+
+

सुरक्षा त्रासका कारण काठमाडौंका हलमा रोकियो ‘आदिपुरुष’को बिहानी प्रदर्शन

चलचित्र संघले बोलायो बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते ७:१८

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका छन् ।

क्यूएफएक्स, आईएनआई, बिग मुभिज, वान सिनेमाजसहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् । फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितिका कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिति हेरेर चलाउन निर्देशन दिएको छ । सुरक्षा त्रासको कारण हलहरुले बिहानी शो रोकेका हुन् ।

बिहानी शोमा बिक्री भइसकेका टिकटको रकम फिर्ता गर्ने वा यदि चलेको खण्डमा अर्को शोमा मिलाउने व्यवस्था हलहरुले गरेका छन् । चलचित्र विकास बोर्डको बक्सअफिस डेटाअनुसार बिहीबार रातिसम्म १५ लाख रुपैयाँ (६ हजार टिकट) बराबरको आदिपुरुषको टिकट बिक्री भइसकेको देखिएको छ ।

चलचित्र संघले बोलायो आकस्मिक बैठक

काठमाडौं महानगरका मेयर बालेन शाहको अभिव्यक्तिपछि उत्पन्न परिस्थितिलाई लिएर चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ । बैठकमा बालेनको अभिव्यक्तिबारे छलफल हुने र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।

‘हिन्दी फिल्मलाई लिएर विगतमा भएका घटनालाई लिएर गम्भीर छौं । बालेनजीको भनाइ र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुन्छ । बालेनजीले कुन सन्दर्भमा बोल्नुभएको हो, त्यो कुराको छलफल हुन्छ । उहाँले समय तोकेरै सबै हिन्दी फिल्म रोक्ने अभिव्यक्ति दिनुभएको छ । कसरी अघि बढ्ने निधो गर्छौं,’ संघका एक सदस्यले भने ।

मेयर शाहले फिल्ममा समावेश जानकी भारतकी छोरी हुन् भन्ने विवादित अभिव्यक्तिलाई भारतमा समेत नसच्चाएसम्म काठमाडौं महानगरमा फिल्म प्रदर्शन हुन नदिने स्टाटस लेखेका थिए । उनले तीन दिनको मिति तोकेरै लेखेकाले चलचित्र संघले यसबारे बैठक बोलाएको हो । तर नेपालको सेन्सर बोर्डले भने विवादित वाक्य हटाउँदै फिल्मलाई प्रदर्शनको अनुमति दिइसकेको छ ।

यसैबीच केही सांसद र दलको भातृ संगठनका नेताहरुले पनि फिल्मलाई लिएर विरोध जनाइरहेका छन् । फिल्म निकायका सबै संस्थाले पनि फेसबुकमा स्टाटस लेख्दै आपत्ति व्यक्त गरिरहेका छन् । केही भारतीय स१्चारमाध्यमले समेत यो प्रकरणलाई प्राथमिकता दिंदै समाचार प्रकाशन प्रसारण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?