+
+

टिकटक र युट्युब हेरेर सीप सिक्दै कैलालीका महिला

रासस रासस
२०८० असार २६ गते १२:५९

२६ असार, कैलाली । कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन् । टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गरेकी छन् ।

पेसाले स्वास्थ्यकर्मी पुष्पाले टीकापुरमा चुरा, पोते र विवाहका लागि आवश्यक सामान उत्पादन थालेकी छिन् ।  ‘मैले टिकटकबाट धेरै सीप सिकेँ, नजानेको कुरा युट्युबको सहायता पनि लिन्छु’, उनले भनिन्, ‘मैले विवाहको बरमाला, विवाहका लागि चाहिने दुलाहा, दुलहीका सबै सामान तयार गर्न थालेकी छु । मैले सबै सीप सामाजिक सञ्जालको सहयोगमा सिकेकी हुँ, अहिले पनि नयाँ डिजाइन देखेमा युट्युब तथा टिकटकमा हेरेर सिक्छु ।’

सिलाइबुनाइमा इच्छाशक्ति भएकी पुष्पा टीकापुर अस्पतालमा कार्यरत छिन् । साँझ बिहानको समयमा सामान उत्पादन गर्ने पुष्पाको व्यवसाय पनि राम्रै चलिरहेको उनको भनाइ छ । ‘बिक्री पनि फेसबुक र टिकटकबाट भइरहेको छ’, उनले भनिन्, ‘मैले बनेका सामान फेसबुक तथा टिकटकमा राख्छु, भिडियो पनि हाल्छु, अनि माग आउँछ।’

पुष्पाले बनाएका सामान कैलाली मात्र नभई अन्य जिल्ला र विदेश बस्ने नेपालीले माग गर्ने भएकाले विदेशमा समेत पठाउने गरेकी छन् ।  मानिसले बढी खर्च गर्ने भनेकै लाउन र खानमा हो । नयाँ डिजाइनका पहिरन लगाउन, मीठो खान सबैलाई मनपर्छ । मानिस खानाका विभिन्न परिकार खान्छन्, लगाउने लुगाकपडा तथा गहना, चुरापोतेजस्ता सामान पनि नयाँ फेसनका मन पराउँछन् । पछिल्लो समय महिला सामाजिक सञ्जालको प्रयोग गरेर नयाँ-नयाँ सीप सिक्न थालेकी छिन् ।

विगतका मानिसले विभिन्न सीप सिक्न निश्चित तोकेको ठाउँमा जानुपर्थ्यो । तोकिएको ठाउँमा गएर, शुल्क तिरेर सीप सिक्नुपर्ने बाध्यता थियो । तर पछिल्लो समय परिस्थिति बदलिएको छ ।

इच्छा भएकाहरू सामाजिक सञ्जाल तथा युट्युबको सहायताले सीप सिकिरहनुभएको छ । टीकापुरकै कृष्णा भण्डारीले केही वर्षअघि केही गरौँ भनी धनगढीमा गएर १० दिन पोते बुन्ने तालिम लिइन् । ‘तालिमपछि मैले पोते बुनेर यहाँकै पसलमा बिक्री गर्न थालेँ, खपत राम्रै हुन थाल्यो’, कृष्णाले भनिन्, ‘केही वर्षअघि सिकेको फेसन आजभोलि चल्दैन, त्यसैले नयाँ डिजाइनका पोते बुन्नुपरेमा टिकटक र युट्युब हेर्ने गरेकी छु ।’

कृष्णाले पनि चुरापोते, बरमालाका सबै सामान आफैँले उत्पादन गरेर बिक्री गर्ने गरेकी छिन् । पेसाले शिक्षक रहेककी उनले घरमै पसल सञ्चालन गरेकी छन् । उनले आफूले सिकेको सीप अन्य महिलालाई पनि सिकाउने, विभिन्न पालिकामा प्रशिक्षण दिने गर्छिन् ।

‘विद्यालयबाहेकको समय सीप विकासमा खर्च गर्छु । सयौँ महिलालाई चुरापोते, बरमाला र स्वीटर बुन्न सिकाएकी छु’, उनले भनिन्, ‘अरुले उत्पादन गरेको सामान आफूले किनिदिनेसमेत गरेकी छु ।’

सामाजिक सञ्जालको प्रयोगका फाइदा-बेफाइदा दुवै छन् । सामाजिक सञ्जाल चलाउँदा नकारात्मक सामग्री हेर्ने गरियो भने मानिसलाई घाटा हुन्छ । चाहिने ज्ञान, सीपमूलक भिडियो हेरियो, त्यसलाई व्यवहारमा उतार्न सकियो भने फाइदा पाएकाहरू पनि धेरै छन् ।

टीकापुरकी अर्की व्यापारी ममता न्यौपानेले पनि बुनाइका धेरै डिजाइन युट्युब तथा टिकटकबाट सिक्ने गरेकी छिन् । फेन्सी कपडा पसल सञ्चालन गरिरहेकी ममताले पोते, माला र स्वीटर बुन्ने र बिक्री गर्ने गर्छिन् ।

‘मैले पनि नयाँ पहिरन र फेसनका स्वीटर तथा माला युट्युब र टिकटकबाट सिक्ने गरेकी छु’, उनी भन्छिन्, ‘यो मोबाइल त धेरै उपयोगी रहेछ । यसमा नभएको केही रहेनछ । यसलाई चलाउन जानेमा धेरै कुरा सिक्न पाइने रहेछ ।’

लामो समयदेखि सिलाइकटाइ व्यवसाय गरिरहनुभएकी टेलर व्यवसायी इन्द्रा चौधरीले पनि सामाजिक सञ्जालको भरपुर सदुपयोग गरेकी छिन् । उनले नयाँ फेसनका लुगा सिलाउनुपर्दा मोबाइलको सहायतामा युट्युबबाट हेरेर सिक्ने गरेकी छिन्।

‘सुरुमा ससुराले सिलाइ पसल सञ्चालन गर्नुभएकाले मैले उहाँबाटै सीप सिकेकी हुँ’, उनले भनिन्, ‘आजभोलि नयाँ फेसनका लुगा सिलाउनुपर्छ । नयाँ डिजाइनका लुगा छिट्टै फैलन्छन्’, इन्द्राले भनिन्, ‘ग्राहकले जस्तो फेसन चाहियो भन्छन्, उस्तै सिलाउन सक्छु । कसैलाई फिर्ता पठाएको छैन । मोबाइलमा हेर्छु अनि यस्तै बनाउन सक्छु ।’

हरेक प्रविधिका सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । अधिकांश मानिस मोबाइल तथा इन्टरनेटमा भुल्दा काम नलाग्ने सामग्री हेरेर भुल्न हुँदैन । मोबाइलको गलत प्रयोग गर्दा दुःख पाएका, समय बर्बाद गरेका पनि धेरै छन् ।

कुनै पनि प्रविधि वा मोबाइल चलाउँदा आफूलाई चाहिने कुरामात्र हेर्नु आवश्यक छ । शिक्षक अमर चौधरी इन्टरनेटमा मानिसलाई आवश्यक कुरा हेर्ने र सिक्ने गरेमा जीवनलाई व्यवसायी बन्न सघाउने बताउँछन् । ‘मोबाइलको गलत लत लागेका पनि धेरै छन्, यी महिलाले जस्तै मोबाइलको सही प्रयोग गर्न आवश्यक हुन्छ’, उनले भने, ‘सामाजिक सञ्जाल तथा प्रविधिको सही सदुपयोग गर्न आवश्यक छ । सही सदुपयोग गरेमा सामाजिक सञ्जालमा धेरै काम लाग्ने कुरा पनि हुन्छन् ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?