+
+

कमल थापालाई के भनुँ र खै !

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० असार १४ गते ६:१७

कमल थापालाई पञ्चायतकालीन राष्ट्रवादी विद्यार्थी मण्डलका नेता (जनबोलीमा ‘मण्डले’) भन्दिएका भरमा उनको व्यक्तित्व विरासत खारेज हुँदैन । बहुदलदेखि गणतन्त्रकालसम्म प्रजातान्त्रिक, वामपन्थी सबै दलले उनलाई लिएर आफ्नो खाँचो पूरा गरेका छन् । चुनाव जिते या हारे पनि उनका भनाइहरुको राष्ट्रिय अर्थ हुन्छ ।

यिनै कमल थापाले सर्वोच्च अदालतको हिजोको फैसलाबारे बिहीबार सार्वजनिक प्रतिवाद गरे । इतिहासको अभिलेखमा रहोस् भनेर म यसलाई हुबहु उद्धरण गर्दैछु :

‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ । समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ । विवाह महिला र पुरुषबीचको पवित्र सम्बन्ध हो । समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ ।’

सर्वोच्च अदालतले बिहीबार समलिंगी जोडीको विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको थियो । हाल नेपालमा समलिंगी तथा यौनिक अल्पसंख्यक समुदायको विवाहसम्बन्धी कानुन बनिसकेको छैन । त्यो नबन्दासम्म उनीहरुको विवाहको अस्थायी अभिलेख राखेर भए पनि विवाह दर्ता गरिदिन सर्वोच्चले आदेश दिएको हो । यसै आदेशको प्रतिवादस्वरुप थापाको वक्तव्य आएको छ ।

पहिलो त, थापाले दाबी गरेझैं ‘प्राकृतिक नियम’ को कुरा गरे पनि प्रकृतिमा कुनै नियम हुँदैन । नियम कानुन मान्छेको सोचाइको उत्पादन हो । प्रकृतिका आफ्नै चक्रहरु होलान्, त्यसलाई व्यक्त गर्न कुन भाषा प्रयोग गर्ने भन्ने बहस छुट्टै चाहिन्छ ।

दोस्रो, विवाह पनि कुनै प्राकृतिक कुरा होइन, मानव निर्मित संरचना हो । लैंगिकता चाहिँ प्राकृतिक हो, जसलाई सामाजिक स्वीकृति दिनका लागि कानुनसमेत आवश्यक छ भनेर समाज र राज्यका शासकहरुले ठाने । नत्र हरेक मान्छेले अरु प्राणीझैं विवाह संस्था नै नबनाई यत्तिकै बसे पनि हुन्थ्यो ।

तेस्रो, सामाजिक मान्यता र संस्कार धर्म या जाति या लिंगविशेषको मात्रै हुँदैन । निश्चित मान्छेहरुले तोकिदिएका भरमा त्यसको सार्वभौमिकता परिभाषित हुन सक्दैन । प्रकृतिमा व्यक्ति स्वतन्त्र छ । यति तथ्य त कमल थापालाई मन पर्ने व्यवस्था विरुद्ध नेपालीहरुले विद्रोह गरेर बनाएको संविधानले पनि स्वीकार गरेको छ ।

रह्यो चौथो विषय, अर्थात पारिवारिक झमेला र सामाजिक विकृतिको । यसको जवाफ चाहिँ ट्वीटरमा अग्रज पत्रकार गोविन्द अधिकारीले दिइसकेका छन्, ‘तपाईंहरु त (पञ्चायतकालमा) राजनीतिक स्वतन्त्रता दिइयो भने पनि समाजमा खलल हुन्छ भन्नुहुन्थ्यो ।’

थापासँग लैंगिकताको बहसमा जानुअघि थोरै पृष्ठभूमिका कुरा गरौं । दक्षिणपन्थी विचारलाई बोकेर यहाँसम्म आएका कमल थापा हिजोआज राजा चाहिन्छ भन्दैनन्, हिन्दु गणतन्त्र हुनुपर्छ भन्छन् । आफ्ना राजनीतिक मान्यताबाहेक समग्र राष्ट्रिय जीवनमा उनलाई खोज्ने हो भने कमल थापा कुशल टेनिस खेलाडी हुन्, अनि अध्ययनशील नेता पनि ।

एक दशकअघिको प्रसंग : आर्ची ब्राउनको मिथ अफ् स्ट्रङ लिडर : पोलिटिकल लिडरसिप इन् द मोडर्न एज नामक किताब प्रकाशित भएको थियो । पछि गएर यो बहुचर्चित भयो । कमल थापा विशालनगरस्थित आफ्नो निवासमा त्यही किताब पल्टाएर बसिरहेका थिए ।

हामी (यो पंक्तिकार र त्यस बेलाका सहकर्मी स्वरुप आचार्य) छक्कै परेका थियौं– केही दिनअघि मात्रै सार्वजनिक किताब थापाले कसरी यति छिटै भेट्न पुगे ! उनले सौहार्द हाँसोमा प्रष्ट्याएका थिए, ‘यी लेखकलाई मैले पढ्ने गरेको छु, किताब आउनेबित्तिकै अमेरिकामा छोरीलाई पठाइदिन भनेंँ ।’ नयाँ किताबप्रति त्यस बेलाका व्यस्त नेता कमल थापाको उत्सुकतालाई लिएर हामी प्रभावित भई फर्केका थियौं ।

नयाँ पुस्तालाई राजनीतिका अतिरिक्त दोस्रो परिचय भएका व्यक्तित्वले खिच्ने गर्छन् । यो पंक्तिकारलाई  थापाको राजनीतिक पृष्ठभूमिसँग फरक मत भए पनि उनको वक्तृत्व र व्यक्तित्वले आकर्षित गर्ने गरेकै हो । उनले अघि सार्ने राजनीतिक एजेन्डाहरुको निरर्थकता त नयाँ समयमा पटक पटक प्रमाणित भइरहेको नै छ । चुनावी जनमतदेखि बौद्धिक डिस्कोर्ससम्म त्यो प्रतिविम्बित भइरहेको छ ।

तर कुनै कुनै तर्कहरु सिधा खारेज गरिदिएका भरमा सहजै आम स्मृतिबाट हराउँदैनन् । तिनीहरुमाथि वस्तुनिष्ठ बहस गर्ने बाहेक अर्को विकल्प छैन । थापाले आदर्श मानेको पन्चायत व्यवस्थाले फरक विचार राखेकै आधारमा सर्वस्वहरण, जन्मकैददेखि अड्डासारको बहानामा मार्ने जस्ता नृशंसताबारे यहाँ शब्द खर्चिन आवश्यक छैन । अघिल्लो पुस्ता त्यसविरुद्ध लडेर आएको छ । नयाँ पुस्ताले चाहिँ सचेत भएर इतिहास पढ्नैपर्छ । नत्र अनलाइनखबरका सहकर्मी सुदर्शन खतिवडाले भर्खरै फिलिपिन्सबारे लेखेको लेखकै जस्तो दुर्भाग्य दोहोरिन सक्छ ।

त्यसैले आज न्यायालयको आदेशलाई लिएर कमल थापाले ट्वीटरमा जे लेखे, त्यसको निन्दा गर्नुमात्रै काफी छैन । उनी राजनीतिक व्यक्ति भएकाले उनलाई पछ्याउने सानो–ठूलो पंक्ति छ, त्योसँग संवाद गर्न समेत आवश्यक छ ।

दक्षिणपन्थीहरुको नियत भनौं वा निर्दोषिता– उनीहरु देशलाई प्राकृतिक मान्छन् । विचारभन्दा माथि देश भन्छन् । यौनिकता, लैंगिकता आदिलाई चाहिँ अप्राकृतिक मान्छन् । प्रकृतिमा खोलानाला, समुद्रका कुनै नाम थिएनन् । ती मान्छेले राखिदिएका हुन् ।

किरात नाम जातीय हो, कोशी चाहिँ प्राकृतिक भन्ने तर्कजस्तै हो यो । हुन सक्छ कुनै जनावरले आफूलाई चाहिने चीजहरुको नाम राखेको हुन सक्छ । तर त्यसलाई प्रमाणित गर्ने सामग्री भेटिएको यो लेखकलाई थाहा छैन । प्रमाण मानव मगजको उत्पादन हो ।

थापालाई फरक यौनिक अभिमुखीकरण आफैंमा विकृति होइन, यो अस्तित्वभित्रैको सत्य हो भन्ने परेकै छैन । बरु सामाजिक मान्यता र संस्कारका नाममा यसलाई निरोध गर्न खोज्नु चाहिँ अप्राकृतिक, अमानवीय र अविवेकी कुरा हो भन्ने लाग्दै लाग्दैन ।

मानिसहरु महिला, पुरुष भएजस्तै मानव शरीरभित्र विभिन्न स्वभावहरु छन्, जसलाई बुझ्न खुला चेतना चाहिन्छ । डलरवादी, युरोवादी भन्दिएका भरमा त्यो उन्मुक्तिको आवाजलाई थुन्न सम्भव छैन । विद्रोह हिजो पनि समाजमा थियो, भोलि पनि हुनेछ ।

विद्रोह रोक्ने एउटै उपाय हो, फरक चेतनासँग संवाद गरिरहने । यौनिक अल्पसंख्यकहरुको लामो समयदेखिको दुःखलाई बल्ल न्यायालयले सुनेको छ । आशा गरौं, यसले अझै मूर्त रुप पाउने छ ।

तर खबरदारी पनि गरौं । किनभने यो प्रक्रिया बीचैमा रोकिन पनि सक्छ । अनेक रुप, रंग र खोलमा दक्षिणपन्थ निरन्तर प्रबर्धित छ । भर्खरै नागरिकता बहसमा त्यो प्रकट भएको देखियो । कुनै छद्म तर्कका आधारमा वास्तविक नागरिकहरु नेपाली नागरिकताको प्रमाणपत्रबाट बन्चित नहोउन् । स्वतन्त्रता र अपनत्वको त्यही अधिकतम अनुभूतिले यो देशलाई युगौंसम्म बचाएर राख्नेछ । देश बचाउने ठेक्का वर्गविशेषले मात्रै लिन खोज्यो भने त्यहीँबाट असन्तुष्टि र विग्रहको बीउ रोपिनेछ ।

यही कुरा लैंगिकताको बहसमा पनि लागु हुन्छ । यो आलेखमा धर्म, संस्कृति, राष्ट्रियता आदिमा प्रवेश गर्न नै मन छैन । यो संसारैभरिका दक्षिणपन्थीहरुसँग कहिल्यै नसिद्धिने विवाद हो । तर लैंगिकतालाई जोडेर थापाले दिएको टिप्पणी भने सभ्य समाजले सहजै पचाउन कठिन छ ।

उनको अभिव्यक्तिमा आएका प्रतिक्रियाहरुको प्रवृत्ति हेर्दा हामी समाजका रुपमा कता गइरहेका छौं भनेर चिन्ता गर्न मन लाग्छ । वैचारिक स्वतन्त्रताको सम्मान गरौं, तर कसैको विचारले अर्को व्यक्तिको जिउने, स्वतन्त्र हिँडडुल गर्ने अधिकारकै हनन गर्छ भने कसरी सामान्य मान्न सकिएला ?

मिथ अफ् स्ट्रङ लिडर जस्तो त्यस बेलाको तरोताजा किताब पढिभ्याउने हुटहुटी भएका पढैया कमल थापालाई लैंगिकताको विश्वव्यापी प्रश्नबारे घोत्लिने समय पक्कै उपलब्ध छ । यसै पनि उनको शक्ति खुम्चिँदै गएको छ । उनी अब उबेलाजस्तो ‘स्ट्रङ लिडर’ पनि त रहेनन् ।

त्यसैले कुनै पनि विश्वविद्यालयको कोर्स, या स्वतन्त्र अध्ययनमार्फत् मानव समाजका बहुविध परिचयबारे खुलस्त भएर पढ्न थाले कमल थापाको राजनीतिक सन्यास जीवन सार्थक हुनेछ । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले लेखेको ‘हाम्रो छोरो गे हो’ शीर्षक आलेख पढे पनि भयो ।

निरन्जन कुँवरले लेखेको बिटविन क्वीन्स एन्ड द सिटिज् या सञ्जीव उप्रेतीले सिद्धान्तका कुरा पुस्तकमा लेखेको ‘परिचयको अध्ययन’ नामक अध्याय पढे पनि भयो ।

त्यत्रो समय या जाँगर नभए कमल थापासँग एउटा सजिलो विकल्प छ– कलेज पढ्दाका सहपाठी मित्र बाबुराम भट्टराईलाई ट्याक्क फोन हान्ने, अनि लैंगिकताबारे नबुझेका कुरा सोध्ने । भट्टराईले पक्कै बुझाउलान् । उनी पनि त फुर्सदमै छन् ।

तर कमल थापाजी, एउटा प्रश्न चाहिँ भट्टराईलाई पनि सोध्न नबिर्सनुहोला, ‘पहिला तपाईंले एमाले भन्ने पार्टीलाई न भाले, न पोथी भन्नुभएको थियो । त्यो शब्द राजनीतिक रुपमा पनि गलत, यौनिकता र लैंगिकताको हिसाबले पनि अपाच्य रहेछ हगि ?’

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?