+

किन लाग्छ भोक ?

२०८० जेठ  ३२ गते १८:३५ २०८० जेठ ३२ गते १८:३५
किन लाग्छ भोक ?

काठमाडौं । कहिलेकाहीं खाना खाएलगत्तै किन भोक लाग्छ ? मीठो खानेकुरा देख्नासाथ किन हामीलाई भोक महसुस हुन्छ ? तनाव वा भयको बेला किन हामीलाई भोक लाग्दैन ? खासमा भोक के हो ?

जब हाम्रो शरीरलाई खानेकुराको कमी महसुस हुन्छ, पोषणको कमी महसुस हुन्छ, तब शरीरले खाना माग गर्छ । त्यसलाई हामी भोक लागेको भन्छौं ।

शरीर सञ्चालनका लागि विभिन्न हार्मोनको भूमिका भएजस्तै भोक लगाउने पनि विभिन्न हार्मोन हुन्छन्, जसले शरीरमा खानाको माग गरी खाना खुवाउने भूमिका निर्वाह गर्छन् । जसले गर्दा भोक लागेको महसुस हुने इन्डोक्रिनोलोजिस्ट डा. सविन  चौलागाईं बताउँछन् ।

जब हाम्रो शरीरलाई खाना, पोषण र ऊर्जाको अभाव हुन थाल्छ, तब हामीलाई भोक महसुस हुन थाल्ने उनी बताउँछन् । ‘हामीले खाएको खानालाई पोषक तत्त्वमा परिणत गरेर शरीरले पचाएपछि हरेक अंगमा पुग्छ ।  जब अंगहरुमा पोषक तत्त्वको सञ्चार कम हुन थाल्छ तब पनि भोक लाग्छ,’ डा. चौलागाईं भन्छन् ।

खाना खाएको दुईदेखि तीन घण्टापछि आमाशयमा सञ्चय भएको खानेकुरा आन्द्रामा जान्छ र पेट खाली हुन्छ । यसरी पेट खाली भएपछि शरीरमा भएको हार्मोनले भोक लागेको सूचना मस्तिष्कमा पठाइदिएपछि भोक लागेको महसुस हुने चौलागाईं बताउँछन् ।

‘कुनै स्वास्थ्य समस्यामा भने शरीरलाई पोषक तत्त्वको कमी नभए पनि भोक लागेको महसुस हुन सक्छ,’ उनी भन्छन् ।

कुनै खानेकुरा देख्नासाथ किन भोक लाग्छ ?

खाना देख्नासाथ मात्र होइन कहिलेकाहीं त खानालाई सम्झेपछि पनि हामीलाई भोक लागेको महसुस हुन्छ  । हाम्रो दिमागले खाना देख्नेबित्तिकै खानुपर्छ भन्ने कुरा सोचिहाल्छ । हामीले भोक मेटाउन मात्र होइन, स्वादको लागि पनि खाना खान्छौं त्यसैले खानालाई देखेपछि पाचन रस निस्किएर पाचन निस्कन्छ र पाचन प्रक्रिया सक्रिय भएर भोक लाग्ने चौलागाईं बताउँछन् ।

डा. सविन चौलागाई

‘रिसाउँदा वा तनाव हुँदा सामान्य अवस्थामा भन्दा कम भोक लाग्छ । किनकि तनावले शरीरमा हार्मोनहरु गडबड गर्छ । भोक लागेको अनुभूति पनि हार्मोनहरुले गराउने भएकाले तनावले गर्दा हार्मोन गडबड भएर पेट भरिएको अनुभूति भएर भोक नलाग्ने हुन्छ,’ उनी भन्छन् ।

तनाव भएको बेला हाम्रो ध्यान खानामा भन्दा पनि अन्य कुरामा जान्छ । जसले भोक नै नलाग्ने र लागे पनि खान मन नलाग्ने समस्या हुने डा. चौलागाई बताउँछन् । कहिले भोकै नलाग्ने कहिले छिटो छिटो भोक लाग्ने किन हुन्छ ?

सामान्यतया हामीलाई दिनमा तिन चारपटक भोक लाग्छ । तर कहिलेकाहीं व्रत बस्दा भने दुई-तीन दिनसम्म पनि भोक नलाग्ने चौलागाईं बताउँछन् । ‘व्रत बसेको छु आज केही खान हुँदैन भनेपछि हाम्रो शरीरको खानाको आवश्यकतालाई मस्तिष्कले नियन्त्रण गर्न सक्छ । त्यसैले गर्दा कहिलेकाहीं दुई-तीन दिनसम्म पनि भोकै बस्न सकिन्छ,’ उनी भन्छन् ।

‘यदि हामीले शरीरलाई आवश्यक पर्ने जति खाना खाएनौं भने कहिलेकाहीं खाना खानसाथ पनि भोक लाग्ने हुन्छ । साथै कुनै स्वादको खानाले हामीलाई आनन्द दिइरहेको हुन्छ, जसले खानाको आवश्यकता भन्दा बढी खान मन लाग्छ र फेरl एक छिनमा भोक लाग्छ,’ चौलागाईं भन्छन् ।

‘कहिलेकाहीं खाना खाने समयमा पेटमा ग्यास भरिएर पेट फुल भइरहेको हुन्छ, जसले गर्दा कम खाना रुच्छ । तर पछि ग्यास निस्किएपछि फेरि पेट खाली भएको जस्तो हुन्छ,’ चौलागाईं भन्छन्, ‘खानाको प्रकार, खाना पच्ने समय अवधि र शरीरले शोषण गर्न सक्ने अवधिको आधारमा छिटो भोक लाग्ने र ढिलो भोक लाग्ने हुन्छ ।’

भोक लाग्दै नलाग्नु रोगको संकेत

भोक नलाग्नु विभिन्न रोगको संकेत हो । खाना पचाउने क्षमता कमजोर भएका व्यक्तिमा पनि भोक कम लाग्छ । डिप्रेसन भनेको दिमागी रोग हो, जसले अन्य शारीरिक गतिविधिमा समेत प्रत्यक्ष प्रभाव पार्छ ।  डिप्रेसनको कारण पनि भोक नलाग्ने इन्डोक्रिनोलोजिस्ट डा. चौलागाईं बताउँछन् ।

‘खाना नखाँदै भोक मेटिने, पेट डम्म हुने समस्याको अर्को कारण पेप्टिक अल्सर पनि हो । यो समस्यामा पेट घोचेजस्तो हुने र पेट फुलेर डम्म हुने हुन्छ,’ उनी भन्छन् ।

मधुमेह नियन्त्रणभन्दा बाहिर भएका बिरामीमा पेटमा जाने नसामा असर पुगेर आन्द्रा पेट लाटो भएर पेट ढुस्स हुन्छ र भोक लाग्दैन । ‘हाइपो थाइराइड’ थाइराइड हार्मोनको अभावमा कब्जियत हुन्छ । पेट सफा नभएर पेटमा ग्यास भरिन्छ र भोक नलाग्ने समस्या हुने उनी भन्छन् ।

स्वस्थ मान्छेलाई कति बेला भोक लाग्नु जरुरी हुन्छ ?

एउटा सामान्य वयस्क व्यक्तिलाई तीनदेखि चार घण्टाको अवधिमा भोक लाग्न जरुरी हुने चौलागाईं बताउँछन् । दैनिक २२ सयदेखि २५ सय क्यालोरी खाना जरुरी पर्छ । धेरै शारीरिक परिश्रम गर्ने व्यक्तिले त झन् तीन हजार क्यालोरीसम्म जरुरी पर्छ । त्यसैले शरीरलाई दैनिक आवश्यक पर्ने खाना परिपूर्ति गर्न तीन-चार घण्टाको अवधिमा खानुपर्छ । बच्चालाई भने वयस्कको तुलनामा छिटो छिटो भोक लाग्ने उनी बताउँछन् ।

भोक स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय