+
+
विचार :

अमेरिकाले चीनलाई नेपालबाट घेर्न लागेको हो ?

ऐतिहासिक आधार नभएका ठूला झुटा भाष्य बोकेर हामी आफैंलाई अनावश्यक महत्व नदिऊँ। बरु हाम्रो कमजोरीहरू स्वीकारेर हामी कसरी धनी र सबल हुने र त्यसका लागि अमेरिका र चीनसित कस्तो सम्बन्ध राख्ने, उनीहरूबाट के यथार्थ आधारित आशा राख्ने वा नराख्ने भनेर सोच्ने कि?

 त्रैलोक्यराज अर्याल  त्रैलोक्यराज अर्याल
२०८० असार १३ गते १९:२४

धेरैले भन्ने गर्छन् नेपालमा अमेरिका र चीनको ठूलो स्वार्थ छ। नेपालले सन्तुलित परराष्ट्र नीति अनुसरण नगर्ने हो भने निकै अप्ठ्यारो पर्ने उनीहरू ठान्छन्।

तर नेपालमा अमेरिकी र चिनियाँ स्वार्थ साँच्चै के हो त भनेर हामी प्रश्न गर्दैनौं। कथंकदाचित प्रश्न गरिहालियो भने उत्तर आउँछ-अमेरिका नेपालबाट चीन घेर्न चाहन्छ । अनि किन घेर्न चाहन्छ त भनेर प्रश्न गर्‍यो भने जवाफ हुन्छ-तिब्बत। अमेरिका नेपाल भूमि प्रयोग गरेर तिब्बतलाई चीनबाट टुक्र्याउन चाहन्छ र चीन त्यो रोक्न।

तर अब यो ६ दशकदेखि स्थापित भाष्यलाई चिरफार गर्नै पर्ने हुन्छ। कतै हामी विगत ६ दशकदेखि नराम्ररी झुक्किइरहेका त छैनौं ?

सुरु गरौं यो भाष्यको उद्गमबाट। १९५० को अन्त्यदेखि नै अमेरिकी गुप्तचर संस्थाले केही तिब्बती विद्रोहीलाई प्रयोग गरेर चीन विरुद्ध आक्रमण गर्न हतियार र तालिम दिएकै हो। यसमा भारतले पनि अमेरिकालाई सहयोग गरेकै हो। तर के अमेरिकी आशय तिब्बतलाई चीनबाट टुक्र्याउनु नै थियो त ?

अहिले उपलब्ध सूचनाहरूको आधारमा हामी भन्न सक्छौं, थिएन। अमेरिकीहरूलाई यो विद्रोह कुनै पनि रूपमा सफल हुँदैन भनेर सुरु भएको दुई महिना नबित्दै थाहा भइसकेको थियो। त्यतिबेलाका सीआईए एलन डल्सले अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्लाई अप्रिलको अन्त्यमै यो विद्रोह तहसनहस भइसकेको जानकारी दिइसकेका थिए।

तैपनि सीआईएले दुई वर्ष यो विद्रोह लम्ब्याउन चाह्यो, र त्यतिबेलाका अमेरिकी राष्ट्रपति आइजनहावरले यो विद्रोहले केही उपलब्धि नहुने, झन् यसले तिब्बती माथि चिनियाँ दमन मात्र बढ्ने भनेर टिप्पणी गरेका थिए। यो कुरा जे टेलरले लेखेको ‘द जनरालिज्मो : च्याङ काई शेक एन्ड द स्ट्रगल फर मोर्डन चाइना’ पुस्तकमा उल्लेख छ।

तिब्बत बारे धेरै पुस्तक लेखिएका छन्। तर छिरिङ शाक्यको ‘ड्रागन इन द ल्यान्ड अफ स्नोज’ जस्तो अर्को गहकिलो पुस्तक शायद छैन होला। उनले सबै पक्षका कमी-कमजोरी र गल्तीहरू उजागर गरेका छन्।

उनका अनुसार १९६० तिर आउँदा खम्पा विद्रोहीलाई कसरी र किन प्रयोग गर्ने भनेर अमेरिकी र भारतीय पक्ष बीच मतान्तर देखिसकिएको थियो। भारतीयहरू तिब्बती विद्रोहीलाई आफ्नो सेनाको युनिट २२ मातहत ल्याएर चीन विरुद्ध लडाईंमा प्रयोग गर्न चाहन्थ्यो। अमेरिका तिब्बती विद्रोहीहरूलाई लामो समय जासुसीको लागि प्रयोग गर्न चाहन्थ्यो।

१९६० को मध्यतिर अमेरिकाले खम्पाहरूमा लगानी निकै नै कटौती गरिसकेको थियो। १९६८ देखि पूर्ण रूपले बन्द गर्ने भनेर मुस्ताङमा रहेका विद्रोहीहरूलाई प्रष्ट पारिसकेको थियो। हेक्का राख्नुपर्छ, मुस्ताङमा रहेका  खम्पालाई अमेरिकाले अन्तिम पल्ट १९६२ मा हतियार उपलब्ध गराएको थियो।

र यसको कारण थियो, १९६० को सुरुदेखि चीन र सोभियत संघ बीचको विवादलाई अमेरिका आफ्नो हितमा प्रयोग गर्न चाहन्थ्यो। चीनसँग नजिकिएर सोभियत संघलाई दबाबमा राख्ने रणनीति निक्सन र किसिन्जर भन्दा अगाडि नै बनिसकेको थियो।

अब खम्पा विद्रोहीहरू अमेरिकी स्वार्थको लागि नचाहिने भइसकेका थिए र अमेरिकीहरूले खम्पाहरूलाई तिब्बतमा आक्रमण नगर्न निर्देशन पनि दिएका थिए। फेरि पश्चिम तिब्बतको रखवारी गर्न बसेको चिनियाँ उत्तर-पश्चिम सैनिक डिभिजनको प्रमुख जिम्मेवारी उत्तरतिर सोभियत संघसितको सीमा रक्षा थियो।

अमेरिका तिब्बतमा चिनियाँ सेनालाई अल्मल्याएर सोभियत संघविरुद्ध चीनलाई कमजोर पार्न चाहँदैनथ्यो तर खम्पा विद्रोहीहरूले मुस्ताङलाई आधार बनाएर तिब्बतमा आक्रमण गर्नेमा अडिग थिए।अमेरिकाले दलाइ लामा मार्फत खम्पाहरूलाई अब चीन विरुद्ध हिंसाको औचित्य छैन भनेर सम्झाउन समेत लगाएको थियो।

१९७० को दशकमा एसियाली भूराजनीतिमा ठूलै परिवर्तन आइसकेको थियो। भारत र सोभियत संघ बीचको सुरक्षा सम्झौता, चीन र सोभियत संघ बीचको वैमनस्य र बंगलादेशको स्थापनाले चीन र अमेरिका दुवै खम्पा विद्रोह अन्त्य गराउन चाहन्थे।

अमेरिका कतै विद्रोहीहरू तिब्बती प्रयोग गरेर भारतले चीनलाई दुःख दिने हो कि, अनि चीन र अमेरिका दुवै भारतले दक्षिणएसियाका आफ्नो साझेदार मुलुकहरूलाई  टुक्र्याउने हो कि भनेर त्रसित थिए। मुस्ताङमा रहेका खम्पाहरूलाई भारतले प्रयोग गर्ला कि भन्ने डर पनि उनीहरूलाई थियो। त्यसैले अमेरिका र चीन दुवै ती विद्रोहीहरूलाई निरस्त्र वा निर्मूल गर्नुपर्ने निचोडमा पुगिसकेका थिए र फेरि विद्रोहीहरूमा पनि क्षेत्रीय र समूहगत विभाजन भइसकेको थियो।

राजा महेन्द्रले खम्पा विद्रोहीलाई चलाएनन्, अवश्य पनि उनलाई अमेरिकीहरूले आफ्नो उद्देश्य बारे जानकारी दिएको हुनुपर्छ। उनले चीनलाई पनि स्थिति त्यति नराम्रो छैन, खम्पाहरू कमजोर नै छन् भन्ने सूचना प्रवाह गरेका थिए।

फेरि १९७० को सुरुवाती वर्षहरूमै अमेरिकी र चिनियाँ सम्बन्ध सुधारोन्मुख थियो। १९६० को अन्त्यदेखि नै अमेरिकी र चिनियाँ अधिकारीहरूको वार्सामा गोप्य कुराकानीको शृंखला पुनस्र्थापित पनि भइसकेको थियो। १९७१ मा तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जर र १९७२ मा राष्ट्रपति निक्सन बेइजिङ भ्रमण गरेर सम्बन्ध सामान्यीकरण गर्ने प्रक्रिया सुरु गरिसकेका थिए। राजा वीरेन्द्रलाई पनि चीन र अमेरिका दुवैलाई घाँडो भएको खम्पा समस्या समाधान गर्न सहज भयो। विद्रोहीहरूको एक समूहले आत्मसमर्पण गर्‍यो, अर्को समूहका सबै मारिए।

तर हामी खम्पा विद्रोहलाई यसरी भन्दा आफूखुसी ढंगले अमेरिकाले तिब्बत टुक्र्याउन खोजेको थियो, नेपालले आफ्नो सेना परिचालन गरेर त्यसो हुन दिएन भनेर बुझ्छौं। त्यसरी यो घटनालाई परिभाषित गर्दा हाम्रो निकै नै ठूलो भूराजनैतिक महत्व देखिन्छ। अझ हामीले चीनलाई ठूलै गुन लगाएको जस्तो पनि देखिन्छ।

अन्त्यमा, हालसालै अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिंकेनले चीन भ्रमणको क्रममा अमेरिका स्वतन्त्र ताइवानको पक्षमा नरहेको प्रष्ट पारे। हुन त राजनीतिज्ञ र कूटनीतिज्ञहरूको कुरा आँखा चिम्लेर विश्वास गरिहाल्नु त हुँदैन, तर अमेरिकी परराष्ट्र मन्त्रीको भनाइलाई अविश्वास गर्नुपर्ने कारण त्यति देखिंदैन।

अमेरिकाले एउटा कुरा राम्ररी बुझेको छ। चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा रहुन्जेल अमेरिका र चीनबीच लडाईं होला वा नहोला भन्न सकिन्न, तर भोलि कथंकदाचित चिनियाँ कम्युनिस्ट पार्टी आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्न नसकेर सत्ताच्युत भयो भने, चिनियाँ राष्ट्रवादको बुई चढेर आउने नयाँ नेतृत्वले अमेरिका र चीनको युद्ध गराउँछ, गराउँछ।

अमेरिका न त्यो युद्ध अहिले चाहन्छ न ६ दशक अघि नै चाहन्थ्यो।

अब  सोचौं, अमेरिकाले नेपालबाट चीनलाई किन घेर्ने ? घेरेर के गर्ने ? तिब्बत टुक्र्याउने अमेरिकी चाहना छैन, न नेपाल चीनको अन्तर्राष्ट्रिय व्यापारको लागि महत्वपूर्ण मुलुक हो। न चीनले नेपालबाट विश्वलाई निर्यात गर्ने हो न नेपालबाट वा नेपालहुँदै आफूलाई चाहिने सामान आयात गर्ने हो।

नेपालमा अमेरिकी स्वार्थ केवल आफूले अघि सारेका विभिन्न क्षेत्रीय  रणनीतिक परियोजनामा नेपालको समर्थन होस् भन्ने मात्र हो। त्यो नेपाल महत्वपूर्ण भएर होइन, केवल उसको समर्थन गर्ने मुलुकहरूको संख्या बढाउनु मात्र हो । र चीनको आशय पनि ठ्याक्कै त्यस्तै हो। ऊ पनि आफ्नो समर्थक बढाउने होडबाजीमा छ। हामी दुवैका लागि फगत एक भोट वा एक संख्या मात्र हौं।

त्यसैले ऐतिहासिक आधार नभएका ठूला झुटा भाष्य बोकेर हामी आफैंलाई अनावश्यक महत्व नदिऊँ। बरु हाम्रो कमजोरीहरू स्वीकारेर हामी कसरी धनी र सबल हुने र त्यसका लागि अमेरिका र चीनसित कस्तो सम्बन्ध राख्ने, उनीहरूबाट के यथार्थ आधारित आशा राख्ने वा नराख्ने भनेर सोच्ने कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?