+
+

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु अर्को हप्ता नेपाल आउने

दिपेश शाही दिपेश शाही
२०८० असार १९ गते १५:१२

१९ असार, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु अर्को हप्ता नेपाल भ्रमणमा आउने भएका छन् । कूटनीतिक स्रोतका अनुसार लु आगामी हप्ता नेपाल भ्रमणमा आउने निश्चित भए पनि अहिलेसम्म मिति तय भएको छैन ।

‘अलिक अगाडिदेखि नै उहाँ आउने तयारी हो । अर्को हप्ता आउने निश्चित भएपनि बाँकी धेरै कुरा तयारीकै चरणमा छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री लु अमेरिकाबाट सिधै नेपाल आउने र केही घण्टामा दक्षिण एसियाको अर्को कुनै देशमा जाने स्रोतको भनाइ छ । उनी केही घण्टामात्र नेपालमा रहनेछन् । अमेरिकी पक्षले उनको यो नियमित भ्रमण भनेको छ ।

लु अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्रीमध्येका हुन् । उनले यसअघि पनि दुईपटक नेपालको भ्रमण गरिसकेका छन् । उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आइपुगेका थिए ।

त्यसपछि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुने विषयमा संवाद गर्न पनि नेपाल आइपुगेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी प्रस्तावलाई अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्बाटै पारित गरेपछि उनी त्यसको केही समयपछि नै नेपाल आइपुगेका थिए ।

नेपालमा एमसीसी परियोजना पारित गराउन महत्वपूर्ण भूमिका खेलेका मानिएका लु सो समयमा नेपाल आएपछि एसपीपी परियोजनामा पनि नेपालले पूनर्विचार गर्नसक्ने आशंका गरिएको थियो । यद्यपि, उनले त्यस विषयमा खासै छलफल गरेका थिएनन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गरेका लुले दुई दिनको नेपाल बसाइमा उनले नेपाल-अमेरिका व्यापार सम्बन्ध र सीमान्तकृत समुदायका प्रतिनिधिहरूसँग मानव अधिकार संरक्षणमा कसरी मिलेर काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए ।

नेपालको संसदबाट एमसीसी पारित हुनुपूर्व १ मंसिर २०७८ मा आउँदा उनले समसामयिक विश्व मामिला, एमसीसीसहित नेपाल-अमेरिका सम्बन्धका विषयमा छलफल गरेका थिए ।

त्यसपछि एमसीसी पारित हुने विषयमा नेपालमा चर्को बहस भइरहेको अवस्थामा सोही वर्षको २७ माघमा एकै दिन लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वादसमेत गरेका थिए ।

संवाद भएको करिब दुई हप्तापछि १५ फागुन २०७८ मा नेपालको संसदले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो । एमसीसी अनुमोदन भएको भोलिपल्टै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा देश दुर्घटना हुनबाट जोगिएको बताएका थिए ।

उक्त संवादलाई लिएर व्यापक आलोचनासमेत भएको थियो । दलका प्रमुख नेताहरूसँगको संवादमा उनले एमसीसी अनुमोदन नगरे राम्रो नहुने भन्ने शैलीमा धम्कीपूर्ण अभिव्यक्ति दिएको सूचना बाहिरिएको थियो । त्यसप्रति छिमेकी मुलुक चीनले अमेरिकाको ‘जबरजस्ती कूटनीति’ भन्दै टिप्पणी गरेको थियो । लुको टेलिफोन संवाद र चीनको अतिरिक्त चासोसहित भएको टिप्पणी दुवैलाई लिएर नेपालमा चर्को विरोध भएको थियो ।

को हुन् सहायक विदेशमन्त्री डोनाल्ड लु ?

अमेरिकी विदेश मन्त्रालयमा ३० वर्षभन्दा बढी समय सेवा गरेका डोनाल्ड लु सन २०२१ को १५ सेप्टेम्बरमा अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसियाली मामिलाको ब्यूरोमा सहायक विदेशमन्त्री नियुक्त भएका थिए ।

यसअघि सन् २०१५ देखि २०१८ सम्म अल्बानिया र २०१८ देखि २०२१ सम्म किर्गिजस्तानमा अमेरिकी राजदूतका रूपमा काम गरेका थिए । अल्बानियामा राजदूत हुनुअघि उनी पश्चिम अफ्रिकामा चलेको बेलामा अमेरिकी विदेश मन्त्रालयबाट नियन्त्रण कार्यदलको सहायक संयोजक भएका थिए ।

उनले भारत, अजरबैजान, किर्गिजस्तानमा समेत बसेर काम गरेका छन् । त्यसअघि उनले मध्य एशिया र दक्षिण काकेसस मामिलाको कार्यालयमा उपनिर्देशक, युरोपेली मामिला ब्यूरो आदि महत्वपूर्ण स्थानमा रहेर काम गरिसकेका छन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?