+

जथाभावी गर्भपतनको औषधि खाँदा कस्तो जोखिम हुन्छ ?

२०८० असार  १३ गते १७:०० २०८० असार १३ गते १७:००
जथाभावी गर्भपतनको औषधि खाँदा कस्तो जोखिम हुन्छ ?

बाँकेको कोहलपुर नगरपालिका-१ की २१ वर्षीया महिलाले जाँच गराउँदा आफू गर्भवती भएको थाहा पाइन् । त्यसपछि परिवारकै सल्लाहमा उनले नजिकैको फार्मेसीबाट गर्भपतन गर्ने औषधि किनेर खाइन् । तर औषधि खाएको भोलिपल्टबाट उनको यौनाङ्गबाट रगत बग्न थाल्यो ।

महिना दिनसम्म पनि यो क्रम नरोकिएपछि उनलाई मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गर्नुपर्ने भयो । रगत बग्दा असुरक्षित गर्भ झर्ला भनेर ढुक्क बसेकी उनको लागि एक महिना नै पीडादायी बन्यो । महिना दिनपछि एक्कासी अचेत भएर इमर्जेन्सीमा आइपुग्दा उनको शरीरमा हेमोग्लोबिनको मात्रा जम्मा तीन मात्र थियो भने उनको शरीरको रक्तचाप नै थिएन । उनलाई तुरुन्तै आईसीयूमा राखेर उपचार गर्नुपर्‍यो । तर अथक प्रयासका बाबजुद पनि उनलाई बचाउन सकिएन ।

****

यो त केबल एक प्रतिनिधि घटना मात्र हो । विश्व स्वास्थ संगठनका अनुसार अहिले पनि हाम्राजस्ता विकासोन्मुख राष्ट्रको तथ्यांकलाई आधार मान्ने हो भने एक लाखमा २२० जना आमाको असुरक्षित गर्भपतनका कारण मृत्यु हुने गर्छ । १० हप्तासम्मको गर्र्भलाई औषधि सेवनद्वारा गर्भपतन गर्न सकिने कानुनी प्रावधानपछि जथाभावी रुपमा यस्तो औषधि प्रयोग गर्नेहरुको संख्या बढेको देखिन्छ । जसले गर्र्दा महिलाको स्वास्थ्यसँगै प्रजननमा पनि असर गरिरहेको पाइएको छ र कतिपय अवस्थामा महिलाको ज्यान नै जाने जोखिम पनि बढेर आउँछ ।

सामान्यतया औषधि पसलहरुमा १० हप्तासम्मको गर्भपतन गर्न दुईवटा औषधि एउटै खोलमा दिने गरिन्छ । एउटा मिजोप्रोस्टोल ८०० एमसिजीको चारवटा र अर्को मिफिप्रिस्टोन २०० एमजी औषधि हुन्छ । सामान्य भाषामा भन्नुपर्दा यी औषधिले गर्भलाई पाठेघरबाट अलग गरिदिन्छ र पाठेघरमा दबाब ल्याउँछ । जसले गर्दा गर्भलाई पाठेघरबाट बाहिर निकाल्ने गर्छ । विडम्बना पिसाबमा गर्भ देखिएकै आधारमा हाम्रो समाजमा यी सब कुुरा हुने गर्छन् । औषधि पसलमा पनि कुनै प्रश्नोत्तर नै नगरी सजिलै पूर्ण व्यावसायिक तवरले औषधि बेच्ने गर्छन् तर वास्तविकतामा यी औषधि सेवन गर्नुपूर्व धेरै कुरामा ख्याल गरिनुपर्छ ।

गर्भपतनसम्बन्धी औषधि खानुपूर्र्व ख्याल राख्नुपर्ने कुराहरु

-गर्भ रहेको कम्तीमा १० हप्ता नकटेको हुनुपर्ने ।

-गर्भ पाठेघरमा बसेको नबसेको सुनिश्चित हुनुपर्ने ।

-गर्भमा बसेको गर्भको अवस्था सुनिश्चित हुनुपर्र्ने ।

-गर्भपतन गर्नुपूर्व एकपटक भिडियो एक्सरे अनिवार्य रुपमा गर्नुपर्छ ।

-गर्भपतन गर्नुपूर्व शरीरमा रगतको मात्रा र अन्य रोगबारे जानकारी हुनुपर्छ ।

-गर्भपतन गर्नुपूर्व गर्भपतन गर्ने औषधिको नकारात्मक असरबारेमा जानकारी हुनुपर्छ ।

-गर्भपतन गर्नुअघि तालिमप्राप्त स्वास्थ्यकर्मी वा नजिकैको चिकित्सकको निगरानीमा रहेर औषधि सेवन गर्नुुपर्छ ।

तर विडम्बना हाम्रो समाजमा यी सबै कुरा ख्याल नगरी जथाभावी पिसाब जँचाउँदा गर्भ देखिएकै आधारमा गर्भपतनसम्बन्धी औषधि प्रयोग गर्ने गरिन्छ । यसले गर्भवती महिलाको ज्यान जाने त जोखिम छँदैछ, दीर्घकालीन रुपमा स्वास्थ्यलाई पनि असर गरिरहेको हुन्छ ।

जथाभावी गर्भपतनसम्बन्धी औषधि खाँदा हुने जोखिम

-अपूर्ण गर्भपतन (इन्कम्पिलिट एबोर्सन) यस्तो अवस्थामा गर्भ पूर्ण रुपमा निस्केको हुँदैन । औषधि खाएको लामो समयसम्म पनि रगत बग्ने गर्छ र बिरामीको शरीरमा रक्तअल्पता र शरीरको ब्लड प्रेसर नभएर ज्यान जान सक्छ ।

-गर्भ पाठेघरभन्दा बाहिर नलीमा रहेको अवस्थामा गर्भपतनसम्बन्धी औषधि खाँदा पाठेघरमा आउने दबाबले गर्दा पाठेघर फुट्ने जोखिम बढी हुने गर्छ ।

-भिडियो एक्सरे नगरी गर्भको आकार, तौल र अवस्था नहेरी औषधि सेवन गर्नाले पनि पाठेघरमा आउने दबाबले पाठेघर फुट्ने जोखिम हुन्छ ।

-यदि मोलार पे्रग्नेन्सी अर्थात् अंगुरको दानाजस्तो गर्भ बसेको खण्डमा गर्भपतनसम्बन्धी औषधिको कुनै पनि काम हुँदैन ।

-लामो समयसम्म पाठेघरमा संक्रमण रहिरहने सम्भावना बढ्ने गर्छ, जसले गर्दा पाठेघरको नली बन्द हुुने जोखिम बढ्छ ।

-पटकपटक गर्भपतनसम्बन्धी औषधि खानाले दीर्घकालीन रुपमा पाठेघरको नली बन्द भएर बाँझोपनजस्ता समस्या देखिने सम्भावना बढ्ने गर्छ ।

तसर्थ हामीले सोचे र देखेअनुसार एमटीपी अर्थात् औषधि सेवन गरेर गरिने गर्भपतन सुरक्षित भरपर्दो हुँदैन । अहिले पनि हाम्रो देश नेपालमा दिनहुँ यस किसिमका औषधिको प्रयोग बढ्दो छ, जसले गर्दा महिलाको स्वास्थलाई निकै नै जोखिममा राखिरहेको छ । हामीले सकभर यौनसम्पर्क गर्दा परिवार नियोजनको साधन प्रयोग गरेर अनावश्यक गर्भ बस्न नै नदिने हो । यदि असुरक्षित तवरले गर्भ बसेको छ भने पूर्ण सचेत भएर मात्रै गर्भपतनसम्बन्धी सेवन गर्दा भरपर्दो र सुरक्षित गर्भ पतन हुन्छ । सुरक्षित गर्भपतनले मात्रै आमा र सुरक्षित स्वास्थ्यको सुनिश्चितता गर्छ ।

(डा. जिसी लेखक नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरको स्त्रीरोग विभागकी सहायक प्राध्यापक हुन् ।)

औषधि गर्भपतन
लेखक
डा. दुर्गा बिसी रावत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय