+
+

५२ करोड खर्चेर बनाइएको नारायणी लिफ्टमा फेरि २६ करोड थपियो तर किसानले पाएनन् पानी

सुवास पण्डित सुवास पण्डित
२०८० जेठ ३२ गते ८:००
नारायणी लिफ्ट आयोजनाका मेसिन

३२ जेठ, चितवन । पश्चिम चितवनमा सिंचाइ सुविधा पुर्‍याउन भनेर २०४० सालमा ५२ करोड लगानीमा निर्माण गरिएको नारायणी लिफ्टलाई आधुनिकीकरण गर्न भन्दै अहिले पुनः २६ करोड रुपैयाँभन्दा बढी खर्च गरिएको छ । तर सिंचाइ सुविधा आवश्यक पर्ने सुक्खायाममै पानी प्रयोग गर्न नपाउँदा किसानहरु रुष्ट छन् ।

अहिलेको जेठको खडेरीमा मकै सुकेका छन् । अविरल बगिरहने नारायणी नदी किनारमै खेतमा धाँजा फाटेका छन् । तरकारी खेती पनि फस्टाउन सकेन । व्यवसायिक पशुपालन गर्ने किसानहरूलाई गाईवस्तुलाई पानी खुवाउनै धौधौ भयो । भूमिगत पानीको सतह घटेपछि कतिपय बोरिङ पनि बन्द भए । यही संकटको बेला नारायणी लिफ्टबाट चितवनवासीले सिंचाइ सुविधा पाएका छैनन् ।

पश्चिम चितवनका जग्गामा सिंचाइ गर्न भनेर २०४० सालमा नारायणी लिफ्ट सिंचाइ आयोजना बनाइएको थियो । नहरसमेत गरेर यसमा ५२ करोड रुपैयाँ खर्च भएको थियो । तर नहरमा बर्खा सुरु भएपछि मात्र पानी बग्छ । लामो समय बन्द हुने गरेकाले नहर नै अतिक्रमणको चेपटामा परेको छ । नहर मिचेर ठाउँ-ठाउँमा बाटो पिच गरिएको छ ।

किसानलाई चाहिएको बेला पानी दिन नसक्ने नारायणी लिफ्टमा अहिले पुराना मेसिनहरु हटाएर नयाँ मेसिनहरू जडान गर्ने काम जारी छ । तर काममा ढिलासुस्ती हुँदा पानी प्रयोग गर्न कहिले पाइन्छ भन्ने टुंगो छैन ।

नारायणी लिफ्ट सिंचाइ प्रणालीको पुनर्स्थापना तथा आधुनिकीकरण कार्यका लागि भन्दै २६ करोड ३२ लाख ४३ हजार १५१ रुपैयाँमा चार वटा स्वचालित मेसिन ल्याइएको छ । यी मेसिनबाट समेत हिउँदमा पानी ल्याउन मिल्ने व्यवस्था भने हुने छैन । टेण्डरबाट ठेक्का पाएको कम्पनीले हालसम्म ११ करोड ९३ लाख ४० हजार रकम भुक्तानी लगिसकेको छ ।

नारायणी लिफ्ट खगेरी सिंचाइ व्यवस्थापन कार्यालय प्रमुख घनश्याम कार्कीका अनुसार अहिले मेकानिकलको अधिकांश काम सकिएको छ । इलेक्टि्रकल लगायतका काम भने बाँकी छन् । तर असार महिनाभित्रै पनि नहर सञ्चालन गर्न सकिनेमा कार्यालयका कर्मचारी नै विश्वस्त छैनन् ।

नयाँ मेसिन जडानको ठेक्का पाएको भारतीय कम्पनी डब्लुपीआईएल लिमिटेड कलकत्ताले नयाँ-नयाँ शर्त राखेर निहुँ खोज्ने गरेको कारण यसपटकको बर्खामा नारायणी लिफ्टमार्फत पानी छाड्न सकिन्छ भन्ने कुरामा विश्वस्त हुने आधार नभएको स्रोतको भनाइ छ । कार्यालयका एक कर्मचारीले भने, ‘अहिलेको बर्खामा नारायणी लिफ्टबाट पानी ल्याएर किसानले रोपाइँ गर्न पाउँछन् भन्ने कुरामा मलाई विश्वास छैन, भारतीय कम्पनीको काम गराइको तरिकाले पानी आउने छाँट छैन ।’ ठेक्का म्याद यही असार महिनामा सकिँदै छ ।

बर्खामा आकाशबाट जलथल हुने गरी पानी परेपछि मात्रै चल्ने नारायणी लिफ्टलाई खास पानी चाहिने हिउँदमा किन चलाउन सकिँदैन भन्ने प्रश्नमा नारायणी लिफ्टका प्रमुख कार्की संरचनागत सुधारको खाँचो रहेको बताउँछन् । नारायणी लिफ्टको संरचना बनेको ठाउँभन्दा धेरै तल नदी भएकाले हिउँदमा पानी तान्न नसकिने कार्यालय प्रमुख कार्कीको तर्क छ । बर्खामा नारायणी नदीको सतह बढ्दा मात्रै लिफ्टसँगको लेभल मिल्ने भएकाले पानी तान्न सकिने उनको भनाइ छ । वर्षायाममा पनि ३ महिना मात्रै नहरमा पानी आउँछ ।

नारायणी सिँचाइ आयोजनाको नहर ।

भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले नहरमा बाह्रै महिना पानी नआएकै कारण अतिक्रमण बढेको बताउँछन् । ‘नहरमा बाह्र महिना पानी चल्यो भने नहर हत्तपत्त अतिक्रमण गर्ने आँट पनि कसैले गर्दैन । किनकी पानी थुनिएपछि समस्या हुन्छ सबैको चासो हुन्छ,’ तिमिल्सिना भन्छन् । बाह्रै महिना नहर चलाउन गर्नुपर्ने सबै काम कार्यालयले गर्नुपर्ने उनी बताउँछन् ।

भूमिगत सिंचाइ प्रणालीमा सरकारी निकायको बढ्दा ध्यान भए पनि पानी जमिनमा रिचार्ज हुन नपाएपछि त्यसको औचित्य नहुने तिमिल्सिनाको भनाइ छ । अबको १० वर्ष यस्तै अवस्था रहे पश्चिम चितवन मरुभूमिमा बदलिने चेतावनी विज्ञहरुले दिएको भन्दै उनले नारायणी लिफ्टलाई बाह्रै महिना चलाउनुपर्ने बताए ।

नारायणी लिफ्ट सिंचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले नारायणीमा पानी बगेर जाने तर पश्चिम चितवनका किसान आकाशको भर पर्नुपर्ने बाध्यता रहेको बताए । विगतमा जेठ १५ गतेबाट नै नहरमा पानी छाड्ने गरिएको भए पनि अहिले सो अवस्था नरहेको उनको धारणा छ ।

महानगरको चासो

नारायणी लिफ्टमा ३ वटा क्यानल छन् । ‘ए’ क्यानल पाँच सय मिटर, ‘बी’ क्यानल १९ किलोमिटर र ‘सी’ क्यानल १६.५ किलोमिटर लामो छ । नारायणी लिफ्टको पानी बी र सी नहरका लागि विभाजन हुन्छ । बी नहरले यज्ञपुरी, नारायणपुर, तोरीखेत, पारस नगर, देवनगर र फूलबारीसम्म सिंचाइ सुविधा उपलब्ध गराउँछ भने सी नहरले बसेनी, भोजाड, टिकौली जंगल छेउ हुँदै गौरीगञ्जसम्म सिँचाइ पुर्‍याएको छ ।

भरतपुर महानगरपालिका-१ मा रहेको जोरकुसुम पार्क नजिक नारायणी नदीको पानी २२ मिटरमाथि लिफ्ट गरेर मुख्य नहरमा ल्याइन्छ । त्यसको पाँच सय मिटर पर पुनः दुई वटा शाखा निर्माण गरी पानी पठाइएको छ । १८ मिटरमाथि लिफ्ट गरेर सी नहरबाट र लिफ्ट नगरी बी नहरबाट पानी पठाइन्छ । नहर अतिक्रमण हुनुअघि नारायणी लिफ्टले चार हजार ७०० हेक्टर जमिन सिञ्चित हुँदै आएको थियो । नारायणीबाट लिफ्ट गरेको पानीलाई खगेरी सिंचाइमा लगेर थप ३ हजार हेक्टरभन्दा बढी खेतमा सिंचाइ गर्न पनि सकिन्छ ।

नारायणी लिफ्टले भरतपुर महानगरपालिकाका वडाहरूमा सिंचाइ गर्ने भएकाले महानगरले पनि चासो दिने गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी लिफ्टलाई हिउँद-बर्खा दुवै सिजनमा चलाउने गरी काम अगाडि बढाउन कार्यालयलाई अनुरोध गरिन् । ‘रकम कति चाहिन्छ तपाईंहरू चिन्ता नलिनुस्, त्यो मेरो काम भयो तर नहरलाई जतिबेला पनि चलाउन सक्ने बनाउन के-के गर्नुपर्छ तपाईंहरु त्यसमा लाग्नुस्,’ नगर प्रमुख दाहालले भनिन्, ‘पश्चिम चितवनको सुख्खापनलाई कम गराउन जमिनको माथिल्लो सतहबाट नै पानी छाड्नुपर्छ ।’

नारायणी लिफ्टका कार्यालय प्रमुख कार्की भने नदीमा अस्थायी प्रकारका ड्याम बनाएमा मात्र हिउँदमा पनि सिंचाइ गर्न सकिने बताउँछन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?