+
+

पहिलो व्यवसायिक अन्तरिक्ष पर्यटन उडान गर्दै भर्जिन ग्यालेक्टिक, टिकट मूल्य कति ?

एजेन्सी एजेन्सी
२०८० असार १३ गते १२:०६

अन्तरिक्ष पर्यटन कम्पनी भर्जिन ग्यालेक्टिकले आफ्नो पहिलो व्यवसायिक उडान सेवा सुरु गर्न लागेको छ ।

कम्पनीले यस विषयमा सूचना जारी गर्दै यहीँ जुन महिनाको अन्त्यसम्ममा अन्तरिक्षका लागि व्यवसायिक पर्यटन सेवाको उडान सुरु गरिने जनाएको छ ।

कम्पनीले जुन २७ देखि ३० को बीचमा उडान गर्ने बताइएको छ । पहिलो व्यवसायिक अन्तरिक्ष उडानको नाम ग्यालेक्टिक ०१ रहनेछ । त्यस्तै दोस्रो व्यवसायिक अन्तर‍िक्ष उडान ग्यालेक्टिक ०२ चाहिं आगामी अगष्टमा गर्ने कम्पनीको योजना छ ।

त्यसपछि भने कम्पनीले हरेक महिना पर्यटकहरुलाई आफ्नो व्यवसायिक उडानमार्फत् अन्तरिक्षमा पुर्‍याउनेछ ।

व्यवसायिक अन्तरिक्ष पर्यटन सेवा सुरु गर्ने घोषणा सँगै भर्जिन ग्यालेक्टिक कम्पनीको शेयर मूल्यमा ४० प्रतिशत भन्दा धेरैले बढोत्तरी भएको छ ।

के भन्छ कम्पनी ?

आफ्नो पहिलो उडान कुनै सामान्य उडान नहुने भर्जिन ग्यालेक्टिकको भनाइ छ किनकि सो उडान एउटा वैज्ञानिक अनुसन्धान मिसन हुनेछ ।

त्यसमा इटालियन वायुसेना तथा इटालीको राष्ट्रिय अनुसन्धान परिषद्का चालक दलका तीन तीन जना सदस्यहरु सवार हुनेछन् । ती वैज्ञानिकहरुले उक्त उडानका क्रममा स‍ूक्ष्म गुरुत्वाकर्षण अर्थात् माइक्रोग्राभिटीको अध्ययन गर्नेछन् ।

त्यसपछिको दोस्रो व्यवसायिक उडान ग्यालेक्टिक टू मा चाहिं आम पर्यटक सवार हुने बताइएको छ ।

कसरी भयो तयारी ?

सर रिचार्ड ब्रान्सनले भर्जिन ग्यालेक्टिक कम्पनी सन् २००४ मा स्थापना गरेका थिए । सोही वर्ष उनले पहिलोपटक एउटा अन्तरिक्ष विमान बनाउने आफ्नो मनसायको खुलासा गरेका थिए । सन् २००७ सम्ममा अन्तरिक्षमा व्यवसायिक उडान गर्न सकिने उनको विश्वास थियो ।

तर प्राविधिक कठिनाइका साथै परीक्षणका क्रममा भएका दुर्घटनाहरुको कारण कम्पनीको अन्तरिक्ष परियोजनामा पटक पटक धक्का लागिरह्यो । अन्ततः सन् २०२१ मा कम्पनीका मालिक रिचार्ड ब्रान्सन आफैंले आफ्नो निजी रकेट युनिटीबाट पहिलोपटक अन्तरिक्षको यात्रा गरेर कीर्तिमान कायम गरे र उनी अन्तरिक्षको यात्रामा जाने पहिलो अर्बपति बने ।

उनले करिब सबा घण्टामा अन्तरिक्ष यात्रा पूरा गरेर पृथ्वीमा फर्किए । ब्रान्सनका अलवा उक्त मिसनमा उनीसँग २ जना पाइलट र कम्पनीकै तीनजना कर्मचारीहरु पनि सामेल थिए ।

आफ्नो बहुप्रतिक्षित अन्तरिक्ष पर्यटनलाई अनुमति दिनुअघि आफैले यात्रुको रुपमा त्यसको अनुभवको मूल्यांकन गर्न चाहन्थे ब्रान्सन ।

उक्त मिसन सफल भएसँगै अन्तरिक्षमा जाने दौड नै सुरु भयो । स्पेस एक्स तथा ब्लु ओरिजिन जस्ता कम्पनीहरुले पनि अन्तरिक्ष पर्यटन परियोजना अघि सारे । ब्लू ओरिजिन र्फत् अमेजनका संस्थापक अर्बपति जेफ बेजोस समेत अन्तरिक्षको यात्रामा गए ।

व्यवसायिक अन्तरिक्ष पर्यटन यात्रा सुरु गर्न लागेको भर्जिन ग्यालेक्टिकका लागि यो लक्ष्य हासिल गर्नु कुनै कोशेढुंगा भन्दा कम होइन ।

टिकटको मूल्य कति ?

पर्यटकहरुलाई अन्तरिक्षको यात्रा गराउने घोषणा गरेयता भर्जिन ग्यालेक्टिकले हालसम्म ८ सय भन्दा धेरै टिकट बिक्री गरिसकेको छ । टिकटको मूल्य निकै चर्को छ । अन्तरिक्ष उडानमा जाने एउटा टिकटको मूल्य साढे ४ लाख डलर रहेको छ ।

ग्यालेक्टिक उडानलाई यस्तो प्रकारले डिजाइन गरिएको छ कि विमानभित्र बसेका यात्रुहरुले बाहिर अर्थात् अन्तरिक्षको दृश्यावलोकन मज्जाले गर्न सक्दछन् । साथै केही मिनेटका लागि यात्रुहरुले शून्य गुरुत्वाकर्षण र भारविहीनताको पनि अनुभव गर्न पाउँछन् ।

अर्को कम्पनीमा ताला

एकातर्फ भर्जिन ग्यालेक्टिक अन्तरिक्ष पर्यटनमा केन्द्रित छ भने अर्कोतर्फ ब्रान्सनकै अर्को कम्पनी भर्जिन अर्बिटले चाहिं अन्तरिक्षमा स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको थियो । तर उक्त कम्पनी मे महिनादेखि बन्द छ । कम्पनीले आफूलाई टाट पल्टिएको घोषणा गर्दै कार्यसञ्चालन बन्द गरेको हो ।

यो वर्षको सुरुवातमै भर्जिन अर्बिट आफ्नो एक मिसनमा असफल भएको थियो । सोही असफल मिसनको महिनौं पछि कम्पनी नै बन्द गरिएको हो ।

सो कम्पनीको स्थापना सन् २०१७ मा भएको हो र यो अन्तरिक्ष पर्यटन कम्पनी भर्जिन ग्यालेक्टिककै एक भगिनी कम्पनीको रुपमा थियो।

बीबीसी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?