+
+

प्रधानमन्त्रीको प्रश्न-हामी सामाजिक सञ्जालका खहरे तालीका लागि विवेक र सीमा मिचिरहेका त छैनौं ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १३:१७

१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सन्जालमा ताली पाउने लोभमा नेताहरुले सतही विषयलाई उठान गरिरहेको आशंका गरेका छन्। सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको भान हुने उनको भनाइ छ ।

आज प्रतिनिधि सभाको बैठकमा सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको भान हुन्छ । हामीले गम्भीर भएर सोच्ने बेला आएको छ, कतै हामीबीच विषय विज्ञताभन्दा निन्दाबाजी त हावी भइरहेको छैन ?’

उनको थप प्रश्न छ, ‘कतै हामी राजनीतिज्ञ पनि सामाजिक सञ्जालका खहरे तालीका लागि विवेक र सीमा मिचिरहेका त छैनौं ? कतै हाम्रै व्यवहारले राजनीतिको चरित्र र चेहरा त कमजोर भइरहेको छैन ?’

उनले केही हुँदैन र अवस्था बदलिँदैन भन्ने हीनभावनाबाट माथि नउठेसम्म यो देशले आफैँमाथिको विश्वास फर्काउन नसक्नेसमेत बताए। उनले विगतको १८ घण्टा लोडसेडिङको अवस्था हुँदै मेगावाट बिजुली निर्यात गर्ने विन्दुमा आइपुगेको उनले स्मरण गरे।

‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा देशमा अठार घन्टासम्म लामो लोडसेडिङ्ग थियो। केही महिनामै हामीले लोडसेडिङ्ग मुक्त उज्यालो नेपाल बनायौं र आज केही वर्षमै भारत र बंगलादेशलाई समेत बिजुली बेच्ने ठाउँमा आइपुगेका छौं,’ उनले भने, ‘पेट्रोलियम पदार्थको आयात न्यून बनाएर दशौं हजार मेगावाट बिजुली निर्यात गर्ने उत्साहजनक बिन्दुमा आइपुगेका छौं। यति उज्यालो भविष्यको यति नजिक यसअघि हामी कहिल्यै थिएनौं।’

तर जनताका वास्तविक मुद्दाहरू हराउँदै गएर सतही सस्ता विषयले महत्व पाइरहेको आशंका गर्दै उनले लोकतन्त्र अब भावनात्मक आधारले मात्रै सुदृढ नहुने बताए। त्यसका लागि तथ्यात्मक आधार चाहिने उनको भनाइ छ।

हालै आफ्नो भारत भ्रमणको क्रममा ऐतिहासिक उपलब्धि भए पनि त्यसलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय खर्च गरिएको प्रधानमन्त्री प्रचण्डले गुनासो गरे।

उनले भने, ‘हाम्रो सार्वजनिक बहसको स्तर खस्केको छ। चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको छ।’

उनले थपे, ‘संसदसँगै पनि मेरो गुनासो छ। भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल-भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो। भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रु भएको छ। तर हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं। यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद गम्भीर होस् भन्ने मेरो आग्रह छ ।’

बीस वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिएको बताउँदै उनले सुशासनको प्रत्याभूति गर्दै लोकतन्त्रको शुद्धीकरणका लागि सिँगो संसद एक ठाउँमा उभिने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?