+
+
विचार :

नेपाली कांग्रेसको चेहरा, चाल र चरित्र

कांग्रेस र लोकतन्त्रलाई बचाउने पालो देउवाको छ । उनको चेहरा र चरित्रबाट मात्र होइन, चालबाट पनि अब कांग्रेस सिद्धिने बाटोमा छ । कांग्रेस बचाउन पहिलो श्रीगणेशाय नमः भनेको देउवाबाट पार्टीको मुक्ति हो ।

पुरञ्जन आचार्य पुरञ्जन आचार्य
२०८० असार २६ गते १८:५४

निराशामा पनि केही कर्तव्य हुन्छ- राममनोहर लोहिया ।

नेपाली कांग्रेसको विधानलाई तकिया बनाएर मस्तसँग निदाएका सभापति शेरबहादुर देउवा ठिक एक वर्षपछि कुम्भकर्ण निद्राबाट हल्का ब्युँझिएका छन् । तन्द्रैमा उनले कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बोलाएका छन् असार २७ गतेबाट । कांग्रेस केन्द्रीय कार्य समितिमा छु भनी बिर्सिसकेकाहरू झसङ्ग भएका छन् आफ्नो पद सम्झेर ।

सभापति देउवाले बोलाएको केन्द्रीय समितिको बैठकको चर्चा परिचर्चा नेपाली समाजमा जति हुनुपर्ने हो, छैन । अन्यत्र देशहरूमा देशको सबैभन्दा ठूलो पार्टी बैठकलाई लिएर बुद्धिजीवी, संचार जगत, समर्थक र शुभेच्छुकहरूबाट बैठकलाई प्रभावित पार्ने सुझाव र सुधारका अनेकन् पक्षमा विचार–विमर्श हुने गर्छ ।

कांग्रेसको आन्तरिक जीवनमा हुने विचार–विमर्श र बैठकले देशमा केही पनि दिशानिर्देश गर्दैन भनी आम नागरिकमा सामूहिक चेतना निर्माण भएको छ । तसर्थ बैठकलाई लिएर कहींकतै स्पन्दन छैन । कांग्रेस बैठकलाई नागरिकले ‘नोटिसमा’ लिन छाडेका छन् । आम नागरिकको सामूहिक सचेत चेतनालाई बुझेर तदनुरूप सम्बोधन गर्न सक्ने नैतिक र राजनीतिक पूँजी कांग्रेस केन्द्रीय कार्य समितिबाट अलप भएकोले पार्टीमा यो अवस्था आएको सहजै अनुमान गर्न सकिन्छ ।

भारतका समाजवादीहरूको स्थिति झण्डै वर्तमान नेपाली कांग्रेसको अवस्थामा पुगेको बखत समाजवादी आन्दोलनका प्रखर बौद्धिक नेता डा. राममनोहर लोहियाले भने, ‘निराशामा पनि केही कर्तव्य हुन्छ ।’ उनले सामूहिक चेतनाको लागि भारतवासीलाई आह्वान गरेका थिए । यसरी व्यक्तिगत तवरबाट भारतको समाजवादी आन्दोलनको अवसानलाई बिर्सेर आफ्नो कर्तव्य पूरा गरेका थिए लोहियाले ।

विश्व इतिहासमा कहाँ, कैले, कसरी कुन पार्टीको उत्थान र पतन भयो भन्ने सरोकारबाट यो लेख अगाडि बढाउन म चाहन्नँ । पार्टी राजनीतिका जानकारहरूले कांग्रेस अब ‘कोमिन्ताङ पार्टी’ हुन्छ भन्न थालेको पनि धेरै भएकोले त्यो विषय पनि बासी भइसक्यो । कांग्रेस न निकट भविष्यमा कोमिन्ताङ हुन्छ, न दश वर्षदेखि एकछत्र राज गरेको छिमेकी देश भारतको भारतीय जनता पार्टी (भाजपा) जस्तो नै हुने कुनै लक्षण छ । तर पनि राजनीतिक शिक्षा नेपाली कांग्रेसले भारतको राजनीतिक पार्टीहरूबाटै लिन सक्दा व्यावहारिक हुने देखिन्छ । अब शिक्षा पतन भइरहेको भारतीय राष्ट्रिय कांग्रेसबाट लिने कि भाजपाबाट भन्ने प्रश्न छ ।

कांग्रेस रूपान्तरणको खाँचो औंल्याउँदै केन्द्रीय कार्य समितिको बैठकपूर्व पार्टीका केही युवा र पाका नेताहरू राजनीतिक अभियान नै प्रारम्भ गरेर सातै प्रदेशमा पुगेका छन् । महामन्त्रीद्वयका अभिव्यक्तिहरूबाट पनि पार्टी यथास्थितिमा चल्न नसक्ने निष्कर्षमा पुगेको भान हुन्छ ।

अब प्रश्न उठ्छ, पार्टी नयाँ बनाउने वा रूपान्तरण गर्ने अभियानको बाटो के हो ? सरकारमा जाने बाटो हो कि जनतामा जाने बाटो हो कि वा आफैंभित्र पहिले रूपान्तरण गर्न लाग्ने हो ?

प्रधानमन्त्रीको पदमा बसेर देश रूपान्तरणको लागि गर्न सक्ने अनेकन् अवसर हुन्छन् । यो सजिलो र ‘ग्ल्यामरस’ बाटो हो । तर हेक्का राख्नुपर्छ कुन टिमले सत्तामा बसेर रूपान्तरण गर्ने ? कसको अनुहारमा विश्वास गर्ने नेपाली जनताले ? बीपी कोइरालाले पाँच दशक अगाडि जनमत संग्रहमा बहुदलले हारेपछि लामो सुस्केरा लिएर प्रश्न गर्नुभएको थियो, ‘हामीले जितेको भए पनि देश चलाउने समूह हामीसँग खोइ ?’

कांग्रेसका युवा र रूपान्तरणकारीहरूले वर्तमान सभापतिको चेहरा र चरित्रको बारे अनेकन् खोट देखाउन सक्छन्, खोट छ पनि । देउवासँग राजनीतिक इच्छाशक्ति मात्र नभएको होइन देश चलाउने नैतिक शक्ति पनि समाप्त भएको छ । तर फरक को छ, फरक कहाँ छ त ? कांग्रेसमा घोत्लिनुपर्ने हुन्छ ।

देउवाको विकल्प खोज्नेहरूले एकपटक कांग्रेस संगठन र आफूभित्र कुन राजनीतिक सांस्कृतिक भावधारा बगिरहेको छ भनी आत्मचिन्तन गर्ने कि आत्ममुग्धतामा बस्ने ? नवसामन्तवादी सोच र व्यवहार कांग्रेसका अधिकांश युवा नेताहरूमा त्यत्ति नै छ जति अझै पनि राजधानीमा चारैतिर ठूल्ठूला पर्खालभित्र बसेका राणा, शाह र सामन्तहरूको परिवारमा विद्यमान छ ।

कांग्रेस पार्टीको आन्तरिक जीवनमा हलचल, छट्पटी र परिवर्तनको हुटहुटी सतहमा देखिन्छ । युवा नेताहरूमा मात्र होइन जिल्ला र गाउँको नेतृत्वपंक्तिमा पनि कांग्रेसको विकल्प घण्टी आयो भनी तनाव मात्र छैन रुवावासी नै छ । तर पनि तिनै युवाहरूबाट गम्भीर चिन्तन, मन्थन र भविष्यको मार्गबारे अत्यन्तै सतही र कन्फ्युज विचारहरू निःसृत भइरहँदा प्रश्न उठछ– के देश, समाज र पार्टी यसरी रूपान्तरण हुन्छ ? के नयाँ कांग्रेस यसरी बन्छ ? केही उदाहरण राखौं ।

चुनौती गुरु घिमिरेलाई मात्र छैन, फरक हुनुपर्ने र संगठन र नागरिकले स्वीकार्नुपर्ने चुनौती महामन्त्रीद्वय विश्वप्रकाश र गगनलाई पनि छ ।

भाजपाले केही वर्षअघि गान्धी नेहरू परिवारबाट पार्टी युवा महामन्त्रीमा बरुण गान्धीलाई अगाडि ल्यायो । उनले तीनपटक संसदको चुनाव जिते । अहिले पनि संसदमै छन् । तर महामन्त्री भएपछि उनको धुन उत्तरप्रदेशको मुख्यमन्त्री बन्नमा तल्लीन रह्यो । उनी चौबिसै घण्टा त्यही तिकडममा लागे । तर मुख्यमन्त्री सम्भव भएन । अहिले पार्टीले उनलाई टिकट पनि नदिने सोच बनाएको छ । उनी राजनीतिमा सबै गुमाउँदैछन् ।

तीन दशक अगाडि भाजपाको केन्द्रीय महामन्त्रीमा थिए– के. एन. गोविन्दाचार्य । यी राष्ट्रिय स्वाभिमान आन्दोलनका संस्थापक पनि थिए । उनमा भारतीय जनता पार्टीलाई एकनम्बरको पार्टी बनाउने हुटहुटी थियो । प्रधानमन्त्री हुने लोभ र लालसाबाट यी कोसौं टाढा थिए । उनले भने, ‘मेरो पार्टी १५ वर्षपछि मात्र भारतको एकनम्बर पार्टी हुनेछ ।’ त्यसको लागि उनले पार्टीको ‘चेहरा, चरित्र र चाल’ परिवर्तन गर्ने प्रस्ताव अगाडि सारे । सम्पूर्ण पार्टी गतिविधि तलदेखि माथिसम्म यही मन्त्रको आसपास सञ्चालन गर्ने अभियान सुरु भयो ।

१५ वर्षमा गोविन्दाचार्यले भने जस्तो पार्टी बहुमतमा पुगेन, तर सत्ताको नेतृत्वमा पुग्यो । उनले निर्माण गरेको जगबाट लाखौं आकर्षक चेहरा, सफा चरित्र र समयसापेक्ष चाल भएका कार्यकर्ताहरू निर्माण भए । पुराना नेता र कार्यकर्ताको चाल परिवर्तन भयो र ती सम्पूर्ण ऊर्जा खर्चेर पार्टी संगठनमा सक्रिय भए । नसक्ने पार्टी छोडेर गए । २५ वर्षमा भारतीय जनता पार्टी संसारकै सबैभन्दा ठूलो संगठित राजनीतिक दल बन्यो । यो पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतमा एकछत्र राज्य गरेको १० वर्ष भयो ।

गोविन्दाचार्य अहिले पनि सक्रिय छन्, तर सत्ताको आसपास कहीं देखिंदैनन् । उनले आफ्नो भूमिका निभाए र हिंडे । उनी भन्थे, ‘जनता, पार्टी र राष्ट्रको भक्त भएपछि नेताको भक्त हुनुपर्दैन ।’ नेपाली कांग्रेसमा त हिजोआज नेताभक्त होइन, नेताको दास नै बनाउने परिपाटी छ ।

जतिखेर भारतीय जनता पार्टीलाई आमूल परिवर्तन गर्न भनी गोविन्दाचार्यले कम्मर कसे, त्यतिखेर धेरै कमले मात्र वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको नाम सुनेका थिए । दिल्लीमा गजक्क परेर पार्टी कब्जा गरेर बसेका बुढा र अल्छी नेताहरू यही प्रकरणमा फालिए ।

भाजपामाथि वैचारिक तहबाट हावी ‘संघ परिवार’ भनिने राष्ट्रिय स्वयंसेवक संघलाई व्यापक परिचालन गरियो । त्यही संघ परिवारबाटै गोविन्दाचार्य प्रचारक थिए । संघका प्रचारक सरल, त्यागी र समर्पित मात्र होइन बेदाग हुन्थे । उनीसँग ग्रासरुटमा संगठन गरेको अनुभव थियो । उनले चेहरा भन्दा पनि चरित्रमा जोड दिए । कैयन् आकर्षक चेहराहरूको चारित्रिक अवगुणलाई केलाएर तिनले पार्टीमा प्रवेश निषेध गराउन सफल भए । भारतीय जनता पार्टी र यसका नेता अन्य दलभन्दा फरक देखिन थाले ।

कांग्रेसका केन्द्रीय नेताहरूमा पार्टीको ग्रासरुटमा संगठन गरेर नेता बनेका कोही छैनन् । विद्यार्थी राजनीतिबाट नेतृत्वमा पुगेकाहरू अहिले सर्वत्र असफल देखिनुको कारण नै यही हो । देउवादेखि एनपी साउदसम्मको ट्रयाक हेरौं, किन यिनले देशलाई सही नेतृत्व दिन सकेनन् ?

तसर्थ, चुनौती गुरु घिमिरेलाई मात्र छैन, फरक हुनुपर्ने र संगठन र नागरिकले स्वीकार्नुपर्ने चुनौती महामन्त्रीद्वय विश्वप्रकाश र गगनलाई पनि छ ।

भारतीय राजनीतिमा असल चरित्रको परिभाषा गोविन्दाचार्यले गरे । तसर्थ चरित्रलाई जनताको चेहरा बनाउन भाजपा सफल भयो । चरित्र र चेहरालाई ‘रि–ब्राण्डिङ’ गरेर करोडौं भारतीयसमक्ष प्रस्तुत गर्दा नयाँ बीजेपी पार्टीको मात्र उदय भएन, नयाँ र शक्तिशाली भारतको पनि उदय भयो । भारत स्वतन्त्र भएदेखि एकछत्र राज गर्न सफल भारतीय राष्ट्रिय कंग्रेसको अवस्था संसदमा न्यूनतम १० प्रतिशत सिट पनि ल्याउन नसक्ने गरी खस्कियो ।

भारतीय प्रधानमन्त्री मोदीको ठूलो परिवार गुजरातबाट निस्केर दिल्ली आएन । मोदी प्रम भएकै कारण उनका परिवारले कुनै राजनीतिक र आर्थिक फाइदा लिन असम्भव भयो । अहिले पनि उनका भाइ भतिजाहरू कोही साइकल पञ्चर बनाउँछन्, कोही कवाडी उठाउँछन् त कोही सामान्य शिक्षकको जीवन बिताउँछन् । यसबाट जनताको नजरमा मोदीको चेहरा साफ छ । उनी परिवारवादको मायाजालबाट मुक्त भएर भाषणमा सधैं भन्न सक्छन्, ‘म १ अर्ब ४० करोड भारतीयको अभिभावक हुँ ।’ दश वर्ष झण्डै निरन्तर शासन गर्दा पनि उनको चरित्र बेदाग छ, उनी पार्टीको भोट बटुल्ने मेसिन भएका छन् ।

माथिको मोदी सन्दर्भलाई जोडेर नेपालमा घटेका भुटानी शरणार्थी, ललितानिवास प्रकरण र संसदमा समानुपातिकबाट प्रवेश गरेका नाता सम्बन्धले पाएको प्राथमिकता हेरौं । लज्जाबोध हुँदैन ? त्यहाँ राष्ट्रिय रूपमा भ्रष्टाचारको नेटवर्क भेटिन्छ, संसदमा परिवारै भेटिन्छन् । सरकार सञ्चालनमा सन्तान समेतलाई भ्रष्टाचारको प्रशिक्षण सिकाइरहेको पाइन्छ ।

विगत दश वर्षको भाजपाको स्वर्णिम कालमा पछिल्लो दुई वर्षमा केही ग्रहण लाग्न थालेको छ । यो ग्रहण किन र कहाँबाट सुरु भयो भनी नेपाली कांग्रेसले पार्टी बैठकमा जान्न जरूरी छ ।

यही कारण हो– नेपालको राष्ट्रिय चरित्र नेताहरूकै कारण ‘भ्रष्ट’ छ र यसलाई केन्द्रमा राखेर २७ गतेबाट सुरु हुने केन्द्रीय कार्य समितिले बहसको मूल मुद्दा बनाउनुपर्छ । पार्टीको आन्तरिक जीवनमा देखिएको विलासितायुक्त जीवनशैलीको निष्पक्ष र स्वतन्त्र निकायबाट अनुसन्धान गर्ने आयोग गठन गर्नुपर्छ ।

भारतीय युवाहरूले पैसा र पद विदेशमा पाए पनि आफ्नै देश नबनाई आत्मसम्मान र स्वाभिमानी व्यक्ति हुन सम्भव छैन भनी बुझे । चीनमा पनि तीन दशक अगाडि त्यही भएको थियो । युवाहरू हतास, निराश र कहिल्यै यो भारत देश समृद्धिको यात्रामा अगाडि बढ्दैन भन्ने सोच बदल्दैछन् । राजनीति सुध्रिएमा नेपाललाई पनि त्यो अवस्थामा ल्याउन सकिन्छ ।

प्रविधिसँग पार्टीको सांगठनिक ढाँचा जोडिएपछि भाजपाको चाल नै फरक भयो । संगठन भित्र संवाद, सम्पर्क र निर्णय प्रक्रिया फटाफट हुनथाल्यो । देशभरि मात्र होइन, विदेशमा पनि एउटै आवाज गुञ्जियो । स्थानीय र प्रदेशमा भएको सरकारको कामकारबाहीको पार्टीले अनुगमन मात्र गरेन, त्यही आधारमा कार्यकर्ताको राजनीतिमा मूल्यांकनको परिपाटी सुरु भयो । स्थानीयस्तरमा नेतृत्व विकासको क्रम ‘मेरिट’ बाट अगाडि बढ्न थाल्यो ।

भर्खरै सम्पन्न अमेरिका भ्रमणमा मोदीले पाएको उचाइ नयाँ भारत र नयाँ पार्टीको उदयको कारण सम्भव भएको भनी विश्वले बुझ्यो । नेपालका प्रम पुष्पकमल दाहालले भारतीय प्रम मोदीसँगको भेटघाटलाई ऐतिहासिक र गौरवशाली भनी रमाइरहेको बेला एक जना भारतीय व्यापारीले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनी सार्वजनिक अभिव्यक्ति दिएर संविधान, सार्वभौमसत्ता र आम नागरिककै हुर्मत लिने गरी भाषण ठोके । अन्ततः संसदको रोष्ट्रममा उभिएर अपराधी झैं आत्मालोचना गर्नुपर्ने अवस्थामा उनी पुगे । झुकेको काँध, खुम्चेको छाती, गुमेको शान र गुलाम दिमागले नेपालमा नेतृत्व दिन सक्तैन । अहिलेको गठबन्धनका नेताहरूमा यस्ता चारित्रिक विशेषता बग्रेल्ती भेटिन्छन् ।

उच्च आदर्श, नैतिक शक्ति, भारतीय हुनुको गौरव र सत्तासँगको निस्पृहताले आज नरेन्द्र मोदी मात्र होइन यो पार्टीको एउटा ठूलो नेतृत्वपंक्ति स्थानीय तहदेखि जिल्ला, राज्य हुँदै केन्द्रसम्म निर्माण भएको छ । कांग्रेसमा भने राजनीतिक नेतृत्वको अकाल छ, खडेरी छ ।

विगत दश वर्षको भाजपाको स्वर्णिम कालमा पछिल्लो दुई वर्षमा केही ग्रहण लाग्न थालेको छ । यो ग्रहण किन र कहाँबाट सुरु भयो भनी नेपाली कांग्रेसले पार्टी बैठकमा जान्न जरूरी छ ।

तीन वर्ष अगाडि जगतप्रकाश नड्डा भाजपा पार्टी अध्यक्ष भए । पार्टी बैठकहरू नड्डाको निवासमा हुनथाल्यो । पार्टीका अन्य नेताले पनि अध्यक्षको नक्कल गर्न थाले । नेताको घर धाउने चाकरीबाजले गर्दा नेतालाई चाकरी मन पर्न थाल्यो । पार्टीबाट चाकरीबाजहरू पुरस्कृत हुनथाले । अध्यक्ष चाटुकारबाट घेरिएर त्यसैलाई अन्तिम सत्य ठान्न थाले । पार्टी नेता र सच्चा कार्यकर्ता बीच चाटुकार आए ।

भाजपाले भर्खरै विधानसभाको दुई महत्वपूर्ण राज्यमा चुनाव हार्‍यो । अध्यक्ष नड्डाको राज्य हिमाञ्चलमै पार्टी हार्‍यो । पार्टीको शृंखलाबद्ध आकस्मिक बैठकहरू बसे, बसिरहेकै छन् । पार्टीमा आमूल परिवर्तनको प्रक्रिया सुरु भयो । अध्यक्षले हारको उचित जवाफ दिन नसकेर पदीय जिम्मेवारीबाट मुक्त गरिने चर्चा यतिखेर छ । तुरुन्तै भाजपा कार्य समिति एक्सनमा आयो । नेपाली कांग्रेसमा समीक्षा बैठक बस्नै वर्ष दिन लागेको छ । एजेन्डा बासी मात्र होइन डुङडुङ गन्हाएको छ । एक वर्ष अगाडि गर्नुपर्ने समीक्षा अहिले हुँदैछ । यो चालले २१औं शताब्दीमा पार्टी चल्न असम्भव छ, सोच ।

अन्त्यमा, पार्टी सभापति देउवालाई कांग्रेस पार्टी र यसका कार्यकर्ताहरूले सिंहासनमा बसाए । अब कांग्रेस र लोकतन्त्रलाई बचाउने पालो देउवाको छ । उनको चेहरा र चरित्रबाट मात्र होइन, चालबाट पनि अब कांग्रेस सिद्धिने बाटोमा छ । कांग्रेस बचाउन पहिलो श्रीगणेशाय नमः भनेको देउवाबाट पार्टीको मुक्ति हो ।

लेखकको बारेमा
पुरञ्जन आचार्य

बरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेपाली कांग्रेससँग वैचारिक निकटता राख्ने बुद्धिजीवी हुन् ।आचार्यले अनलाइनखबरमा विशेष गरी कांग्रेसको आन्तरिक राजनीति र यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावबारे विश्लेषणात्मक रूपमा कलम चलाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?