+
+

औंठीको अनेक फेसन

मनिषा थापा मनिषा थापा
२०८० असार १४ गते १६:३३

काठमाडौं । औंलाको शोभा मात्र होइन औंठी । यो फेसन, संस्कृति र आस्था हो । औंठी नै यस्तो आभूषण हो, जो विश्वव्यापी छ ।

नयाँ-नयाँ फेसन ट्रेन्ड पछ्याउनेहरु हुन् वा परम्परागत आस्थामा बाँधिएकाहरु नै, औंठी लगाउने गर्छन् । अझ महत्वपूर्ण त औंठीसँग जोडिएको संस्कृति हो । खासगरी वैवाहिक सम्बन्धलाई पक्कापक्की गर्न औंठी लगाउने गरिन्छ ।

फेसनको दुनियाँमा औंठीको आफ्नै चमकदमक छ । यता ज्योतिषीय विश्वासमा औंठीको छुट्टै महिमा छ । मानव सभ्यतासँगै औंठी अटुट रुपमा जोडिंदै आयो । आखिर किन औंठी लगाइन्छ ? औंठीसँग मान्छेको मनोविज्ञान कसरी जोडियो ? फेसन, ज्योतिष र संस्कारका रुपमा यसले कसरी फरक-फरक महत्व पायो ?

औंठी : अमरताको प्रतीक 

‘द हिस्टोरी वेडिङ रिङ’ शीर्षकमा लायिंन्ग्सयुकेमा प्रकाशित जर्नल अनुसार विवाहमा औंठी लगाउन सुरुवात पुरातन इजिप्टियनहरूमा फेला पार्न सकिन्छ । उनीहरुले  ब्रेडेड नर्कट र भांगबाट बनेका औंठीहरू साटासाट गरे । उनीहरूले यी औंलाहरू बायाँ हातको चौथो औंलामा लगाएको पाइन्छ ।

चौथो औंलामा ‘प्रेमको नस’ हुने हुँदा औंठी लगाउँदा त्यसको प्रभाव सिधै हृदयमा पुग्ने विश्वास उनीहरुमा थियो । यस परम्पराको प्रमाण लगभग ६ हजार वर्ष पुराना अवशेषमा कुँदिएको शिलालेखसहित भेटिएको बताइन्छ ।

त्यहाँका नागरिकले यो औंठीलाई अमरताको प्रतीक मानेका थिए र त्यस्ता विवाहको औंठीहरूले एकअर्काको लागि दम्पतीको अनन्त प्रेमको प्रतीक बन्यो ।

औंठी : मन जोड्ने मेसो

कतै विवाहको चिन्हस्वरुप औंठी लगाइदिने चलन ईशापूर्व ३००० मा सुरु भएको पाइन्छ  । पहिला औंठी दुलहाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन थियो । यो परम्परा प्राचीन रोमन र ग्रीक समयमा चलेको मानिन्छ । त्यतिबेला बायाँ हातको साइँली औंलामा औंठी लगाइदिंदा सिधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको थियो ।

युरोपेली मुलुकहरुमा औंठीको परम्परा बढी पाइन्छ । विवाहको औंठीले परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सूत्रका रूपमा औंठीलाई लिने चलन छ । एकापसमा प्रेम साटासाट गर्ने माध्यमका रूपमा पनि औंठी लगाइन्छ । युरोपमा कतिपय देशमा  दायाँ हातको साइँली औंलामा पनि औंठी लगाइदिने प्रचलन छ ।

युग बित्त्दै गए । सामाजिक, सांस्कृतिक र भूगोल परिवर्तन हुँदै गए । यससँगै वैवाहिक तौरतरिकामा क्रमिक विकास हुँदै गयो । भाङ्ग  नर्कटको ठाउँमा सुन्दर देखिने धातुहरु प्रयोग गर्न थालियो । समयसँगै युवा पुरुषले प्रेमलाई प्रकट गर्न र विवाहमा चिनोको रुपमा उपहार दिन सुनजस्तो मूल्यवान धातुलाई प्रयोग गर्न थाले । पौराणिक ग्रन्थहरुमा पनि औंठीको महिमा भएको पाइन्छ । महाभारतमा राजकुमार दुश्यन्तले प्रेमिका शकुन्तलालाई औंठी निसानीको रुपमा दिएको र पछि औंठी हराउँदा स्मरण शक्ति हराएका दुश्यन्तले नचिनेको कथन उल्लेख छ ।

अहिले  पनि एकअर्काप्रति प्रतिबद्धताको प्रतीकको रूपमा औंठी लगाइन्छ । इजिप्टियनहरूले पनि गोलाकार औंठीलाई एक शक्तिशाली प्रतीकको रूपमा लिए र सम्बन्ध अमर रहने प्रतिज्ञा देखाउन औंठीलाई साटासाट गर्ने प्रचलनमा विश्वास गरे । यही विश्वास अहिलेसम्म पनि अपनाइएको पाइन्छ । त्यसैले सम्बन्ध जोड्दा औंठी दिने र सम्बन्ध तोड्दा औंठी फिर्ता गर्ने चलन पश्चिमी मुलुकमा बढी पाइन्छ ।

औंठी : स्नायुतन्त्रमा प्रभाव

शरीरका स्नायुहरू एकअर्कासँग जोडिएका हुन्छन् । साइँली औंलामा जोडिएको स्नायु मस्तिष्कको माध्यमबाट मुटुसँग जोडिएको हुने भएकाले धातु लगाउँदा एक किसिमको हार्मोनलाई सक्रिय गराउँछ, जसले हामीमा आनन्दभाव पैदा हुने अकुपञ्चरिस्ट सुदर्शन बस्नेत बताउँछन् । ‘चिनियाँ परम्परागत विज्ञानमा उल्लेख भएअनुसार औंलामा औंठी लगाउँदा त्यसमा हुने घर्षणको असर मुटुमा हुन्छ, यसले मुटुमा आनन्दको हार्मोन पैदा गर्ने गर्छ,’ उनी भन्छन् ।

ज्योतिषमा औंठी विष र अमृत

जीवनलाई सरल बनाउन, समस्या समाधान गर्न, कुनै उद्देश्य, स्वास्थ्यलाई सबल बनाउन औंठी लगाउने गरिएको ज्योतिष शिवराजबल्लभ रेग्मी बताउँछन् । उनका अनुसार कुण्डली, ग्रह, राशि सबैलाई मिलान गरेर रत्न, पुष्पराज, मुंगा, पन्ना, मोतीजस्ता पदार्थलाई चाँदी, पञ्चाधातु, सुन, तामा तथा हीराजस्ता धातुमा जडान गरी लगाइन्छ ।

‘ज्योतिषशास्त्र अनुसार यस्ता धातु कसैको लागि विष र कसैको लागि अमृत हुन्छ । जो ग्रह अनुसार कसैलाई कुनै धातु धारण गर्दा शुभ फल दिन्छ र कसैलाई अशुभ,’ ज्योतिषी रेग्मी भन्छन्, ‘शुभफलका लागि यस्ता धातुको धारण गर्नुपूर्व ज्योतिषय परामर्श लिन आवश्यक छ ।’ राशि, कुण्डलीअनुसार औंठी लगाउने चलन ऋषिमुनिको सभ्यतादेखि नै चल्दै आएको उनी सुनाउँछन् ।

सबैभन्दा बढी क्रेज महिलामा

गहनाको क्रेज सबैभन्दा बढी महिलामा हुने रिद्धिसिद्धि ज्वेलर्सका सेल्स म्यानेजर राजन अधिकारी बताउँछन् । ‘गहना किन्न वा लगाउन महिला नै सौखिन हुन्छन् । हाम्रा ग्राहक बढी महिला नै छन्,’ उनी भन्छन्, ‘पुरुषहरु विशेषगरी विवाहको लागि गहना किन्न आउनुहुन्छ । अरु बेलामा पुरुषभन्दा बढी महिला नै गरगहनाका पारखी हुन्छन् ।’

पहिले अधिकांश महिलाले विवाहपछि मात्रै औंठी लगाउने गर्दथे । तर यो सोच र फेसन दुवै परिवर्तन भयो । अहिले औंठी फेसनको हिस्सा बनेको छ । पहिले बजारमा औंठीका केही डिजाइन मात्र थिए । जस्तै पत्थरको, सिक्काको र साधा औंठी । तर अहिले थरीथरी डिजाइनका औंठीको माग र उत्पादन हुन थालेको लक्ष्मी तामाङ बताउँछिन् ।

‘महिलाहरू दैनिक पहिरनमा समेत औंठी लगाउन रुचाउन थालेका छन् । त्यति मात्र होइन, अहिले लुगाको डिजाइनअनुसार औंठी लगाउने प्रचलन बढ्दो छ,’ उनी भन्छिन्, ‘रिद्धिसिद्धि ज्वेलर्समा ३० हजारदेखि लाखौं पर्ने सुन र हीराका गहना उपलब्ध छन् । हीराको औंठी १४ लाखसम्म पर्ने औंठी छन् ।’

विश्वकै महंगो औंठी

औंठीको सौख मानिसलाई यति हुन्छ कि लाखौं खर्चिएर यो बन्ने र किन्ने गरिन्छ । औंठीको लिलामी समेत गरिन्छ । सन् १९६८ मा रिचर्ड बर्टनले एलिजाबेथ टेलरलाई ३३.१ क्यारेटको हीराको औंठी उपहार दिएका थिए । सन् २०११ मा यसको मूल्य आठ अर्ब रुपैयाँभन्दा बढी थियो ।

कम तौलमा आकर्षक गहना पनि बजारमा

लगनखेलस्थित ग्रेसी ज्वेलर्सले कम तौलमै सुनका गहनाहरु बिक्री वितरण गर्दै आएको छ । टिकटक, फेसबुकबाट पनि विज्ञापन गरेर व्यापार गरिरहेको छ । सञ्चालिका कल्पना महतारा भन्छिन्, ‘अहिले आर्थिक मन्दी लागेको छ । यससँगै सुनको भाउ पनि आकाशिएको छ । जसकारण रहर हुँदाहुँदै पनि गहना किन्न क्षमताले नभ्याउन सक्छ । त्यसैले हामीले कम तौलमै सुनका गहनाहरु ल्याएका छौं । दुई लालदेखि नै औंठी तयार हुन्छ ।’

लामो समयसँग औंठी लगाउनु हुँदैन

यदि वर्षौंदेखि एउटै औंठी लगाइरहँदा तौल पनि द्रुत गतिमा बढेको छ भने औंठीले समस्या निम्त्याउन सक्छ । जर्नल अफ ह्याण्ड सर्जरीमा प्रकाशित एक अध्ययनका अनुसार धेरै कसिलो औंठी लगाउनाले ‘एम्बेडेड रिङ सिन्ड्रोम’ निम्त्याउन सक्छ ।

औंला सुन्निएको बेला औंठीले स्नायुलाई खुम्च्याउँछ र औंलाका तन्तुहरूमा नराम्रो प्रभाव पार्छ । कसैलाई सधैं टाइट औंठी लगाउनबाट जोगिनै पर्छ । किनभने औंलाबाट सुरु हुने संक्रमण पूरै हात र हड्डीमा पनि पुग्न सक्छ, जसको नतिजा निकै खतरनाक हुन्छ ।

चलनचल्तीमा छन् यी औंठी

डबल लेयर रिङ डिजाइन

बजारमा डबल लेयर रिङ डिजाइनका धेरै प्रकार पाइन्छ । यसको पहिलो तहमा हीरा, दोस्रो तह फूल डिजाइन देख्न सकिन्छ । हीरा र चाँदीमा पनि यो डिजाइन बजारमा उपलब्ध छन् ।

वेडिङ रिङ

विवाहको औंठीहरू सबैभन्दा धेरै खोजिएका हुन्छन् । विवाहको सिजनमा सबैभन्दा बढी यसको माग बजारमा हुन्छ । सामान्यतया विवाहमा लगाउने औंठी सुन, चाँदी वा प्लेटिनमबाट बनेका हुन्छन् । विवाहित जोडीहरूले औंठीलाई आफ्नो प्रेम र प्रतिबद्धताको प्रतीकको रूपमा लगाउँछन् । बेहुलीले गहनाको सेटको औंठी लगाउँछन् । जसमा बढी गोलो सिक्का, असर्फी लगाउने गर्छन् । त्यस्तै अहिले हीराका औंठी पनि प्रचलनमा आएको छ ।

इन्गेजमेन्ट रिङ

विवाहअघि औंठी साटासाट गर्ने चलन विश्वव्यापी रुपमै छ । महिलाले लगाउने औंठी गोलाकार खालको हुन्छ, टेम्पल, रत्न भएको, स-साना पत्त्थर हालेको, डबल लियर विभिन्न डिजाइनमा हुन्छन् । सुनमा पत्थर राखेर बनाइएका औंठीहरु बढी चल्तीमा छन् । पुरुषले भने सिंगल पत्थर भएको औंठी बढी रचाउने गरेका छन् ।

फ्लोरल रिङ

फ्लोरल डिजाइनको औंठी पछिल्लो समय महिलाको रोजाइमा परेको छ । फूलको डिजाइनमा बनाइने यो औंठी सिंगल र डबल डिजाइनमा पाइन्छ ।

टेम्पल रिङ

टेम्पल रिङ अहिले निकै रुचाइएको औंठी हो । यो महिलाले लगाउने गर्छन । चाँदी, सुनमा बन्ने गर्छ । यो रिङ पार्टी, अफिस जाँदा लगाउन सकिन्छ । यो पनि २२ क्यारेट र २४ क्यारेटमा आउँछ ।

हार्ट सेप रिङ

प्रेमिकालाई उपहार दिन उत्कृष्ट रिङ हार्ट सेप रिंग राम्रो विकल्प हुन सक्छ । महिलाहरुलाई मुटुको डिजाइन भएको यो औंठी अत्यधिक मन पराउँछन् । यो औंठी दैनिक रुपमा लगाउन सकिन्छ, किनभने यसको डिजाइन एकदम सरल छ ।

बेरुवा औंठी

पुरुष तथा महिलाले दैनिक रुपमै लगाउन सुनको बेरुवा औंठी रोज्ने गरेको पनि पाइन्छ । कलेज, अफिस होस् वा कुनै समारोह यो औंठी लगाउन सकिन्छ ।

टर्किस

अहिले बजारमा निकै रुचाइएको औंठी हो, टर्किस रिङ । पार्टीमा लगाउन महिलाहरुले यसलाई रुचाउने गरेको छन् । यसको मूल्य ३० हजार रुपैयाँदेखि सुरु हुन्छ । तौल र सुनको मूल्य अनुसार यसको भाउ पनि बढ्न सक्छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?