+
+

पश्चिमासँग लड्न भन्दै चीनले लागू गर्‍यो नयाँ विदेश नीति

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते २३:५५

१९ असार, काठमाडौं । चीनले जुलाइदेखि नयाँ विदेश नीति लागु गरेको छ । पश्चिमाको  एकपक्षीय प्रतिबन्धविरूद्ध जुध्न तथा नयाँ सामरिक चुनौती सामानाका लागि भन्दै चीनले संसदबाट नयाँ विदेश नीति पारित गरेको हो ।

चीनका उच्च तहका कुटनीतिज्ञ वाङ यीले नयाँ विदेश नीतिबारे भनेका छन्, ‘यो विदेश नीति पार्टीको नेतृत्व र समितिलाई विदेश मामिलामा सुदृढ बनाउने महत्वपूर्ण दस्तावेज हो ।’

चीनको संसद नेशनल पिपल्स अफ कंग्रेसले डिसेम्बर २०२२ मा नयाँ विदेश नीतिको मस्यौदा तयार गरेको थियो । उक्त मस्यौदामाथि विधायिकी मामिला आयोग, चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटी, पार्टीको सल्लाहकार कमिटी र विज्ञमाझ छलफल गराएर पारित गरिएको हो ।

नयाँ विदेश नीतिका ६ भाग रहेका छन् । ग्लोबल टाइम्सका अनुसार पहिलोमा चिनियाँ विदेश नीतिको आधारभूत सिद्धान्त  छ । दोस्रोमा कुटनीतिक सम्बन्धका लागि विशेष प्रावधानहरू समावेश छन् । तेस्रो भागमा कुटनीतिक सम्बन्ध विकासका उद्देश्य र कार्यहरू समावेश छन् । चौथो भागमा विदेश नीति सम्बन्धमा कानुनी प्रावधान छन् । पाचौँमा वैदेशिक सम्बन्ध विस्तारमा क्षमता विस्तारको प्रावधान छ । छैठौँमा निष्कर्ष खण्ड रहेको छ ।

चिनियाँ नीतिका जानकारहरूका अनुसार यो नीतिमार्फत चीनले विदेश मामिला व्यवस्थापनको अन्तर्राष्ट्रिय विषय समेटेर राष्ट्रिय कानुन पनि संशोधन गरेको छ । यो नीतिमा विश्व व्यवस्थामा आएका नयाँ बहस र पहललाई पनि समावेश गरिएको छ भने चीनले यही नीतिमार्फत मुलुक र जनताको रक्षाको क्षमता विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको विज्ञहरूको मत छ ।

गत अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा नयाँ परिस्थितिमा नयाँ विदेश नीतिको आवश्यकताबारे बहस भएको थियो । विद्यमान विदेश नीतिमा केही कमजोरी रहेको र चीनमाथि बाह्य घेराबन्दी बढेकाले त्यसलाई चिर्न नयाँ नीति अघि सारेको  प्राध्यापक ह्यु जेन्झिङ बताउँछन् । ‘हालैका वर्षमा बदलिँदो विश्व व्यवस्थामा चीनले नयाँ चुनौतीको सामना गरिरहेको छ । विद्यमान विदेश नीतिमा केही कमजोरी विस्तारै पटाक्षेप भएसँगै चीनले नयाँ विदेश नीति बनाएको हो’, उनले भने ।

चीनको आन्तरिक मामिलामा पश्चिमाहरूको हस्तक्षेप बढ्न थालेकाले पनि त्यसको सामनाका लागि नयाँ नीति अघि सारेको ह्युको भनाइ छ । ‘चीनको आन्तरिक मामिलामा पश्चिमा हस्तक्षेप बढिरहेको समयमा त्यसलाई चिर्नका निम्ति चीनसँग प्रभावकारी संयन्त्र नभएको अवस्थामा उसले नयाँ नीति ल्याएको हो’, उनले भने ।

यस्तै चीनको राष्ट्रिय स्वाधीनताको रक्षा, सामरिक तथा विकासका स्वार्थको रक्षाका लागि पनि कानुन नभएकाले चीनले यसको आवश्यकता महसुस गरेको विज्ञहरूको भनाइ छ । यस्तै पश्चिमाहरूले विभिन्न प्रतिबन्ध लगाउँदा पनि अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै समाधान नभएपछि चीनले आफ्नो घरेलु नीतिनै सुधार गरेको विज्ञहरूको बुझाइ छ । विदेश नीतिको प्रस्तावनाले पनि चिनियाँ स्वार्थ र चासोको रक्षाका निम्ति नीति बनाइएको उल्लेख छ ।

जसमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्त र विदेश सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यताको पालना गर्ने आधारमा, मुलुकले विदेश मामिलाका क्षेत्रमा कानुन र नियम कार्यान्वयन तथा प्रयोगलाई सबल बनाउनेछ ।  चीनको सार्वभौमसत्ता, सुरक्षा र विकाससम्बन्धी हितको रक्षाका साथै चिनियाँ नागरिक र संस्थाहरूको वैध अधिकार तथा हितको रक्षाका खातिर यस नीतिको कार्यान्वयन हुनेछ ।’

अन्तर्राष्ट्रिय कानुन मिचेर चीनको सार्वभौमसत्ता तथा सुरक्षामा चुनौती कसैले दिएमा नयाँ नीति अनुसार चीनले जवाफी कारबाही गर्ने उल्लेख छ । ‘चीनले पहिलोपटक विदेश नीतिमा चिनियाँ कानुनको प्रयोग र उद्देश्यबारे जानकारी दिएको छ । यो नीतिले विदेशी मुलुक वा संस्थाहरूप्रति प्रतिबन्ध वा प्रतिबन्धात्मक उपायका सिद्धान्त तय गरेको छ’, प्राध्यापक ह्वाङ हुकाङले भने ।

यो नीतिले बाह्य क्षेत्रमा पनि चिनियाँ कानुन पालनाका लागि आधारभूत कानुनी प्रणालीको संयन्त्रको विकास गर्न खोजेको हुकाङले बताए ।

विदेश मामिलामा बाह्य क्षेत्रमा घरेलु कानुनको अंश लागु हुनुलाई महत्वपूर्ण मानिन्छ । चीनको यस नीतिले विश्वव्यापी साझेदारीको प्रवर्द्धन र शक्तिराष्ट्रबीच सहकार्य र सकारात्मक सम्बन्ध स्थापनाको लक्ष्य राखेको छ ।

वर्तमान अवस्थामा अन्य मुलुकमाथि विविध विषयमा धेरै प्रतिबन्ध लगाउने राष्ट्र अमेरिका हो । सन् २०२१ यताको अमेरिकी तथ्यांक हेर्दा प्रतिबन्धको संख्या ९ हजार ४०० माथि छ । चीनमाथि पनि उसले विभिन्न विषयमा प्रतिबन्ध लगाएको छ । वर्तमान नीति सम्भावित प्रतिबन्ध तथा हस्तक्षेप चिर्दै चीनमाथि देखापर्ने चुनौती सामनाका लागि भएको चिनियाँ सरकारको जिकिर छ ।

चीनको नयाँ विदेश नीतिले विश्वव्यापी रूपमा चिनियाँ स्वार्थको प्रवर्द्धन र चीनको चुनौती सामनाका लागि राष्ट्रपति सीलाई अथाह शक्ति दिएको मतहरु पनि आएका छन् ।

नयाँ नीतिले चीनमाथि चुनौती थप्नेको प्रतिवाद गर्ने उल्लेख छ,  यद्यपि कस्तो अवस्थामा प्रतिवाद हुने भन्ने विषय स्पस्ट नरहेको विज्ञहरू बताउँछन् । कानुन तथा राजनीति शास्त्रका अमेरिकी प्राध्यापक ज्याकुज डेलेसी भन्छन्, ‘नयाँ विदेश नीतिमा धेरै बयानबाजी मात्रै छ । तर यसले अमेरिकाविरूद्ध बलियो र दृढ नीति अघि सारेको छ।’

यस्तै चीन मामिलाका जानकार चोङ झायिङ बेइजिङले नयाँ विदेश नीतिमार्फत दबाबलाई कायम राखेको बताउँछन् । ‘आफ्नो स्वार्थको रक्षाका निम्ति बेइजिङले सहकार्य र आर्थिक लाभका सवालमात्रै होइन अब दबाबको नीति पनि अघि सार्ने भएको छ’, उनले भने ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?