 
																			२६ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन् । वित्तीय संस्थाले सुविधा मात्र नखोजी जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र स्वनियमनमा बस्न सके अर्थतन्त्र समेत स्वस्थ प्रतिस्पर्धाको बाटोमा जाने उनको भनाइ छ ।
मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले आयोजना गरेको नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक सम्वाद कार्यक्रममा बोल्दै उनले भने, ‘आफ्नो हितका लागि मात्र संघसंस्था बनेका होइनन्, हाम्रा सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन हो भनेर संघसंस्था लाग्यो भने यसले सकरात्मक नतिजा दिन्छ ।’
वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनु पर्नेमा मन्त्री डा. महतको जोड थियो । उनले भने, ‘ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो त्यसले समस्या सिर्जना गर्छ । वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा जरुरी छ ।’
२०४६ सालपछि वित्तीय क्षेत्र व्यापक रुपमा विस्तार भएको भन्र्द उनले बैंकिङ क्षेत्रमा अहिले निजी क्षेत्रको ठूलो उपस्थिति रहेको बताए । बैंक र वित्तीय संस्थाहरुले कार्यपद्धति अन्तर्राष्ट्रियस्तर अपनाउनु पर्ने भन्दै उनले उपभोक्ताको अधिकार र सुरक्षालाई उच्च प्राथमिकतामा राख्नु पर्ने समेत बताए ।
निजी क्षेत्रका बैंक समेत निक्षेपकर्ताको सुरक्षा के हुने हो भन्ने हाहाकारको अवस्था आउँदा पनि त्यसलाई तुरुन्तै पुनर्स्थापना गर्न सफल भएको भन्दै अर्थमन्त्री महतले नेपालको वित्तीय क्षेत्रलाई नमुनाको रुपमा अगाडि बढाउन जरूरी रहेको बताए ।
मौद्रिक नीति खुकुलो गर्दा मूल्यवृद्धिमा समस्या हुन्छ कि भन्ने राष्ट्र बैंकको चिन्ता रहेको भन्दै उनले पछिल्लो सूचकांकले मौद्रिक नीति खुकुलो बनाउन सहयोग गर्ने समेत बताए ।
मूल्यवृद्धि नियन्त्रण गर्ने मात्र मौद्रिक नीतिको लक्ष्य होइन, समग्र अर्थतन्त्रको स्थायित्व र वृद्धि गराउने पनि लक्ष्य भएको बताए । अहिले नेपालमा बैंकर्स र उद्योगी एउटै व्यक्ति हुने प्रवृत्ति तर्फ बोल्दै उनले संसारमा यस्तो नहुने बताए ।
आफ्नै बैंकमा जम्मा भएको पूँजी आफ्नै उद्योगमा लगानी गर्ने परिस्थिति नेपालमा रहेको भन्दै उनले आगामी दिनमा त्यसलाई ध्यानमा राखेर लगानीको संरचनालाई परिवर्तन गर्नुपर्ने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4