+
+

राष्ट्रपति पौडेललाई हृदयघात, एनजिओप्लास्टी गरियो

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० जेठ ३० गते २०:१९

३० जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात (माइल्ड हर्टअट्याक) भएको छ । र, उनको एनजिओप्लास्टी गरिएको छ ।

मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए । अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको छ । ‘श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि अस्पताल आउनुभएको थियो’ उपचारमा संलग्न एक चिकित्सकले अनलाइनखबरसँग भने, ‘उहाँलाई मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) भएको हो ।’

उनका अनुसार राष्ट्रपतिको मुटुको दाहिनेतिरको नसाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ । पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुने लगायत समस्या भएपछि अस्पताल पुगेका थिए । ‘यस्तो स–साना हृदयघातले कुनै दिन ठूलो समस्या निम्त्याउँछ’ ती चिकित्सकले भने, ‘समयमै अस्पताल आइपुग्नुभएकाले एनजिओप्लास्टी गरेर रक्तनली खोलेका छौं ।’

चिकित्सकका अनुसार एनजिओप्लास्टी गरेपछि मुटुले कस्तो काम गर्छ भनेर दुई दिन हेर्नुपर्ने हुन्छ । त्यसैले राष्ट्रपति पौडेललाई दुई दिन अस्पतालमा नै राख्ने तयारी गरिएको छ ।

स्रोतका अनुसार अस्पताल निर्देशक डा. चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राष्ट्रपति पौडेलको शल्यक्रिया गरेको थियो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति आकस्मिक रुपमा नभई नियमित परीक्षणका लागि अस्पताल गएको बताए ।

उनले भने, ‘उहाँ आज नियमित परीक्षणका लागि अस्पताल जानु भएको हो । सोमबार नै जाने कार्यक्रम थियो तर कोरिया र पाकिस्तानका राजदूतहरुको क्रेडेन्सियल बुझ्नुपर्ने भएपछि त्यसलाई मंगलवार सारिएको थियो ।’

राष्ट्रपति पौडेलले शनिबार पनि गंगालालमै नियमित परीक्षण गराएका थिए । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गरी राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि आएका र चिकित्सकको सल्लाह अनुसार एक दिन अस्पतालमै अब्जर्भेसनमा राखिने बताएका छन् ।

हृदयघात हुँदा के हुन्छ ?

चिकित्सकका अनुसार ५० वर्षभन्दा बढी उमेरका मानिसलाई हृदयघातको सम्भावना धेरै हुन्छ । हृदयघात हुँदा छातीको बीच भागमा असह्य पीडा उत्पन्न हुन्छ ।

छातीको मध्यभागबाट देब्रेतिर कुनै गह्रौं वस्तुले थिचेर असह्य पीडा भएको जस्तो महसुस हुने गर्छ । यसका साथै पेटको माथिल्लो भाग, पिठ्यूँ र देब्रे काँधमा सहनै नसक्ने गरी पीडा हुने गर्छ । हृदयघात भएका व्यक्तिलाई एक्कासी श्वासप्रश्वासमा समस्या आउने, पसिना आउने र वाकवाकी हुन्छ ।

दम बढ्नु, खुट्टा सुन्निनु, मुटु बेतालले धड्कनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, साथमा ज्वरो पनि आउनु, जिब्रो, औंलाका टुप्पा नीलो हुनु पनि हृदयघातका लक्षण हुन् ।

हृदयघात भएका व्यक्तिले समयमै उपचार नपाए तत्काल मृत्यु पनि हुन सक्छ । तीनपटक हृदयघात भइसकेका व्यक्ति पनि समयमै उपचार पाएमा बाँच्न सक्छन् । तर पटक–पटक हृदयघात हुँदा भने मृत्युको सम्भावना बढी हुन्छ ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?