+
+
राष्ट्रपतिलाई खुलापत्र : :

‘पैसा अस्वीकार गरेर नैतिक बन्धन सिर्जना गर्नुस्’

आज तपाइँले देखाउने त्याग र राज्यको पैसा अस्वीकारले एउटा ठूलो मानक निर्माणको लागि सहयोग गर्नेछ । नैतिक बन्धन सिर्जना गर्न पनि तपाइँले साहसिक निर्णय लिनैपर्दछ । कसैले न कसैले यो निर्णय जरूर लिनै पर्दछ, त्यो ढिलो होस् या चाँडो !

सञ्जीव कार्की सञ्जीव कार्की
२०८० असार २६ गते १०:२६

सम्माननीय राष्ट्रपतिज्यू,

सर्वप्रथम यहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछुl

राष्ट्रपतिज्यू,

बिरामी अवस्थामा तपाईंका बारे असहमतिका केही टिप्पणी गर्नु पर्दा आफैंसँग गहिरो खेद छl मानवीय भावनामा आघात पर्न गएमा सुरूमै माफी माग्दछुl मेरो पनि ७० वर्ष कटेको पिताजी बिरामी भएर घरमा स्वास्थ्यलाभ गर्दै हुनुहुन्छl म बिरामी घरको हालत र परिवारको मनोदशा बारे थोरै भए पनि ज्ञान राख्दछु, त्यसैले कुभलो चिताएर यो पत्र लेखेको छैन भन्ने विश्वास व्यक्त गर्दछुl

तपाईं पितासमान र देशकै प्रमुख व्यक्ति हो, हाम्रो सामाजिक मान्यता अनुसार तपाईंलाई प्रश्न सोध्ने अधिकार रहन्नl लामो प्रजातान्त्रिक लडाइँ लडेको, बोल्ने र प्रश्न सोध्ने स्वतन्त्रताको लागि १४ वर्ष भन्दा बढी जेल बसेको आदरणीय त्यागी नेता र नेपालको राजनीतिक इतिहासमा प्रजातान्त्रिक दलको दर्ज्यानी चिह्न प्राप्त नेपाली काङ्ग्रेसको पृष्ठभूमि भएको मान्छे हुनुहुन्छ, स्वतन्त्रताको महत्त्व थाहा छ, त्यसैले तपाईं अप्रश्ननीय हुनुहुन्नl प्रजातन्त्रमा अप्रश्ननीय कोही हुँदैनl

प्रश्न, गुनासो, सुझाव र खबरदारीले लोकतन्त्र र चरित्रवान नेतालाई अलिकति पनि हानि नोक्सानी गर्दैनl प्रश्न सोध्ने र जवाफ दिने प्रक्रियाले जवाफदेही बन्न सघाउँछl हामी आजसम्म जवाफदेही बन्न नसकेको कारण लोकतान्त्रिक मर्यादामा बस्न सकेका छैनौंl अहिले नै यो विषय उठान गर्न सकिएन भने पछि असान्दर्भिक र औचित्यहीन हुन पुग्छ, अन्यथा नलिनुहोलाl

आदरणीय पौडेलज्यू,

नेपालको प्रजातान्त्रिक र गणतान्त्रिक आन्दोलनमा यहाँ र यहाँको पुस्ताले जसरी कुर्वानी गर्यो, जस्तो जोखिम मोल्यो, त्यसको मर्यादा र सम्मान गर्दै देशले सांसद, मन्त्री, उपप्रधानमन्त्री र सभामुख, पार्टीको वरिष्ठ नेता हुँदै राष्ट्रपति जस्तो सर्वोच्च पदमा आसीन गरायोl २०७४ बाहेक यहाँलाई तनहुँले २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ सालसम्म निरन्तर आफ्नो प्रतिनिधि बनाएर पठायोl तपाईंले गरेको योगदानलाई कदर गर्दै राज्यले पनि थुप्रै अभिभारा समयक्रममा दिएर गुनको पैंचो तिरेको छl देशलाई धेरै दियौं हामीलाई देशले केही दिएन भन्ने गुनासो तपाईंको उमेरका लगभग सबै पार्टीका नेतालाई अपवाद बाहेक छैनl

सञ्जीव कार्की

विगतमा दु:ख पाएका, जेलनेल खपेका, निर्वासन लखेटिएका, भूमिगत भएका नेताहरूले देश हाँक्ने मौका ३३ वर्षसम्म पाए, दुर्भाग्य के रह्यो भने व्यवस्था परिवर्तनको लागि आफ्नो सर्वस्व सुम्पन तयार नेता–कार्यकर्ता जनताको अवस्था सुधार्न, शिक्षा, स्वास्थ्य, रोजगार दिन भने चुक्तै, चुक्तै गएl स्वास्थ्य शिक्षाको चरम व्यापारीकरण गर्न लागेl

देशमा बिचौलिया दलाल र माफिया राज परोक्ष प्रत्यक्ष चलाउन सहयोग गरे फलस्वरूप आज पदासीन राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री नेताहरू विभिन्न तहका विशिष्ट व्यक्तिले बिरामी हुँदा राज्यकोषबाट लिने रकमको चौतर्फी विरोध हुन्छl यदि शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा राज्यले सहजै आफ्नो दायित्व भित्र राख्थ्यो भने आफ्ना देशका विशिष्ट व्यक्तिहरूको उपचार जहाँ र जसरी गरे पनि गुनासो उठ्ने थिएनl कतिपय नेताको उपचार बारे जनता विरोधमा छैनन् जस्तो कि भर्खरै अग्नि जलन भोगेको चन्द्र भण्डारीl चित्रबहादुर केसीलाई पनि कुनै बिरामी भए राज्यले खर्च दिए असहमति राख्ने मान्छे कमै होलान् !

सामान्य विलासी जीवन र नेताहरूको फेरिएको आर्थिक हैसियत बारे पनि खासै प्रश्न उठ्दैनथ्योl एउटा बिरामी र उसको उपचार जस्तो अत्यन्त मानवीय संवेदनशील पक्ष आज उपहासको विषय बन्दैनथ्योl उच्चपदस्थको उपचार र उपचारमा पनि विदेश नै धाउनुपर्ने विषय व्यङ्ग, विरोध र उपहासको विषय किन बनेको हो महामहिम राष्ट्रपतिले पक्कै सोचेर नै आफ्नो उपचार खर्च आफैं बेहोर्ने इच्छा (२०८०, वैशाख १९) जाहेर गर्नुभएको थियो भन्ने मैले ठानेको छुl

‘राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७४ मा उल्लेख गरिए अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार गर्न नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको खर्च नेपाल सरकारले व्यहोर्ने छl’ ऐनमा यस्तो व्यवस्था हुँदाहुँदै राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैं व्यहोर्न चाहेको कुरा आम सर्वसाधारण मान्छेलाई खुशी लागेको थियोl

राष्ट्रपतिले आफू ‘गणतन्त्र र राजतन्त्रको राष्ट्र प्रमुखको भूमिका बारे जानकार छु’ भन्दै जनताको राष्ट्रपति बन्ने सङ्केत गर्नुभएको थियोl जनता परम्परागत राजा होइन सामान्य जनताको छोरो सहजतासाथ जनताकै नजिक भएर हिंडेको हेर्न चाहन्छन्l तपाईंले निर्माण गर्ने राजमार्ग जनताको लागि साँघुरो हुनुहुन्नl सुरक्षा थ्रेट नभएसम्म राष्ट्रपति जनताभन्दा टाढा बस्न पर्दैनl राष्ट्रपतिले आफ्नो सवारी समेत चुस्त र छरितो बनाएर पब्लिकलाई दु:ख नदिइकन सामान्य औपचारिकतामा सीमित गराएकोलाई जनताले बल्ल राजाको ठाउँमा राष्ट्रपति आए भनेर सक्कली गणतन्त्रको अनुभूत गर्दै थिएl

यस्तो बेला राष्ट्रपतिको चाहना विपरित राष्ट्रपतिको उपचार खर्च सरकारले नै व्यहोर्ने अर्को खबर १२ असारमा मन्त्रिपरिषदको बैठकले गरेको निर्णय भनेर जानकारीमा आयो, जसमा भनिएको छ: ‘राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरूको दैनिक भ्रमण भत्ता लगायतमा ५५ लाख २ हजार २७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छl’

महामहिमज्यू,

तपाईंको इच्छाको कदर गर्दै वाह् ! राष्ट्रपति भनेर स्याबासी दिने जनता आज फेरि सरकारको निर्णयले खिन्न, उदास र विस्मित बनेका छन्l राष्ट्रपतिको इच्छा विपरित सरकार किन गयो ? या राष्ट्रपतिले पनि सस्तो स्टन्ट गर्नुभएको थियो ? यदि त्यो स्टन्ट मात्र हो भने क्षणिक भ्रम दिनुको औचित्य के थियो ? कांग्रेस महामन्त्री गगन थापाले समेत राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैं बेहोर्नुपर्ने वक्तव्य दिएका थिएl गगनको वक्तव्यको राग र आयतनलाई सङ्कुचनमा पार्न मात्रै बोलिएको पक्कै होइन होला ?

तपाईंलाई थाहा छ राष्ट्रपतिज्यू बाहिर मान्छेहरू कति विरोध, व्यङ्ग्य, आक्रोश र मर्माहत भएर तपाईंलाई पुन: गालीगलौज गरिरहेका छन्l के यस बारेमा गम्भीर हुनुहुन्छ तपाईं ? कि नेपालीको मानवीय संवेदना सकियो र बिरामी परेको बेला पनि अनेक भन्छन् भन्ने लागेको छ ? पक्कै पनि मान्छे यन्त्रमानव अर्थात् हृदयहीन मानव भएर तपाईंप्रति आक्रोशित बनेका होइनन्l आम मान्छेको मर्म नबुझेर गरिने निर्णयप्रति खनिएका हुन्l

प्रिय राष्ट्रपति,

एउटा गरिब नेपाली बिरामी भए आफ्नो उपचार खर्च आफैंले सकेको गर्छl उसले आफ्नो घरको परेवा, कुखुरा, सुँगुर–बुंगुर, बाख्रा पाठा, हलगोरु, गाई, लैनो भैंसी, पाडा–पाडी, ढुङ्ग्री, मुन्द्री, तिलहरी, औंठी, आफूसँग जे छ, घर खेत पाखोबारी, त्यो बेच्छ र त्यतिले नपुगे पत्याउन्जेल ऋणधन गर्छ जायजेथा सबै सकिएपछि मात्र सहयोगको लागि सार्वजनिक याचना गर्छ यो आम मान्छेको उपचार गर्दाको अवस्था होl

जनतालाई घरखेत सबै उठीबास लगाएर उपचार गर्नुपर्ने अनि नेता चैं राज्यको ढुकुटीबाट जति पनि रकम निकालेर उपचार गर्ने के यो मिल्ने कुरा हो ? हात्ती, घोडा र कमिलाको दुखाइ शरीरको आकारमा जसरी निर्भर हुन्न त्यसैगरी आम मान्छेको पीडा र उच्च पदस्थको पीडामा फरक हुन्नl सबैको संवेदना बराबर हुन्छl पीडाबोधको मात्रामा भिन्नता हुन्नl सर्वसाधारण निमुखा मान्छेको रोग, भोक, शोक अनि वरिष्ठ र विशिष्ट मान्छेहरूको रोग, भोक र शोकलाई किन पृथक् दृष्टिकोण राख्छ सरकार ?

राज्यलाई कर तिर्ने मामलामा सबै बराबर हुने अनि सेवा र सुविधामा किन आकाश–जमिनको अन्तर ? विपन्न गरिब र केही नहुने नेताहरूको लागि सरकारले उपचार गराउनु अन्यथा मानिन्न तर सबै थोकले पुगिसरी आएका र प्रशस्तै धनसम्पत्ति भएका नेताहरूले राज्यलाई गरेको दोहन पापको भारी होl अन्यायको पराकाष्ठा होl आफ्नो मात्रै अमूल्य जीवन अरूको तुच्छ सम्झने हेपाहा र सामन्ती सोचाइ होl नेतालाई मस्ती जनतालाई सास्तीको लागि यो व्यवस्थाको परिकल्पना गरिएको पक्कै होइनl

प्रिय रामचन्द्र पौडेलज्यू,

आज तपाइँले देखाउने त्याग र राज्यको पैसा अस्वीकारले एउटा ठूलो मानक निर्माणको लागि सहयोग गर्नेछl आगामी दिनमा कसैले पनि ठूलो आपत् नपरी राज्यकोषबाट पैसा लिने कुरालाई निरुत्साहित गर्दछl नैतिक बन्धन सिर्जना गर्न पनि तपाईंले साहसिक निर्णय लिनैपर्दछl कसैले न कसैले यो निर्णय जरूर लिनै पर्दछ, त्यो ढिलो होस् या चाँडो !

यो ऐतिहासिक घोषणा र अभिभारा एउटा प्रजातान्त्रिक योद्धाको हातबाट किन नहुने ? बीपी, गणेशमानजी र किसुनजीको सुयोग्य चेलालाई यो महत्वपूर्ण अवसर नचुकाउन आग्रह गर्दछुl असहजता, अभाव र विपदमा राज्य हुनुपर्छl होइन भने सीमित वर्ग र पहुँच हुनेले मात्रै राज्यकोषबाट रकम लिने कुरा अपराध होl जनतालाई स्वास्थ्य, शिक्षा र सुविधामा कतै विमुख नगरी राज्यसंचालक नेता आदिले लिने जुनसुकै सेवा र सुविधा ग्राह्य छन्l  जनतालाई स्वास्थ्य सेवाको आधारभूत सुविधा समेत दिन नसक्ने, जनता सिटामोल र जीवनजल खान नपाएर मर्ने, साधारण व्यान्डेज गर्न नपाएर हात खुट्टा कुहाएर बस्नुपर्ने अनि नेता र विशिष्ट व्यक्तिको लागि विदेशका महङ्गा अस्पतालका बिल तिर्नुपर्ने ? त्यसैले पाप लागे पनि लागोस् राष्ट्रपति बिरामी हुनुभएकै बेला मैले यति बोल्ने हर्कत गरेंl राष्ट्रपतिज्यू मेरो पनि घरमा बा बिरामी हुनुहुन्छl

आफ्नो इच्छा विपरित सरकारले राष्ट्रपतिको उपचार खर्च बेहोर्ने घोषणा यहाँले स्वीकार गर्नुभएको या नकार त्यो आधिकारिक धारणा सुनिएको छैनl अस्वीकार नगर्दासम्म स्वीकार गरिएको नै बुझिन्छ त्यसैले यहाँको गत वैशाखमा प्रेषित पत्रलाई आधार मानेर विज्ञप्तिको लागि यो खेस्रा पठाएको छु कृपया ग्रहण गर्नुहोला :

‘आदरणीय देशवासी दिदीबहिनी र दाजुभाइहरू, मेरो स्वास्थ्यमा यहाँहरूले देखाउनुभएको चिन्ता चासो र शुभेच्छाप्रति धन्यवाद प्रकट गर्दछुl मेरो उपचार खर्च सम्बन्धी सार्वजनिक रूपमा आएका प्रतिक्रिया बारे म जानकार छु त्यही भएर नै मैले यसभन्दा अघि आफ्नो उपचार खर्च आफैं बेहोर्ने जानकारी गराएको हुँl राज्यको लाखौं रुपैयाँ एक व्यक्तिको लागि कसरी स्वीकार गरौं ? आर्थिक सहयोग भनेको विपन्न, दीन–हीन र दु:खी गरिबको लागि होl म सम्पन्न मान्छे मैले राज्यलाई भार बन्न सुहाउन्नl

नेपालको जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा लेखिएको प्रावधानको बर्खिलापमा जाने छुट मलाई कसरी हुन्छ र ? म राज्यको जिम्मेवार निकायको अभिभावक हुँ त्यसैले सरकारले मेरो औषधि उपचारको खर्च तिरिदिने खबरले मलाई पीडाबोध भएको छl मेरो रोग अरू बल्झिए झैं लागेको छl ऐनमा कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गराउनुपर्ने भएमा सोका लागि सरकारी कोषबाट खर्च उपलब्ध गराउन मिल्दैन भनिएको छ भने म कसरी स्वीकृति प्रदान गरौं ?

ओली सरकारले डाक्टर गोविन्द केसीको स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने बित्तिकै उनले उक्त प्रस्ताव अस्वीकार गरेको स्मरण गर्न चाहन्छुl एउटा डाक्टर जसको आफ्नो घर समेत छैन, सम्पत्तिको जोहो समेत नगर्ने मान्छेले नराखेको मोह म कसरी राखौं ? मेरो त घर छ, छोरोको कमाइ पनि गजब छl म हुनेखाने नेतामै पर्छुl मेरो आर्थिक अवस्था मजबुत छ त्यसैले म सरकारी घोषणा यही वक्तव्य मार्फत खारेज भएको घोषणा गर्दछुl

मलाई युवा राजनीतिज्ञ स्वर्गीय उज्ज्वल थापाको परिवारले पनि सरकारले दिने उपचार खर्च अस्वीकार गरेको सम्झना भयोl सरकारको सदासयताको लागि धन्यवाद दिंदै आफ्नो उपचार गर्दा घरखेत गुमाएका, ऋणले चुर्लुम्म डुबेका, मानसिक र आर्थिक अभाव खप्न नसकी आत्महत्या गरेका र ऋण तिर्न आँसु, पिप, पसिना र रगत निचोरेर बसेका, अस्पतालको मुख कहिल्यै नदेखेका र जीवनजल र सिटामोल खान नपाएर छट्पटिदै मरेका मान्छेको पापको भारी आफू नबोक्ने प्रतिबद्धता गर्दछुl

अबोध निमुखा प्राणीको दर्द भरिएको अनुहार झल्झली आँखामा नाचेको छ त्यस्तो देख्दा देख्दै मलाई आफू मात्र बाँच्नु छैन, राज्यको लाखौं रकम लिएर आफ्नो मात्र उपचार गर्नु छैन म आफ्नो उपचार गर्न आजका दिनसम्म आफैं सक्षम छुl

पूर्व राष्ट्रपति डा. रामवरण यादवको लागि भएको करोडौं खर्च, पूर्व प्रधानमन्त्री ओलीको लागि भएको करोडौं रकम, खुमबहादुर खड्का, गोविन्दराज जोशी, सुजाता कोइराला जस्ता थुप्रै राजनीतिक नेता र विशिष्ट व्यक्तिले लिएको रकमका बारे उठेको प्रश्न, आक्रोश, घृणा बारे जानकार भएर नै मैले आफ्नो उपचार खर्च आफैं बेहोर्ने मनसुवा पालेको हुँl

राज्यले सहयोग नै गर्न हुँदैन भन्ने कुरामा मेरो सैद्धान्तिक विमति छl राज्य सहयोग गर्नका लागि नै हो, गर्नुपर्छ, जसलाई साँच्चिकै अभाव र दु:ख छ जसको अवस्था दयनीय छ त्यस्तालाई हेर्ने दायित्व राज्यको होl आफ्नै सामर्थ्य हुनेले राज्यलाई आर्थिक भार पर्न दिनुहुन्न यस कुरामा सचेत भएर नै मैले सरकारले दिने आर्थिक सहुलियत नलिने घोषणा दोहोर्‍याउँछुl’

प्रिय सरकार,

स्वास्थ्य सेवा क्रमशः नि:शुल्क गर्दै जाने समाजवाद उन्मुख संविधानको मर्म आत्मसात् गर्दै वर्तमान राष्ट्रपतिबाट सो कार्यको आरम्भ गरिएको हो भने मैले राखेका सबै विमति र आजसम्मको खबरदारी फिर्ता लिन्छु, यदि होइन पहुँचवाला र शक्तिशालीको लागि मात्रै यस्तो व्यवस्था गरिएको हो भने म यो कार्यको घोर निन्दा व्यक्त गर्दै घृणासाथ निमुखा गरिबको यो सरकार होइन भनेर आम मान्छेलाई भन्ने वाचा गर्दछुl

प्रिय सल्लाहकार, पारिवारिक र निकट रहने मित्रहरू,

राष्ट्रपति अझै पूर्ण स्वस्थ हुनुभएको छैनl उहाँलाई यस्तो बेला के सोच्ने, के गर्ने र के बोल्ने भनेर निर्णय लिन असहज भएको पनि हुनसक्छ। पारिवारिक सदस्यहरूलाई पनि अन्यमनस्क भएको हुन्छl त्यसैले उहाँको निकट रहने र सल्लाह दिने व्यक्तिहरूले राजनीतिक र आर्थिक पदको लाभहानिको हिसाब नगरी देशको हितमा निर्णय लिन सुझाउनुपर्दछl

राजनीतिज्ञ खराब मात्र हुँदैनन्, सही र सान्दर्भिक निर्णय गरेर लोभ त्याग्ने पनि हुन्छन् भन्ने दृष्टान्त प्रस्तुत गर्न पनि बोल्ड डिसिजन गर्न उत्प्रेरित गर्नुपर्छl रामचन्द्र पौडेल कहिल्यै भ्रष्टाचारमा नमुछिएको नाम होl प्रजातान्त्रिक समाजवादका व्याख्याता चिन्तक पौडेलले दर्जनौं किताब लेख्नुभएको छl संघर्ष, सत्याग्रह, जेलनेल सबै सबै भोगेका निष्ठावान नेताको छवि भएका पौडेललाई इतिहास रच्ने अवसरको वातावरण सिर्जना गर्नु उनका नजिक हुनेहरूको धर्म होl

हाम्रो देशमा नेताहरूले अनावश्यक सुविधा लिएको, पुरुष भएर सुत्केरी भत्ता लिएकोदेखि घर भएर पनि घर भाडा लिएको, रातो पासपोर्ट बेचबिखन गरेको जस्ता थुप्रै विकृतिमा नेताहरू मुछिएको विवादमा आएको र भ्रष्टाचार अनि आर्थिक हिनामिनामा सांसद्को नाम जताततै जोडिएको छl

यी तमाम कुरालाई लिकमा ल्याउनको लागि पनि राष्ट्रपतिले पाउने आर्थिक सहयोगलाई अस्वीकृत गर्ने कुराले व्यापक अर्थ दिन्छl त्यसैले यो विन्तीपत्र, अनुरोध, खबरदारी र याचनापत्र जे नाम दिए पनि लेखेको छुl अन्त्यमा मानवीय संवेदनामा चोट पुगेमा मेरो शब्दार्थ होइन भावार्थ बुझेर क्षमा दिनुहुनेछ भन्दै पुन: राष्ट्रपतिज्यूको शीघ्रातिशीघ्र स्वास्थ्य लाभको कामना गर्दछुl

लेखकको बारेमा
सञ्जीव कार्की

समसामयिक विषयमा कलम चलाउने कार्की विशेषगरी सीमान्तकृत समुदाय र दलितका सवालमा कलम चलाउँछन् । उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमफिल-पीएचडी अनुसन्धाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?