
४ असार, काठमाडौं । अझै तीन दिन ताप्लेजुङ र पाँचथरमा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तीन दिनसम्म तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने छ ।
त्यसले क्षति पुर्याउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले आज दिउँसो बाढी पूर्वानुमान बुलेटिन जारी गरेको छ । बुलेटिनमा देशभरका नदीहरुको अवस्थाबारे उल्लेख छ । तीमध्ये आज, भोलि र पर्सि तमोर, अरुण र कन्काइ नदीको बहाव उल्लेख्य बढ्ने तथा तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।
यसैगरी ताप्लेजुङ र पाँचथर भएर बग्ने नदी तथा खोलाहरुमा भने उच्च जोखिमको सम्भावना छ । ती जिल्लाका नदी तथा खोलाहरुमा सतर्कता तह पार गर्ने सम्भावना छ ।
संखुवासभा, तेह्रथुम, इलाम, झापा, दोलखा, लमजुङ र गोरखा भई बग्ने नदी तथा खोलाहरुमा जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया 4