+
+

‘अन्तिम संस्कार’मा विजय लामा र त्रिचन्द्र राईको ‘न्युड सिन’को चर्चा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १२:४४

काठमाडौं । तपाईंले हलमा चलिरहेको फिल्म ‘अन्तिम संस्कार’ हेर्नुभएको छ भने क्लाइमेक्सको दृश्यले तपाईंलाई तरंगित बनाउन सक्छ । सम्भवतः पहिलोपटक नेपाली फिल्ममा यसरी न्युड दृश्यको प्रयोग भएको छ । उत्कर्ष दृश्यमा विजय लामा र त्रिचन्द्र राईले सर्वाङ्ग नांगिएर न्युड दृश्य दिएका छन् ।

निर्माताले उक्त दृश्यलार्ई उपल्लो मुस्ताङको संस्कार भनेर प्रस्तुत गरेपछि सेन्सर बोर्ड पनि यो दृश्यप्रति लचिलो बनेको देखिएको छ । बोर्ड सदस्य ऋषिराज आचार्यले निकै लामो न्युड दृश्यमा कैंची चलाएर छोट्याइएको बताए । ‘यो दृश्य निकै लामो थियो । तर छोट्टाइएको छ । निर्माताले मुस्ताङको संस्कार भनेपछि हामी पनि लचिलो बन्यौं,’ आचार्यले भने ।

ती दृश्यमा न्युड सिनलाई ‘धमिलो’ बनाइएको छ । यसअघि फिल्म ‘कालोपोथी’को एक दृश्यमा निर्देशक मीनबहादुर भामले दुई बालपात्रलाई पछाडिको भागबाट पूर्णतः न्युड दृश्य खिचेका थिए । यसलाई त्यतिबेला सेन्सर बोर्डले कलात्मक भन्दै अनुमति दिएको थियो ।

निर्देशक प्रदीप शाहले अनुसन्धानको क्रममा आफूले उपल्लो मुस्ताङ र डोल्पा क्षेत्रमा मान्छेको मृत्युपछि लामाले गर्ने अन्तिम संस्कारबारे थाहा पाएको र त्यसलाई फिल्ममा उतार्न प्रयास गरेको बताए । ‘लामाहरुले मान्छे मरेपछि काटकुट गर्ने चलन हुने रहेछ । तिब्बततिर यो संस्कृति रहेछ । रिसर्च गर्दा नेपालमा समेत अन्तिम संस्कारको यस्तो प्रक्रिया चार-पाँच ढंगले हुने रहेछ । तीमध्ये एउटा प्रक्रियालाई यहाँ समावेश गरेको हुँ,’ उनले भने ।

‘मुस्ताङ र डोल्पातिर बढी हुने रहेछ । पहिलेको जस्तो हुने रहेनछ तर यो संस्कृति हो । विदेशतिर पनि यसलाई स्काइ बरियल भनेर चिनिने रहेछ । केही विदेशीले डकुमेन्ट्री पनि बनाएका रहेछन् । त्यसलाई डिटेलमा उतारेर परम्परा देखाएको हुँ । फिल्मको लागि रहस्य, पर्फेक्ट इन्डिङ र सांस्कृतिक रुपमा सन्तुलन मिलाउन पनि यस्तो दृश्य कम्पोज गरेको हुँ,’ उनले भने ।

यो फिल्ममा विजय लामाले ओस्कार मनोनित फिल्म निर्देशकको भूमिका निर्वाह गरेका छन् भने त्रिचन्द्रले धर्मपुत्रको भूमिका । उनीहरु उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको बेला उक्त दृश्य खिचिएको उल्लेख छ । प्रदीप शाही निर्देशित यो फिल्ममा विजय र त्रिचन्द्रसहित दीया पुन लगायतको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?