Comments Add Comment

नेकपा बन्यो एशियाको तेस्रो ठूलो कम्युनिस्ट पार्टी !

विभाजनका २० हजार ४४० दिनपछि नेपाल कम्युनिष्ट पार्टी एकीकरण


३ जेठ, काठमाडौं । देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ ।

२०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रित स्मृति दिवसका अवसरमा टुंगिएको छ ।

२००६ सालमा पुष्पलाल श्रेष्ठ, निरन्जनगोविन्द वैद्य,नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतिदेवी श्रेष्ठ संस्थापक रहेर गठन भएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालमा फुटेको थियो । त्यसपछि केशरजंग रायमाझी राजाको पक्षमा पञ्चायतमा बिलय भए भने पुष्पलाल र तुलसीलाल अमात्यहरुले अलगअलग पार्टी बनाए । २०२८ सालमा तत्कालिन झापाली क्रान्तिकारीले सशस्त्र युद्धबाट एकीकरण गरेको नेकपा माले र २०४७ सालमा माले मार्क्सवादी मिलेर बनेको नेकपा एमालेले संसदीय धाराको नेतृत्व गरेको थियो ।

२०३४ सालमा मोहन विक्रम सिंहले पुनर्गठन गरेको नेकपा चौम पछिल्लो समय एकता केन्द्र हुँदै २०५२ सालमा माओवादी धारा बनेर सशस्त्र क्रान्तिको नेतृत्व गरेको थियो ।

२०७४ साल असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र माओवादी अन्ततः एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठक जीवनराज आश्रितको स्मृति दिवस पारेर एकीकृत भएका हुन् । विभाजनका २० हजार ४४० दिनपछि नेपाल कम्युनिष्ट पार्टी एकीकरण भएको नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले बताए ।

दक्षिण एशियाको पहिलो, एशियाको तेस्रो ठूलो

एकीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी दक्षिण एशियाकै सबैभन्दा ठूलो वामपन्थी पार्टीमात्र बनेको छैन, इतिहासकै ठूलो पार्टीसमेत बनेको छ । एसियामा चीन र भियतनामपछि ‘नेकपा’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

२०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याउँदा जम्मा ४ सिट जितेको कम्युनिष्टपार्टी अब करीव दुई तिहाईको हैसियतमा पुगेको छ । एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले केन्द्र, प्रदेश र स्थायी तह सबैतिर बहुमत ओगटेको छ । लोकप्रिय मतमा कम्युनिष्ट पार्टी बहुमतभन्दा माथि अर्थात करीव ५३ प्रतिशत स्थापित भएको छ ।

सात मध्ये ६ प्रदेश र ७५३ मध्ये ४०३ स्थानीय तहमा कम्युनिष्ट पार्टीको सरकार छन् ।

प्रतिनिधिसभामा २७५ सिटमध्ये नेपाल कम्युनिष्ट पार्टी एक्लैको १७४ सिट भएको छ भने प्रमुख विपक्षी नेपाली कांग्रेस निकै कमजोर बनेको छ । कांग्रेसको जम्मा ६३ सिट छ । पार्टी एकीकरण घोषणा गर्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अब कम्युनिष्ट पार्टीको प्रतिस्पर्धी नरहेको बताए ।

कांग्रेस प्रतिस्पर्धी होइन : ओली

ओलीले सुखी नेपाली सम्बृद्ध नेपालको अभियानमा कांग्रेसलाई पनि सँगै लैजाने र बैधानिक प्रतिपक्षको हैसियतको सम्मान गर्ने बताए । उनले जनताले मन नपराउने एजेण्डा बोकेर थप अलोकपि्रयताको बाटोमा नजान कांग्रेसलाई आग्रह गरे ।

ओलीले नेपाल कम्युनिष्ट पार्टीले अब अर्को चुनावमा दुई तिहाईमात्र जितेर नपुग्ने भन्दै तीन चौथाई स्थान जित्ने दावी समेत गरे । अर्का अध्यक्ष प्रचण्डले भने कांग्रेसबारे केही टिप्पणी गरेनन् । बरु सत्तामा पुगेपछि भ्रष्टीकरण हुने रोग नेपाल कम्युनिष्ट पार्टीमा लाग्न नदिने र अझ बलियो पार्टी बनाउने बताए ।

नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै अब एमाले र माओवादी केन्द्रको अस्तित्व विधिवत समाप्त भएको छ । पार्टीको सिद्धान्त मार्क्सवाद लेनिनवाद र कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हुनेछ ।

चुनाव चिन्ह सूर्य रहने छ ।

यस्तो छ नेतृत्व संरचना

नेकपाको अध्यक्षमा केपी ओली र प्रचण्ड छन् । तत्कालिन पार्टी एकता संयोजन समितिमा तत्कालिन एमालेका उपमहासचिव विष्णु पौडेललाई थपेर ९ सदस्यीय सचिवालय गठन भएको छ । पौडेल नेपाल कम्युनिष्ट पार्टीको महासचिव बनेका छन् ।

[sam_list] केन्द्रीय सचिवालयमा ओली र प्रचण्डपछिको बरियतामा माधव नेपाल रहेका छन् । त्यसपछि क्रमशः झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामवहादुर थापा र बिष्णु पौडेल रहनेछन् ।

तत्कालिन एमालेका २६ र तत्कालिन माओवादी केन्द्रका १९ जना समेटेर स्थायी कमिटी गठन भएको छ । स्थायी कमिटीमा एमालेको तत्कालीन कमिटी कायम रहेको छ भने तत्कालिन माओवादीका तर्फबाट नाम टुंगो लागेको छैन ।

त्यस्तै तत्कालिन एमालेबाट २४१ र तत्कालिन माओवादीबाट २०० समायोजन गरेर ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ । एकीकृत पार्टीको कमिटी गठनका सबै प्रक्रिया तीन महिनाभित्र पूरा गर्ने नेताहरुले बताएका छन् ।

नेकपाको संगठनमा १० तहका संरचना हुने भएका छन् । सबैभन्दा माथि केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी केन्द्रका संरचना हुनेछन् । त्यसपछि राष्ट्रिय परिषद रहनेछ । प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तह कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटीहरु गठन हुनेछन् ।

पार्टी एकताको २ वर्षभित्रमा एकता महाधिवेशन हुनेछ ।

बालुवाटारमा सपथ, नाममा अण्डरलाइन

एकता घोषणाअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पार्टीको केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बसेको थियो । नेताहरुले त्यही सामुहिक सपथ लिए ।

लगत्तै अध्यक्षद्वयले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेकाले अण्डरलाइन दिइएको हो । यद्यपि आयोगले निर्णय गरेको छैन ।

एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं सताब्दीको जनवाद भन्दै आएको थियो । दुवैलाई आगामी महाधिवेशनमा बहसमा लगिने भएको छ । अहिले अघि सारिएको समाजवाद उन्मुख जनताको जनवादको अन्तरवस्तु भने जबज र एक्काइसौं शताव्दीको जनवादबाटै लिइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment