+
+

बुक फ्री फ्राइडेमा रमाउँदै काठमाडौंका विद्यार्थी

नुनुता राई नुनुता राई
२०८० असार १६ गते २०:११

१६ असार, काठमाडौं । कालामाटीस्थित नीलबाराही माध्यामिक विद्यालयमा ९ कक्षामा पढ्ने विवेक भट्टले विद्यालयमै ब्युटिसियन एन्ड हेयर स्टाइल तालिम लिए । ९० घण्टाको तालिमपछि उनलाई कपाल काट्न, जुरो बनाउन, थ्रेडिङ र क्लिन्जिङ गर्न आउँछ ।

काठमाडौं महानगरपालिकाले बुक फ्री फ्राइडे (किताबविनाको शुक्रबार) अन्तर्गत विद्यालयहरुमा विभिन्न १० विधामा ९० घण्टाको तालिम सञ्चालन गरिरहेको छ । जसमध्ये नीलबाराही माविमा ब्युटिसियन एन्ड हेयर स्टाइल तालिम दिइएको हो । यो विद्यालयमा तालिम लिने ३० मध्ये २८ जना छात्रा छन् । तालिमबाट उत्साहित विवेक भन्छन्, ‘मैले यत्ति सिकेको कारण अब दिदी र ममी पार्लर जानुपर्दैन । अब त म ब्युटीपार्लर नै चलाउन सक्छु ।’

अर्की विद्यार्थी आशा साह पनि निशुल्क सीप सिक्न पाएकामा खुशी छिन् । ‘हामीले यति सिक्न पनि धेरै खर्च लाग्थ्यो, समय छुट्याउन पर्थ्यो तर हामीले त स्कुलमा नै सिक्न पायौं’ उनले भनिन् ।

आशालाई यो तालिमले हातमा मेहेन्दी लगाउन, नेल आर्ट गर्न, कपाल काट्न, थ्रेडिङ, मेनिक्युर, पेडिक्योर गर्न सिपालु बनाएको छ । विद्यालयमा तालिम अन्तिम चरणमा पुगिसकेको छ । पाठ्यक्रममा नेल आर्ट र मेहेन्दी लगाउन सिकाउनुपर्ने व्यवस्था नभए पनि विद्यार्थीहरुको रुचीको कारण सिकाएको प्रशिक्षक ललिता नेमकुल श्रेष्ठले बताइन् ।

९० दिनको तालिमले विद्यार्थीमा सकारात्मक प्रभाव पारेको विद्यालयका सहायक प्रधानाध्यापक नारायण भट्टराईले बताए । उनले भने, ‘बाहिर पैसा तिरेर सिक्नुपर्ने सीप विद्यालयमै सिक्न पाउँदा खुशी छन् ।’ विद्यालयमा ‘बुक फ्रि फ्राइडे’ को दोहोरो प्रभाव देखिएको उनले बताए । ‘कतिपयमा पढ्न नपर्ने, खेल्न, नाच्न, गीत गाउन पाउने भनेर उत्साहित भएर आउँछन् कतिपय चाहिँ पढाइ हुँदैन भनेर नआउने पनि भएको छ’ भट्टराईले भने ।

त्रिपुरेश्वरको विश्व निकेतन माविले ब्युटिसियन एन्ड हेयर स्टाइल र प्लम्बिङ, स्केचिङ एन्ड स्कल्पचर गरी दुईवटा तालिम सञ्चालन गरेको छ । ब्युटिसियन एन्ड हेयर स्टाइल तालिम गत शुक्रबार सकिएको छ भने प्लम्बिङ, स्केचिङ एन्ड स्कल्पचर तालिम जारी छ ।

प्लम्बिङ सिकिरहेका रबिन पाण्डे भन्छन्, ‘अब त म घरमा धारा जोड्न, ट्याङ्की चुहिएको टाल्न आफैं सक्छु ।’ उनलाई अझै केही समय सिक्न पाए प्लम्बिङ गरेर जीविकोपार्जन नै गर्न सक्ने आत्मविश्वास जागेको छ ।

वाल्मीकि पटेललाई पनि ९० घन्टाको सीपले आत्मबल बढाएको छ । उनी भन्छन्, ‘आफ्नै रुचीले सिकेकोमा खुशी त छु नै र यो सिकेपछि म यो गर्न सक्छु भन्ने कन्फिडेन्स बढाएको छ ।’ प्लम्बिङ सिक्ने ३० जनामध्ये २४ छात्र र ६ छात्रा छन् । तालिममा सहभागी विद्यार्थीहरु रमाइलोसँग सिकिरहेका प्लम्बिङकी प्रशिक्षक सम्झना श्रेष्ठ बताउँछिन् । ‘किशोरावस्था भएर होला कहिलेकाहीँ चाहिँ सिक्न भन्दा बढी रमाइलो गर्न खोज्छन्’, उनले भनिन् ।

स्केचिङ एन्ड स्कल्पचर सिक्ने ३० जना विद्यार्थीमध्ये २२ जना छात्रा छन् । गत शुक्रबार प्रशिक्षकले विद्यार्थीहरुलाई मुर्तिकला बनाएको देखाउन भक्तपुर लगेका थिए । जसमध्ये मेलिना पुलामी, खुश्बु जैसवाल, कुन्ति साह, प्रिती साह र प्रिया साह गरी पाँच जना माटोको पाला बनाइरहेका थिए । पाला बनाएर देखाउँदै प्रिती साहले भनिन् ‘यस्तो पाला देख्दा कसरी बनाउने होला जस्तो लाग्थ्यो अहिले आफैंले बनाउन सिकेँ । अब त म कसरी पाला बनाउँछ भनेर अरुलाई पनि भन्न सक्छु ।’

९० घण्टाको सिकाइले माटोको पाला, गमला बनाएर भएपनि जीवन धान्न सक्ने आत्मविश्वास पलाएको कुन्ति र प्रिया सुनाउँछन् । ‘बुक फ्रि फ्राइडे’ ले विद्यार्थीहरुमा उत्साह थपेको विद्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलले बताए । ‘शुक्रबार अतिरिक्त क्रियाकलापमा रुची राख्ने विद्यार्थीहरुको लागि त चाडजस्तै भएको छ । उनीहरु आफूले मन लागेको क्रियाकलाप गर्न पाउने भएपछि उत्साहका साथ विद्यालय आउन थालेका छन्’, उनले भने ।

विद्यालयले शुक्रबार किताबका विषय नपढाइ विभिन्न सीपहरु सिकाउने गरेको छ । ‘बुक फ्री फाइडे’ सुरु गर्दा पढाइ नहुने भन्दै कतिपय अभिभावकले बालबालिका विद्यालय नपठाउने पनि गरेका थिए । तर विद्यालयले सम्झाइ बुझाइ गरेपछि पठाउन थालेका विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए ।

कक्षा ६ मा अध्ययनरत प्रियान्सीसहित ४ जनाले विद्यालयमा नृत्य सिकेका छन् । ‘शुक्रबार त यसै रमाइलो लाग्छ । दिउँसोभरि नाच्न, गाउन, खेल्न पाइन्छ’, उनले भनिन् । उनीहरुलाई कसैले गीत गाएर, कसैले मादल र मुरली बजाएर साथ दिन्छन् ।

नेपाली विषयकी शिक्षक मीना कँडेल शुक्रबारको गतिविधिले अरु दिनको क्रियाकलापमा पनि सकारात्मक प्रभाव पारेको बताउँछिन् । ‘शुक्रबार त खुशी हुने नै भए अरु बार पनि पहिला भन्दा अलि बढी उत्सुकता देखिन्छ’, उनले भनिन् ।

हेर्नुहोस् भिडियो

तस्वीर/भिडियो : शंकर गिरी

भिडियो सम्पादन : नवराज महरा

हेर्नुहोस् थप तस्वीरहरु

 

 

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?