+
+

समाजवादी मोर्चा बनेयता किन चल्दैछ नेकपाको चर्चा ?

समाजवादी मोर्चाले आफ्नो काम थाल्न नपाउँदै फेरि नेकपा ब्युँताउने चर्चाले गति पाएको छ । तर त्यस्तो सम्भावना नेताहरुले तत्काल देखेका छैनन् ।

दिपेश शाही दिपेश शाही
२०८० असार १९ गते १९:२२

१९ असार, काठमाडौं । संसद बाहिर रहेको दल नेकपासहित सत्तारुढ तीनवटा दलको सहभागितामा समाजवादी मोर्चा घोषणा भएको दुई हप्ता भयो । ४ असारमा घोषणा भएको मोर्चाको बैठक त के सामान्य छलफलसमेत हुन सकेको छैन ।

मोर्चाको प्रतिबद्धता र सहमतिपत्रको ड्राफ्ट तयार गर्ने मध्येका एक जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले घटक दलका प्रमुख नेताको व्यस्तताले बैठक मिति तय हुन नसकेको बताए । ‘नेताहरूको व्यस्तताका कारण यसबीचमा बैठक बस्न नसके पनि आजभोलीमा बसौँ भन्ने भएको छ,’ नेता श्रेष्ठले भने, ‘मोर्चा घोषणा लगत्तै हाम्रो विधान महाधिवेशन भएका कारण हामीले समय दिन सकेनौँ । त्यसपछि विप्लवजी पार्टीको कामले उपत्यका बाहिर जानु भएकाले बैठक बस्न सकेन ।’ विप्लवको दलका नेताहरु काठमाडौं फर्केपछि बैठक बोलाउन सकिने उनले बताए ।

मोर्चा घोषणा भएको एक हप्तापछि १० देखि १२ असारसम्म जसपाको विधान महाधिवेशन चलेको थियो । त्यसैको तयारीका कारण उपेन्द्र यादवलगायत नेताहरू व्यस्त बने । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग ७ असारमा भेटेर मोर्चा र पार्टी एकताका विषयमा छलफल गरेका थिए ।

त्यसलगत्तै गृहजिल्ला रुपन्देही पुगेका उनी पार्टीको आन्तरिक काममा ब्यस्त भएर अहिलेसम्म काठमाडौं आइपुगेका छैनन् । जसपाको विधान महाधिवेशन सम्पन्न भएलगत्तै बैठक बस्ने तयारी भए पनि विप्लव बाहिर रहेका कारण बैठकमा केही ढिला भएको एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

‘विप्लवजीले १५ असारमा पार्टीको आयोजनामा भएको कार्यक्रम सकेर भोलिपल्टै काठमाडौँ आउने भन्नु भएको थियो । तर आइपुग्नु भयो या भएन जानकारी आइसकेको छैन,’ उनले भने, ‘आजै (सोमबार)फेरि हाम्रो अध्यक्ष श्रीलंका जानु भएको छ । उहाँ नफर्किएसम्म बैठक तय नहोला ।’

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सोमबार मात्रै श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठक र सम्मेलनमा भाग लिन श्रीलंका गएका छन् ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले मोर्चा घोषणा भएलगत्तै आफूहरूले बैठक बसेर कार्यविधिको विषयमा छलफल गरौँ भनेको भए पनि अन्य पार्टीका नेताहरूको व्यस्तताले नभ्याइएको बताए । ‘अन्य पार्टीका नेताहरूका आ–आफ्ना कार्यसूची थिए । सबै व्यस्त भनेपछि हामीले पनि हाम्रो १५ असारदेखि उत्पादनमा जोडिने पार्टीको कार्यक्रमलाई उद्घाटन गर्नुपर्ने भएकाले बाहिर आइयो,’ उनले भने, ‘आजभोलि नै बसौँ भन्ने भएपछि हामी काठमाडौँ फर्किने तर्खरमा छौँ ।’ उनले आफूहरू काठमाडौँ फर्किन लागेको भए पनि एकीकृत समाजवादी अध्यक्ष नेपाल मुलुक बाहिर गएकाले तत्काल बैठक बस्ने संभावना नरहेको बताए ।

जसपा नेता श्रेष्ठका अनुसार अहिलेसम्म मोर्चाका नेताहरूबीच अनौपचारिक छलफल समेत भएको छैन । ‘मोर्चा घोषणा गर्नुअघि हामीले बनाएको सहमति बाहेक अरू छलफल भएको छैन । के कसरी अघि बढ्ने भनेर सहमति पत्रमा नै उल्लेख गरिसकेको हुनाले त्यसमा धेरै छलफलको जरुरी देखिँदैन,’ उनले भने, ‘त्यसबाहेक के–कस्ता कार्यक्रम बनाउने र आलोपालो भनेको अध्यक्षताको प्रणालीलाई कसरी सञ्चालन गर्ने भन्नेमा कार्यविधि बनाउन बाँकी छ ।’

उनले संसदमा रहेका दलको हैसियतअनुसार अध्यक्षता आलोपालो गर्ने र त्यसो हुँदा माओवादी केन्द्रले पहिलो अध्यक्षता गर्ने बताए । तर, बैठकैपिच्छे अध्यक्ष फेरिने वा समय तोकेर गर्ने भन्नेमा बैठकबाट कार्यविधि तयार भएपछि मात्रै थाहा हुने बताए ।

त्यसबाहेक मोर्चाको केन्द्रमा बैठक बसेर टुंग्याएपछि प्रदेश, जिल्ला र स्थानीय तहसम्म सहकार्यको वातावरण बनाउने उनको भनाइ छ ।

नेकपा ब्युँताउने चर्चा

समाजवादी मोर्चाले आफ्नो काम थाल्न नपाउँदै फेरि नेकपा ब्युँताउने चर्चाले गति पाएको छ । यसको सुरुवात भने मोर्चा घोषणाका दिन भएको थियो ।

दुई ठूला कम्युनिस्ट पार्टीका नेताहरूले नेकपाको विषयलाई लिएर एकपछि अर्को सार्वजनिक अभिव्यक्ति दिएपछि साँच्चिकै एकताका लागि हो वा खपतका लागि मात्रै यो विषय उठिरहेको छ भन्ने आशंका बढेको छ ।

समाजवादी मोर्चा घोषणा कार्यक्रममा नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपाको स्मरण गरेका थिए । उनले नेकपाको विभाजनका कारणहरूबारे आत्मसमीक्षा गर्नुपर्ने र सबै कम्युनिस्ट पार्टी एक ठाउँमा आउनु पर्ने धारणा राखेका थिए ।

‘नेकपाले आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अघि बढाउनेछ भन्ने विश्वास लिइएको थियो । तर दुर्भाग्य ! जनताको अपार समर्थनका बाबजुद नेकपा बचाउन सकेनौँ,’ प्रचण्डले भनेका थिए, ‘कहाँ त्रुटि गर्यौँ, समीक्षा गरौँ । मलाई कहिलेकाहीँ लाग्छ–पार्टी एकता गर्न पो हतार गरेछौं कि ? मोर्चा गठन गरेर एकता गर्ने उद्देश्य राखेको भए सफल हुन्थ्यो कि ? यो सोच्नुपर्ने प्रश्न छ ।’ उनले मोर्चाको बाटोबाट नगइ फड्केर पार्टी एकतामा जाँदा दुर्घटना भएको बताएका थिए ।

त्यसपछि १० असारमा केशब बडालको पुस्तक सार्वजनिक कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सोही आशयको अभिव्यक्ति सार्वजनिक गरे । ‘अढाइ वर्षअघि भएको पार्टी विभाजनमा यसले यसो भन्यो भनेर मात्रै हुँदैन,’ उनले भनेका थिए, ‘त्यसका पछाडिका कारणहरु के थिए ? उद्देश्यहरु के थिए ? किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरु अलिकति आउनुपर्छ ।’ ओलीले १४ असारमा मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यही विषय दोहोर्याएका थिए ।

असार १७ गते आइतबार प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि नेकपाबारे चर्चा गरे । कम्युनिस्टका संस्थापक नेता नारायण विलास जोशीको ३४औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेकपा नटिक्नु दुर्भाग्य भएको भन्दै पुनः एकताको अभियानमा लाग्नुपर्ने बताए ।

‘एकपटक असफल भए पनि त्यसबाट शिक्षा लिएर फेरि अगाडि बढ्ने उद्देश्य राख्नुपर्छ । विश्वभरिकै समाजवादको आन्दोलनको इतिहास एकता संघर्ष, विभाजन र रूपान्तरण फेरि एकता र संघर्ष भएर गुज्रँदै अघि बढेको छ,’ उनले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलन पनि त्यही नियम अनुसार नै अगाडि बढेको छ ।’

दुई ठूला कम्युनिस्ट पार्टीका नेताहरूले नेकपाको विषयलाई लिएर एकपछि अर्को सार्वजनिक अभिव्यक्ति दिएपछि साँच्चिकै एकताका लागि हो वा खपतका लागि मात्रै यो विषय उठिरहेको छ भन्ने आशंका बढेको छ ।

एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष पाण्डेलाई भने नेकपा ब्युँतिन्छ भन्नेमा विश्वास छैन । ‘समाजवादी मोर्चा घोषणा हुनुभन्दा धेरै अघिदेखि नै नेकपाको विषयमा कुरा सुरु भएको हो । तर जब यो हुँदैन भन्ने लाग्यो त्यसपछि सबैले आफू मात्रै किन कञ्जुस हुने भन्ने देखाउनका लागि बोलिरहेको देखिन्छ,’ उनी भन्छन्, ‘यदि यो हुन्छ भन्ने लागेको भए हामीले सबभन्दा पहिले नै भनेका थियौँ, छलफल हुन्थ्यो हेला ।’

समाजवादी मोर्चाको विषय टुंगो लाग्नु अगाडि नै नेकपा ब्युँताउने विषय चर्चामा आएको थियो । मंसिरको निर्वाचनपछि राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै एकीकृत समाजवादीका अध्यक्ष नेपालले नै नेकपामा फर्किनु पर्ने प्रस्ताव राखेका थिए । एमाले र माओवादी केन्द्रका केही नेताहरूले माधव नेपाललाई राष्ट्रपति बनाएर कम्युनिस्ट सरकार बनाउनु पर्ने विषय अगाडि सारेपछि उनले नेकपाको विषय अगाडि सारेका थिए ।

प्रचण्डसँगको छलफलबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले भनेका थिए, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मेरो कुराकानी भयो । मैले उहाँलाई हाम्रो पुरानो पार्टी नेकपालाई रिभाइभ गरौँ । हिम्मत भए एउटै ठाउँमा आउनुहोस् भनेर भनेको छुँ ।’ तर सो समयमा प्रचण्ड सहमत भए पनि नेकपा ब्युँताउने विषयमा ओलीले चासो दिएका थिएनन् ।

०७४ को आम निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धनबाट चुनाव जितेपछि ०७५ सालको ३ जेठमा दुई पार्टीबीच एकता घोषणा भएर नेकपा बनेको थियो । तर ०७७ सालको ५ पुसमा ओली नेतृत्वको सरकारले संसद विघटन गरेसँगै चर्किएको विवाद पार्टीको नामसम्बन्धी मुद्दाको टुंगो लगाउने क्रममा २३ फागुनमा सर्वोच्च अदालतको आदेश आएपछि नेकपा एकता भंग भएको थियो । त्यसपछि एमाले र माओवादी केन्द्र पुरानै स्वरूपमा फर्किए भने माधव नेपालको नेतृत्वमा एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भयो ।

राजनीतिक विश्लेषक झलक सुवेदी अहिले पार्टीहरूको भविष्य कमजोर देखेपछि नेताहरूले पुनः नेकपालाई सम्झिरहेको बताउँछन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवको विश्लेषणमा अहिले नेकपाको चर्चा चलिरहेको भए पनि पुरानै स्वरुपमा एमाले-माओवादी मिलेर नेकपा बन्ने सम्भावना झिनो छ ।

उनीहरु दुईवटा अलग ध्रुवमा उभिएकाले तत्कालै नजिकिने सम्भावना आफूले नदेखेको उनले बताए । ‘पाँच वर्षलाई यही मोर्चा र गठबन्धनले काम गर्छ, बीचमा अर्को कुनै पनि खालको पार्टी या गठबन्धन बन्छजस्तो लाग्दैन,’ यादवले भने ।

ओलीसँग विगतको प्रधानमन्त्रीकालमा काम गर्दा कठिनाइ भोग्नुपरेको भन्दै एमाले इतरका नेताहरु अहिलेको गठबन्धनमा जाँदा आफूहरुलाई सजिलो हुने विश्लेषण गर्छन् ।

नेकपा ब्युँताउने चर्चा गर्नुको उद्देश्य

राजनीतिक विश्लेषक झलक सुवेदी अहिले पार्टीहरूको भविष्य कमजोर देखेपछि नेताहरूले पुनः नेकपालाई सम्झिरहेको बताउँछन् । ‘अहिले नेताहरू पार्टीका अध्यक्ष र जसोतसो प्रधानमन्त्रीसम्म त बन्न सक्छन् तर आफ्नै पार्टीको बलमा राजनीतिलाई डोर्याउन सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘त्यसैले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नका लागि नै नेकपाको कुरा उठाएको देखिन्छ ।’

उनी सत्तामा सहकार्य गरिरहेको कांग्रेसलाई तर्साउनका निम्ति पनि नेकपाको विषय उठाउने गरेको उनको बुझाइ छ । ‘राजनीतिक लाभ र सार्वजनिक खपतका लागि यस्तो विषय उठाउने र केही नयाँ पो हुँदैछ कि भनेर तर्साउन पनि नेकपाको कुरा उठाएका हुनसक्छन्,’ उनी भन्छन्, ‘अहिले नै नेकपा बन्ने कुरामा विश्वस्त हुन सकिँदैन ।’

यसका साथै अहिलेको भूराजनीतिक बाध्यताका कारण आफू प्रधानमन्त्रीमा टिक्ने र आफू नेतृत्वको सरकारलाई सफल बनाउन प्रचण्ड बढी मुखर देखिएको उनी बताउँछन् । केही छलफलहरू चले पनि नेकपा ब्युँताउने बाटोमा अहिले कोही पनि तयार नदेखिएको उनको विश्लेषण छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?