+
+

बजारको केरा विषाक्त छ कि छैन कसरी चिन्ने ?

उज्ज्वल रायमाझी, खाद्य अनुसन्धान अधिकृत उज्ज्वल रायमाझी, खाद्य अनुसन्धान अधिकृत
२०८० असार १० गते १२:५१

अत्यधिक पोषणले भरिपूर्ण केरा बाह्रैमास पाइने सदाबहार फल हो । केरामा आइरन, क्याल्सियम र भिटामिन प्रशस्त मात्रामा हुन्छ । तर कहिलेकाहीं केरा स्वास्थ्यका लागि हानिकारक पनि साबित हुन सक्छ । यसमा रसायन र विषादीको प्रयोग भएमा केरा स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

त्यसैले बजारमा पाइने केराका विषयमा उपभोक्ताले केही कुरा जान्न जरुरी छ ।

बजारमा कुन कुन जातका केरा आउँछ ?

बजारमा बढी पाइने र रुचाइनेमा मालभोग केरा, चिनी चम्पा, धुस्रे, मुंग्रे आदि हुन् । यी विभिन्न जातका केरामध्ये मालभोग केरालाई धेरैले रुचाउँछन् ।  नेपाली बजारमा स्थानीय उत्पादनले नै माग पूरा गर्न सक्ने भए पनि भारतमा पनि ठूलै मात्रामा केरा आयात हुने गरेको छ ।

केरा बोटमै पाक्छ वा पकाइन्छ ?

केरा ‘क्लाइम्याक्टेरिक फ्रुट’ अर्थात् बोटबाट टिपेपछि पनि पाक्ने फलमा पर्छ । तर केरा बोटमै पनि पाक्छ । इथिलिन एक हार्मोन हो जुन प्राकृतिक रूपमा फलफूलभित्र उत्पादन हुन्छ र यो प्राकृतिक रूपमा पाक्छ । तर केरा नपाकी टिपेर कृत्रिम इथेलिनको प्रयोग गरेर पनि पकाउने गरिन्छ । छिटो टिपेर पकाउनका लागि रसायनको प्रयोग गरेको त पाउन सकिन्छ । यसरी छिटो पकाउन खोज्दा प्रयोग गरेको रसायनको प्रयोग बढी भएको फल पनि बजारमा भेट्न सकिन्छ । यो कुरामा किसान र व्यापारी अलि सचेत हुनुपर्छ ।

कुन किसिमको रसायन मिसाइन्छ ?

केरा पकाउने क्रममा इथेलिन रसायन मिसाइन्छ । साथै केरा चाँडो पाकोस् भनेर कर्बोहाइड रसायनको प्रयोग गरेको पनि पाइन्छ । जुन वैज्ञानिक तरिकाले मात्रा मिलाएर मिसाइयो भने त्यसले कुनै असर गर्दैन । तर मात्रा धेरै भयो भने यसले स्वास्थ्यमा असर गर्छ । यस्ता रसायनको प्रयोग नै नगरी बोटमै पाक्न दिंदा त्यो अझै स्वस्थकर हुन्छ ।

रसायन र विषादी हालेको केरा कसरी चिन्ने ?

केरामा रसायन हालेर पकाइएको छ कि छैन भनेर चिन्न केही कुरामा ध्यान दिनुपर्छ । कर्बोहाइड तथा अन्य रसायन प्रयोग गरिएको छ भने गन्ध फरक हुन्छ । फलफूलको प्राकृतिकभन्दा अलि फरक गन्ध आउन सक्छ । आकार हेरेर पनि केरामा रसायन मिसाएको छ कि छैन पत्ता लगाउन सकिन्छ । केराको आकार प्राकृतिक भन्दा ठूलो वा रंग फरक छ भने रसायन मिसाएको हुन सक्छ ।

कृत्रिम रूपमा पकाएको छ भने सबैतिर राम्ररी नपाकेको हुन सक्छ । कतै पाकेको र कतै काँचो भने त्यसलाई रसायनको सहायताले पकाइएको हो भनेर बुझ्नुपर्छ ।

कस्तो रसायन मिसाइएको हो । कति मात्रामा मिसाइएको हो भनेर थाहा पाउन भने ल्याब जाँच नै गर्नुपर्छ ।

केरालाई विषादीरहित बनाउने कुनै उपाय छ ?

केरालाई विषादीरहित भन्दा पनि विषादीको प्रभाव कम गर्न केरा किनेर ल्याएको एक-दुई दिनपछि मात्र प्रयोग गर्नु उपयोगी हुन्छ । खानुअघि एक घण्टा पानीमा डुबाएर राखियो भने पनि त्यसमा भएको रसायनको मात्रा कम भएर जान्छ ।

केराको मुख्य सिजन कहिले ?

केराको मुख्य सिजन फागुनदेखि कात्तिकसम्म हो । तर अन्य फलफूलको तुलनामा यो अन्य सिजनमा पनि पाइन्छ ।

(खाद्य अनुसन्धान अधिकृत रायमाझीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?