+
+
विश्लेषण :

सहकारी संकट समाधानको एउटा उपाय

समस्यामा परेका सहकारीले तत्काल श्वेतपत्र जारी गरेर दायित्व स्वीकार गरून् । अनि भएको स्थिर सम्पत्ति वा लगानी उठाउने र फरफारक गर्ने समय करिब दुई वर्ष लिएर हिसाब फस्र्योट गर्नेतिर लागुन् । अहिलेको संकट समाधानको एउटा बाटो यो हुन सक्छ ।

रामचन्द्र उप्रेती रामचन्द्र उप्रेती
२०८० जेठ ३२ गते १३:५३

समस्यामा परेका सहकारीले तत्काल श्वेतपत्र जारी गरेर दायित्व स्वीकार गरून्। अनि भएको स्थिर सम्पत्ति वा लगानी उठाउने र फरफारक गर्ने समय करिब दुई वर्ष लिएर हिसाब फस्र्योट गर्नेतिर लागुन्। अहिलेको संकट समाधानको एउटा बाटो यो हुन सक्छ।

हामी नेपाली हरेक कुरामा तत्कालै फाइदा खोज्ने गर्छौं । तत्कालको सानो फाइदामा खुसी मनाउँदै पछिको राम्रो-नराम्रो ख्याल नै गर्दैनौं। सबैमा यस्तो नहोला तर धेरैमा यस्तै स्वभाव, आदत र चिन्तन छ भन्दा अत्युक्ति नहोला।

आफ्नै कोठेबारीमा फलेको राम्रो जातको आँप छानी-छानी खान पाए, त्यस्तो फल गर्वका साथ ‘आफ्नै बारीको है !’ भनेर छिमेकी र मन परेका मानिसलाई बाँड्न पाए कति खुसी थपिन्थ्यो होला। यस्तो खुसी र आनन्द लिन करिब चार वर्ष पहिले नै कोठेबारीमा राम्रो जातको आँपको बिरुवा ल्याएर रोप्नु र स्याहार गरेर हुर्काउनुपर्छ।

आँपै खाने त हो नि, दुईसय पर्ने बिरुवा किन, रोप, हुर्काउ, फल्छ अनि खाने। त्यो पनि चार-चार वर्ष पर्खेर। मर्छ कि बाँच्छ, फल्छ कि फल्दैन। बरु २०० को दुई किलो आँप किनेर ल्याउने अहिले खाने। अहिले नै खानुको स्वाद र मजा लिने हो। पर्खनु, मिहिनेत गर्नु भनेको उधारो र झन्झटिलो काम हो।

त्यत्रो धैर्य कसले गर्छ। बारी नहुनेले त आँप किनेरै खाने हो । तर बारी बाँझो राखेर आँप किनिखाने हामी धेरै छौं। यहाँ आँप तत्कालै खाने र रोपेर खाने दुइटा फरक-फरक सोच हो। रोपेपछि पनि किनेर खान हुन्छ है। तर किनेर खान पाएकै छ किन रोप्नु भन्ने चिन्तन हावी छ।

किनेर खाए पनि फेरि गनगन त छँदैछ। दबाई हालेर पकाएको, स्वादिलो छैन, खाँदा पनि विष खाएको हो कि आँप खाएको हो द्विविधा नै छ। यति पैसाको आँप विदेशबाट आयो, व्यापार घाटा भयो, आदि। आँप खाने हो तर कसरी खाने हाम्रो सोच र कर्मले फरक पार्छ। तर सिजनको फल सबैले खान रुचाउँछन्, खानु पनि पर्छ।

आज सहकारी अभियान बिग्रियो, सहकारीले धेरै बचतकर्ताको पैसा जोखिममा पार्‍यो। सहकारीका सञ्चालक फरार, सहकारीका नेताले आन्दोलन गर्दैछन्। होइन, बचत फिर्ता नपाएका पीडितको पनि आन्दोलन छ।

रामचन्द्र उप्रेती

उता सहकारी चलाउनेहरूको सहकारी बचाउ अभियानको आन्दोलन छ। ‘सरकार पैसा देऊ !’ जस्ता समाचार मिडिया र सामाजिक सञ्जालमा जताततै पढ्न, सुन्न र हेर्न पाइन्छ। आज सहकारीको यो अवस्था आउन हिजो हामीले कस्तो कर्म गर्‍यौं ? यतातिर फर्केर हेर्नुपर्छ।

२०५० सालपछि सहकारीका प्रारम्भिक संस्थाहरू गाउँ–गाउँ र शहरका गल्ली-गल्लीमा खुले। खोल्नेको नियत र क्षमतामाथि सहकारीको भविष्य निर्धारण भयो। केही खराब नियतले नै सहकारीमा आए।

केहीको नियत नराम्रो थिएन तर सहकारीको प्राविधिक पक्ष बुझ्नै चाहेनन् र ती समस्यामा परे। केही चाँडै कमाउने सोचमा लाग्दा सहकारीको पैसा अपचलन गर्न पुगे र व्यवसाय डुब्यो। अपचलन गर्नेहरू अप्ठ्यारोमा परे। सबैभन्दा धेरै मर्कामा त्यस्ता जोखिमपूर्ण संस्थामा पैसा राख्नेहरू परे। जीवनभरिको कमाइ, बुढेसकालको सहारा धेरैले जोखिममा पारेका छन्।

अब पाँच वर्ष, दश वर्ष, बीस वर्षपछिको नेपाली सहकारी अभियान कस्तो बनाउने आजैबाट सोच्न र सोही अनुसार काम गर्न आवश्यक छ।

अहिले पनि सबै सहकारी जोखिममा छैनन्। जोखिममा भएको भनिएका सहकारीको संख्या सानो छ। धेरै सहकारी जनसमुदायमा र सदस्यमा आधारित भएर नीति, विधि र प्रविधि साथै सहकारीका प्राविधिक पक्षलाई बुझेर सहकारी सञ्चालन गरे ती सहकारी आज झन् बलिया र समुदाय एवम् सदस्यको भरोसायोग्य बन्दै गएका छन्।

जोखिममा परेका, संकट व्यहोरिरहेका सहकारीहरूको अवस्थालाई किन समयमा नै नियन्त्रण गर्न सकिएन र यत्रो जोखिमको अवस्था आयो त भन्दा यसमा विगतमा हामी सरोकार राख्ने सबैले गरेका कमजोरीहरू मुख्य रूपमा जिम्मेवार छन्।

सरकार : सरकारले सहकारी दर्ता गर्ने तर नियमन गर्ने क्षमता विकास नगर्ने गल्ती गर्‍यो। सीमित रूपमा गरिएको नियमनले एकातिर पार लाग्न सक्तैनथ्यो अर्कोतिर त्यो पनि नियमन गर्न जानेहरूको कमाउने धन्दा बन्यो। विगतको सहकारी डिभिजन कार्यालय र हालको विभागहरूमा कोही इमानदार कर्मचारी परिहालेछन् भने ती मूकदर्शक बन्न बाध्य भए । तिनको आवाजको कतै सुनवाइ हुने अवस्था बनेन।

जिल्ला संघदेखि महासंघसम्म : यस्ता संघहरू लगभग पङ्गु बने। यी केवल केही राजनीतिक कार्यकर्ताको व्यवस्थापनको थलो बन्यो । तलदेखि माथिसम्म संघमा आबद्ध भएका अधिक सदस्य र पदाधिकारीहरू राजनीतिक भागबण्डाको आधारमा संघमा छानिए।

संघको चुनाव हुने बेलामा थुप्रै निष्क्रिय संघ-संस्थाले कम्प्युटरबाट तत्काल निकालेको लेटरप्याडमा काठमाडौंमा जिल्लाबाट गएर बसेका व्यक्तिलाई प्रतिनिधि तोक्ने काम गरे।

यस्तै काम कतिपय जिल्लामा पनि भएका छन्। राजनीतिक पार्टीका नेता, कार्यकर्ताले आफूलाई सहकारीको नेता बनाउन यस्ता फर्जी मतदाताको भरपूर प्रयोग गरियो।

यस्तै मतदाताको लिष्ट बोकेर हाम्रा यति मतदाता छन् भनियो र नेतृत्वमा सिट सुरक्षित गरियो। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीको भागबण्डामा जिल्लादेखि केन्द्रसम्मका समिति बने। यस्ता समितिमा सहकारीको मर्म बुझेका, सहकारी भएका, सहकारी चलाएका, सहकारीको मूल्य-मान्यता र सिद्धान्तको पालना गरेर सहकारीको श्रीवृद्धिमा लागिपर्ने मानिसको संख्या एकदमै न्यून मात्रामा हुन पुग्यो।

जसका कारण सहकारीका महासंघ र संघहरूमा सहकारीका मूल्य-मान्यता, आचरण, सिद्धान्त आदिका बारेमा न्यून चर्चा हुने बरु कार्यक्रममा कसले उद्घोषण गर्न पाउने, कसले स्वागत गर्ने, कसले धन्यवाद भाषण गर्ने, को मञ्चमा बस्ने, को पहिला बस्ने, कुन पार्टीका कुन नेता प्रमुख अतिथि र अतिथि बनाउने कुरामा बहस भयो।

सहकारीहरू २०७९-८० मा आएर एकाएक धरासायी बनेका होइनन्। यो बेला अलि ठूलो संख्यामा देखिएका मात्रै हुन्।२०५८ साल तिरबाटै सहकारीमा बचत गरेको पैसा जोखिममा पर्दै गएको हो। कतिपय सहकारीहरू जोखिममा छन्, सञ्चालकहरूको आचरण, सोच, शैली सहकारीमैत्री छैन भन्ने सहकारी विभाग, महासंघ, केन्द्रीय संघहरू, जिल्ला संघ र विषयगत संघहरूलाई थाहा नभएको होइन। तर उनीहरू कोही बोलेनन्। यसको दोष कसैले बोक्नुपर्छ कि पर्दैन ? खराबलाई खराब भन्ने आँट किन गरिएन?

कारण, सहकारीलाई यो हालतमा पुर्‍याउनेहरू पावरमा छन्, बहुमतमा छन्। उहाँहरूको विरुद्धमा बोल्दा आफू नेता हुन नपाइने डर छ। नेता हुने लोभले मानिसको मुख बन्द भयो। परेका बेला यस्तैले चन्दा दिन्थे, दिन्छन्। यस्तैको भागबण्डामा परेर नेता हुनुपर्नेछ । त्यसैले कोही बोल्न सकेनन्, बोलेनन्।

म पनि एकपटक यस्तै भागबण्डामा परेर महासंघको सदस्य बनेको थिएँ। रमिता हेरियो। थप बिग्रन नदिन कोसिस त गरियो तर त्यो प्रयास वनको डढेलोमा एक बाल्टी पानी मात्रै सावित भयो। अर्को पल्टदेखि म त्यहाँ आँटिनँ। आकर्षण पनि रहेन। अहिले सम्झँदा नअटेर ठीकै भयो भन्ने लाग्छ। तर सहकारी अभियान बदनाम बन्दा र हजारौं मानिस पीडित बनेको टुलुटुलु हेर्नुपर्दा गहिरो दुःखको अनुभूति हुन्छ।

आज पनि नेपालको सहकारी अभियान आवरणमा देखिए जस्तो, प्रचारमा आए जस्तो, सुनिए जस्तो खत्तम भएको विश्वास गुमाएको अवस्थामा छैन। सिंगो शरीर रोगी भएर उठ्नै नसक्ने भएको होइन। केही अंगमा घाउ लागेको हो, उपचार हुन्छ। तर देखेको कुरा बोलौं, सुध्रिन सक्ने र चाहनेलाई सुधारौं। अलिकति धक्का त आर्थिक मन्दीले पनि दिएकै हो। यो धक्का अलि पहिल्यै भएर कम क्षति भयो । झन् पछि झन् ठूलो क्षति हुन सक्थ्यो।

समस्यामा परेका वा पारिएका भनिएका सहकारीको समाधानका लागि भर्खरै सहकारी विभागले गरेको एउटा पहल प्रशंसनीय छ । यसलाई बुझौं र सहयोग गरौं। समस्यामा परेका सहकारीका सञ्चालकले स्वीकार गरेर नजानेर पैसा घरजग्गामा फस्यो, लगानी भएको उठेन, एकै पटक धेरै मानिस पैसा फिर्ता लिन आउँदा दिन सकेनौं, भनेको हो भने यसको निकास विभागले दिएको छ।

एक-दुई वा थोरै भएको भए कारबाहीको विषय नै बन्ने थियो। तर यस्तो भन्नेको आकार यति ठूलो छ कि कारबाही सम्भव भएन। त्यसैले यो उपाय आयो। यो सच्चिने, सच्याउने, सुध्रिने अवसर हो । समय प्रतिकूल छ। महासंघको आन्दोलनले मागेको ‘कुलिङ पिरियड’ भनेको पनि यही हो।

समस्यामा परेका सहकारीले आफ्नो अवस्थाको श्वेतपत्र जारी गरुन्, दायित्व सिकाउन्, हिसाब दुरुस्त राखुन्, भएको स्थिर सम्पत्ति वा लगानी उठाउने र फरफारक गर्ने समय करिब दुई वर्ष लिएर हिसाब फस्र्योट गर्नेतिर लागुन्।

यो सुविधाको उपयोग नगर्ने र सहकारी डुबे, आफैंले चलाएको पैसा तिर्नु पर्दैन भनेर सोच पालेकाहरूलाई कानुनको दायरामा ल्याउन सरकार नचुकोस्। नेताले छाता नओढाउन्। विभाग नलोभियोस् र खुट्टा नकमाओस्।

यसरी समस्या साँघुरो पार्दै जान सकिन्छ। आजको खराब अवस्थालाई इतिहासमा परिणत गर्न सकिन्छ। यसको सुन्दर भविष्य निर्माण गर्न सकिन्छ। अझै धेरै बिगार्ने काम कसैबाट नहोस्, यति गरे पुग्छ।

समुदायमा आधारित, सदस्यकेन्द्रित भएर कारोबार गरेका, गरिरहेका, सदस्यको विश्वास जितेका, सहकारीको मर्म, मूल्य-मान्यता र सिद्धान्तलाई व्यवहारमा उतारेर काम गरेका सहकारीहरूमा कुनै समस्या छैन। समस्या तिनमा छ जसले सिद्धान्त फलाके तर व्यवहार उल्टो गरे। समस्या तिनमा छ जसले सहकारीलाई सहकारी जस्तो बुझ्नै चाहेनन्।

समग्र सहकारीको कथा र आँप खाने कथा उस्तै उस्तै हो। अहिल्यै जसरी पनि आँप खाएर आँप खानुको आनन्द र मजा लिइहाल्ने हो भने, अरूको आँप लुटेर खाए पनि भयो, बोटको हाँगा भाँचेर खाए पनि भयो। रूखै ढालेर खाए पनि भयो। दादागिरी देखाएर, हप्काएर, हैसियत देखाएर खाए पनि भयो एक पेट आँप त जसरी पनि खान सकिन्छ। अलिकति सभ्यता बाँकी भएकाले किनेर खाए भयो । किनेरै बाँडे भयो।

सहकारी भनेको आफ्नो कोठेबारीमा आँप रोपेर वा अरूले रोपेका आँपको नीतिनियम अनुसार हेरचाह गरेर, योगदान गरेर पाकेका आँप झारेर, बाँडेर खाने पद्धति हो। यो धीरता जोसँग छैन उसले अरूको रूख ढालेर, हाँगा भाँचेर, लुटेर खाने हो। ‘आँप खाएँ नि !’ भनेर धाक र फुर्ती लगाउने हो। समाज कस्तो बनाउने र कस्तो समाजमा बस्ने रोजाइको कुरा हो।

(उप्रेती सहकारी अभियन्ता हुन्।)

लेखकको बारेमा
रामचन्द्र उप्रेती

उप्रेती सहकारी अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?