
दाङ । शुक्रवारदेखि यहाँ प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव सुरु भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा घोराहीमा सुरु महोत्सवको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरिन् ।
बालबालिका तथा किशोरकिशोरीलाई कथा भन्ने र हेर्ने वातावरण तयार गर्नु, चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सव तीन दिन चल्नेछ ।
मन्त्री शर्माले फिल्म क्षेत्र देशको कला संस्कृति झल्काउने महत्वपूर्ण क्षेत्र भएको बताउँदै यसमा बालबालिकालाई पनि सहभागी गराउनुपर्ने बताइन् । महोत्सवले बालबालिकामा फिल्म साक्षरता र चेतनाको विकास गर्न भूमिका खेल्ने बताइन् ।
‘नेपालबाट पनि बालबालिकाले बनाएका वा उनीहरुका बारेमा बनेका चलचित्र बन्नुपर्छ, देखाइनुपर्छ’ उनले भनिन्, ‘अब अन्तर्राष्ट्रय महोत्सवमा हाम्रा चलचित्र लैजाने गरी अब तयारी थालिनुपर्छ ।’ बोर्ड अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको समारोहमा स्थानीय कला, संस्कृति झल्काउने सास्कृतिक प्रस्तुति देखाइएको थियो ।
कलाकारसँग रमाए बालबालिका
महोत्सवको पहिलो दिन बालबालिका कलाकारसँग झुमेका थिए । कार्यक्रममा संगीतकार चेतन सापकोटा, गायिका सत्यकला राई, बाल कलाकार अनुभव रेग्मीले प्रस्तुति दिए । बालबालिकाको उल्लेखनीय सहभागी रहेको कार्यक्रममा कलाकारसँग बालबालिका झुमेका थिए । संगीतकार सापकोटाले सापकोटाले ‘मागेर पाउने भए म’ लगायतका चर्चित गीत गाएर मनोरञ्जन दिए ।
गायिका राईले ‘तिमी मसँग नबोल्ने अरे’ गीत प्रस्तुत गरेकी थिइन् । त्यस्तै बाल कलाकार रेग्मीले ‘यी आँखामा तिमी छौं’ गीतमा प्रस्तुत दिए । सांगीतिक प्रस्तुतिमा बालबालिका उनीहरुसँगै छमछमी नाचे ।
दोस्रो दिन बालबालिकासँग भुवनसँग
महोत्सवको दोस्रो दिन शनिवार बाल चलचित्र प्रर्दशन गरिनेछन् । बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म देखाइने फिल्ममा बालबालिकालाई सहभागि गराइनेछ ।
दोस्रो दिनको बिहान ११ बजेदेखि बालबालिकासँग अभिनेता भुवन केसीले अन्तरक्रिया गर्नेछन् । बालबालिकासँग भुवन केसी नाम दिइएको उक्त अन्तरक्रियामा केसीले फिल्म यात्रा र नेपाली फिल्मबारे अन्तक्रिया गर्नेछन् बोर्ड अध्यक्ष समेत रहेका केसीले बालबालिकासँग फिल्म क्षेत्रप्रति उनीहरुको बुझाई, सिकाइबारे संवाद पनि गर्ने महोत्सव संयोजक केएल बुढाथोकीले बताए ।
प्रतिक्रिया 4