+
+

मुद्दा जितेपछि साम्राज्ञी भन्छिन्- अब शान्तिको सास फेर्छु, जियाले पोखिन् टिकटकमा गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १२:४७

काठमाडौं । अन्ततः अभिनेत्री साम्राज्ञी शाहले भुवन केसीसँगको तीन वर्ष लामो ‘बेइज्जती’को मुद्दा जितिन् । काठमाडौं जिल्ला अदालतले साम्राज्ञीलाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा ‘दाबी नपुग्ने’ फैसला गरेको छ । जिल्ला अदालतको फैसलालगत्तै सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै साम्राज्ञीले ‘अब शान्तिको सास फेर्न सक्ने’ प्रतिक्रिया दिएकी छन् ।

सत्यको जित भएको र पहिलेजस्तै अब आफू सुनिश्चित ढंगले काममा अघि बढ्ने साम्राज्ञीले बताएकी छन् । उनले आफूलाई कानुनी लडाइँमा साथ दिने कानुन व्यवसायीलाई समेत धन्यवाद दिएकी छन् । ‘हामीले अन्ततः यो लडाइँ जितेका छौं । अब म शान्तिको सास फेर्न सक्छु र जीवनमा फेरि अघि बढ्न सक्छु,’ उनले भनेकी छन् ।

आफूविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्तिको दाबी गर्ने व्यक्तिले शक्ति र पहुँचको दुरुपयोग गर्दै बुलिङ गरेको साम्राज्ञीको आरोप छ । उनले यसो भनिरहँदा भुवनको नाम चाहिं लिइनन् । उनले नेपाली फिल्म उद्योगमा उदाउँदै गरेका कलाकार र महिलालाई आफ्नो आवाज दबाउन नदिन आग्रह समेत गरेकी छन् ।

बुधबार अदालतमा भएको सुनुवाइ मुख्यतः नाम उल्लेख भएको वा नभएको कुरामा केन्द्रित थियो । मुद्दाका प्रतिवादीतर्फका कानुन व्यवसायीले साम्राज्ञीले कसैको नाम नलिएको र समग्र चलचित्र क्षेत्रको प्रवृत्तिलाई उजागर गरेको दाबी गरेका थिए भने वादीतर्फका कानुन व्यवसायीले साम्राज्ञीको आशय भुवनतर्फ लक्षित रहेको जिकिर गरेका थिए । तीन वर्षअघि साम्राज्ञीले आफूले गरेका आठ फिल्ममध्ये तीन ब्यानरका फिल्मबाट शोषण र दुर्व्यवहार भएको बताएकी थिइन् ।

टिकटक लाइभमा जियाको गुनासो : भुवनलाई गालीगलौज गर्नु दुःखद

अदालतले फैसला सुनाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले साम्राज्ञीप्रति सहानुभूति र भुवनप्रति आलोचना वर्षाएका छन् । यस्तोमा भुवनकी प्रेमिका जिया केसीले बुधबार राति टिकटकमा आउँदै दुःख व्यक्त गरेकी थिइन् । भुवनप्रति लक्षित गर्दै उनले ४० वर्षदेखि फिल्म इन्डष्ट्रीमा काम गरेको व्यक्तिविरुद्ध यति धेरै गालीगलौज भएको देख्दा दुःख लागेको बताएकी थिइन् ।

टिकटक लाइभमा जियाले भनिन्, ‘ भुवन केसीजीले केही पनि भन्नुभएको छैन । केही पनि गर्नुभएको छैन । केही पनि नगर्दा यति धेरै गालीगलौज खानु परेको छ । आज उहाँले गाली खानुको कारण म नै हुँ । किनकि ड्रिम्स फिल्मकी नायिकालाई मेरै कारणले उहाँहरुले फिल्ममा लिनुभएको हो ।’

उनले अगाडि भनिन्, ‘उहाँ (साम्राज्ञी)ले बोल्दा भुवन केसीलाई केही पनि भनेको छैन भन्नुहुन्छ । तर मेरो पहिलो फिल्मको निर्देशक भन्नुहुन्छ । यी सबै कुरा सहन नसकेर भुवन केसीले अदालतमा मुद्दा हाल्नुभएको थियो । आज मेरै कारणले भुवन केसीले गाली खाइरहनुभएको छ । यसले मलाई एकदमै दुःखी बनाएको छ ।’

साम्राज्ञीलाई जियाको प्रश्न छ, ‘उहाँले के भन्न खोजेको हो ? के गर्न खोजेको हो ? मलाई एकदमै दुःख लागेको छ ।’ भुवनले चार दशकदेखि नेपाली फिल्म क्षेत्रमा दिएको योगदानलाई मानिसले बिर्सिएको आरोप पनि जियाले टिकटक लाइभमा लगाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?