+
+

संसारका १० धनीमध्ये ८ जना अमेरिकाका

अनलाइनखबर अनलाइनखबर
२०८० असार १६ गते १०:५६

१६ असार, काठमाडौ । फोर्ब्सले सार्वजनिक गरेको विश्वका सबैभन्दा १० धनी व्यक्तिहरूको सूचिमा ८ जना अमेरिकाका रहेका छन् । फोर्ब्सको ‘द रियल-टाइम बिलेनियरी लिस्ट’ नियमित अद्यावधिक भइरहन्छ । जुन १, २०२३ को बिहानसम्म यो सूचिको पहिलो नम्बरमा टेस्लाका सीईओ एलन मस्क रहेका छन्। जेफ बेजोस दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा फ्रान्सका बर्नार्ड अर्नाल्ट र उनको परिवार रहेको छ ।  

फोर्ब्सको धनी व्यक्तिहरूको सूचिमा अमेरिकी धनाढ्यहरूको बर्चश्व रहेको छ । सूचिमा अमेरिका बाहिरबाट फ्रान्स र मेक्सिकोका केवल दुई डलर अर्बपतिहरू मात्र समेटिएका छन् । यी धनीहरूको कुल सम्पत्ति संसारका धेरै देशहरूको कुल ग्राहस्थ उत्पादन (जीडीपी) भन्दा बढी छ ।

फोर्ब्सले सन् २०२३ मा लागि सार्वजनिक गरेको विश्वका १० धनाढ्यको सूचिमा क्रमशः एलन मस्क, बर्नार्ड अर्नाल्ट र परिवार, जेफ बेजोस, ल्यारी एलिसन, बिल गेट्स, वारेन बफेट, स्टीभ बाल्मर, ल्यारी पेज, कार्लोस स्लिम हेलु र मार्क जुकरबर्ग रहेका छन् ।

१. एलन मस्क

एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति २३४.१ बिलियन डलर रहेको छ । उनी इलेक्ट्रिक कार निर्माता टेस्ला र स्पेस एक्सप्लोरेसन कम्पनी स्पेसएक्स लगायतका कैयौं महत्वपूर्ण कम्पनीका सीईओ हुन्। उनको हाल टेस्लामा २३ प्रतिशत सेयर छ। उनको सम्पत्तिको एक महत्त्वपूर्ण भाग, लगभग दुई तिहाई, टेस्लाको सफलतासँग जोडिएको छ। मस्क सन् २०२२ को अक्टोबरमा ४४ बिलियन डलरमा ट्विटर किनेपछि थप चर्चा र विवादमा छन् ।

मस्क सेप्टेम्बर २०२१ मा विश्वका शीर्ष १० धनी व्यक्तिहरूको सूचीमा अटाएका थिए । नोभेम्बर २०२१ मा उनको सम्पत्ति ३२० अर्ब डलर पुगेको थियो ।

२. बर्नार्ड अर्नोल्ट

बर्नार्ड अर्नाल्ट विश्वको दोस्रो धनी व्यक्ति हुन्। उनी मोएट हेनेसी लुइस विटन (एलभीएमएच) को सीईओ र अध्यक्ष हुन् । यो संसारको सबैभन्दा ठूलो विलासिता सामान कम्पनी हो जसमा लगभग ७० प्रसिद्ध फेसन र कस्मेटिक्स ब्रान्डहरू समावेश छन् । जनवरी २०२१ मा उक्त कम्पनीले १५.८ बिलियन डलरमा ज्वेलर टिफनी एण्ड कम्पनीको अधिग्रहण पूरा गरेको थियो ।

अर्नोल्टलाई उनका पाँच सन्तानले एलभीएमएचका विभिन्न ब्रान्डहरू सम्हाल्न सघाउँछन् । अर्नाल्ट र उनको परिवारको कुल सम्पत्ति २३०.३ बिलियन डलर रहेको छ ।

३. जेफ बेजोस

जेफ बेजोसले जुलाई २०२१ मा अमेजनको सीईओको छाडे पनि उनी कम्पनीको अध्यक्षको भूमिकामा रहिरहे । सोही महिना उनले आफूले स्थापना गरेको ब्लू ओरिजिनले विकास गरेको रकेटमा सवार अन्तरिक्ष यात्रा सुरु गरे। ५९ वर्षीय बेजोसको कुल सम्पत्ति १५१.७ बिलियन डलर रहेको छ ।

४. ल्यारी एलिसन

ल्यारी एलिसनले सन् १९७७ मा सफ्टवेयर फर्म ओरेकल स्थापनामा नेतृत्वदायी भूमिका खेले । सन् २०१४ सम्म यसको सीईओको जिम्मेवारी सम्हाले । अहिले उनी कम्पनीको अध्यक्षका साथै प्रमुख प्रविधि अधिकृतको जिम्मेवारीमा छन् । सन् २०१२ मा उनी अमेरिकाको हवाईमा एक टापु ३०० मिलियन डलरमा खरिद गरेर चर्चामा रहेका थिए ।

एलिसनको टेस्लामा पनि महत्वपूर्ण हिस्सा शेयर छ । ७८ वर्षीय एलिसनको कुल सम्पत्ति १४६.३ बिलियन डलर रहेको छ ।

५. बिल गेट्स

बिल गेट्सलाई फोर्ब्सले सन् 1987 मा पहिलो पटक अर्बपतिको सूचिमा चढायो । सन् १९९५ देखि २०१७ सम्म उनी संसारकै धनी व्यक्तिको रूपमा रहे यद्यपि सन् २००८ र २०१० देखि २०१३ सम्म केही समय उनी पहिलो नम्बरमा टिक्न सकेनन् ।

फोर्ब्सको अनुमान अनुसार २०२३ को मे र जुन महिनामा उनको सम्पत्ति झण्डै ५०० मिलियन डलरले वृद्धि भयो जसले उनी वरियतामा एक स्थान माथि उक्लिंदै पाँचौं स्थानमा पुगे । हाल अमेरिकाको वासिङ्गटन बस्दै आएका उनको कुल सम्पत्ति ११७.९ बिलियन डलर रहेको छ ।

६. वारेन बफेट

९२ वर्षीय वारेन बफेटको कुल सम्पत्ति १११.६ बिलियन डलर छ। उनले इतिहासका सबैभन्दा सफल लगानीकर्तामध्ये एक हुन् । उनी बर्कशायर ह्याथवेको नेतृत्व गर्छन् जुन लगानीकर्ताहरूको समूह हो ।

सन् २०१० मा बजेट, बिल गेट्स र मेलिन्डा फ्रेञ्च गेट्स लगायतले प्लेज पहलको स्थापना गरे जसले डलर अर्बपतिहरूलाई आफ्नो सम्पत्तिको कम्तिमा ५० प्रतिशत परोपकारी संस्थाहरूलाई दान गर्न आग्रह गर्दछ । बफेटले आफ्नो ९९ प्रतिशत सम्पत्ति परोपकारमा दान गर्ने इच्छा व्यक्त गरेका छन् ।

७. ल्यारी पेज

ल्यारी पेज र उनका साथी स्ट्यानफोर्डमा पीएचडी गरिरहेका विद्यार्थी सर्गेई ब्रिनले सन् १९९८ मा गुगलको स्थापना गरेका थिए। सुरुमा पेजले सन् २००१ सम्म गुगलको सीईओ सम्हाले । सन् २०११ देखि २०१५ सम्म पुनः कम्पनीको सीईओ बने । अहिले उनी गुगलको मूल कम्पनी अल्फाबेटको बोर्ड सदस्यको जिम्मेवारीमा छन् । साथै उनी गुगलका एक प्रमुख शेयर सदस्य पनि हुन् ।

यसका अतिरिक्त पेजले अन्तरिक्ष अनुसन्धानमा आधारित कम्पनीमा संस्थापक लगानीकर्ताको रूपमा भूमिका निभाए । उनको कुल सम्पत्ति १०२.४ बिलियन डलर रहेको छ । उनी अहिले अमेरिकाको क्यालिफोर्नियामा बस्छन् ।

८. स्टीभ बाल्मर

बिल गेट्सका हार्वर्ड विश्वविद्यालयका सहपाठी स्टिभ बाल्मरले सन् २००० देखि २०१४ सम्म माइक्रोसफ्टमा सीईओको रूपमा काम गरेका थिए। माइक्रोसफ्टसँगको उनको यात्रा सन् १०८० मा सुरु भयो जब उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए उत्तीर्ण गरे उनी कम्पनीको ३०औं कर्मचारीको रूपमा सहभागी भए ।

बाल्मरले माइक्रोसफ्टबाट सन्यास लिएकै वर्ष लस एन्जलस क्लिपर्स बास्केटबल टोलीलाई २ बिलियन डलरमा खरिद गरेर चर्चामा आए । ६७ वर्षीय बाल्मरको कुल सम्पत्ति १०२.८ बिलियन डलर रहेको छ ।

९. कार्लोस स्लिम हेलु

कार्लोस स्लिम हेलु र उनको परिवार १५ भन्दा बढी देशहरूमा सञ्चालित ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो मोबाइल टेलिकम्युनिकेसन कम्पनी अमेरिका मोविलको मालिक हुन् । उनको कुल सम्पत्ति १०१.६ बिलियन डलर रहेको छ ।

सन् १९९० मा स्लिम र विदेशी टेलिकमका साझेदारहरू मिलेर सरकारी स्वामित्वमा रहेको टेलमेक्स अधिग्रहण गरे । उनको निर्माण, उपभोग्य वस्तु, खानी र घर जग्गा लगायत मेक्सिकोका विभिन्न उद्योगहरूमा लगानी छ ।

१०. मार्क जुकरबर्ग

मार्क जुकरबर्ग फेसबुकका सीईओ हुन्। ३९ वर्षीय जुकरबर्गको कुल सम्पत्ति १०१.२ बिलियन डलर छ। उनी क्यालिफोर्निया बस्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?