१८ असार, पोखरा । माथिल्लो तटीय क्षेत्रबाट जलकुम्भी झार बगाएर ल्याउँदा फेवाताल बर्सेनि बर्खामासमा कुरुप बन्दै आएको छ ।
झारले ताल छपक्कै ढाक्दा फेवातालमा डुंगा सयर गर्न आएका पर्यटकमात्रै होइन, व्यवसायीले पनि सास्ती खेप्दै आएका छन् ।
बर्खामासमा फेवातालै ढाक्ने गरी आइपुग्ने जलकुम्भी झार फाल्न वार्षिक २० लाख रुपैयाँभन्दा बढी खर्च हुँदै आएको थियो ।
बर्सेनि जलकुम्भीले दु:ख दिँदै आएपछि जलकुम्भी झार निकाल्न २०७४ सालमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख गरी एक करोड २५ लाख रुपैयाँ लागतमा मेसिन ल्याइयो ।
क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन झार निकाल्न ल्याइए पनि फेवातालले जलकुम्भीबाट छुट्कारा भने पाउन सकेको छैन ।
ठूलो लगानीमा विदेशबाटै फेवातालको झार निकाल्ने मेसिन ल्याइएको भए पनि प्रभावकारी भने हुन सकेको छैन ।
गत वर्ष मेसिन बिग्रिंदा डुंगा व्यवसायी समिति, सुरक्षाकर्मी, स्थानीय आमा समूह, क्लब, विभिन्न संघ-संस्थाले जलकुम्भी झार फाल्नुपरेको थियो । पछि महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले मेसिन बनाइदिएको थियो । तर, त्यो पनि पूर्णतयाः प्रयोगमा आउन सकेको छैन ।
पोखरा महानगरका प्रवक्ता मोती तिम्सिना पटकपटक बिग्रिंदै आएको झार फाल्ने मेसिन बनाइएको भए पनि पूर्ण रुपमा काम दिन नसकेको जानकारी दिए । ‘अहिले पूरा बिग्रिएको त छैन । काम भइराखेको छ । तर, केही लिकेजचाहिँ भइरहेको छ । यसलाई हामी चाँडै मर्मत गर्ने तयारीमा छौं,’ उनले भने ।
बर्खा नलाग्दै जलकुम्भी रोक्ने योजना फेल !
बर्सेनि बर्खामा फेवाताल जलकुम्भीले कुरुप बनाउन थालेपछि यस वर्ष बर्खा नलाग्दै जलकुम्भी उत्पादन हुने मुहान क्षेत्रमै सफाइ गर्ने योजना थियो । उक्त योजनाअन्तर्गत वातावरण संरक्षणका लागि महाअभियानअन्तर्गत असार २ गते माथिल्लो तटीय क्षेत्रमा जलकुम्भी सफाइ अभियान थालिएको थियो ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत स्थानीय जलारी समुदायसँगको सहभागितामा बर्खा लाग्नुभन्दा अगाडि नै जलकुम्भी फाल्न सुरु गरिएको थियो । तर, त्यो अभियान पनि ३ दिनभन्दा बढी चल्न सकेन ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत जलकुम्भी झार फाल्ने अभियानमा जोडिएका जलारी समुदायले आफूहरुले भुक्तानी नपाउने भन्दै काम रोकेपछि अभियान अगाडि बढ्न नसकेको वातावरण संरक्षणका लागि महाअभियान संयोजक रामबहादुर पौडेल बताउँछन् ।
पौडेलका अनुसार जलारी समुदायले महानगरको आश्वासनमा बर्सेनि जलकुम्भी फाल्दै आएको तर, भुक्तानी नपाएकाले यस वर्ष पनि ज्याला नपाउने हो कि भन्ने आशंकाले काम रोकेका थिए । ‘पहिल्यैदेखि उहाँहरुलाई झूठो आश्वासन दिइँदै आइएको रै’छ । यसवर्ष पनि वडाहरुले राम्रोसँग प्रतिबद्धता नजनाएका रैछन्,’ उनले भने, ‘तीन दिन जलकुम्भी फालेर काम रोके ।’
मुहान क्षेत्रमै जलकुम्भी झार फाल्ने योजना असफल भएसँगै बर्खा लाग्नेबित्तिकै सबै जलकुम्भी तल्लो तटीय क्षेत्रमा बगाएर ल्याउँदा फेवा कुरुप बनेको पौडेलको दाबी छ । ‘महानगरले पहिल्यैदेखि समयमै ज्याला भुक्तानी दिएको भए यसपालि बेलैमा काम सुरु भएको थियो । फेवामा यतिधेरै जलकुम्भी झार आउने थिएन,’ उनले भने ।
पछि जलारी समुदायलाई समयमै ज्याला भुक्तानी दिने सहमतिसँगै फेवातालबाट जलकुम्भी हटाउने अभियान सुरु भएको पौडेलले बताए ।
असार १५ गतेदेखि अहिलेसम्म निरन्तर दैनिक झार फालिँदै आइएको उनले जनाए । ‘अहिलेसम्म १ सय ट्रकभन्दा बढी जलकुम्भी झार फालिसकियो,’ उनले भने ।
पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाका अनुसार फेवातालको जलकुम्भी झार हटाउन अहिले ६० जना प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत जलारी समुदायले काम गरिरहेका छन् । ‘उनीहरुलाई अहिले दैनिक ७ सय रुपैयाँ दिने गरी काममा लगाइएको छ,’ उनले भने ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4