+
+

भारतलाई बेच्ने मूल्यमै उद्योगले बिजुली पाउने हो भने स्टिल निर्यात गर्न सक्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १४:४३

७ असार, काठमाडौं । नेपालमा उत्पादनमूलक उद्योग र व्यवसायमा शारडा ग्रुपको नाम अग्रणी स्थानमा छ । यही ग्रुप अन्तर्गतको विराटनगरमा रहेको प्रिमियर स्टिल्सले ५ वर्षदेखि प्रिमियर ब्राण्डमा स्टिल उत्पादन गरिरहेको छ ।

नेपाल गुणस्तर प्रमाण पत्र (एनएस) १९१ र अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण चिन्ह (आईएसओ) ९००१–२०१५ प्राप्त गरेको छ । पूर्वी विराटनगरलाई आधार बनाएर खुलेको फ्याक्ट्रीले घरसहितका स–साना परियोजना र ठूलो परियोजनाका लागि दुई प्रकारका स्टिल उत्पादन गर्छ । कम्पनीले नेपालमै पहिलोपटक ३६ एमएमको डण्डी उत्पादन गरेर नेपाल गुणस्तर पनि लियो ।

उच्च गुणस्तरको प्रिमियम डण्डी उत्पादन गरिरहेको यो ग्रुपले कोशी, बागमती र मधेश प्रदेशलाई आधार बनाएर प्रिमियम मूल्यमा डण्डी बिक्री गरिरहेको छ । कोभिड–१९ महामारी, रुस–युक्रेन युद्ध र चर्को ब्याजदर झेलिरहेको अर्थतन्त्र यतिबेला त्राण भर्ने प्रतीक्षामा छ । सरकारले भर्खरै सार्वजनिक गरेको बजेट, स्टिल्स उद्योगको अवस्था र सरकारले लिनु पर्ने नीतिबारे कम्पनीका निर्देशक सौरभ शारडासँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौंः

प्रिमियर स्टिल्सले कसरी काम गरिरहेको छ ?

प्रिमियर स्टिल्स स्थापना भएको ५ वर्ष भयो । नेपाली बजारमा स्टिल्स उत्पादनमा निकै प्रतिस्पर्धा छ । जसमध्ये हामी बजारमा उच्च गुणस्तरको स्टिल्स त्यो पनि ग्राहकले मन पराउन सक्ने मूल्यमा दिने रणनीतिले बजारमा छौं । कसैले गुणस्तरीय स्टिल्सको खोजी गर्छ भने त्यो हामीले मात्रै पूरा गर्नसक्छौं भन्ने हाम्रो दाबी हो । विराटनगरको पूर्वी बेल्टमा स्टिल्सको फ्याक्ट्री छ । कम्पनीबाट दैनिक ७ सय मेट्रिकटन स्टिल्स उत्पादन हुन्छ । हामी हरेक दिन यही क्षमतामा उत्पादन गर्न सक्छौं तर आर्थिक मन्दीका कारण हाम्रो उत्पादन ५० प्रतिशतमा झरेको छ ।

स्टिल उद्योगको अहिलेको अवस्था कस्तो छ ?

पछिल्लो समय आर्थिक मन्दीका कारण व्यापार चौपट भएको छ । आर्थिक सरकार र राष्ट्र बैंकको नीति र अन्तर्राष्ट्रिय कारणहरुबाट सिर्जित मन्दीका कारण हाम्रा वितरक साथीहरु समस्यामा परे । उनीहरु बैंक डिफल्टमा पर्दा आफ्नो व्यवसाय छोडेर हिंड्न बाध्य भए । जसका कारण साना व्यवसायी उद्योगको रकम तिर्न असमर्थ भए । कतिपयले व्यवसाय छाडे कतिपयको सम्पत्ति बैंकले लिलाम गर्‍यो । साना व्यवसायी यस्तो समस्यामा परेपछि हामीहरु पनि त्यसबाट अछुतो रहन सकेका छैनौं । यस्तो समस्यामा सरकारले आर्थिक नीतिमार्फत हामीलाई सहजीकरण गर्नु पर्ने थियो, तर त्यसो भएन ।

अहिले स्टिल्सलाई मन्दीले समस्यामा पारेको छ भनेर बुझ्दा हुन्छ ?

अवश्य पनि मन्दीका कारण बजारमा बिक्री भएका वस्तुहरुको रकम उठ्न सकेको छैन । बजारमा अहिले मानिसहरु निर्माणको काम गर्न डराइरहेका छन् । जब सरकार र मानिसहरु विकास निर्माणको काम गर्ने वातावरण देख्दैनन्, तबसम्म निर्माणमा आधारित उद्योगहरुले काम पाउँदैनन् । सरकारले पूँँजीगत खर्च गर्न नसक्दा विकासका कामहरु ठप्प भएका छन् । काम भएका विकास निर्माणका आयोजनाले पनि समयामै भुक्तानी नपाउँदा भुक्तानी चक्र बिग्रिएको छ । समग्र निर्माण क्षेत्रको अवस्था यतिबेला दयनीय अवस्थामै छ ।

मन्दीकै बीच सरकारले बजेट ल्यायो ? यसबाट केही आशा पलाउने ठाउँ छन् ?

पक्कै पनि बजेटबाट ठूलो आशा गरेका थियौं, सरकारले मन्दीबाट बजारलाई माथि उठाउँछ । तर, सारमा यस्तो हुन सकेन । सरकारले बजेटबाट आर्थिक मार्गचित्र र मौद्रिक नीतिको स्पष्टताबारे प्रष्ट्याएर निजी क्षेत्रलाई विश्वासमा लिनु पर्ने थियो । तर, यस्तो देखिएको छैन । जसका कारण हामी सरकारको बजेटबाट आशावादी हुन सकेनौं ।

भारतलाई सस्तोमा बिजुली दिने तर, नेपाली उद्योगले महँगोमा बिजुली प्रयोग गर्नुपर्ने परिपाटी सरकारले बदल्नु पर्छ ।

सरकार र यसका नीतिप्रति निर्माण क्षेत्रका उद्योगका तीन वटा साझा अपेक्षाहरू छन् ।

एक, सरकारले पूँजीगत खर्च बढाओस् । दोस्रो, उद्योगलाई बैंकिङ प्रक्रिया सरल र सहज बनाओस् र तेस्रो, निजी क्षेत्रको भुक्तानी नरोकोस् ।

तर, सरकारको बजेटमा यी तीन वटै कुरामा सुधार हुनेगरी काम गरेको देखिंदैन । सरकारले पूँजीगत खर्च गर्न सकेको छैन । खर्च भएको आयोजनाको भुक्तानी समयमै गर्न सकेको छैन भने चालुपूँजी कर्जाको कडा मापदण्डका कारण बैंकिङ फाइनान्सिङ प्रणाली पनि अप्ठ्यारो भएको छ ।

बजेटले तत्काल सिर्जना गरेका समस्या चाहिँ कहाँनेर हो?

बजेटले यसपटक हामीलाई मूल्यवृद्धि उपहार दिएको छ । सरकारले सहुलियत दिएपछि हामीले ‘ब्याकवार्ड इन्ट्रिग्रेसन’ गरेर फर्नेस उद्योग लगायौं । यसमा हामीलाई सरकारले सहुलियत दिन्छ भन्ने थियो । तर, झन् अन्तःशुल्क लगाएपछि समस्या सिर्जना भयो । जसका कारण उपभोक्तामाथि मूल्य थोपरिने भयो । पहिले आयात गरेर फर्निसबाट डण्डी उत्पादन गर्दा नलाग्ने अन्तःशुल्कले अब उपभोक्ता थप महँगीमा पर्नेछन् । सरकारले यस्तो व्यवस्था खारेज गर्नुपर्छ ।

कच्चा पदार्थको उपलब्धता कस्तो छ ?

अहिले हामी स्पञ्ज आइरन आयात गरेर त्यसबाट बिलेट बनाउने र बिलेटबाट डण्डी बनाउने हो । अहिलेसम्म कच्चा पदार्थको मौज्दात र त्यसबाट उत्पादनमा समस्या छैन ।

बैंकिङ र मौद्रिक प्रणालीका कारण भएको समस्या के हो ?

मुख्य गरी अहिले हामीलाई गाँजेको समस्या भनेको उच्च बैंक ब्याजदर र चालु पूँजीकर्जा मापदण्ड नै हो । उच्च बैंक ब्याजदरका कारण उपभोक्ताहरुले निर्माणका काम गरिरहेका छैनन् । अर्को ग्राहक र बजार चक्र बिग्रिएकै बेला राष्ट्र बैंकले चालुपूँजी कर्जा मापदण्ड कार्यान्वयनमा ल्यायो । यो नीति सही नियतले ल्याएको भए पनि त्यसको निराकरण एकैपटक गर्न खोज्दा समाधान भन्दा पनि समस्या झन् बल्झियो । सरकारले तत्काल सहज वातावरण बनाउने हो भने तत्काल यो मार्गदर्शनलाई बिस्तारै लागु गर्ने अवस्था बनाउनुपर्छ ।

उद्योगलाई मन्दीबाट माथि उठ्न सरकारले दिन सक्ने अन्य सुविधाहरु के–के हुन सक्छन् ?

सरकारले तत्काल थप केही गर्ने हो भने त्यो सम्भावना बिजुलीमा छ । बिजुलीका पूर्वाधार पनि बनाउँदै छ । तर, हामीले सस्तोमा बिजुली पाउन सकेका छैनौं । सरकारले भारतलाई सस्तोमा बिजुली दिने तर, नेपाली उद्योगले महँगोमा बिजुली प्रयोग गर्ने अहिलेको परिपाटी सरकारले बदल्नुपर्छ ।

स्वदेशी उद्योगलाई नपुगेको बिजुली मात्रै निर्यात गर्ने हो । यसो गर्दा हाम्रो उत्पादन लागत कम भएर उपभोक्तादेखि सबै क्षेत्रले राहत पाउँछन् । स्पञ्ज आइरनपछि स्टिल्स उद्योगको दोस्रो ठूलो कच्चा पदार्थ बिजुली हो । त्यसो भएमा हामी डण्डी निर्यात गर्ने अवस्थामा पुग्न सक्छौं । त्यसैले सकारले हामीलाई बिजुलीमा अनुदान दिनु पर्छ ।

बजार हिस्साको हिसाबले हामी कहाँ छौं ?

हामीले अहिले तीन वटा प्रदेशमा गुणस्तरीय छड बिक्री गरिरहेका छौं । कोशी, मधेश र बागमती प्रदेशको काठमाडौंसम्मको बजार ओगट्छौं । कोशी प्रदेशको बजारमा एक नम्बरमा छौं । मधेश र बागमती प्रदेशमा पनि हामीले राम्रो प्रतिस्पर्धा गरिरहेका छौं ।

कस्तो अवस्थामा हामीले प्रिमियर स्टिल्स प्रयोग गर्न सक्छौं ?

हामीले दुई प्रकारका डण्डी उत्पादन गछौं । ‘एफई ५००’ र अर्को ‘एफई ५०० डी’ गरी दुई प्रकारका वटा डण्डी उत्पादन गछौं । हामीले उत्पादन गर्ने डण्डी उच्च गुणस्तरको हुन्छ । घर तथा सानो संरचनाका लागि ‘एफई ५००’ डण्डीको प्रयोग हुन्छ भने अर्को ‘एफई ५०० डी’ को डण्डी अग्लो भवन र ठूला पूर्वाधारमा प्रयोग गर्न सकिन्छ । नेपालमा पहिलो पटक हामीले ३६ एमएमको डण्डी मेत उत्पादन गरेर नेपाल गुणस्तर लिएका छौं । नेपालमा जलबिद्युत परियोजनाका लागि इन्जिनियरको डिजायन अनुसार ३६ एमएमको डण्डी उत्पादन गर्ने हामी पहिलो कम्पनी हौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?