+
+

प्रकृतिमा रमाउन दिऔं हाम्रा नानीबाबुलाई

अन्जु भट्टराई अन्जु भट्टराई
२०८० असार २९ गते ७:०५

हाम्रा बालबालिका कति खुसी छन् ?

यदि खुसी नाप्ने कुनै यन्त्र हुँदो हो त यो प्रश्नले सायद हामीलाई निरास तुल्याउने थियो । किनभने हाम्रा नानीबाबुहरुमा खुसी दुर्लभ हुँदै गएको छ ।

उनीहरुलाई हामीले मीठो–मसिनो खान दियौं, सुकिलो लुगा दियौं, रोजेका खेलौना दियौं । उनीहरुले जे-जति माग्छन्, सबै दियौं । भएभएरका भौतिक सुविधा दियौं । तर, यी सबै कुराले हाम्रो नानीबाबुलाई खुसी दियो त ?

केही पाउँदा उनीहरु खुसी त आवश्य भए । तर, त्यो खुसी दिगो थिएन । किनभने एउटा कुरा प्राप्त भइसकेपछि उनीहरुले फेरी अर्को कुराको अपेक्षा राखे । ती सबै अपेक्षा पुरा गर्न संभव थिएन । अनि त नानीबाबुहरु दुःखी भए ।

अपेक्षाले दुःखी बनाउँछ । त्यसो भए खुसी केले बनाउँछ ? खुसीको स्थायी स्रोत के हो ?

खेलौना ? मोवाइल ? भिडियो गेम ? मःम–पिज्जा ? महंगा लुगा ? यी सबै त हामीले दिएकै थियौं । तर खुसीको स्थायी स्रोत थिएनन् यी । किनभने खुसी एक भावनात्मक स्थिती हो । भौतिक कुराको प्राप्तिले खुसीको परिपूर्ति गर्न सक्दैनन् । खुसी मान्छेको प्राकृतिक स्वभाव हो । अनि खुसीको सबैभन्दा ठूलो स्रोत प्रकृति हो ।

प्रकृतिसँग टाढा हुँदा एक्लोपनले सतायो 

हामी जति–जति प्रकृतिको नजिक पुग्छौं, उत्तिनै हामीले खुसी र आनन्द प्राप्त गर्छौं । गाउँघरका बालबालिका किन उन्मुक्त हाँसिरहेका छन्, खेलिरहेका छन् ? किनभने उनीहरु प्रकृतिसँग एकाकार भएर बाँचिरहेका छन् ।

हिलोमा खेलिरहेका छन्, पानीमा रुझिरहेका छन्, बारी–बगैंचामा दौडिरहेका छन्, बाख्राको पाठासँग रमाइरहेका छन्, गाईबस्तु चराइरहेका छन्, ऐंसेलु टिपिरहेका छन् । उनीहरु उमंगसाथ बाँचिरहेका छन् ।

तर, हाम्रा शहरिया बालबालिकालाई त्यस्तो अनुकुलता भएन । उनीहरु कोठाभित्रै भए । न माटोमा खेल्न पाए, न रुखमा चढ्न पाए, न आफैले ताजा फल टिपेर खान पाए, न चराहरुको गुँड देखेर रमाउन पाए । गुडिया, मोवाइल जस्ता निर्जिव कुराहरुले त्यो प्राकृतिक आनन्द दिनै सक्दैन ।

प्रकृतिबाट विमुख भएर बस्नुपरेको कारण यी नानीबाबुहरु एक्लोपनले सताइएका छन् । साथीभाईसँग खेल्न छाडेका छन्, घर–परिवारसँग घुलमिल हुन छाडेका छन् । सामान्य कुरालाई पनि धेरै सोचेर बसिरहेका छन् ।  यसरी उनीहरु डिप्रेसनको जोखिममा पर्दै गएका छन् ।

यसको समग्र असर उनीहरुको मानसिक, सामाजिक, आत्मिक विकासमा परेको छ । उनहिरुको पढाई खस्किदै गएको छ, आपसी सम्बन्धहरु बिग्रदै गएको छ ।

त्यसैले हामीले आफ्ना नानीबाबुलाई प्रकृतिको नजिक ल्याउनुपर्छ ।

प्रकृतिसँग जति नजिक, उत्तिनै धेरै खुसी

मैले देखेकी छु, हाम्रा विद्यालयका नानीबाबुहरुलाई खेतमा खेल्न दिइयो भने यति खुसी हुन्छन् जुन मैले कक्षाकोठामा कहिल्यै देखेकी थिइन । मैले उनीहरुलाई लुगाफाटोको कुनै पर्वाह नगरी धान रोप्नु, हिलो खेल्नु भनेकी थिएँ । खुला आकासमुनी माटो र पानीको स्पर्श पाएर उनीहरु वास्तवमै उमंगित भए । यस्तो उमंग सधै कायम रहे कति जाती हुन्थ्यो होला ।

हामी शहरिया अभिभावकको पनि आफ्नै वाध्यता छन् । बढ्दो खर्चका कारण यन्त्र मानव झै हुनुपरेको छ । न बालबालिकासँग भलाकुसारी गर्ने, न कतै घुमफिर गर्ने । तर, समय व्यवस्थापन गर्न सक्ने हो भने आफ्ना नानीबाबुका लागि फुर्सद निकाल्न कठिन भने छैन ।

नानीबाबुहरुलाई आफै गमलामा माटो भर्न लगाउने, फूल रोप्न लगाउने । करेसाबारीमा सागसब्जी रोप्न लगाउने । मलजल, गोडमेल गर्न लगाउने । उनीहरुलाई नै स–साना रुखमा चढेर फल टिप्न लगाउने । चराचुरुङ्गीका लागि छतमा पानी राख्न लगाउने । सडक कुकुरलाई खाना दिन लगाउने । पानीमा भिज्न दिने, हिलोमा खेल्न दिने, माटोमा हिँड्न दिने । यसरी प्रकृतिसँग एकाकार हुँदा उनीहरु कति फुरुंग हुँन्छन् ?

बालबालिकालाई हामीले बोट–बिरुवा रोप्नका लागि प्रेरित गर्न सकिन्छ । उनीहरुले रोपेका बोटबिरुवालाई बेलाबखत स्यहार्न, मलजल, गोडमेल गर्न पनि लगाउनुपर्छ । ती बोट–बिरुवा जति हुर्कदै जान्छ, हाम्रा बालबालिकाको खुसीको स्रोत पनि थपिदै जान्छ । आफैले रोपेको विरुवा कस्तो भयो होला, कति फूल फुले होलान्, कसरी फल फले होलान् ? यस्तो उत्सुकताले उनीहरुलाई सधै जागरुक र खुसी राख्छ ।

मानौं उनीहरुले नै रोपेको विरुवा हुर्कियो । ढकमक्क फूल फुल्यो । त्यहाँ भँमरा, मौरी, पुतली खेल्न आइपुग्छन् । यस्तो दृश्यले नानीबाबुहरुलाई कति आनन्द दिन्छ ?

फूलको बोट बढ्दै जाँदा त्यसको वरीपरी काँडाहरु उम्रिदै जान्छ । त्यो काँडाहरुको वीचमा पनि फूल ढकमक्क फक्रिन्छ । जीवनसँग त्यसलाई जोडेर हेरौं न । हाम्रो आसपासमा पनि कति धेरै समस्या, दुःख, अभाव हुन्छ । यी बाधा–अड्चन भएपनि हामीले आफ्नै लयमा फूल्नुपर्छ । फूललाई मिहिन रुपमा हेर्ने हो भने त्यो पत्र–पत्रमा छुटिदै जान्छ । हामी पनि त यी फूलका पत्र–पत्र जस्तै कति धेरै भूमिकाहरुमा बाँचेका हुन्छौं । कहिले छोरीको रुपमा, कहिले बुहारीको रुपमा, कहिले सासुको रुपमा, कहिले श्रीमतीको रुपमा, कहिले साथीको रुपमा, कहिले सहकर्मीको रुपमा ।

फूलसँग सबैलाई मोहित पार्ने सौन्दर्य हुन्छ, सुगन्ध हुन्छ । तर, यो कुरा स्थायी हुँदैन । आखिर फूल एकदिन त ओइलाउँदै जान्छ । अनि त्यो कुहिएर माटोमै मिल्न पुग्छ । हाम्रो जीवन पनि सधै एकनास रहँदैन । आज धन–दौलत, मान–प्रतिष्ठा, सुख–सुविधाले भरिपूर्ण भएपनि एकदिन ती सबैबाट बिछोडिनुपर्छ । जीवनको यो शाश्वत सत्यलाई पनि फूलले उद्घाटित गरिदिन्छ ।

तर यो कुरा फूलको मात्र होइन, फल, रुख, पशुपंक्षी, हावापानी, माटो सबैको हो । खास कुरा प्रकृतिको हो ।

हाम्रो समयमा हुर्किएका बालबालिका प्रकृतिसँग धेरै नजिक हुन पाइयो । धुलोमाटोसँग खेल्दै, हिलोझरीमा रुझ्दै हामी हुर्कियौं । कहिले खोलामा डुबुल्की हान्यौं, कहिले रुख चढ्यौं, कहिल जंगलमा चराको बच्चा खोज्दै हिँड्यौं ।

तर, हामीले जन्माएका छोराछोरीलाई त्यस्तो सुनौलो बाल्यकाल दिन सकेनौं । हामी शहरमुखी भयौं र भौतिक सुखमा बढी केन्द्रित भयौं । यो मोडमा आइपुगेपछि तपाईं हामी सबैलाई एउटै कुरा महसुष भएको छ, ‘हाम्रा नानीबाबुलाई जति नै भौतिक सुख सुविधा दिएपनि त्यसले जीवनको वास्तविक खुसी दिन सक्दैन ।’

अब यो कुरा बोध भएपछि हामी किन प्रकृतितर्फ नफर्कने ?

प्रकृतिमा फर्कौं । आफ्ना नानीबाबुलाई प्रकृतिसँग रमाउन प्रेरित गरौं । बनजंगलमा लैजाऔं । पशुपंक्षीलाई माया गर्न सिकाऔं । रुख–बिरुवा र फूलहरु रोप्न सिकाऔं । यसरी प्रकृतिसँग नजिक हुँदा उनीहरुको शारीरिक, मानसिक, सामाजिक र आत्मिक विकास हुन्छ ।

शारीरिक लाभ

जब हाम्रा नानीबाबुहरु जंगल जान्छन्, हिलोमाटोमा खेल्छन् तब उनीहरुलाई समय कटाउनका लागि मोवाइल चाहिँदैन । भोक जगाउनका लागि जंकफूड चाहिँदैन । गहिरो निद्राका लागि नरम ओछ्यान चाहिँदैन ।

किनभने यसरी उकाली ओराली हिँडेपछि मज्जाले भोक लाग्छ, राम्ररी निद्रा लाग्छ । शरीरको सम्पूर्ण व्यायाम हुन्छ । फोक्सोमा पर्याप्त अक्सिजन पुग्छ । उनीहरु तगडा हुन्छन् ।

मानसिक लाभ

नानीबाबुलाई हिलोमा खेल्न दिनुहोस् त, कुनै खोलाको किनारमा लगेर बालुवामा रमाउन दिनुहोस् त, कतै कमिलाको ताँती हेर्न दिनुहोस् त । उनीहरु कति रमाउँछन् ।

प्रकृतिमा भएका हरेक कुराले हाम्रा नानीबाबुलाई तनाव, चिन्ता, उदासी, एक्लोपनबाट मुक्त गर्छ । उनीहरु मानसिक रुपमा स्वस्थ हुन्छन् ।

सामाजिक लाभ 

हाम्रा नानीबाबुहरु साथीभाईसँग मिलेर जंगलमा जान्छन् । वृक्षरोपण गर्छन् । बोटबिरुवाको संरक्षण गर्छन् । फलफूल टिपेर बाँढीचुडी खान्छन् । यसरी उनीहरुमा सामाजिक भावनाको विकास हुन्छ ।

आत्मिक लाभ

प्रकृतिले बाँच्ने कला सिकाउँछ । जीवन पद्दती सिकाउँछ । चराचर जगतलाई बुझ्न सिकाउँछ । गाईबस्तु, चराचुरुंगी, किराफट्याङ्ग्राको भूमिका कति महत्वपूर्ण छ भन्ने बोध गराउँछ । अनि हाम्रा नानीबाबुमा प्रेम, आत्मियता, सौहाद्र्धता जस्ता सकारात्मक गुणको विकास गर्छ ।

किनभने प्रकृति आफैमा औषधि हो । अनि खुसी र आनन्दको दीगो स्रोत हो ।

भट्टराई अक्षरा स्कुलकी कार्यकारी निर्देशक हुन्

 

फोटो-भिडियो : विकास श्रेष्ठ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?