+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

संविधान च्यात्न सम्भव छैन, पाँच बजेपछि हाम्रो पालो आउँछ : हिक्मत कार्की

हरि अधिकारी हरि अधिकारी
२०८० असार २१ गते १४:४३

२१ असार, विराटनगर । नेकपा एमालेले सरकार दाबी गर्दा सभामुखलाई प्रयोग गर्न नमिल्ने बताएको छ । सत्तारुढ गठबन्धनले सभामुखलाई पनि जोडेर कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी गरेपछि एमालेले कुनै हालतमा सभामुखको प्रयोग गर्न नमिल्ने बताएको हो ।

‘संविधान भन्दा बाहिर गएर गरेको कुराको पालना कसैले गर्छ र ? संविधान मिच्छ दिन्छौं र हामी  कसैलाई ?,’ एमाले संसदीय दलका नेता तथा कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने,‘ संविधान मिच्न पाइदैन, एमालेले संविधान मिच्न दिदैन ।’

उनले सरकारमा दाबी पेश गर्दा सभामुखको प्रयोग गर्न संविधानले नै परिकल्पना नगरेको बताए । ‘सभामुखको प्रयोग गर्नै मिल्दैन, गर्ने  भए संविधान च्यात्नुपर्‍यो  पहिला,’ उनले  फेरि भने,‘ अहिले संविधान च्यात्नका लागि उद्धव थापालाई, राजेन्द्र राईलाई अथवा इन्द्र आङ्बोलाई अधिकार छ र ? त्यो सम्भव नै छैन, सम्भव नभएको कुरामा बहस गर्न आवश्यक छैन ।’

उनले संविधानको धारा १६८ को  २ अनुसार एमालेले सरकारमा दाबी नगर्ने र आज बेलुका ५ बजेपछि १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुने बताए ।

बहुमतको सरकारका लागि एमालेले दाबी गर्छ कि गर्दैन भन्ने प्रश्नमा उनले बहुमतको सरकारमा  दाबी नगर्ने  बताए । ‘दाबी कसरी गर्नु हामीले, दाबी त बहुमत पुर्याएर गर्नु पर्‍यो आज त,’ उनले भने,‘ भरे ५ बजेपछि हाम्रो पालो आउने हो ।’

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ नै  छ । ४० सिटको एमाले प्रतिपक्षमा छ । ६ सिटको राप्रपाले उद्धव थापालाई सहयोग नगर्ने बताएको छ ।

गठबन्धन दलले सभामुखसहित ४७ पुर्‍याएर सरकार गठन गरेपनि विश्वासको मत लिँदा सभामुखले बराबरी भएको अवस्थामा मात्रै मतदान गर्न पाउँछन् । राप्रपाले सहयोग नगरेको  अवस्थामा अब बन्ने सरकार  ३० दिनपछि ढल्ने जोखिम छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?