+
+

त्यो पानीजहाज जोसँगै झण्डै डुबेको थियो इजरायल

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १४:३०
एल्टालेनामा आक्रमणको घटनाले इजरायलका संस्थापक नेताद्वय डेभिड बेन गुरियन र मेनाकेम बेगिनलाई आमने सामने ल्याइदिएको थियो ।

काठमाडौं । सन् १९४८ को जून २२ तारेख । स्थानीय समय अनुसार अपरान्ह ४ बजेको थियो । त्यस दिनको करीब १ महिना अगाडि मात्रै अस्तित्वमा आएको नयाँ राष्ट्र इजरायलका पहिलो प्रधानमन्त्री डेभिड बेन गुरियनले एउटा यस्तो आदेश दिए जसले उक्त नयाँ मुलुकको अस्तित्व नै समाप्त गरिदिन सक्थ्यो ।

प्रधानमन्त्रीले आदेश दिने बित्तिकै तेल अविवको तटमा रोकिराखेको एल्टालेना पानीजहाजमाथि बमवर्षा हुन थाल्यो । बमबारीबाट जहाजमा आगो लाग्यो र जहाज केहीबेरमै समुद्रमा डुब्यो ।

सो घटनामा १६ जनाको मृत्यु भयो र केही मानिसहरु घाइते भए । समुद्रमा डुबेको सोही जहाजसँगै नयाँ बनेको राष्ट्र इजरायल पनि डुब्ने संघारमा पुगेको थियो ।

सो समय इजराइल आफ्ना छिमेकी अरब देशहरुसँग संघर्षमा घेरिएको थियो । तर हतियार र लडाकुहरुले भरिएको उल्टालेना जहाजमा केबल यहुदीहरु मात्रै सवार थिए ।

सो घटना एउटा यस्तो पल थियो जसले इजरायललाई गृहयुद्धको नजिक लगेको थियो । इजरायल आफ्नो इतिहासमा गृहयुद्धको त्यति धेरै नजिक त्यसबाहेक अहिलेसम्म परेको छैन ।

एल्टालेना जहाज डुबेको ७५ वर्ष भएको छ र सो घटना इजरायलको इतिहासको सर्वाधिक विवादित अध्याय पनि हो ।

त्यसबखत इजरायलका दुईजना संस्थापक नेताहरु डेभिड बेन गुरियन र मेनाकेम बेगिन आमनेसामने थिए । उनीहरुले प्यालेस्टाइनी इलाकामा इजरायल राष्ट्रका लागि लड्ने मिलिसिया दस्ता हगानाह र इरगुनको नेतृत्व गरेका थिए ।

इजरायलका पहिलो प्रधानमन्त्री डेभिड वेन गुरियन हैफा बन्दरगाहमा ब्रिटिश सैनिकको एक टुकडीको अन्तिम संस्कारमा सहभागी हुँदै ।

हगानाह मिलिसियाले सेनाको रुप लिइसकेको थियो भने इरगुनलाई सेनामा सामेल गर्ने प्रक्रिया चलिरहेको थियो ।

जहाजको भग्नावशेष अहिले पनि तेलअविवको तट नजिकै छ । विश्लेषकहरुका अनुसार सो जहाज जुन संघर्षको प्रतीक हो, त्यो संघर्ष अहिले पनि इजरायलका विभिन्न क्षेत्रहरुमा चलिरहेको छ ।

हार्बर्ड विश्वविद्यालयमा यहुदी इतिहासका प्राध्यापक डेरेन पेन्सलार भन्छन्– देश गम्भीर राजनीतिक संकटमा फसेको छ । सन् १९४८ मा जुन गृहयुद्ध हुनै लागेको जस्तो लागिरहेको थियो त्यसैको सम्भावना एकपटक पुनः खडा भएको छ ।

इजरायलमा कसरी पैदा भएको थियो खतरा ?

सन् १९४८ को मे १४ मा ब्रिटिस म्यान्डेट अफ प्यालेस्टाइन अर्थात् प्यालेस्टाइनी क्षेत्रमा बेलायतको नियन्त्रण समाप्त भयो । त्यसै दिन तेलअविवको कला संग्रहालयमा डेभिड बेन गुरियनले इजरायल राष्ट्र जन्मिएको घोषणा गरे ।

एक नयाँ राष्ट्रलाई नयाँ संगठित सेनाको आवश्यकता थियो । केही दशकअघि स्थापना भएर गतिविधि गरिरहेको यहुदी लडाकु हागानाहसँग सर्वाधिक लडाकुहरु थिए । सोही मिलिसिया समूह इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) अर्थात् इजरायलको सेनामा परिणत भयो ।

डेभिड बेन गुरियन समाजवादी र लोकतान्त्रिक विचारधाराबाट प्रेरित थिए । उनलाई उत्पादनमा क्रियाशील श्रमिकका बलियो नेताको रुपमा चिनिन्छ ।

प्यालेस्टाइनी क्षेत्रमा सक्रिय २ वटा अन्य चरमपन्थी संगठन लेजी र इरगुनलाई पनि हागानाहमा समायोजन गर्नु थियो । तर सोही समयमा उक्त समूहले आईडीएफभित्र आफ्नै इकाइ सञ्चालन गरिरहेका थिए । इरगुनका नेताको नाम मेनाकेम बेगिन थियो ।

तीनवटै मिलिसिया समूह हानागाह, लेजी र इरगुनको उद्देश्य एउटै थियो, प्यालेस्टाइनी क्षेत्रमा यहुदी नागरिकहरुको सुरक्षा र त्यहाँबाट बेलायतीलाई बाहिर निकालेर एक स्वतन्त्र राष्ट्रको निर्माण गर्नु । तर उनीहरुको तरिका भने निकै फरक थियो ।

सन् १९२० मा स्थापना पश्चात् नै हागानाहले स्वतन्त्रता हासिल गर्नका लागि प्रगतिवादी रणनीतिक अपनायो । कहिलेकाहीँ उसले बेलायती सहयोग पनि लिने गर्दथ्यो । उदाहरणका लगि दोस्रो विश्वयुद्धका क्रममा हागानाह बेलायती सेनालाई साथ दिएर लडेको थियो ।

सन् १९३१ मा हागानाहमा भएको बिघटनपछि अर्को लडाकु समूह इरगुनको जन्म भयो । सुरुवातदेखि नै यो समूहले टकरावको नीति अबलम्बन गर्यो । यो समूहले प्यालेस्टाइनी क्षेत्रमा बस्ने अरबी तथा बेलायती दुवैको विरुद्ध लडेको थियो । बेलायती यहुदीहरुलाई प्यालेस्टाइन प्रवासमा रोक लगाएसँगै उक्त समूह विशेष रुपमा बेलायती विरुद्ध खनिएको थियो ।

पेन्सलार भन्छन्– इरगुनलाई बेलायती सैनिक तथा प्यालेस्टाइनी नागरिकमाथि आक्रमण गर्न कुनै संकोच नै लाग्दैनथ्यो । उसले सहरमा बम विस्फोटन जस्ता विभिन्न आक्रमण गर्यो जसमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भयो । यसलाई हामी आतंकवाद पनि भन्न सक्दछौं । अर्कोतर्फ भने हागानाह समूह संयमित थियो र उसले केवल बेलायती भवन तथा सम्पत्तिहरुमा मात्र आक्रमण गर्दथ्यो ।

तर सधैं यस्तो कहाँ हुन्थ्यो र ?

सन् १९४८ को अप्रिलमा इरगुन र लेजी समूहले दायर यासिन नामक एउटा सानो क्षेत्रमा आक्रमण गरे जुन जेरुसेलमको बाहिरी क्षेत्रमा पर्दछ । सो आक्रमणमा हागानाहले साथ दिइरहेको थियो । सो आक्रमण अन्ततः नरसंहारमा परिणत भयो जसमा १ सयभन्दा धेरै प्यालेस्टाइनीको मृत्यु भयो ।

हार्बर्ड विश्वविद्यालयका प्राध्यापक डेरेक पेन्सलार भन्छन्– हागानाहले भनेको थियो कि उसले इरगुन तथा लेजी समूहलाई रोक्न सक्दैन । सायद उसले उक्त आक्रमणको रणनीतिक महत्व बुझरै इरगुनलाई आक्रमण गर्न दिएको थियो ।

उनका अनुसार लेजी समूह संख्यामा कम भए पनि मानिसहरुमा डर सिर्जना गर्नका लागि सिधै आतंकवादको सहारा लिन्थ्यो ।

सन् १९४४ मा मध्यपूर्वस्थित बेलायती आवासीय मिनिस्टर लर्ड मायने तथा सन् १९४८ मा संयुक्त राष्ट्रसंघका मध्यस्थ फल्क बेर्नाडटको हत्याका लागि लेजी समूहलाई नै जिम्मेवारी मानिएको छ ।

समयक्रमसँगै ती समूहहरु बीच मतभेद यति गहिरो बन्यो कि दोस्रो विश्वयुद्धका क्रममा हागानाहले इरगुनका कैयन् सदस्यहरुलाई बेलायती प्रशासन समक्ष बुझाइदिएको थियो । इरगुन मिलिसियाका गतिविधिहरुले इजरायलको स्वतन्त्रतालाई नै संकटमा पार्नसक्ने अनुमान उसको थियो ।

दुई विरोधी नेता

ती लडाकु संगठनहरु उनीहरुका नेता डेभिड बेन गुरियन र मेनाकेम बिगिन् जत्तिकै टाढा पनि थिए । दुबैजना नेताहरु दूरदर्शी थिए ।

उत्साही यहुदी राष्ट्रवादी थिए तर उनीहरु एकअर्काको ठीक विपरीत थिए । इजरायलको स्वतन्त्रता कसरी प्राप्त गर्ने भन्ने कुरामा पनि उनीहरुको विपरीत विचार थियो । त्यसका अलावा उनीहरुको सौन्दर्यशास्त्र, भाषा तथा देशका लागि आर्थिक योजना लगायतका कुराहरु पनि विल्कुलै विपरित थिए ।

मेनाकेम बिगिन इरगुन समूहका नेता थिए ।

बेन गुरियन प्यालेस्टाइनमा बेलायती शासन हुँदा इजरायली मानिसहरुका लागि एकप्रकारको कामकाज गर्ने संस्था इजरायल यहुदी एजेन्सीका प्रमुख थिए । उनी समाजवादी तथा लोकतान्त्रिक परम्पराबाट प्रभावित थिए ।

पेन्सेलारका अनुसार उनी श्रमिक आन्दोलनमा विश्वास गर्दथे र देशको अर्थव्यवस्थामा सरकारको नियन्त्रणमा विश्वास गर्दै श्रमिकहरुलाई आदर्श व्यक्ति ठान्दथे । उनले केही समय श्रमिकको रुपमा पनि काम गरेका थिए ।

बेन गुरियनले एउटा यस्तो इजरायली राष्ट्रको कल्पना गरेका थिए जुन प्यालेस्टाइनको सामूहिक कृषि क्षेत्र अर्थात् किब्बुत्जको कुनै बलियो र उत्पादनशील श्रमिक जस्तो होस् ।

उनी एक धर्मनिरपेक्ष र वामपन्थी योजनामा अघि बढिरहेका थिए । विस्तारै प्यालेस्टाइनी क्षेत्रहरुलाई कब्जा गर्दै जाने र इजरायलले स्वतन्त्रता प्राप्त गर्ने कुरामा सहमति नबनुन्जेलसम्म मात्रै बेलायतलाई सहयोग गर्ने उनको योजना थियो ।

उता मेनाकेम बेगिन भने नितान्त फरक थिए । उनी पोल्याण्डमा यहुदी नरसंहारको सिकार बनेको एक परिवारबाट आएका थिए । नयाँ यहुदीहरु विद्रोही, क्रान्तिकारी तथा लडाकु हुनुपर्दछ भन्ने उनको मान्यता थियो । युद्धमा लडेर शहादत प्राप्त गर्नु नै यहुदीहरुका लागि सबैभन्दा ठूलो नायकत्वको रुपमा रहेको उनको मान्यता थियो ।

उनले चट्ट परेको सुट लगाउँथे । उत्कृष्ट शिक्षा पनि हासिल गरेका थिए । निकै भावनात्मक र रोमान्टिक भाषण गर्नमा उनी पोख्त थिए, जसले उनको व्यक्तित्व झल्काउँथ्यो । उनी कट्टरवादी र धार्मिक थिए अनि प्रायः यहुदी नरसंहारको उदाहरण दिएर आफ्नो सन्देशलाई नाटकीय तथा प्रभावशाली बनाउँथे ।

प्राध्यापक पेन्सलरका अनुसार यावत् फरकपनाका बाबजुत ती दुई नेताबीचको मतभेदको मुख्य कारण चाहिँ सत्ताको प्रश्न नै थियो ।

बेन गुरियन श्रमिक यहुदीवादको नेतृत्व गरिरहेका थिए जुन १९४८ मा इजरायल अस्तित्वमा आएपश्चात् निरन्तर ३ दशकसम्म इजरायलको प्रभावशाली शक्तिको रुपमा रहनुका साथै इजरायलको सरकारी संरचनाहरु निर्माण गरेको थियो ।

उता सन् १९७७ मा इजरायलको प्रधानमन्त्री बनेका मेनाकेम बिगनले चाहिँ संशोधनवादी यहुदीवादलाई बलियो बनाए । उनी एउटा यस्तो बलियो इजरायल बनाउन चाहन्थे जुन जोर्डन नदीको दुवैतर्फ फैलिएको होस् । आज इजरायलको राजनीतिकमा उनै बिगनकै उत्तराधिकारीहरुको प्रभाव छ जसमा लिकुड पार्टी पनि सामेल छ ।

एल्टालेना संकटको समयमा यी २ नेताबीचको प्रतिद्वन्द्वीता चरम विन्दुमा पुगेको थियो ।

संकट

अमेरिकी जलसेनाले एल्टालेनाको सेवा समाप्त गरेसँगै इरगुन पार्टीको वित्तीय शाखाले त्यसलाई खरीद गरेको थियो । अमेरिकी नौसेनाले नोरमन्डीमा सैनिक पुर्याउनका लागि पनि उक्त जहाजको प्रयोग गरेको थियो ।

इजरायलको स्वतन्त्रताको घोषणा भएको केही दिनपछि नै एल्टालेना जहाज फ्रान्सको तटीय सहर मासेबाट करीब ९ सय मानिस बोकेर यात्रामा निस्केको थियो । उक्त जहाजमा सवार अधिकांश मानिसहरु यहुदी नरसंहारका पीडित थिए जो स्वयंसेवकको रुपमा इजरायल गइरहेका थिए ।

गुरिल्ला लडाकू समूहको रूपमा काम गर्ने इरगुन मिलिशियालाई आईडीएफमा समाहित गरिएको थियो । तर सुरुवातमा उसको आफ्नो छुट्टै बटालियन समूह थियो ।

तर जहाजमा केवल यिनै लडाकु मात्रै थिएनन् । जहाजमा ठूलो परिमाणमा हतियार पनि थियो जसमा पाँच हजार बन्दुक, ४५० सब मेसिनगन, दर्जनौँ बख्तरबन्द गाडी तथा करीब ५० लाख गोली थिए ।

ठ्याक्कै त्यही समयमा संयुक्त राष्ट्रसंघले एउटा सम्झौता गराएको थियो जसअनुसार इजरायल र छिमेकी अरब राष्ट्रहरुले युद्धविराम गर्नुपर्ने थियो । जसको एउटा प्रष्ट शर्त के थियो भने उक्त क्षेत्रमा कुनै पनि नयाँ हतियार लैजान नपाउने ।

जब बेगिनले प्रधानमन्त्री बेन गुरियनसँग एल्टालेनालाई तेलअविवमा उतार्नका लागि अनुमति मागे, तब प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरे । त्यसपछि जहाजलाई केफार विटकिन बन्दरगाहमा पठाइयो र त्यहाँ त्यसलाई लंगरमा पार्क गरेर राखियो । यो सन् १९४८ को जून २० को कुरा हो ।

बेगिन जहाजमा ल्याइएका हतियारलाई आईडीएफमा रहेको इरगुन युनिटलाई दिने योजना थियो । तर प्रधानमन्त्री बेन गुरियनलाई यसमा विश्वास लागेन । दुई पूर्व लडाकु नेताहरुको बीचमा तनाव भैरहेको सो समयमा इरगुनलाई हतियार दिनु गलत भएको ठहर प्रधानमन्त्रीले गरे । साथै बेगिनले हतियारको सहारामा सत्तापलट गर्नसक्ने पनि भय थियो उनमा ।

जहाजमा रहेका प्रवासीहरु केफार बिटकिन बन्दरगाहमा जहाजबाट ओर्लिए । त्यसपछि लडाकुहरुले हतियार पनि जहाजबाट निकाल्न सुरु गरे ।

तर सो जहाजलाई तत्कालै आईडीएफको रेजिमेन्ट र इजरायली नौसेनाका तीनवटा युद्ध जहाजले घेरिहाले ताकि त्यसमा रहेका हतियार बुझाउन लडाकुहरुलाई बाध्य पार्न सकियोस् । उक्त तनावको अवस्थामा गोली हानाहान भयो र दुबैतर्फ केही मानिसको ज्यान गयो । त्यसपछि बेगिनले एल्टालेनालाई तेलअविव फर्किन आदेश दिए जहाँ इरगुन समर्थकको ठूलो संख्या थियो ।

त्यसपछि आईडीएफले सो जहाजलाई शत्रु घोषणा गर्दै इजरायली वायुसेना र नौसेनालाई उक्त जहाजमाथि आक्रमण गर्ने आदेश दियो । तर पाइलटहरुले जहाजमा हमला गर्न अस्वीकार गरे । इजरायली युद्धक जहाजले बम त हाने तर सही निशाना भने लागेन ।

तेलअविवको तटमा ड्यान होटलको अगाडि एल्टालेना जहाज रोकेर ल्यांगरले बाँधेर राखियो । त्यहाँ इजरायली नागरिकहरु, पत्रकार तथा राष्ट्रसंघीय पर्यवेक्षक समेत थिए ।

आक्रमणबाट जलेको पानीजहाज ।

तर बेन गुरियन पछि हटेनन् । २२ जूनको दिउँसो ४ बजे उनले एल्टालेनामाथि हमला गर्न आदेश दिए । एउटा बम जहाजमा लागेपछि जहाजमा आगो सल्कियो । इरगुन र आईडीएफका लडाकुहरुबीच तटमा आमनेसामने भयो । तेलअविवका केही क्षेत्रमा झडप पनि सुरु भयो ।

गृहयुद्धको खतरा आँकलन गर्दै मेनाकेम बेगिनले आत्मसमर्पण गरे । एक यहुदीले अर्को यहुदीलाई मार्नु हुँदैन भन्ने उनको भनाइ थियो ।

इरगुन समूहमा कैयन् यस्ता कमान्डर थिए जो जहाजमा बमबारीको बदलामा हमला गर्नका लागि र नयाँ सरकारलाई अपदस्थ गर्नका लागि तयार थिए । तथापि बेगिनले उक्त हमला रोक्नका लागि आफ्नो पूरै नैतिक शक्तिको प्रयोग गरे जुन उनको राजनीतिक जीवनको सबैभन्दा अहम् कार्य सावित भयो । उनले इजरायलमा गृहयुद्धलाई रोक्न सफल भए ।

प्राध्यापक पेन्सलारका अनुसार त्यसपछि नै एल्टालेना इजरायलमा एकजुटको एक शक्तिशाली प्रतीक बन्यो ।

सन् १९४८ मा इजरायलमा जुन मतभेद थियो त्यससँग आजको अवस्थाको कुनै सिधा सम्बन्ध छैन । तर अहिले पनि इजरायलमा यस्ता मािनसहरु छन् जसले इरगुनमाथि भएको आक्रमणलाई गलत ठान्दछन् र त्यो घटनाप्रति दुःख व्यक्त गर्दछन् ।

आज इरगुनकै उत्तराधिकारीहरु इजरायलको सत्तामा छन् तर इजरायलमा धेरै मानिसहरुको मान्यता के छ भने वामपन्थी विचारधाराका कूलीन मानिसहरुले नै देशको दिशा तय गर्दछन् ।

पेन्सलारका अनुसार त्यसबेलाको भाषा इजरायलमा फेरि सुनिन थालेको छ जतिबेला इरगुन आम मानिस र हागानाह सत्ताको प्रतीक थियो । उनी भन्छन्– आक्रोश एक शक्तिशाली राजनीतिक विचार हो ।

–बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?