+
+

सुरु भएको ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय उडान, नियमित अझै अनिश्चित

विकास रोकामगर विकास रोकामगर
२०८० असार ६ गते १६:३०

६ असार, काठमाडौं । निर्माणको चर्चा चलेको करिब ५ वर्षपछि गत पुस १७ अर्थात् अंग्रेजी नयाँ वर्ष जनवरी १ को छेको पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुँदै गर्दा धेरै पोखरेलीले सोचेका थिए, ‘अब आफ्नै आँगनबाट संसार फन्को मार्न सकिन्छ । कोभिड महामारीले थिलथिलो पारेको पर्यटन व्यवसाय माथि उठ्छ ।’

अंग्रेजी नयाँ वर्षको दिन अन्तर्राष्ट्रिय उडानबाटै विमानस्थल उद्घाटन धेरै पोखरेलीको प्रक्षेपण थियो । उतरचढावको लामो समयपछि व्यावसायिक उडान सुरु हुन लागेको पोखरा महानगरपालिकाले सार्वजनिक बिदा नै दिएको थियो ।

तर, पोखरेलीको अनुमानविपरीत नयाँ विमानस्थलमा बुद्ध एअरको ७२ सिटे एटीआर विमान (काठमाडौं–पोखरा) बाट उद्घाटन भयो । त्यसअघि पहिलो पटक हिमालयन एअरलाइन्सको न्यारोबडी विमानले ‘डेमो’ उडान भरेको थियो ।

अन्तर्राष्ट्रिय विमान सञ्चालनमा आएको ६ महिनापछि बुधबार पहिलो पटक पोखरेलीले पहिलो अन्तर्राष्ट्रिय विमान अवतरणको अनुभव लिए । चिनको छेन्दुबाट सिचुवान एअरलाइन्सको चार्टड न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त विमान २ घन्टा पोखरा बसेर ११ बजे काठमाडौं फर्कियो ।

पोखरामा ८ र ९ गते हुन लागेको ‘ड्रागन बोट रेस’ महोत्सवमा सहभागी हुन आएका चिनियाँ खेलाडी र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित नेपाली प्रतिनिधिमण्डल विमानमा थिए । विमानस्थलमा पोखरा महानगरसहित पोखरेली पर्यटन व्यवसायीले भव्य स्वागत गरे ।

पोखरामा एकै दिन भारत र चीनका राजदूत

भारतले अन्तर्राष्ट्रिय रुट परमिट नदिँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घरेलु उडानमै सीमित छ । छिमेकी राष्ट्र भारतले रुट नदिए पनि पहिलो उडान भने बुधबार चीनले गर्‍यो । विमानस्थल बनाउन चीनले नै ऋण सहयोग गरेको छ ।
बुधबार करिब ४ किलोमिटरको दूरीमा भारत र चीनले आआफ्नै तरिकाले २ ठूला कार्यक्रम गरे ।

पोखरा रंगशालामा भारतीय राजदूतावासले करिब १ हजार जनाको उपस्थितिमा भव्य योग दिवस मनायो भने नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा चीनले पहिलो पटक चार्टड विमानस्थल उतारेर कार्यक्रम गर्‍यो ।

एकै दिन २ ठूला राष्ट्रको ठूला कार्यक्रमलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ । पोखरा रंगशालामा भएको योगा कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तर्राष्ट्रिय विमानस्थललाई चासो दिएनन्, बरु सडक मार्गको स्थिति राम्रो भए धेरै भारतीय पर्यटक नेपाल आउने बताए ।

‘पोखराको साथ सम्बन्ध काफी पुरानो हो । भारतका विभिन्न सहरदेखि समय बिताउन मान्छेहरु पोखरा आउँछन् । बिहानमात्रै थाहा भयो, अहिले पनि सबैभन्दा धेरै भारतीय पर्यटक पोखरा आइरहेका छन्,’ श्रीवास्तवले भने, ‘यो बाटोको अवस्था सुध्रियो भने अझै धेरै भारतीय पर्यटक पोखरा आउँछन् ।’

भारतीय राजदूत श्रीवास्तवले पोखराको आउने बाटो सुधार्ने सुझाव दिएको करिब एक घन्टापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर चीनका राजदूत छन् सोङले दोस्रो पटक पनि पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत नै बनेका अभिव्यक्ति दोहोर्‍याए ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा सुरुवात भएको हो । यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । चाइनिज इन्जिनियरहरुबाट यो निर्माण भएको हो,’ चिनियाँ राजदूत सोङले भने, ‘अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौं, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बीआरआई परियोजना अन्तर्गतको हो ।’

पोखरा विमानस्थल चिनियाँ लगानीमा बनेको र उद्घाटनमै चिनियाँ राजदूतले ‘बीआरआई’ परियोजनाअन्तर्गत बनेकाले भारतले रुट दिन अनिच्छुक रहेको आशंका पनि सरोकारवालाहरु बताउँदै आएका छन् ।

यसअघि पनि गत चैत अन्तिम साता पोखराका पर्यटन व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर चीन र भारतबाट तत्काल अन्तर्राष्ट्रिय उडानका लागि कुटनीतिक पहल गरिदिन माग राखेका थिए ।

पर्यटनमन्त्रीले खोतले मामाभाञ्जीको सम्बन्ध 

यसअघि भारतबाट नेपाल आउने उच्च पदस्थले खुला सीमाना भएको छिमेकी राष्ट्र भारत र नेपालबीच रोटीबेटीको सम्बन्ध रहेको बताउँदै आएका छन् ।

बुधबार चिनियाँ पाहुनालाई स्वागत गर्न पोखरा आएका पर्यटनमन्त्री सुदन किरातीले भने चीन र नेपालबीच ‘मामाभाञ्जी’को सम्बन्ध रहेको जिकिर गरे ।

करिब १५ सय लामो इतिहास रहेको तिब्बती राजा सङचङ गम्पो र अंशु बर्माकी छोरी भृकुटीको बिहेबारी प्रसंग खोतल्दै मन्त्री किरातीले मामाभाञ्जीको सम्बन्ध रहेको बताएका हुन् । उनले चिनियाँ पर्यटक आउँदा आफूलाई भाञ्जाभाञ्जी आएको अनुभव हुने सुनाए ।

‘इतिहासको सङचङम्पोको देशबाट आउनु भएका तपाईं चिनियाँ पाहुनाहरु हामीलाई पाहुनाजस्तो मात्रै लाग्दैन । भृकुटी हाम्रो चेली भएकाले होला, त्यहाँको पाहुनाहरु नेपालमा आउँदा हामीलाई भाञ्जाभाञ्जी आएजस्तो लाग्छ,’ मन्त्री किरातीले भने, ‘के तपाईंहरुलाई मामाघर आएजस्तो लाग्दैन ?’

पोखराका मेयर धनराज आचार्यले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै भगिनी सम्बन्ध चिनियाँ सहरबाट पहिलो विमान अवतरण सुखद रहेको प्रतिक्रिया दिए । ‘विमान अवतरणसँगै १५ सय वर्ष पुरानो नेपाल र चीनबीचको सम्बन्ध झनै प्रगाढ बन्ने अपेक्षा राखेको छु,’ उनले भने, ‘चीनका विभिन्न नगरहरुसँग पोखराको भगिनी सम्बन्ध थप उचाईमा पुग्ने विश्वास लिएको छु ।’

मेयर आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको चीनले आगामी दिनमा पनि नियमित उडान भर्ने विश्वास व्यक्त गरे । उनले चीनका अन्य मुख्य शहरबाट पनि नियमित उडानको अपेक्षा राखेको बताउँदै चिनियाँ नागरिकलाई पोखरा भ्रमणको निम्तो पनि बाँडे ।

कहिले होला नियमित अन्तर्राष्ट्रिय उडान ?

व्यावसायिक उडान सुरु भएको ६ महिनापछि भएको पहिलो चार्टड उडान भए पनि फेरि कहिले नियमित उडान हुन्छ भन्नेबारे सर्वत्र चासोको विषय बनेको छ । पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले सिचुवान विमानको सफल अवतरणसँगै पोखरामा पनि अन्तर्राष्ट्रिय उडान सम्भव रहेको प्रमाणित भएको बताए ।

३१९ जहाज अवतरण गरेपछि व्यावसायिक रुपमै सञ्चालन गर्न सकिने सिद्ध भएको उनले बताए । ‘सँगसँगै यहाँ बिजनेस छ भन्ने सरोकारवाला निकायले प्रमोट गर्नुपर्छ,’ गौतमले भने, ‘त्यसैले एउटामात्रै हो, अरु पनि उडान सम्भव छ भनेर यसले सहयोगचाहिँ पक्कै गर्छ ।’

गौतमले नियमित अन्तर्राष्ट्रिय विमानका लागि व्यावसायिक अध्ययन भइरहेको सुनाए । ‘टेक्निकल रुपमा सक्षम छौं भन्ने देखिइसकेको छ । अब जजिरा, हिमालय सबैले बिजनेस एनलाइसिस गरिरहेकै छन्,’ उनले भने । चार्टड उडानमा चीनबाट आएका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पनि अन्तर्राष्ट्रिय उडान अझै अन्योल रहेको सुनाए ।

‘यस विषयमा मलाई त्यति धेरै जानकारी छैन । हामीले कुराकानी गर्ने हो, सामान्य पहलमात्रै गर्ने हो,’ तिमिल्सिनाले भने, ‘यसको नियमित उडान कहिले हुने, कसरी गर्ने, सम्झौता गर्ने सरकारकै भूमिकामा भर पर्छ । तर, म पनि जतिसक्यो चाँडो यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनुपर्छ भन्ने पक्षमा छु ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?