 
																						३० जेठ, विराटनगर । सोमबार बिहान पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाल कार्यालय जाने तयारी गर्दै थिए । बिहान करिब १० बजे ८–१० जनाको समूह इटहरीको आँपगाछीस्थित उनको क्वार्टरमा पुग्यो ।
नेविसंघबाट आएको भन्दै उनीहरुले दाहाललाई बोलाए, ‘एकैछिन बाहिर आउनुस् सर । कुरा गर्नु छ ।’ अफिस जान लुगा लगाउँदै गरेका दाहाल ढोका खोलेर निस्कने बित्तिकै उनीहरुले अनुहारभरि कालो मोसो खन्याइदिए ।
नेविसंघ होस् या अरु कुनै विद्यार्थी संगठन, त्रिभुवन विश्वविद्यालय होस् या पूर्वाञ्चल लगायत कुनै अर्को शिक्षालय– यो कुनै नयाँ र अनौठो घटना होइन । प्राज्ञिक क्षेत्रको शिर उठ्नै नदिने, अनि समग्र शैक्षिक वातावरण बिथोल्ने घटनाहरुकै शृंखलामा जोडिन पुगेको यो घटना सोमबार बिहान घटित भए पनि साँझ मात्रै सार्वजनिक जानकारीमा आउन सक्यो ।
जुन समूहले आफूलाई नेविसंघ बताउँदै यो हर्कत गर्न पुग्यो, त्यसको जिम्मेवारी नेविसंघ स्वयंले लिन तयार देखिएको छैन । नेविसंघलाई आम मानिसहरुले नेपाली कांग्रेसको भ्रातृ संस्था मान्छन्, तर यस पार्टीका नेताहरु पनि घटनाको जिम्मेवारी लिन तयार देखिएका छैनन् । स्वयं नेविसंघको केन्द्रीय अध्यक्षले पनि कालोमोसो छ्याप्न जानेहरुलाई आधिकारिक समितिको मान्यता दिएको छैन ।
आधिकारिकता बेगरका कार्यकर्ताले गरेको दुर्व्यवहारबाट विश्वविद्यालयका प्राज्ञिक व्यक्ति अपमानित हुन पुगेका छन् । पूर्वाञ्चल विश्वविद्यालयसँग जोडिएको एउटा अमानवीय र अपमानजनक घटनाको जवाफदेही कोही नभेटिँदा पनि सामान्य मानेर हेर्न विवश छन् प्राज्ञिक अधिकारीहरु ।
मोसो दली हुलहुज्जत गर्ने काम शान्तिपूर्ण आन्दोलन या विरोधभित्र पर्दैन । गत पुसमा नेपाल विद्यार्थी संघको नाममा सेवा आयोगको कार्यालयमा ताला लागेको थियो । सो ताला केही दिनअघि कांग्रेसकै केही नेता र गाउँले मिलेर खोलिदिएका थिए । वार्तामा नबोलार्ई ताला खोलेको भन्दै उनीहरुले सेवा आयोग अध्यक्षलाई क्वार्टरमा पुगेर हुलहुज्जत गरेका हुन् ।
‘खाना खाइवरी अफिस आउने तयारीमा थिएँ, उनीहरु आइपुगेपछि बाहिर निस्किएँ’, अध्यक्ष दाहालले भने, ‘उनीहरुले मोसो छ्यापेर दुर्व्यवहार गरे, त्यसपछि कपडा फेरेर अफिस आएँ ।’
विद्यार्थी संगठनका नाममा राखिएका माग उनी सम्बोधन गर्ने हैसियतमा नै छैनन् । ‘सेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने माग राखेका छन्, विज्ञापनको पहिलो चरणको परीक्षा नै भइसकेको छ’, दाहालले भने, ‘त्यो विज्ञापन खारेज गर्ने अधिकार अदालतलाई हुन्छ, सेवा आयोगको अध्यक्षलाई छैन, कतै ऐनमा छ भने देखाऊ भन्दा कुरै सुन्दैनन्, जसरी भए पनि खारेज गर्नुपर्छ भन्ने जिद्दी मात्रै गर्छन् ।’
विज्ञापन खारेज गर्ने अधिकार आफूसँग नभएको भनेर जतिपल्ट सम्झाए पनि उनीहरुले सुनुवाइ नगरेको, उल्टै क्वार्टरमा आएर अपमानित गरेको उनले दुखेसो गरे ।
‘उनीहरुले वार्तामा बोलाउनुपर्छ, भन्दा मैले यो विषयमा बोलाएर वार्ता गर्ने अधिकार म सँग छैन, चिया खान हो भने आउनू भनेको थिएँ’, उनले भने, ‘अधिकार नभएको कुरा कसरी गर्नु मैले, त्यसैको प्रतिक्रिया स्वरुप अफिसमा आएनन्, क्वार्टरमा आएर दुर्व्यवहार गरे ।’

आफूमाथिको दुर्व्यवहारको घटनामा के गर्ने भन्ने उनले सल्लाह गर्न बाँकी रहेको दाहालले बताए । अफिसमा सल्लाह गरेर अगाडि बढ्ने उनले बताए ।
नेपाल विद्यार्थी संघ मोरङका सदस्य सञ्जोग गौतम माग सम्बोधन नभएपछि कालोमोसो दलेको बताउँछन् । आफूहरुले पटक पटक राख्दै आएको माग सम्बोधन गर्न सेवा आयोग अध्यक्षले चासो नदिएको उनले दाबी गरे ।
अनि यसको प्रतिवाद कालोमोसोबाटै दिनुपर्ने अवस्था के कसरी देख्नुभयो भन्ने प्रश्नको उनले चित्तबुझ्दो जवाफ दिन सकेनन् । प्राध्यापक दाहाल आफ्नो कार्यालयमा नभेटिएपछि क्वार्टरमा पुगेर कालोमोसो दलेको उनले स्वीकार गरे ।
‘हामीले कार्यालयमा भेट्न खोज्यौं, तर उहाँ भेटिनुभएन’, उनले भने, ‘हाम्रो मागप्रति बेवास्ता गरियो, वार्तामा पनि नबोलाएपछि बाध्य भएर यो कदम चाल्यौं ।’
यो घटनालाई प्रहरीले पनि आफ्नो जानकारीमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सनुसरीले सेवा आयोगको अध्यक्षमाथि दुर्व्यवहार गर्ने विद्यार्थी समूहको खोजी भइरहेको जनाएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले प्रहरीलाई खबर आएका कारण दुर्व्यवहार गर्नेको खोजी भइरहेको बताए । ‘लिखित निवेदन आएको छैन, तर संलग्नको पहिचान भइसकेको छ’, उनले भने, ‘उनीहरुलाई प्रहरीले खोजिरहेको छ ।’
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले भने त्यहाँ नेविसंघका नाममा दुर्व्यवहार गर्ने समूहलाई संगठनले नचिन्ने भन्दै जिम्मेवारी लिनबाट पन्छिएको छ ।
शेर्पाले मंगलबार वक्तव्यमार्फत भनेका छन्, ‘संवाद, छलफलका विकल्प हुँदाहुँदै कालोमोसो दल्नेजस्तो अमानवीय कार्यको नेविसंघ विरोध गर्छ । नेविसंघको नाम लिएर कालोमोसो दलेको भन्ने समाचार सम्प्रेषण भएको सन्दर्भमा पूर्वाञ्चल विश्वविद्यालयमा नेविसंघको कुनै पनि आधिकारिक समिति नरहेको जानकारी गराउँदै उक्त कार्यमा संलग्नता नरहेको जानकारी गराउँछौं ।’

नेविसंघले वक्तव्यमा यो घटनाको जिम्मेवारी आफ्नो संगठनले लिन नसक्ने भनेको छ । उसले शिक्षालयभित्र यस्तो हर्कत गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रालय र विश्वविद्यालय प्रशासनसँग माग गरेको छ ।
तर नेविसंघ मोरङका सभापति सरोज पोखरेल केन्द्रीय नेतृत्वलाई जानकारी दिएर नै कालोमसो दलिएको दाबी गर्छन् । कालोमासो प्रकरणमा संघको संलग्नता नभएको भन्दै केन्द्रीय नेतृत्वले विज्ञप्ति निकालेको प्रति उनले आश्चर्य व्यक्त गरेका छन् ।
‘नेपाल विद्यार्थी संघले उठाएको विषय कालोमोसो दलेको विषय केन्द्रीय नेतृत्वलाई जानकारी गराएको थिए’, उनले भने, ‘किन अर्कै बेहोराको विज्ञप्ति जारी भयो म पनि बुझ्दैछु ।’
पार्टीभित्र ‘दुई लाइन संघर्ष’ भएको भन्दै उनले जिल्लाका क्रियाकलापसँग बाझिने गरी केन्द्रले विज्ञप्ति निकालेको हुनसक्ने तर्क गरे । उनले कांग्रेसको मोरङ जिल्ला कार्यसमितिलाई पनि यसबारे जानकारी रहेको समेत दाबी गरे ।
पोखरेलले कालोमोसोको औचित्य भने पुष्टि गर्न सकेनन् । ‘वार्तामा नबोलाएको, फोन नउठाएको’ जस्ता तर्क गरेर आफ्ना क्रियाकलापको सान्दर्भिकता देखाउन खोजे ।
विश्वविद्यालय र प्राज्ञिक व्यक्तिमाथि पटक पटक हुलहुज्जत हुँदा पनि त्यसउपर कारबाही टुंगोमा पुग्न सकेका छैनन् । यस्तो घटनाको जिम्मेवारी लिने, जवाफदेही बन्नुसाटो दण्डहीनता मौलाउँदो छ ।
यसअघि त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभागमा प्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघ कार्यकर्ताकै नामबाट मरणासन्न हुनेगरी आक्रमण भएको थियो, जसको जवाफदेही संगठन हुन सकेन । उल्टै उनीहरु नेविसंघका आधिकारिक कार्यकर्ता नभएको जवाफ दिएको थियो ।
सोही विभागका प्रमुख युवराज लुइँटेलमाथि उनकै कार्यकक्षामा दुर्व्यवहार हुँदा सामान्य विभागीय कारबाहीबाहेक थप प्रक्रिया अघि बढेको छैन ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4