+
+

पुलिसले लखेट्दा लखेट्दै चोर ह्यूमपाइपभित्र पसेपछि…

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १८:३९
रातो घेरा लगाइएको पाइपभित्र उनी छिरेका हुन् ।

३ असार, काठमाडौं । आइतबार अपराह्न साढे ३ बजेतिर ट्राफिक प्रहरी वृत्त, गौशालाको टोलीले सेतोपुल नजिक मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई फेला पार्‍यो ।

ट्राफिक प्रहरी नजिक जानासाथ उनी भाग्न थाले । ट्राफिक प्रहरीका जवान सडकको ड्यूटी छाडेर चोरलाई लखेट्दै अगाडि बढे । मैतीदेवी, सेतोपुल पुगेपछि चोर पुलमुनि करिडोरको बाटोतिर लागे ।

ट्राफिक प्रहरी पनि त्यतै गएपछि उनी पुलमुनिको ह्यूमपाइपभित्र छिरिदिए ।

अन्धकार ह्यूमपाइपभित्र छिरेपछि ट्राफिक प्रहरीले पनि भित्रै छिरेर तान्ने प्रयास गरे । तर, उनी केहीबेरमै नदेखिने ठाउँमा पुगे ।

‘उनको सडकमा ड्यूटी भएकाले प्रहरी वृत्त, गौशालाका अरु प्रहरीलाई बोलाएर फर्किएछन्’, उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौंका एसएसपी राजेन्द्र भट्टले अनलाइनखबरसँग भने, ‘प्रहरीले लामो समयसम्म खोज्दा उनी फेला परेनन् ।’

ह्यूमपाइपमा छिरेका व्यक्तिको खोजीका लागि प्रहरीले टर्च लाइट ल्यायो, लामो बाँस ल्याएर भित्रसम्म जाँच गर्‍यो । उनको खोजीमा प्रहरी वृत्त, गौशालाका इन्स्पेक्टर आरके शर्मा नेतृत्वको टोली नै परिचालित भयो ।

झण्डै ३ घन्टासम्ममा पनि फेला नपरेपछि प्रहरी रित्तोहात फर्कियो ।

‘सादा पोशाकका प्रहरी ह्यूमपाइपको निकै भित्रसम्म प्रवेश गरे, तर उनी देखिएनन्’, गौशाला ट्राफिकका एक प्रहरीले भने, ‘अरुबेला पनि ती व्यक्ति ह्यूमपाइपभित्र छिर्ने रहेछन्, बीचबाटै हराए ।’

फोहोरका कारण ह्यूमपाइपमा बीचमै जाम थियो । पल्लो पट्टि निस्किन समेत समस्या थियो । प्रहरीले उनको हुलियाका आधारमा खोजी जारी राखिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?