+
+

नेपाल भित्रियो मनसुन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १३:५७
हाल नेपालमा मनसुनको प्रभाव रहेको क्षेत्र हरियो रंगमा । फोटो : जल तथा मौसम विज्ञान विभाग

३१ जेठ, काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको हो ।

आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ ।

नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिंदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । यद्यपि यो सम्भावना स्थानपिच्छे फरक-फरक हुने छ ।

यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । तर गत वर्ष औसतमै वर्षा भएको थियो । दशैंको बेलामा समेत वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो ।

अघिल्ला तीन वर्ष लानिनाको प्रभाव थियो । तर यस वर्ष अलनिनोको प्रभाव हुने सम्भावना रहेकाले वर्षा कम हुने प्रक्षेपण गरिएको मौसमविदको भनाइ छ । समुद्रको तापक्रम औसतभन्दा बढी हुनुलाई अलनिनो भनिन्छ । यसैको असर वायुमण्डलमा पर्दा वर्षा कम गराउँछ ।

कहाँ कस्तो वर्षा ?

विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले पूर्व र मध्य नेपालका केही क्षेत्रबाहेक अन्य स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको जानकारी दिइन् । उनका अनुसार आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।

यस वर्षको मनुसन अवधिमा नेपालमा वर्षाको प्रक्षेपण

विभागका अनुसार कोशी प्रदेशका मध्य तथा उत्तर–पूर्वी भूभाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

‘कर्णाली प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका धेरैजसो भू–भाग, सुदूरपश्चिम प्रदेशका मध्य तथा उत्तरका थोरै भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी तथा मध्य भू–भाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ,’ विभागले भनेको छ ।

यस्तै कोशी प्रदेशका पश्चिमी भूभाग, बागमती प्रदेशका धेरैजसो भूभाग, लुम्बिनी प्रदेशका केही भूभाग र सुदूपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, बैतडी तथा बझाङ लगायतका भू–भागमा सरदर भन्दा कम हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको प्रक्षेपण छ ।

कोशी प्रदेशका मध्य तथा उत्तर–पूर्वका थोरै भूभाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने ३५ देखि ४५ प्रतिशत सम्भावना छ ।

कर्णाली र गण्डकीका धेरैजसो, सुदूरपश्चिमका मध्य तथा उत्तरका थोरै क्षेत्र, लुम्बिनीका पश्चिम तथा मध्य क्षेत्र र कोशीका दक्षिण क्षेत्र भने झनै कम पानी पर्ने प्रक्षेपण छ । वर्षा कम हुने क्षेत्रमा अधिकतम तापक्रम औसतभन्दा बढी भएर गर्मी हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?