+
+

कानुन निर्माणमा भद्दा मजाक : विधेयक एउटा, छलफल अर्कै

बिहीबार राष्ट्रियसभामा विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरे । यसले विधायकहरु पढ्दै नपढी र कुरै नबुझी बोल्छन् भन्ने देखाउँछ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० असार २८ गते २१:२५
राष्ट्रियसभा सदस्यहरु बायाँबाट क्रमश: भगवती न्यौपाने, तुलसा दाहाल, जितेन्द्रनारायण देव, विमला घिमिरे र मन्त्री रमेश रिजाल (दायाँ) ।

२७ असार, काठमाडौं । बिहीबार राष्ट्रिय सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे ।

विचार गरियोस् भन्ने प्रस्तावमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुन्छ । छलफलमा सबैभन्दा पहिले बोलिन् नेकपा एमालेकी सांसद भगवती न्यौपाने । गण्डकी प्रदेशबाट निर्वाचित न्यौपानेले ‘सम्माननीय अध्यक्षज्यू वास्तवमा विद्युत व्यापार गर्ने सन्दर्भमा …’ भन्दै आफ्नो धारणा राख्न सुरु गरिन् । जबकि यो विधेयक सूचनाप्रविधिको माध्यमबाट हुने वस्तु तथा सेवाको कारोबार अर्थात् अनलाइन माध्यमबाट हुने व्यापारको नियमन गर्न ल्याइएको हो, जुन कुरा विधेयकको पहिलो पृष्ठमा हुने प्रस्तावनामै उल्लेख छ ।

पढ्नुहोस् सांसद न्यौपानेको भनाइ :

‘सम्माननीय अध्यक्षज्यू वास्तवमा विद्युत व्यापार गर्ने सन्दर्भमा व्यापार गर्न हुन्न त म भन्दिनँ । तर, हामीले हाम्रो देशमा पर्याप्त विद्युत खपत गर्नुपर्ने आवश्यकता छ । त्यसप्रति हामी गम्भीर छौं कि छैनौं ? सरकार गम्भीर छ कि छैन ? भन्ने विषयमा… वास्तवमा सरकार गम्भीर छैन ।

हाम्रो देशमा उद्योगधन्दा कलकारखानाहरुलाई विद्युत चाहिएको छ । उद्योग धन्दा कलकारखानाहरुले देशको जीडीपीलाई महत्वपूर्ण योगदान गर्छ । त्यस्तै गरेर रोजगारको अवस्था सिर्जना गर्छ । …हाम्रो देशमा कच्चा पदार्थ छ, पर्याप्त उद्योगधन्दा कलकारखानाहरु सिर्जना गर्ने, यहीं स्थापना गर्ने विषयमा त्यसका निम्ति आवश्यक पर्ने विद्युत हामीले उत्पादन गरेर.. यो विद्युत हामीलाई आवश्यक छ ।

त्यस्तै गरेर विद्युतबाट यातायातका साधनहरु संचालन गर्ने सन्दर्भमा पनि हामीले त्यसो गर्न सक्यौं भने वास्तवमा पेट्रोलियम पदार्थहरु आयात गर्ने कुराहरुलाई नियन्त्रण गर्न सक्छौं । त्यसो गर्दा हाम्रो देशमा आर्थिक अवस्था र अर्थतन्त्रलाई पनि मजबुत बनाउन सक्छौं ।

हाम्रो घरमा प्रयोग गर्ने विद्युतहरु पर्याप्त मात्रामा खपत गर्न सक्यौं भने हामीले ग्यासलाई आयात गर्ने कुरालाई पनि धेरै हदसम्म नियन्त्रण गर्न सक्छौं । त्यसैले गर्दा विद्युत हामीलाई धेरै आवश्यकता परेको छ । र मैले बारम्बार भनिराखेको छु – हामीले आफैंले पनि उत्पादन गर्न सक्ने विद्युत समेतलाई पनि सरकारले ध्यान दिएको छैन र ती विदेशी कम्पनीहरुलाई बुझाउने काम गरेको छ । त्यसका निम्ति हामी राम्रोसँग होमवर्क गर्दैनौं, राम्रोसँग छलफल गर्दैनौं, राम्रोसँग बहस गर्दैनौं त्यो विषयमा सरकारको ध्यान जान जरुरी छ । रन अफ द रिभर आयोजनाहरु हामीले आफैंले सञ्चालन गर्न सक्छौं ।

त्यसैले हाम्रो देशमा पर्याप्त विद्युत खपत गर्ने योजनाको विषयमा सरकारको ध्यान जाओस् र अनि मात्रै व्यापारको निम्ति हामीले सोच्न सक्छौं ।’

पहिलो वक्ताले जे गल्ती गरिन् त्यसपछि बोल्ने प्रत्येक सांसदले त्यही गरे । विधेयकको कपी बोकेर प्रस्तावना समेत नपल्टाई सत्तापक्षका सांसदले समर्थन गरे, प्रतिपक्षीले आलोचना । तर न सत्तापक्षको समर्थनको विषय मिलेको थियो न प्रतिपक्षले गरेको आलोचना । यस्तो छेउ न टुप्पोको छलफल राष्ट्रिय सभामा १२ मिनेट २७ सेकेण्डसम्म चल्यो ।

एमाले सांसद न्यौपानेपछि एमालेकै तुलसाकुमारी दाहालले बोलिन् । मधेश प्रदेशबाट निर्वाचित उनले विधेयकको कपी हेर्दै धारणा राख्न सुरु गरिन्, ‘विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ….।’ उनले आफ्नो लिखित धारणा राखेकी थिइन् ।

पढ्नुहोस् सांसद तुलसा दाहालको भनाइ :

विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक पक्षको छलफलमा छौं हामी । यो विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको हो । यो विधेयक ऐन बनेपछि नेपाल सरकारलाई आर्थिक दायित्व पर्ने देखिन्छ । विद्युत ब्यापारको नेपालमा वस्तु र सेवा उपलब्ध गराउने कुरा छ ।

प्रत्यायोजित विधायनको हिसाबले हेर्दा अरु विधेयक भन्दा यसमा सकारात्मक कुरा देखिन्छ । तर कुन दफा, कुन उपदफामा निर्देशिका बनाउने हो भन्ने कुरा उल्लेख गरिनुपर्छ । निर्देशिका मात्रै बन्ने हो कि नियमावली, कार्यविधि, मापदण्ड पनि बन्ने भन्ने कुरो विधेयकमा नै स्पष्ट भएर जानु आवश्यक छ ।

यसैगरी यो ऐन प्रमाणीकरण भएको ३१ औं दिनपछि लागू हुनेछ भनिएको छ । नियमावली पनि साथै ल्याउने व्यवस्था गरिनुपर्छ या कति समयमा नियमावली ल्याउने हो भन्ने कुरो तोकिनुपर्दछ । ठाउँ ठाउँमा प्रचलित संघीय कानुन बमोजिम हुने भनिएको छ । यसमा स्पष्ट पारिनु आवश्यक छ । प्रचलित कुन कुन कानुन आर्कर्षित हुन्छन् भन्ने विषय विधेयकमा नै उल्लेख गरेर जाँदा राम्रो हुन्छ ।

बिक्री गरेको कुनै पनि वस्तु वा सेवाको आधिकारिताको सम्बन्धमा घोषित वा अघोषित कुनै प्रतिवद्धता जनाइएकोमा सो सम्बन्धमा कुनै प्रश्न उठी दायित्व ब्यहोर्नुपर्ने भएमा त्यस्तो दायित्व व्यहोर्नुपर्ने कसले भन्ने कुरो अस्पष्टता रहेको छ । महानिर्देशक र निरीक्षकको अनुसन्धान गर्ने, जरिवाना गर्ने, मुद्दा चलाउने जिम्मेवारी सम्बन्धमा अस्पष्टता रहेको छ । यसमा स्पष्ट पार्नुपर्ने देखिन्छ ।

व्यक्तिले जरिवाना, मुद्दा चलाउँदा व्यक्तिको मनसायमा भर पर्न पर्दछ । त्यसैले संस्था, संरचना, न्यायालयलाई नै तोक्दा राम्रो हुन्छ । निर्देशिका, मापदण्ड, कार्यविधि कुन कुन दफामा बनाउने भन्ने कुरो पनि यकिन गरेर जानुपर्छ । आवश्यकता अनुसार बनाउने भन्ने कुरो राखेर जाने भन्ने यो शब्दावली ठीक हुँदैन ।

विद्युत व्यापार तथा वितरणलाई नियमन गर्न बनेको यो विधेयक समय सापेक्षता भएपनि विधायन समितिमा लगेर छलफल गरेर यसलाई परिमार्जन गर्दा, बलियो बनाउँदा राम्रो हुन्छ ।

दाहालले भने यो विधेयक पढेको बुझिन्छ । तर विद्युतीय व्यापारलाई उनले विद्युत व्यापार उच्चारण गरिन् । सायद आफूभन्दा अगाडि बोल्ने सांसद न्यौपानेले विद्युत व्यापार भनेकाले उनले पनि विद्युत व्यापार नै भनेकी थिइन् ।

विधेयकमा अनलाइन व्यापार गर्नका लागि अनुमति लिनुपर्ने, त्यसपछि उत्पादक र उपभोक्ताको बीचमा रहने पक्षले उत्पादकसँग पनि सम्झौता गर्नुपर्ने उल्लेख छ । केही गरी वस्तु तथा सेवाको आधिकारितामा प्रश्न उठे दायित्व उत्पादकमाथि आइपर्ने उल्लेख छ । यो व्यवस्था प्रष्ट नभएको भन्दै दाहालले संशोधनको आवश्यकता औंल्याइन् ।

त्यसपछि बोलेका कांग्रेस सांसद जितेन्द्रनारायण देवले पनि विद्युत व्यापारकै विषयमा बोले । मधेश प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित देव २०३० सालदेखि नै राजनीतिमा छन् र २०७० सालमा संविधान सभा सदस्यसमेत भएका थिए ।

कांग्रेस सांसद देवले पनि के विधेयक आएको छ बुझ्दै नबुझी धारणा राखे । पटक–पटक नेपाल सरकारलाई धन्यवाद दिए ।

पढ्नुहोस् सांसद जितेन्द्रनारायण देवको भनाइ :

म नेपाल सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । अत्यन्त आवश्यक, अहिले राष्ट्रलाई चाहिने विधेयक यो सदनमा लिएर आएको छ । यो त अगाडि नै आएको भए अझ राम्रो हुन्थ्यो । तथापि, ढिलो भइसकेको छैन । अत्यन्त व्यवस्थित ढंगले यो विधेयक आएको छ । मलाई लाग्छ नेपाल सरकारलाई धेरै टीका टिप्पणी गर्नुपर्ने ठाउँ छैन । अझ धन्यवाद नै दिनुपर्ने ठाउँ छ ।

किनभने नेपाल सरकारले यो कुराको निरुपण, यो निष्कर्ष निकाल्यो नेपालभित्र जे विद्युत हाम्रो उत्पादनको अवस्था छ । त्यो उत्पादनलाई अहिलेको हालको अवस्थामा जतिसुकै कन्जम्सन बढाउने, कन्जम्सनलाई जति तन्काउने स्थिति छ । त्यो जति तन्काए पनि, म्याक्सिमम तन्काए पनि त्यो भन्दा सरप्लस उत्पादन हामीसँग रहन्छ । त्यसकारण जुन सरप्लस ऊर्जा उत्पादन विद्युत नेपालसँग रहन्छ त्यसलाई के गर्ने भन्दाखेरि त्यसलाई बेच्ने । त्यसलाई व्यापार गर्ने ।

त्यसबाट पैसा कमाउने भन्ने एउटा दूरगामी दृष्टिकोण राखेर नेपाल सरकारले अहिलेको बजेटमा विद्युतलाई, ऊर्जालाई निर्यातको एउटा महत्वपूर्ण वस्तुको रुपमा लिइनेछ भन्ने नीति ल्यायो । त्यसकारणले यो अत्यन्त सह्रानीय छ ।

अहिलेको लागि म धन्यवाद दिन चाहन्छु, नेपाल सरकारलाई, उर्जा मन्त्रालयलाई, नेपाल विद्युत प्राधिकरणलाई र संगसँगै निजी क्षेत्रलाई पनि । कि अहिलेसम्मको अवस्थामा भारतबाट, मतलब क्रेताहरुसँग जति पनि हाम्रा कुराकानीहरु भइराखेका छन्, विद्युतको महसुल निर्धारण गर्ने लगायतका विषयहरुमा ।

नेपाल विद्युत प्राधिकरण लगायतका हाम्रा जिम्मेवार संस्थाहरुले अत्यन्त इफिसेन्टली त्यो कुराहरुलाई ह्याण्डिल गरेको छ । मैले यो विषयलाई अनुगमन गरिराखेको छु । त्यसकारणले अहिलेको लागि त ठीकै छ । विद्युत बेच्ने ठूलो बजार, सिद्धान्तमा नजाऔं, एउटा आग्रह र उसमा नजाऔं तर प्राक्टिकल्ली हेर्ने हो भने हाम्रो बजार भारत नै हो ।

भारतपछि अहिले हामीले बंगलादेशलाई टार्गेट गरिराखेको छौं । अत्यन्त सही दिशामा हामी गइराखेका छौं । तर, हाम्रो सन्दर्भमा हाम्रो बजार जति बढाउन सक्यो त्यति बढी हामी कमाउन सक्छौं । दीर्घकालीन रुपमा बजारको विविधकरणको सन्दर्भमा पनि निजी क्षेत्रलाई समेत निजी क्षेत्रको सहयोग लिएर बजारको विविधीकरणमा पनि नेपाल सरकारले ध्यान दिनेछ ।

ती कुराहरु यो विधेयकमा आएको होला, आएको हुनुपर्छ । नआएको भए छलफल गरेर समावेश गरिन्छ । जे भए पनि बडो आवश्यक विधेयक नेपाल सरकारले ल्याएको छ । यसका लागि नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु ।

कांग्रेस सांसद देवपछि पालो आयो एमालेकी सांसद विमला घिमिरेको । लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्य उनले पनि विद्युत व्यापारकै विषयमा बोलिन् ।

पढ्नुहोस् सांसद विमला घिमिरेको जवाफ :

विद्युत व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिद बिक्री बढ्दो छ । यसलाई नियमन गर्न अत्यन्तै जरुरी थियो र यो विधेयक दर्ता भएको छ । यसलाई थप व्यवस्थित बनाउन जरुरी छ ।

यसमा विद्युत व्यापारका माध्यमबाट मुलुकमा रोजगारी सिर्जना हुने गरी हामीले विद्युत व्यापारलाई सहज र सबैले पहुँच राख्न सक्ने गरी ऐन बनाइनुपर्छ । जसले गर्दा नेपालमा उत्पादन भएको विद्युतलाई नेपालभित्रै धेरै खपत गर्न सकौं ।

त्यसलाई नेपालभित्रै खपत गर्ने कुरामा पहिलो प्राथमिकता दिएर नेपाल सरकारले अन्य नीति र विधिहरुलाई पनि परिमार्जन गर्दै लिएर जाने र ती विद्युतबाट थुप्रै खालका रोजगारी सिर्जना हुन सक्ने सम्भावना भएको हुनाले यो ऐनलाई अझै दफावार छलफल गर्दा, विधायन समितिमा छलफल गर्दा अझै यो समृद्ध हुनेछ ।

मन्त्रीले नै थाहा पाएनन् के विधेयक ल्याएँ ?

सांसदहरुले सैद्धान्तिक छलफलमा धारणा राखिसकेपछि जवाफ दिन आएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल समेत अलमलिए ।

आफैंले कुन विधेयक ल्याएको हुँ भन्ने वास्ता नगरी बोल्न थाले, ‘सम्माननीय अध्यक्ष महोदय, यो विद्युत सम्बन्धी व्यापार विधेयक सम्बन्धी छलफलमा माननीय सदस्यज्यूहरुले भाग लिएर विभिन्न कुरा राख्नुभएको छ । ती कुराहरुमा हामी सचेत छौं ।’

पढ्नुहोस् मन्त्री रमेश रिजालको भनाइ :

…विद्युत हामीले म्याक्सिमम आफ्नो देशमा उपभोग गर्नुपर्छ र बाँकी विद्युतलाई बाहिर पठाउनुपर्छ भन्ने कुरासँग हामी सहमत छौं । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतले पनि विद्युत खरिद गर्ने विषय तपाईंहरुलाई जानकारी नै होला र बंगलादेशलाई पनि हामी मार्केटको रुपमा प्रयोग गर्नेतर्फ लागेका छौं ।

म एउटा कुरा के स्पष्ट गर्न चाहन्छु भने यो विधेयक यथास्थितिमा पारित हुन गइरहेको छैन । तपाईंहरुको सहभागितामा, संसदीय समितिमा पठाएर विस्तृत छलफल गराएर र तपाईंहरुको सहभागिताबाट परिस्कृत जुन विधेयक आउँछ त्यसैलाई दुवै सदनबाट पारित गर्ने गरी हामीले कार्यक्रम राखेका छौं ।

तपाईंहरुले व्यापक छलफल गरी परिस्कृत विधेयक पठाउने प्रयास गर्नुहुनेछ र तपाइँहरुले पठाएको परिस्कृत विधेयकलाई नै संसदबाट पारित गर्ने विश्वास दिलाउन चाहन्छु ।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफल समाप्त भएपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सांसद र मन्त्रीको ध्यानाकर्षण गराए, ‘माननीय सदस्यहरु यो विद्युत व्यापार नभई विद्युतीय व्यापार सम्बन्धी विधेयक भएको कुरा पनि म स्मरण गराउन चाहन्छु ।’

त्यसपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई उनले निर्णयार्थ प्रस्तुत गरे । प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भयो ।

पद अनुसार आचरण भएन : पूर्व सचिव थापा

संघीय संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापा विना अध्ययन संसदमा बोल्ने प्रवृत्ति पुरानै भएको बताउँछन् । ‘म के विषयमा बोलिरहेको छु भन्ने थाहै नपाई सांसदहरु बोल्छन् भन्ने यो एउटा बलियो प्रमाण हो । मन्त्रीलाई पनि मैले के विधेयक ल्याएँ, कसरी जवाफ दिनुपर्छ भन्ने थाहा नहुनुले हाम्रा मन्त्री कस्ता छन् भन्ने देखाउँछ’ उनले भने ।

यस्तोमा राष्ट्रिय सभाका अध्यक्षले छलफलमा भाग लिंदा विषयवस्तु पढेर भाग लिनुहोस् भन्नुपर्ने थापा बताउँछन् । ‘यो कुरा उहाँले सुरुमै भन्नुपर्दथ्यो । धन्न अन्तिममा सचेत हुनुभएछ । अन्यथा राष्ट्रिय सभाको थप बेइज्जत हुन्थ्यो’ उनले भने ।

राष्ट्रिय सभाको बिहीबारको छलफलले नेपालको संसद कसरी चलिरहेको भन्ने उदाहरण प्रस्तुत गरेको उनको टिप्पणी छ । पार्टीहरुका संसदीय दल जिम्मेवार नहुँदा यस्तो परिणाम आएको उनको भनाइ छ ।

‘नेता, उपनेता, प्रमुख सचेतक, सचेतकको काम फलानो विधेयकमा यो बोल्नुपर्छ भनेर तालिम दिने हो । तर, तिनको भूमिका नहुँदा आजको जस्तो संसदमा दृश्य देखा पर्न जान्छ’ उनी भन्छन् ।

उनी अगाडि भन्छन्, ‘जनताले सिटामोल नखाएर तिरेको राजश्वको दुरुपयोग भएको छ । पद अनुसार आचरण गर्दैनन् भने त्यो दुरुपयोग नै हो । अनावश्यक विषय बोलेर संसदको समयको दुरुपयोग गर्न पाइँदैन ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?