२२ चैत, काठमाडौं । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको ४२औँ वार्षिकोत्सव मनाइएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम गरी वार्षिक उत्सव मनाइएको हो ।
प्रहरी महानिरीक्षक कार्कीले अस्पतालको समग्र प्रगति, सेवा विस्तार र भविष्यका योजनाबारे चर्चा गर्दै विद्यमान चुनौती तथा समस्याहरू समाधानका लागि स्पष्ट निर्देशन दिए । उनले अस्पतालले सेवाग्राहीमैत्री, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न अझ सक्रिय हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमकै अवसरमा अस्पताल परिसरमा नवनिर्मित आईयूआई तथा आईभीएफ सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ । साथै विभिन्न स्वास्थ्य सेवाको स्तरोन्नति तथा प्रविधि विस्तारका पहलहरू पनि अघि बढाइएको जानकारी दिइयो ।
त्यसैगरी, प्रहरी महानिरीक्षक कार्कीले मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई अत्याधुनिक उपकरण हस्तान्तरण गर्नुका साथै अस्पतालको वार्षिक स्मारिका ‘अस्पताल दर्पण–२०८२’ को लोकार्पण गरे ।
कार्यक्रममा अस्पतालका कर्मचारीहरूलाई विभिन्न विधामा पुरस्कार तथा कदरपत्र प्रदान गरिएको थियो भने बाह्य रूपमा सहयोग पुर्याउने चिकित्सकहरू र समाजसेवीहरूलाई समेत सम्मान गरिएको थियो ।
यस वर्ष ‘सर्वोत्कृष्ट विभाग’ को उपाधि पोषण विभागलाई प्रदान गरिएको छ । पोषणविद् भुपाल बानियाँका अनुसार अस्पतालले पोषण क्षेत्रमा नवीन कार्य गर्दै नेपालमै पहिलोपटक डाइटसम्बन्धी सफ्टवेयर प्रयोगमा ल्याएको तथा प्रभावकारी सेवा प्रवाह गरेको कारण उक्त विभागलाई सम्मान गरिएको हो ।
प्रतिक्रिया 4