
१३ असार, काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्ने संसद बैठकमा नेपाली कांग्रेसका पाँच सांसद अनुपस्थित भएका छन् ।
बुधबार संसदमा बजेटको पक्ष र विपक्षमा मतदान भएको थियो । विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत खसेको थियो ।
कांग्रेसबाट रक्षामन्त्री समेत रहेका पार्टी उपसभापति पूर्णबहादुर खड्का उपस्थित हुन सकेनन् । खड्का गैर आवासीय नेपाली संघको कार्यक्रममा लागि ओमान गएका छन् ।
कांग्रेसबाट संसदमा उपस्थित हुन नसक्ने अन्यमा आरजु राणा, विष्णुबहादुर कार्की, मनोरमा शेरचन र वीरबहादुर बलायर छन् ।
राणा दुई दिनअघि उपचारका लागि जापान गएकी छन् । कार्की भारत गएका कारण उपस्थित हुन सकेनन् । शेरचन विरामी रहेको र बलायर परिवारमा एक सदस्य गुमेकाले उपस्थित हुन सकेनन् । कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बन परेका छन् ।
प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । तीमध्ये १०८ जनाले विपक्षमा मतदान गरेका छन् ।
प्रतिक्रिया 4