+
+

बयानका लागि बोलाएर यातना दिएको भन्दै धनुषा प्रहरीविरुद्ध किटानी जाहेरी

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० असार १५ गते १९:३३
मनिषा साह ।

१५ असार, जनकपुरधाम । सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको दिएको भन्दै धनुषाका प्रहरी प्रमुख (एसपी) र डीएसपीसहितका प्रहरीहरु विरुद्ध किटानी जाहेरी परेको छ ।

आफूहरुलाई प्रहरी कार्यालयमा कुटपिट तथा यातना दिएको भन्दै धनुषाको नगराइन नगरपालिका ८ खिरखिरियाकी २० वर्षीया मनिषा साहले हुलाकबाट जाहेरी पठाएकी हुन् । जाहेरी दिने मनिषा गत जेठ ७ गते रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया आरती साहकी बहिनी हुन् ।

नगराइनका विनोदप्रसाद साहकी छोरी मनिषाले धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्का, डीएसपी वेदप्रसाद गौतम, सई जयप्रकाश साहसहितका प्रहरीविरुद्ध जिल्ला हुलाक कार्यालय धनुषाबाट जिल्ला सरकारी वकिलको कार्यालयमा किटानी जाहेरी पठाएकी हुन् ।

त्यसअघि पीडित परिवार जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यहाँ एसपी विश्वराज खड्काले प्रहरीमाथि कुटपिट र अन्याय गरी उल्टै आफूहरुलाई थप पीडा दिएकाले हुँदै नभएको घटनाको जाहेरी नलिने प्रतिक्रिया दिएका थिए ।त्यसपछि आरतीका परिवार सरकारी वकिलको कार्यालय पुगेका थिए । त्यहाँ समेत जाहेरी नलिएपछि मनिषाले हुलाकबाट पठाएकी छिन् ।

उनीहरुलाई एड्भोकेसी फोरम नेपालबाट आधिवक्ता कुमारप्रसाद थपलिया र सूचना अधिकृत विन्देश दहालले सहयोग गरेका थिए । मनिषासँगै उनका भाइ प्रेम, हजुरबुबा रामअशिष साहसहित गएका थिए ।

बयानको लागि बोलाएर प्रहरी कार्यालयमा आफ्नो परिवारका सदस्यमाथि दिएको चरम यातनामा संलग्न प्रहरीलाई कारबाहीको माग जाहेरीमा गरिएको छ ।

आरती मृत्यु प्रकरणको मिसिल सरकारी वकिल कार्यालयबाट जिल्ला प्रहरी कार्यालयमा थप बयानको लागि फर्काएपछि जेठ ३२ गते माइत पक्षका सदस्यलाई बोलाइएको थियो ।

जाहेरीमा उल्लेख ब्यहोरामा दिउँसो १२ बजे पुग्दा प्रहरीले सुरुमा आमा निर्मलाको बयान लिएका थिए । दिएको बयान र प्रहरीको लिखतमा फरक परेको भन्दै हस्ताक्षर गर्न नमान्दा प्रहरीले कुटपिट यातना दिनुको साथै दिउँसो ३ बजेदेखि राति १० बजेसम्म थुनामा राखेको जाहेरीमा उल्लेख छ ।

बयानका लागि आमा निर्मला, बुबा विनोद, बहिनी मनिषा, भाइ प्रेम र मामा सन्तोष प्रहरीमा पुगेका थिए । प्रहरीले लेखेको बयानमा पाँचैजनालाई जबरजस्ती सही छाप गर्न कर गरेको र नमान्दा डीएसपी गौतमसहितका प्रहरी कर्मचारीले कुटपिटसहित थुनेर शारीरिक तथा मानसिक यातना दिएको उल्लेख छ ।

दिदीको मृत्यु पश्चात विभिन्न निकायमा उजुरी जाहेरी किन दिएको, बयानमा किन हस्ताक्षर नगरेको भन्दै डीएसपी गौतमले हातले आफ्नो घाँटी न्याकेर उचाली भूँइमा बजारेको, लछारपछार गरेको, देब्रे कञ्चटमा झापडले र लात्तीबुटले तल्लो पेटमा हिर्काएको, गम्भीर चोटको कारण रक्तश्राव भएको, देब्रे कान नसुन्ने गरेको जाहेरीमा मनिषाले उल्लेख गरेकी छन् ।

प्रहरीबाट छुटेपछि राति प्रादेशिक अस्पताल जनकपुरमा गराएको उपचारको घाउजाँच फारम, निलडामको तस्वीर पनि जाहेरमा संलग्न छ ।

एकजना कार्की थर भएका प्रहरी इन्सपेक्टर, सई जयप्रकाश ठाकुर, नाम थाहा नभएका दुईजना महिला प्रहरी र अन्य प्रहरीहरुले आफूलाई रक्तश्राव भइरहँदा कपाल समातेर घसारेको, झापडले हिर्काउने क्रम जारी राखेको, आफ्ना भाइ प्रेमलाई बुट र बन्दुकको कुनाले हिर्काउँदा अवस्था सिकिस्त भएर बान्ता गरेको, जुता निकालेर फोहोर मोजा सुँघाइएको, आमाको नाक कानमा लगाएको गहना दुईजना प्रहरीले अमानवीय ढंगले थुतेर थुनुवा कक्षमा लगेको, बुबा र मामालाई जथाभावी लातबुट र झापडले हानी थुनामा राखेर चरम यातना तथा अमानवीय व्यवहार गरेको उनको जाहेरीमा उल्लेख छ ।

त्यस्तै राति साढे ९ बजे एसपी खड्काले आमा बुबासहित सबैलाई थुनाबाट निकालेर पार्किङस्थलमा लगि आरतीको विषयमा विभिन्न संस्थामा किन उजरी दिएको भन्दै गालीगलौज गरेको उल्लेख छ ।

कुटपिट तथा यातनाको विषयमा कतै उजुरबाजुर गरे ज्यानमार्ने धम्की दिँदै एसपी खड्काले आफ्नो खुट्टा आमाबुबालाई ढोग्न लगाएको, त्यस क्रममा आमाबुबा भक्कानिएर पीडाले रोएको जाहेरीमा दाबी गरिएको छ ।

आफ्नो परिवारको सदस्यको शंकास्पद मृत्यु हुँदा सत्य जान्न खोज्नु, अनुसन्धानका लागि राज्यका सरोकारवाला अंग तथा संस्थाहरू गुहार्नु, सूचना माग गर्नु, उजुरी र निवेदन दिनु जस्ता सामान्य प्रयत्न जो कोहीले कानुनी अधिकारको प्रयोग गर्दा उल्टै पीडित परिवारलाई निर्ममतापूर्वक यातना दिएर प्रहरीले कसूर गरेकोले कानुन बमोजिम कारबाहीको माग दाबी जाहेरीमा गरिएको छ ।

पति र ससुरा जेलमा

आरती ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन् । आरतीको श्रीमान् जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकका मोतीबाबु साह र ससुरा मदन मोहन व्याहुत अहिले पुर्पक्षका लागि थुनामा छन् । गत असार ५ गते जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

आरतीको माइती पक्षले मोतीबाबु, ससुरा मदनमोहन, सासु रेनु देवी र देवर रवि साह विरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएको थियो । तर प्रहरीले सुरुमा आत्महत्या देखिएको भन्दै आत्महत्या सम्बन्धी दुरत्साहन कसूरमा जाहेरी दिन कर गरेको आरोप छ । तर माइत पक्षले हत्या भन्दै कर्तव्य ज्यान मुद्दा चलाउने अडान कायम राख्दा प्रहरीले अनुसन्धानमा पति र ससुराको मात्र संलग्नता देखिएको भन्दै दुबैजनाविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

दुई वर्षअघि मात्रै मोतीबाबु र आरतीको विवाह सामाजिक परम्परा अनुसार भएको थियो । विवाहमा दाइजोसहित २५ लाख रुपैयाँ खर्च गरेको माइत पक्षको दाबी छ । पछि थप दाइजो माग्दै छोरीलाई यातना दिने गरेको र अन्तमा हत्या नै गरेको माइतपक्षले दाबी गर्दै आएको छ ।

केही दिनअघि माइत पक्षले प्रहरीमाथि कारबाही र छोरी आरतीको न्यायको माग गर्दै काठमाडौं पुगेर माइती घर मण्डलामा धर्ना दिँदै आएका थिए ।

प्रहरीको आफ्नै दाबी : ६ जना प्रहरीमाथि हातपात तथा दुर्व्यवहार

धनुषा प्रहरीले आरतीका माइत पक्षले आफूहरुमाथि कुटपिट तथा दुर्व्यवहार गरी पीडित बनाएको दाबी गरेको छ । सत्यतथ्य अनुसन्धान गरी मुद्दा दायर गर्दा नै आरतीका पति र ससुरा पुर्पक्षका लागि जेल चलान भएको एसपी खड्काको तर्क छ ।
‘हामी आरतीको न्यायकै लागि लडिरहेका छौं । आज सत्यतथ्य अनुसन्धान गर्दा नै अदालतको आदेशमा पति र ससुरा जेल चलान भएका छन् । हामी आफ्नो दायित्व कर्तव्यबाट अलिकति पनि विमुख भएका छैनौ’, एसपी खड्काले भने ।

उनले आरतीको माइत पक्षले नाटकीय ढंगबाट दबाब सृजना गर्दा आफूहरु अन्यायमा परेको बताए । उनका अनुसार जेठ ३२ गते बयानको क्रममा मोबाइलबाट फोटो भिडियो लिन खोजेको र नलिन आग्रह गर्दा उनीहरुले नमानेपछि रोक्ने प्रयास गर्दा प्रहरीमाथि कुटपिट तथा ज्यादती गरेको तर्क एसपी खड्काको छ ।

त्यसक्रममा ६ जनाप्रहरीमाथि आरतीको परिवारले कुटपिट तथा दुव्र्यवहार र कार्यालयमा तोडफोड गरेको उनको दाबी छ ।

प्रहरी इन्सपेक्टर दिनेश अधिकारी, नवराज खड्का र विक्रम साह, सई जयप्रकाश यादव, प्रहरी सहायक हवल्दार सुस्मिता राई, महिला प्रहरी गोमा थापा, डीएसपी गौतमका सुरक्षा गार्ड हनुमान राई माथि हातपात तथा दुर्व्यवहार भएको खड्काले बताए ।

उनले कुनै प्रहरीले उनीहरुमाथि कुटपिट नगरेको, महिलामाथि पुरुष प्रहरीले जिउमा समेत नछोएको दाबी गरे । मृतक परिवारलाई थप पीडामा के पार्नु भनेर उनीहरुमाथि मुद्दा नचलाई छाडिएको एसपी खड्काको तर्क छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?