+
+

भारतलाई खुसी पार्न खोज्दा प्रचण्डलाई संकट

सइन्द्र राई सइन्द्र राई
२०८० असार २० गते २१:४२

२० असार, काठमाडौं । गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा मागेको छ ।

बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा उहाँ प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस्’ संसद अवरोधको औचित्यबारे नेकपा एमालेका सांसद रघुजी पन्तले भने ।

पन्तले प्रधानमन्त्रीले राजीनामा दिएर अर्को सरकार गठनको प्रक्रिया बढाउन सुझाव दिए । ‘को मान्छे प्रधानमन्त्री बन्ने दलहरुले छलफल गर्लान् । तर जो दिल्लीतिर नफर्कने, नेपालतिर फर्कने, नेपाली माटोतिर फर्किने प्रधानमन्त्री चाहियो, जसले देशको गरिमा र मर्यादाको रक्षा गर्न सकोस्’, उनले भने ।

राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।

त्यो कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचाटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’

पुराना व्यवसायी सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले दिएको यस्तो अभिव्यक्तिमा विपक्षी दलहरु एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले आपत्ति जनाएका छन् । एमालेले त राजीनामा नै मागेको छ । ‘यति गम्भीर अभिव्यक्तिलाई त्यसै छोडेर हामी जनताको बीचमा जान सक्दैनौं, प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ’, एमाले सांसद ठाकुर गैरे भन्छन् ।

प्रधानमन्त्री प्रचण्डले भने आफूले बोल्दै नबोलेको कुरालाई लिएर बबण्डर गर्न खोजिएको बताएका छन् । ‘उहाँको (प्रितम सिंहको) बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन’, प्रचण्डले एक कार्यक्रममा भनेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य पनि अलग आसयमा दिइएको अभिव्यक्तिलाई गलत अर्थ लगाउने काम भइरहेको बताउँछन् । ‘यो प्रधानमन्त्री कसले बनाएको हो भन्नेबारे केपी ओलीलाई राम्रोसँग थाहा छ । उहाँ नै प्रस्तावक हो । एमाले, रास्वपा, राप्रपाहरुले मत दिएको होइन ?’ उनले प्रश्न गरे ।

तर अहिले प्रधानमन्त्रीलाई बदनाम गर्न तिनै दलहरु गलत अर्थ लगाउन तम्सिएको आचार्य बताउँछन् ।

राम्रो पारिवारिक सम्बन्ध भएकाले प्रितमले आफूप्रति राखेको सद्भावलाई त्यसदिनको कार्यक्रममा प्रधानमन्त्रीले सम्झिएको आचार्य तर्क गर्छन् । ‘१५ वर्ष अगाडि प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि फेरि प्रधानमन्त्री हुनुहोस् भनेर प्रितमले राखेको सद्भाव त्यसदिन सम्झिएको मात्र हो’, उनी भन्छन्, ‘प्रितम एक सामान्य मान्छे हो, सामान्य मान्छेले भनेर पनि हुने कुरा होइन ।’

राजनीतिक विश्लेषक हरि रोका प्रधानमन्त्रीले जाने कार्यक्रम र बोल्ने शब्दबारे ख्याल नगर्दा यस्तो संकट निम्तिएको बताउँछन् । ‘नेपाल र भारत बीचको सम्बन्धबारे हामी अवगत नै छौं । हाम्रा प्रधानमन्त्रीहरुले हट्नुपर्दा भारतले असहयोग ग¥यो भन्नु नौलो कुरा होइन’, विश्लेषक रोका भन्छन्, ‘तर योे घटनाबाट प्रधानमन्त्रीले जहाँ पायो त्यही र जे पायो त्यही बोल्नु हुन्न भन्ने सन्देश दिएको छ ।’

पृष्ठभूमिप्रति आशंका

विवादित अभिव्यक्तिको बचाउमा अहिले प्रधानमन्त्री प्रचण्ड र उनी निकट नेताहरु लागेपनि बिगतका घटनाक्रमकै कारण पत्याउन मुश्किल परेको देखिन्छ । किनकि सोमबार जुन प्रशंग र समयबारे प्रितम सिंहको सदासयता सम्झिए, त्यसबेला नेपालको सरकार बनाउन भारतको हस्तक्षेप हुने गरेको सार्वजनिक अभिव्यक्ति प्रचण्डले दिएका थिए ।

२०६४ को पहिलो संविधानसभा चुनावपछि पहिलो दलका अध्यक्षको हैसियतमा प्रधानमन्त्री नियुक्त प्रचण्डले जेठ २०६६ मा पदबाट हटेपछि ‘नोकरहरु (कांग्रेस–एमालेका नेताहरु) सँग नभई मालिक (भारत) सँगै सिंधै वार्ता गर्ने’ बताएका थिए ।

त्यसअघि पनि १२ बुँदे दिल्ली सम्झौतासहित केही अपवादका घटनाबाहेक प्रचण्ड र उनी नेतृत्वको माओवादीले भारतीय हस्तक्षेपविरुद्ध चर्को विरोध जनाएको थियो ।

२०५२ सालमा सशस्त्र विद्रोह थाल्नुअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४० बुँदे मागपत्रको राष्ट्रियता खण्डमा भारतसँगको सन्धी (सन् १९५० को सन्धी) असमान भएकाले खारेज हुनुपर्ने उल्लेख थियो । पछि सशस्त्र विद्रोहको क्रममा भारतविरुद्ध सुरुङयुद्धकै घोषणा माओवादीले ग¥यो ।

नेपालको आन्तरिक मामिलामा भारतको चलखेल हुने निष्कर्षसहित माओवादीले २०७२ मा संविधान जारी हुँदासमेत आपत्ति जनाउनेदेखि संघर्षका कार्यक्रम गर्थे । त्यसपछि भने विस्तारै माओवादी र प्रचण्डको अभिव्यक्ति बदलिँदै गएको देखिन्छ ।

१० पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि त झन प्रचण्ड सकेसम्म भारतलाई रिझाउने नीतिमा देखिन्छन् । जसलाई बलियो उदाहरण हो, १७–२० जेठको भारत भ्रमण । प्रधानमन्त्री भएको पाँच महिनापछि भएको त्यो भ्रमणका निर्णयदेखि गतिविधिसमेत विवादित बन्यो ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटवार्तामा उठाउनैपर्ने एजेण्डा नउठाएको र नेपालको आवश्यकताभन्दा भारतीय चाहनालाई प्राथमिकतामा राखेर सहमति÷सम्झौता गरेको आरोप लाग्यो । १९५० को असमान सन्धि पुनरावलोकनसहित दुई देशबीचको समस्यालाई दीर्घकालीन समाधान गर्ने उद्देश्यले गठित ईपीजीको प्रतिवेदन बुझ्नेबारे प्रधानमन्त्री प्रचण्डले भ्रमणमा कुरै गरेनन् । प्रष्टोक्तिमा प्रचण्डले वातावरण बिथोलिने भएकाले ईपीजीको प्रतिवेदनलाई छलफलको विषय नबनाएको बताए ।

बरू ठीक उल्टो दश वर्षे सशस्त्र विद्रोहको उपलब्धि मध्य एक महत्वपूर्ण भनेर माओवादीले दाबी गरिरहेको धर्म निरपेक्ष राज्यको भावना विपरीत प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा गेरु वस्त्रमा पूजा गरे । हिन्दू धर्मको राजनीति गरिरहेका भारतीय प्रधानमन्त्रीको मोदीको प्रस्ताव स्वीकार्दै मध्यप्रदेशस्थित महाकालेश्वर पुगेर गेरुवा बस्त्र लगाउनुलाई प्रचण्डले भारतीय जनताको खुशीसँग जोडे ।

‘प्रोटोकल मिचेर भएपनि लाउन नदिनुस् भन्दाखेरि के हुने भयो भन्दा भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो, नेपाल र नेपालका प्रधानमन्त्रीप्रति’ प्रचण्डले गेरु बस्त्रबारे भनेका थिए, ‘मैले सहज ढंगले लगाउँदा सबै खुशी ।’

जबकी विपक्षी एमालेले कांग्रेस नेतृत्वको गठबन्धनमा बन्दै आएको सरकारलाई भारतीय ट्याग लगाएर प्रचार गरिरहेकै थियो । त्यस्तो आरोपको जग पनि प्रचण्ड आफैंले तयार पारिदिएका थिए । तत्कालीन प्रधानमन्त्री ओलीलाई हटाउने प्रयास चलिरहँदा प्रचण्डले नयाँ सरकार बन्दा चीन र भारत दुवैलाई कम्फर्टेबल हुने अभिव्यक्ति दिएका थिए ।

५ पुस २०७७ मा प्रधानमन्त्री हैसियतमा केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको असंवैधानिक निर्णय लिएपछि अर्को सरकार बनाउन लागि परेका प्रचण्डले भनेका थिए, ‘.. नेपाली कांग्रेस, हामी (तत्कालीन नेकपामा प्रचण्ड–माधव समूह) र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका निम्ति पनि यो भन्दा कम्फर्टेवल समीकरण हुँदैन । चीनको लागि पनि यो कन्फर्टेबल नै हुन्छ ।’

प्रचण्डको यही अभिव्यक्तिलाई लिएर एमाले नेताहरुले भारत परस्तको आरोप लगाउने गरेको छ । त्यही आरोपलाई बल पुग्नेगरी एकपछि अर्को गतिविधि गरेका प्रधानमन्त्री प्रचण्डलाई सोमबारको अभिव्यक्तिले थप अप्ठ्यारोमा परेका छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?