+
+

कोशीको सरकार : गठबन्धनको नजर राप्रपातिर, एमालेलाई जसपाको आश

हरि अधिकारी हरि अधिकारी
२०८० जेठ ३० गते २२:१५

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम भोलि प्रदेशसभामा पेश हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम पास गरेको हो, जसलाई भोलि १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुखले पेश गर्नेछन् ।

नीति तथा कार्यक्रम पास गरेर १ असारमा बजेट ल्याउनुपर्नेछ । तर मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारसँग बहुमत नभएकाले अध्यादेशबाट बजेट आउने सम्भावना रहेको सत्तारुढ नेकपा एमालेका नेताहरु बताउँछन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको हो । तर नयाँ सरकारको चित्र अझैसम्म प्रष्ट आइसकेको छैन ।

राप्रपाको साथ खोज्दै गठबन्धन

नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुका अनुसार कोशी प्रदेशमा नयाँ सरकार गठनमा विकल्पहरुमा छलफल चलिरहेको छ । तर निर्णयमा पुगिसकेको छैन ।

नेताहरुका अनुसार कांग्रेस–माओवादी गठबन्धनमा एमाले कि राप्रपालाई साथमा लिएर सरकार बनाउने भन्ने बहस छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेको एक्लै ४० सिट छ र, प्रदेशको नामकरणबारे नयाँ निर्णय गर्न एमालेको सहमति अनिवार्य भएकाले उसलाई साथैमा लिएर जानुपर्ने मत कांग्रेसमा बलियो छ ।

एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री कार्कीले पनि सहमतिको सरकार बनाउने प्रस्ताव गरेका थिए । तर यो सम्भावना निकै कम रहेको नेताहरु बताउँछन् ।

अहिले ६ प्रदेशसभा सदस्य भएको राप्रपालाई साथ लिएर सरकार बनाउने प्रयास भइरहेको छ । कांग्रेस–माओवादी गठबन्धनका नेताहरुले राप्रपालाई सभामुख लिएर सरकारलाई समर्थन गर्न प्रस्ताव गरेका छन् । राप्रपाले भने मुख्यमन्त्री दाबी गरेको छ ।

कांग्रेस नेताहरु आलोपालोमा राप्रपालाई मुख्यमन्त्री दिएर भएपनि सरकार बनाउन तयार छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादीका साथै  राप्रपाले पनि १५÷१५ महिना मुख्यमन्त्री लिने गरी सहमति खोज्न सकिने कांग्रेसका एक नेताले बताए । कांग्रेस संसदीय दलका नेता उद्धव थापा राप्रपाको दाबी स्वाभाविक भएकाले छलफल गरेर निष्कर्षमा पुगिने बताउँछन् ।

माओवादी नेताहरु भने राप्रपालाई सभामुख दिएर नै समर्थन जुटाउन सकिने दाबी गर्छन् । आफ्ना संसदीय दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार बनाउने प्रयासमा माओवादी नेताहरुले राप्रपा नेताहरुसँग सम्वाद गरेका छन् ।

एमालेको नजर जसपातिर

कांग्रेस–माओवादी गठबन्धनले तान्न खोजे पनि राप्रपाले एमालेको साथ छाडेको छैन ।

राप्रपाका एक पदाधिकारीका अनुसार शुक्रबार पार्टी बैठकका क्रममा कोशी प्रदेशको सरकारबारे अनौपचारिक छलफल भएपनि कुनै निर्णय भएको छैन । एक नेताका अनुसार कोशी प्रदेशबारे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको चाहना नै निर्णायक हुन्छ । उनी मध्यावधि चुनावको पक्षमा देखिएका छैनन् । त्यसैले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिंदा साथ दिने, तर नयाँ सरकार बन्ने अवस्था आएमा फरक निर्णय लिनसक्ने एक नेताले सुनाए ।

राप्रपा अध्यक्ष लिङ्देनको मूड बुझेका एमाले नेताहरुले भने जसपातिर नजर लगाएको छ । कोशीमा जसपाको एक सिट छ र उसले साथ दिए कार्की नेतत्वको सरकार टिक्छ । त्यसैले जसपालाई ‘फकाउन’ मधेश प्रदेशमा मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत दिइएको एमालेका एक नेताले बताए ।

मधेशमा जसपा नेतृत्वको सरकार छ । एमालेले सरकार छाडेपछि कांग्रेस र एकीकृत समाजवादीको मसर्थन पाएका मुख्यमन्त्री यादवसँग प्रदेशसभाको बहुमत छ । तर प्रतिपक्षमा बसेको एमालेले पनि मंगलबार यादवलाई नै मत दिएको छ । अब कोशीमा के गर्ने भन्ने जसपा अध्यक्ष उपेन्द्र यादवमा भरपर्ने एमाले नेताहरु बताउँछन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी पनि जसपासँग आश गरेको लुकाउँदैनन् । चुनावमा जसपासँग सहकार्य भएको स्मरण गर्दै उनले भने ‘हिजो (सुनसरी १ बाट प्रतिनिधिसभा सदस्य) अशोक राई एमालेको सहयोगमा निर्वाचित हुनुभयो । त्यसैले जसपासँग छलफल गर्छौं , आग्रह पनि गर्छौं।’

कांग्रेस र माओवादीका नेताहरु भने राप्रपाको साथ लिएर नयाँ सरकार बनाउने दाबी गर्छन् ।

माओवादी संसदीय दलका नेता आङ्बो केन्द्रीय गठबन्धन अनुसार प्रदेशमा सरकार बन्ने र राप्रपाको पनि साथ पाउने बताउँछन् । सम्मानजनक सहभागितासहित नयाँ गठबन्धनमा सहभागी हुन राप्रपालाई आग्रह गरिएको उनले बताए । वर्तमान सरकार रहुन्जेलसम्म एमालेलाई साथ दिनु स्वाभाविक भए पनि राप्रपा प्रदेश सभा विघटनको कारक भने नबन्ने उनको दाबी छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७  मत चाहिन्छ । एमाले–राप्रपा र कांग्रेस–माओवादी गठबन्धनसँग  समान ६–४६ मत छ । एमालेका ४० र राप्रपाका ६ जना छन् । कांग्रेसका २९, माओवादी केन्द्रका (सभामुख बाहेक) १२, एकीकृत समाजवादीका ४ र जसपाका एक जना प्रदेशसभा सदस्य छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?