+
+
सहकारी संकट-१ :

ओरियन्टलभन्दा पाँच गुणा ठूलो शिवशिखर सहकारी घोटाला

केदारनाथ शर्माले गरे सर्वसाधारणको साढे १५ अर्ब र बैंकको साढे ५ अर्ब अपचलन, ६ अर्ब रुपैयाँ भारत पलायन

विजय पराजुली विजय पराजुली
२०८० असार १२ गते २०:३७

१२ असार, काठमाडौं । १२ वर्षअघि ओरियन्टल सहकारी संस्थामार्फत त्यसका अध्यक्ष सुधीर बस्नेतले सर्वसाधारण निक्षेपकर्ताको ४ अर्ब अपचलन गरेको विषय अहिलेसम्मकै बहुचर्चित घटना हो । त्यसपछि ईच्छाराज तामाङ नेतृत्वको सिभिल सहकारीले ६ अर्ब रुपैयाँ अपचलन गरेपछि उनी जेलमा छन् ।

यी दुई सहकारीको तुलनामा धेरै नै ठूलो घोटालाका नायकका रुपमा देखा परेका छन्, केदारनाथ शर्मा न्यौपाने, जसले शिवशिखर बहुउद्देश्यीय तथा तुलसी सहकारीमार्फत् सर्वसाधारण निक्षेपकर्ताको करिब साढे १५ अर्ब रकम अपचलन गरेको खुलेको छ । त्यति मात्रै होइन, शर्माले आफ्नै लगानीमा शिखर अर्गनाइजेसन खडा गरी त्यसअन्तर्गतका विभिन्न कम्पनीमा विभिन्न बैंकबाट साढे ५ अर्ब रुपैयाँ लिएको समेत खुलेको छ । यसरी सम्पूर्ण रकम हिसाब गर्दा शिवशिखरका शर्माले गरेको घोटाला ओरियन्टलको तुलनामा पाँच गुणाभन्दा ठूलो देखिएको छ । लामो समय फरार भएका शर्मा सोमबार भारतबाट पक्राउ परेका छन् ।

भारत पलायन गराए ६ अर्ब

सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले दिएको जानकारीअनुसार हालसम्म शिवशिखर सहकारीको रकम शिखर अर्गनाइजेसनअन्तर्गतका विभिन्न ४३ वटा निजी कम्पनीमा लगानी गरेको खुलेको छ । शिखर अर्गनाइजेसन उनी र उनको परिवारको नामको निजी कम्पनी हो । ती कम्पनीहरुमा उनले सहकारीका निक्षेपकर्ताको रकम दुरुपयोग गरेका सीआईबीले जानकारी दिएको छ ।

ती कम्पनीमा उनले ८ अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ । ‘त्यही रकममध्ये ६ अर्ब भारत लगेको देखिएको छ,’ सीआईबी स्रोतले भन्यो । बाँकी रकमको रेकर्ड सीआईबीले पनि भेट्टाउन सकेको छैन ।

भारतमा पनि त्यहाँका स्थानीय साझेदारसँग मिलेर आफूले खाद्यान्न क्षेत्रमा लगानी गरेको जानकारी शर्माले सीआईबीलाई गराएका छन् । ‘भारतमा दाल चामललगायत क्षेत्रका व्यापारिक कम्पनीमा लगानी गरेको जानकारी दिएका छन्,’ सीआईबी स्रोतले भन्यो ।

शर्माले आफूलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट प्रभावित रहेको बताउने गरेका थिए । मुम्बइमा एक जना विधायकको घरबाट पक्राउ परेका उनको भारतमा राजनीतिक सम्पर्क राम्रै रहेको देखिन्छ ।

यसका साथै आफू र आफ्ना परिवारका सदस्यका नाममा घरजग्गा, सवारी साधनलगायत खरिद गरेर समेत सर्वसाधारणको निक्षेपको दुरुपयोग गरेको सीआईबीले जनाएको छ ।

शर्माले ‘आफूले सर्वसाधारणलाई निक्षेप रकम तिर्ने र त्यसका लागि वातावरण बनाइदिन आग्रह गरेको’ जानकारी पनि प्रहरीले दिएको छ । उनलाई प्रहरीले अनुसन्धानका लागि थुनामा राख्ने म्याद थप गर्नका लागि अदालतमा उपस्थित गराएको छ ।

शिवशिखर सहकारीले देशभर ३५ शाखा कार्यालयमार्फत रकम संकलन गरेका थिए ।

६ वटा बैंकको साढे ५ अर्ब कर्जा जोखिममा

सहकारीको स्रोतको मात्रै दुरुपयोग नभएर शर्माका विभिन्न कम्पनीमा बैंकहरुको अर्बाैं लगानीसमेत जोखिममा परेको देखिएको छ । बैंकहरुबाट करिब साढे ५ अर्ब हाराहारी कर्जा लगानी भएकोमा बैंकहरुको केही कर्जामा धितो छ भने केही कर्जामा धितोसमेत नभएको स्रोतको दाबी छ । असोजपछि केहीकम्पनी बाहेक अधिकांश कम्पनीले सावाँ तथा ब्याज भुक्तानी नगरेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

शर्माले सबैभन्दा धेरै कर्जा नेपाल एसबीआई बैंकबाट लिएको समेत स्रोत दाबी छ । बैंकले करिब पौने २ अर्ब कर्जा शर्माका विभिन्न कम्पनीमा लगानी गरेको छ । एसबीआई बैंकले शिखर अर्गनाइजेसनका कम्पनीलाई ऋण दिएको तर त्यसको यकिन तथ्यांक भने भन्न नसक्ने बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपालले बताए । यसबाहेक नबिल बैंकको करिब २० करोड कर्जा लगानी गरेको छ । शर्माको वाटर पम्प कम्पनीमा नबिल बैंकको लगानी रहेको र त्यसको धितासमेत रहेको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।

शर्मा र उनकी श्रीमती गीता शर्माको नाममा रहेको विभिन्न कम्पनीमा हिमालयन बैंकको सवा अर्ब भन्दा बढी कर्जा लगानी भएको स्रोतको दाबी छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ९० करोड कर्जा लगानी छ ।

माछापुच्छ्रे बैंकले २ वटा उद्योगमा करिब ६८ करोड लगानी गरेको छ । जसमध्ये मोरङको शनिश्चरेमा रहेको गोर्खा टी स्टेट अहिले पनि सञ्चालनमा छ । त्यसको कर्जा नियमित भए पनि माछापुच्छ्रे बैंकले लगानी गरेको अर्को एक परियोजना बन्द छ । जसमा करिब ४८ करोड कर्जा लगानी रहेको स्रोतले बतायो । त्यस्तै, उनको कम्पनीमा प्रभु बैंकको पनि ३५ देखि ४० करोड रुपैयाँ लगानी रहेको स्रोतको भनाइ छ । यसबाहेक एनएमबी बैंकले पनि करिब ८ करोड कर्जा लगानी गरेको स्रोतले जानकारी दियो ।

यसरी अपचलन गरियो सर्वसाधारणको रकम

यसरी निक्षेपकर्ताको बचत रकम आफ्नो व्यक्तिगत व्यवसायमा दुरुपयोग गरेपछि शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी सहकारी दुवैले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको वर्ष पुग्न लागिसकेको छ । शिवशिखरमा सर्वसाधारणको निक्षेप र शेयरपुँजी गरी १४ अर्ब रुपैयाँ थियो । हालसम्म प्राप्त तथ्यांकअनुसार त्यसमध्ये १० अर्ब ७७ करोड ७६ लाख रुपैयाँ निक्षेप मात्रै रहेको सीआईबीले जनाएको छ । १ लाख ६८ हजार ७२५ बचतकर्ताले सो रकम जम्मा गरेको सीआईबीले जनाएको छ ।

उनले भक्तपुरको सल्लाघारीमा शिवशिखर कृषि सहकारी र कौशलटारमा शिखरदीप बहुउद्देश्यीय सहकारी दुवै चलाउँदै आएका थिए । यी दुई सहकारीलाई २०७७ सालमा मर्ज गरेर उनले शिवशिखर बहुउद्देश्यीय सहकारी बनाएका थिए । यो सहकारीबाट सर्वसाधारणको अर्बौं निक्षेप दुरुपयोग गरिरहेका शर्माले सुशील बानियाँलाई अध्यक्ष बनाएका थिए । त्यससँगै उनले विराटनगरमा केन्द्रीय कार्यालय राखेर तुलसी बचत तथा ऋण सहकारी खोले र त्यसको अध्यक्ष बने । त्यस सहकारीमा पनि निक्षेपकर्ताको १ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ भन्दा बढी निक्षेप दायित्व छ । त्यो सहकारी पनि बन्द छ ।

दुई वटा सहकारीको पैसा अपचलन गरेका उनीसहितका सञ्चालकलाई पक्राउ गर्न सहकारी विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गरेको थियो । विभागले गरेको पत्राचारको आधारमा शिवशिखर सहकारीका ९ जना सञ्चालकमध्ये अमिस राजभण्डारी, गीता शर्मा र पुष्कर मल्ललाई केन्द्रीय अनुसन्धान ब्युरोले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गीता शर्मा केदारनाथ शर्माकी श्रीमती हुन् । पक्राउ परेका सञ्चालकहरु अहिले पुर्पक्षका लागि थुनामा छन् ।

देशका विभिन्न स्थानमा १८ वटा मार्ट सञ्चालन गरेको शिवशिखर सहकारीको करिब ३ अर्ब कर्जा लगानीको सहकारी विभागको रेकर्डमा भेटिन्छ । ‘सीआईबीलाई पत्राचार गर्नुभन्दा अगाडि सञ्चालक समितिका सदस्यहरुलाई बोलाएर छलफल गर्दा उनीहरुले लगानीबारे पूर्वअध्यक्ष शर्मा मात्रै जानकार रहेको बताएका थिए,’ ती कर्मचारीले भने । शर्मा पक्राउ परेपछि उनले गरेको लगानीको थप विवरण आउने अपेक्षा सीआईबीले गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको भक्तपुरका शाखाका १ हजार २ सय ९२ जना निक्षेपकर्ताले शिव शिखरविरुद्ध उजुरी दिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी उपरीक्षक अधिकारीका अनुसार भक्तपुरका निक्षेपकर्ताले ६६ करोड ३१ लाख रुपैयाँ बिगो दाबीसहित उजुरी दिएका थिए । शिवशिखर सहकारीको कीर्तिपुर शाखामा ५ हजार दुई सयजनाभन्दा बढी बचतकर्ता छन् । अहिले शिवशिखर सहकारीमा निक्षेप जम्मा गरेका देशभरका निक्षेपकर्ताहरु आफूनजिकको कार्यालयमा पुगेर पैसा फिर्ता मागिरहेका छन् ।

शिवशिखर मात्रै नभएर शर्मा अध्यक्ष भएको विराटनगरको तुलसी सहकारीको अवस्था पनि समान छ । सहकारी विभागको पत्राचारपछि प्रहरीले तुलसी बहुमुखी सहकारीको अध्ययन सुरु गरेको थियो । १ फागुनदेखि सहकारीको कार्यालय बन्द छ ।

तुलसी सहकारीमा मात्रै १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी निक्षेप दायित्व रहेको छ । यसमध्ये ४१ करोडभन्दा बढी कर्जा भने सहकारीका अध्यक्ष केदारनाथ शर्माले आफ्नै निजी कम्पनीमा लगानी गरेको देखिएको हो । सहकारीका उपाध्यक्ष, सचिव र व्यवस्थापक ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । बचतकर्ताले ठगीको उजुरी दिएपछि पक्राउ परेका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई जिल्ला अदालत मोरङले २४ चैतमा ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको हो ।

सविना न्यौपानेले तुलसी सहकारीको सबै व्यवस्थापन हेर्दै आएकी थिइन् । तुलसी सहकारीसँग जोडिएका शर्माका सबै व्यवसाय सविना न्यौपानेले नै हेर्दै आएकी थिएन् । शिवशिखरमा श्रीमतीलाई सञ्चालक बनाएका शर्माले तुलसीमा आफु अध्यक्ष भएर आफ्नै विश्वासपात्र सविनालाई सचिव बनाई दुईवटै सहकारीको स्रोत दुरुपयोग गर्दै आएका थिए ।

शर्माको शिखर अर्गनाइजेसन माताहत ४३ वटा भएको सीआईबीले पत्ता लगाएको छ । त्यसमध्ये ६ वटा कम्पनीमा तुलसी सहकारीको ४१ करोड ६३ लाख ९५ हजार ३७८ रुपैयाँ लगानी भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । सहकारीको विराटनगरस्थित केन्द्रीय कार्यालयबाट तुलसी मोटर पम्प प्रालिमा २४ करोड ५ लाख ५७ हजार, ६०० रुपैयाँ, नटराज एग्रो प्रालिमा ४ करोड २८ लाख ८० हजार ७७ रुपैयाँ र शिखर अर्गनाइजेसन प्रालिमा ५ करोड ६७ लाख ५० हजार ५८३ रुपैयाँ ऋण लगानी भएको छ ।

सहकारीको दमक शाखाबाट गोर्खा टी एण्ड कफी उद्योगमा २ करोड १५ लाख ७८ हजार ७८७ रुपैयाँ, शिवशिखर अर्गनाइजेसन प्रालिलाई एक करोड ४२ लाख ८४ हजार १३८ रुपैयाँ ऋण प्रवाह भएको छ । गाईघाट शाखाबाट तुलसी अनुसन्धान केन्द्रमा ४ करोड ३ लाख ४४ हजार २०२ रुपैयाँ लगानी गरेको छ ।

सहकारीले ऋण दिएको ६ वटै कम्पनी, तुलसी सहकारीका अध्यक्ष शर्माकै हो । ऋण लगानी गर्दा पर्याप्त धितो राखिएको छैन । सञ्चालक समितिको माइन्यूटका आधारमा ऋण लगानी गरेको खुलेको अनुसन्धान अधिकृतहरु बताउँछन । स्रोतका अनुसार दमक शाखाबाट ऋण लगानी भएको गोर्खा टि एण्ड कफी उद्योगको जग्गा एक वाणिज्य बैंकमा धितो राखेर करिब १६ करोड रुपैयाँ ऋण लिइएको छ ।

सहकारी ऐन २०७४ ले आफ्ना सदस्यहरुको मात्रै बचत स्वीकार गर्ने, त्यसको परिचालन गर्ने र सदस्यलाई मात्रै ऋण प्रदान गर्नसक्ने व्यवस्था गरेको छ । सहकारी ऐन २०७४ को दफा ५० को उपदफा ८ भनिएको छ, ‘सहकारी संस्थाले बचत रकम सदस्यबीच ऋण लगानी, नेपाल सरकारले जारी गरेको ऋणपत्र वा नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिल खरिद गर्नबाहेक अचल सम्पत्ति खरिद, पूर्वाधार निर्माण, कारोबारमा लगानी, फर्म वा कम्पनी वा कुनै बैङ्कको सहकारी बैंकबाहेक सेयर खरिद वा अन्य कुनै प्रयोजनमा उपयोग गर्नुहँदैन ।’ सहकारीको सञ्चालक समितिका सदस्य, व्यवस्थापक वा कर्मचारीले सहकारी संस्थाको सम्पत्ति बचत वा सेयर रकम हिनामिना गर्नु, तोकिएको भन्दा बढी ऋण प्रदान गर्दा धितो नराख्नु कसुर हुने ऐनमा व्यवस्था छ ।

तर, शर्मा अध्यक्ष रहेको तुलसी सहकारीले भने उनकै लगानी रहेको विभिन्न प्राइभेट फर्म तथा कम्पनीमा लगानी गरेको पाइएको हो । त्यति मात्रै होइन, अध्यक्ष शर्माले सर्वसाधारणबाट उठाएको बचत रकमले आफ्नो निजी घरसमेत बनाएको खुलेको थियो । अध्यक्ष शर्माको नाममा विराटनगर–३ मा एक करोड ८० लाखमा घरसहित १५ धुर जग्गा खरिद गरेको पनि पाइएको छ ।

बचतकर्ताको बचत रकम आफ्नो कम्पनीमा लगेर शर्माले उदयपुरमा चार तले भवन बनाएका थिए । यसबाहेक शिखर ग्रुपअन्तर्गत देशभर विभिन्न कम्पनीको नाममा जग्गा र भवनमा लगानी गरेका उनले उले त्यसमा सहकारीको स्रोतको नै दुरुपयोग गरेको आशंका प्रहरीले गरेको छ । सहकारीको रकमबाट कम्पनीको नाममा भवना बनाएर उनले उदयपुरमा गार्डेन मार्ट सञ्चालन गरिरहेको थिए । मोरङको लेटाङमा मार्ट सञ्चालनका लागि पाँच करोड लगानी गरेका छन् । सिरहाको गोलबजारमा सहकारीको कार्यालय र गार्डेन मार्ट खोल्नका लागि चार करोड लगानी गरेको छ । झापाको दमकमा मार्टमा २५ करोड लगानी गरेको छ ।

तुलसी सहकारीमा २१ हजार बढी पीडित

विराटनगरमा केन्द्रीय कार्यालय रहेको तुलसी सहकारीमा २१ हजार १५४ वटा बचत खाता खुलेका छन् । जसमध्ये केन्द्रीय कार्यालय, विराटनगरका एक हजार ३ सय ७ जना बचतकर्ताले ५० करोड ८८ लाख ७८ हजार ७ सय २८ रुपैयाँ ठगी गरेको दाबीसहित प्रहरीमा उजुरी दिएका थिए ।

त्यसका आधारमा अनुसन्धान गरेको प्रहरीले तयार पारेको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले बचतकर्ताको ५० करोड ८८ लाख र स्रेस्ता नखुलेको १६ करोड ९७ लाख ४२ हजार ५ सय ४० सहित ६७ करोड ८६ लाख २१ हजार २८६ रुपैयाँ ठगी गरेको दाबीसहित मुद्दा दायर गरेको थियो ।

 

सहकारी संकट
लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?