनेर रेखदेख गर्न गाउँपालिका अध्यक्ष पोख्रेल आफैं गढवा-कोइलाबास आउ-जाउ गरिरहन्छन् । आफूले नभ्याउँदा वडाअध्यक्षहरुलाई पठाउँछन् । पोख्रेल भन्छन्, ‘सबै स्रोत सुकेपछि कोइलाबासमा पानीको साह्रै दुःख छ । त्यसैले चार दिनयता बिहान ६ बजे दमकलबाट पानी बाँड्न कोइलाबास पुग्छु । त्यहाँबाट फर्किएपछि मात्र अरु काममा लाग्छु ।’

सुक्खायाममा आगलागीको जोखिम हुने हुँदा दमकल तम्तयार राख्नुपर्नेमा पानी बाँड्न पठाउनु बाध्यता भएको उनी सुनाउँछन् ।

पानीको मुद्दा वर्षौंदेखिको

लेखक निमबहादुर थापाका अनुसार कोइलाबास नाका दुई सय वर्ष पुरानो हो । भारतको तुलसीपुरसँग जोडिएको दाङको कोइलाबास विगतमा दाङ र त्यस आसपासका जिल्लाका लागि मुख्य व्यापारिक नाका थियो । रोल्पा, रुकुम, सल्यान, प्युठानतिरका मानिसहरु नुनदेखि सुनसम्म किन्न कोइलाबास बजार झर्थे । एक-दुई महिनासम्म पुग्ने नुन-तेल किनेर फर्किन्थे ।

गढवा गाउँपालिकाका बेदराज शर्मा सम्झिन्छन्, ‘कोइलाबासमा किनमेल गर्न आउजाउ गर्नेहरुको निकै चहलपहल थियो । घोडा, राँगामा बोकाएर सामान ओसार्नेहरुको लस्कर लाग्थ्यो । कतिपयले आफैं पनि सामान बोक्थे । कोइलाबास नाकाको चहलपहल देखेर दाङको देउखुरीमा बसाइँ सरेर आउनेहरु पनि बढे ।’

तर पूर्वपश्चिम महेन्द्र राजमार्ग राप्ती नदीभन्दा उत्तरतिरबाट बनेपछि कोइलाबास नाकाको चहलपहल घट्दै गयो । मानिसहरु राजमार्ग नजिक केन्द्रित हुन थाले । राजमार्गमा गाडीहरु गुड्न थालेपछि कपिलवस्तुको कृष्णनगर र बाँकेको नेपालगञ्ज नाकामा चहलपहल बढ्यो । दाङको कोइलाबास नाका सुक्दै गयो । कोइलाबास विकासमा पछि पर्यो । थुप्रै भौतिक संरचनाहरु खण्डहरमा परिणत भए ।

सुविधाजनक ठाउँ खोज्ने क्रममा नाकावासीले पनि आफ्नो थातथलो छाड्न थाले । वडा अध्यक्ष अब्दुल खालिक सिद्धिकीका अनुसार हाल कोइलाबास क्षेत्रमा २०८ घरधुरी र १ हजार १२ जनसंख्या छ ।

लमही-गढवा हुँदै कोइलाबास पुग्ने सडक २०७७ साल असोजमा मात्र पिच भयो । बाटो पिच भएर आउ-जाउ गर्न सहज भएपछि अब फेरि कोइलाबासमा चहलपहल फर्काउने प्रयास भइरहेको छ । तर उही पानीकै समस्याले कालाकुल छन् कोइलाबासवासी ।

पानीसँग बिजुली साटासाट

वडाअध्यक्ष सिद्धिकीका अनुसार २०३६ सालमा खानेपानी डिभिजन कार्यालय घोराहीले सिसौरा खोलाबाट पानी ल्याएर कोइलाबासवासीलाई खुवाउँथ्यो । पछि त्यहाँको वस्ती पातलो हुँदै गएपछि उसले हात झिक्यो ।

त्यसपछि मानिसहरु पानीका लागि भारतको शरण परे । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बिजुली बाल्न दिने सर्तमा पानी दिन तयार भयो । नेपालीले बिजुली प्रयोग गर्न दिए, उसले पानी । हरेक दिन आफ्नो क्याम्पबाट पानीको पाइप जोडिदिएर नेपालीहरुलाई दियो एसएसबीले ।

कोरोना महामारी सुरु भएपछि त्यो पानी दिन बन्द गर्यो एसएसबीले । वडाअध्यक्ष सिद्धिकी भन्छन्, ‘हामीलाई नै पानी अभाव छ भन्दै एसएसबीले कोरोनाकालको बेलादेखि पानी दिन छाड्यो, हामीबाट बिजुली चाहिँ प्रयोग गरिरहेको छ ।’

त्यसपछि कोइलाबासवासी झन् विचल्लीमा परे । लगत्तै स्थानीय जनप्रतिनिधिको पहलमा २०७७ सालमा डिप बोरिङको योजना पर्यो । एक लाख लिटरको ट्यांकी निर्माण गरियो र घर-घरमा धारा र मिटर जोडेर पानी बाँडियो । सुक्खायाममा बोरिङबाट पनि पानी आउन छाड्यो । ‘जम्मा ७० मिटर गहिराइमा बोरिङ गाडियो,’ वडाअध्यक्ष सिद्धिकी भन्छन्, ‘त्यहीभएर हरेक वर्ष सुक्खायाममा पानी आउँदैन । इनार पनि सुक्छन् ।’

बोरिङबाट पानी आउन बन्द भएपछि स्थानीयवासी नजिकको कोइलाबास खोलाको पानीमा भर पर्न थाले । ‘खोलाको पानी कपडाले छानेर ल्याउँदै प्रयोग गर्यौं । अहिले त त्यो खोला पनि सुकेपछि बिजोग भएको छ,’ वडा अध्यक्ष सिद्धिकी भन्छन् ।

यो समाचार तयार पार्ने क्रममा इलाका प्रहरी कार्यालय कोइलाबासका सई कुमार केसीलाई फोन गर्दा दमकल पानी बाँड्न आएको र आफू पानी भर्न व्यस्त भएको भन्दै एकछिन पछिमात्र फोन गर्न आग्रह गरे । पछि फोनमा कुरा गर्दै उनले दमकलबाट दैनिक पानी भर्न पाइए पनि त्यो अपुग हुने बताए ।

नुहाइ धुवाइका लागि खोला खोल्सीकै पानीबाट काम चलाउनुपर्ने बाध्यता रहेको भन्दै उनले पिउने पानी भने भारतीय बजारबाट किन्ने गरेको बताए । ‘टिपटप भएर ड्युटीमा खटिनुपर्ने प्रहरीलाई पानी अभावले झन् समस्यामा पारेको छ,’ केसीले भने ।

इलाका प्रहरी कार्यालय कोइलाबासमा १२ जनाको जनशक्ति छ । उनीहरु खोला खोल्सीमा जम्मा भएको पानी खोज्दै जाने र नुहाइ-धुवाइ गरेर फर्किने गरेका छन् । ‘कहिलेकाहिँ त छिटो पालो पाउन राति १२ बजै नै नुहाइ-धुवाइ गर्नुपर्छ,’ सइ केसी भन्छन् ।

कोइलाबासमा वडा कार्यालय, भन्सार कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वास्थ्य चौकी, आँखा अस्पताल र गैरसरकारी संस्थाका कार्यालयहरु पनि छन् । ती सबै कार्यालयका कर्मचारी र स्थानीयवासीको बाध्यता यस्तै रहेको उनी बताउँछन् ।

मंगलबार बिहान गाउँपालिकाको दमकल लगेर कोइलाबासमा पानी बाँड्न गएका वडा नम्बर ५ का अध्यक्ष लेखबहादुर थापाले सबै कार्यालय र स्थानीयवासीलाई दैनिक खाना पकाउन र पिउन पुग्ने गरी पानी बाँडिरहेको बताए । ‘पर्याप्त त नभनौं तर कामचलाउ पानी पुर्याइरहेका छौं,’ गढवा खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापा भन्छन्, ‘पानी भर्न आएका कसैलाई पनि रित्तो भाँडा फर्काएका छैनौं ।’

बजेट छुट्याउने आश्वासन

पानीका स्रोत जोगाउने उद्देश्यले कोइलाबास खोलामा चेक ड्याम बनाइएको छ । कतिपयले त्यही पानी नुहाउन र लुगा धुन प्रयोग गर्छन् । तर त्यो पानी निकै दूषित भएर नुहाइ-धुवाइ गर्न पनि नसकिने अवस्थामा छ । त्यसैले अब कोइलाबासमा पानीको समस्याको दीर्घकालीन समाधानका उपाय नखोजी नहुने निष्कर्षमा पुगेको छ पालिका ।

गाउँपालिका अध्यक्ष पोख्रेलका अनुसार पालिकाले पानीको समस्या समाधानका लागि प्रदेश र केन्द्र सरकारका मन्त्रीहरूलाई आग्रह गरेको बताए । ‘कडा चट्टान भएकाले बोरिङ खन्दा पनि धेरै तलसम्म जाँदैन, त्यहीभएर अलि ठूलै योजनाका लागि पहल भइरहेको छ,’ गाउँपालिका अध्यक्ष पोख्रेल भन्छन्, ‘कक्रहवा लगायतका नजिकका अरु खोलाबाट लिफ्टिङ गर्ने हो वा अरु के गर्न सकिन्छ भनेर विभिन्न विकल्पमा छलफल भइरहेको छ ।’ उनले आफ्नै पालामा पानीको समस्याको समाधान गर्ने गरी सक्रिय भएको बताए ।

कोइलाबास क्षेत्र पर्ने वडा नम्बर ८ का वडाअध्यक्ष अब्दुल खालिक सिद्धिकी पानीको योजना माग्दै मंगलबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयमा आएको बताए । ‘डिप बोरिङ विफल भएपछि फेरि पहल भएन,’ उनले अनलाइनखबरसँग भने, ‘दमकलबाट सधैं पानी बाँडेर हुँदैन, अब धेरै काकाकुल नबनाउनुस् भनेर मुख्यमन्त्रीलाई भनेको छु ।’

उनी कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, गढवाका कांग्रेस नेता विनोद ठकुरी र समाजसेवी सलिम खानसहित मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई भेट्न गएका थिए । मुख्यमन्त्री चौधरीले सिंचाइ मन्त्रालयका सचिवलाई बोलाएर आगामी बजेटमा रकम छुट्याउने आश्वासन दिएको वडा अध्यक्ष सिद्धिकीले बताए ।

फोटो/भिडियो : आलोक भावुक

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?