+
+
भन्सारबाट ९ किलो सुन चोरेर ६ करोडमा बिक्री :

सुब्बाकी प्रेमिकाको खातामा भेटियो ३० लाख, विचौलियाले किने आफन्तको नाममा जग्गा

गौरव पोखरेल गौरव पोखरेल
२०८० असार २९ गते २०:४०

२९ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयभित्र कर्मचारीले नै चोरी गरेर ९ किलो सुन बिक्री गरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १० पुस २०७९ मा बरामद गरेको विद्युतीय चुरोट (इ–सिग्रेट) भित्र सुन रहेको थाहा पाएपछि मुद्दा तथा लिलामी शाखाका नायब सुब्बा रेवन्त खड्कालाई कार्यालयले सीआईबीको जिम्मा लगाएको थियो ।

त्यसक्रममा खड्काले सुनसहितको भेप्स गोदामबाट साटफेर गरेर भन्सारका विचौलिया दिनेश बस्नेतसम्म पु¥याएको अनुसन्धानका क्रममा खुलेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की निर्देशक किरण बज्राचार्यले अनलाइनखबरलाई बताइन् ।

उनका अनुसार, भन्सारले बरामद गरेको भेप्समा सुन रहेको सुनेको भन्दै विचौलिया दिनेशले जानकारी गराएपछि खड्काले जाँच गरेका थिए ।

‘प्रशासनिक भवनको गोदाममा सीसी क्यामरा भएकाले कार्गो भवनको १११ नम्बर कोठामा सारेर जाँच गरेको पाइएको छ’, ब्यूरो प्रमुख बज्राचार्य भन्छिन्, ‘भन्सारले बरामद गरेको मालवस्तु मूल्यांकन समितिबाट मूल्यांकन भए पनि स्वस्थ्यमा असर गर्ने प्रकृतिको भएकाले लिलामी बिक्री नभइ थन्किएको अवस्थामा सुन रहेको थाहा पाएपछि मिलेमतोमा चोरी गरेको पाइएको छ ।’

प्रहरीले पक्राउ गरेका बस्नेतले बयानमा पनि १११ नम्बर कोठामा पुगेर भेप्स तान्दा धुँवा नआएपछि खोल्दा सुन जस्तो पहेँलो धातु झरेको बताएका छन् । ‘त्यसपछि रेवन्त खड्कालाई ए, दाइ सुन रहेछ त भन्दा उनले हो र ? जे गुर्नपर्छ गर मिलाउँ भनेको थिएँ’, उनले भनेका छन्, ‘त्यसपछि कार्यालय समयमा करिब ८÷९ दिन लगाएर खड्काकै उपस्थितिमा भेप्स फुटाएर त्यहाँ रहेको सुन निकालेर बाहिर लगेको हुँ ।’

सुन बाहिर लगेर उनीहरुले अर्कै ब्राण्डको इ–सिगरेट राखिदिएको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, ९ किलो सुन संकलन गरेर बस्नेतले भन्सारमा कार्गो एजेन्टका रुपमा काम गर्ने भाइ दिपेश बस्नेत र भिनाजु गोपाल सुवेदीको सहयोग लिएर बिक्री गरेको खुलेको छ ।

भाइ दिपेशलाई उनले ‘एकजना मानिसमार्फत सुन आएको छ’ भन्दै बिक्रीका लागि सहयोग गर्न आग्रह गरेका थिए । त्यसपछि भाइ दिपेश र भिनाजु गोपालसँग बस्नेत न्यूरोडस्थित विशालबजारमा घडी पसल सञ्चालन गर्दै आएका वेदप्रकाश अग्रवालसम्म पुगेका थिए । पछि अग्रवालले नै असन लगायत विभिन्न स्थानमा भारतीय नागरिकहरुलाई सुन बिक्री गरेर पैसा दिएको बस्नेत स्वयम्ले खुलाएका छन् ।

‘सम्पूर्ण सुन बिक्रीको रकम हिसाब गर्दा ६ करोड २१ लाख रुपैयाँ भयो भनेका थिए, त्यसमध्ये ६ करोड रुपैयाँ उनीहरुले दिएका थिए,’ दिनेश भन्छन्, ‘अवैध तरिकाले आएको सुन हो भन्ने भएकाले उनीहरुले बिल समेत नमागी सस्तोमा खरिद गरेका थिए ।’

९ किलो सुन ६ करोडमा बिक्री

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, भेप्सभित्रबाट निकालिएको ९ किलो सुन ६ करोड रुपैयाँमा उनीहरुले बिक्री गरेको पाइएको छ । नासु खड्काले सुन चोरी गर्न सघाए वापत विचौलिया दिनेशबाट ७५ लाख रुपैयाँ लिएको पाइएको छ ।

खड्काले त्योमध्ये ३० लाख रुपैयाँ प्रेमिकाको कृषि विकास बैंक र बैंक अफ काठमाडौंको खातामा जम्मा गर्न लगाएको पाइएको छ ।

प्रहरीले उनकी प्रेमिकासँग समेत बयान लिएको छ । त्यसक्रममा प्रेमिकाले खाँचो परेका बेला एकअर्काबीच सरसापट हुने गरेकोमा २०७९ चैततिर खड्काले ह्वाट्स एपमा फोन गरेर ५० लाख रुपैयाँ फिक्स डिपोजिटमा राखिदिन भनेको खुलाएकी छन् ।

‘मैले त्यत्रो रकम राख्न सक्दिन भनेपछि उनले पछि दुई वटा खातामा गरेर ३० लाख रुपैयाँ राखिदिएका थिए, मैले पछि फिक्स्ड डिपोजिटमा राखेर उनलाई रिसिप्टको फोटो खिचेर समेत पठाएको थिएँ’, उनले भनेकी छन् ।

थप ३५ लाख रुपैयाँ खड्काले उपलब्ध गराएको भाउजु र अरु दुईजनाको विभिन्न बैंकको खातामा हालिदिएको विचौलिया बस्नेतले बयानमा खुलाएका छन् । ‘थप १० लाख रुपैयाँ मैले विभिन्न मितिमा नगदै दिएको थिएँ’, उनले भनेका छन् ।

ब्यूरोका अधिकृतहरुका अनुसार विचौलिया बस्नेतले सुन बिक्री गरेर आएको पैसा जग्गामा लगानी गरेका थिए । स्रोतका अनुसार, बस्नेतले ससुरा रामकेशव थापाको नाममा भक्तपुरको मध्यपुर थिमी–१७, दिव्येश्वरी प्यानिङभित्र दुई करोड ७५ लाख रुपैयाँमा जग्गा खरिद गरेका थिए ।

उनले साथी अमृत कार्कीको नाममा समेत भक्तपुरमा ६ आना जग्गा खरिद गरेको पाइएको छ । प्रति आना ५० लाख रुपैयाँका दरले भक्तपुरमा ६ आनाका जग्गा खरिद गरेकोसमेत उनले स्वीकारेका छन् ।

‘आफन्तहरुले सुन बिक्रीबाट आएको पैसा व्यवस्थापनका लागि भक्तपुरमा जग्गा खरिद गरिदिएका रहेछन्, जग्गा ठ्याक्कै कहाँ पर्छ भन्ने बस्नेतलाई पनि थाहा रहेनछ’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘अरुको बयानबाट कित्ता नम्बर पत्ता लगाएका छौं ।’

त्यस्तै, ८० लाख रुपैयाँ डक्सटर ट्राभल्स एण्ड टुर्स प्रा.लि.को नाममा रहेको ग्लोबल आईएमई बैंकको खातामा जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । भाइ दिपेशलाई सुन बिक्री गर्न सहयोग गरेवापत उनले २० लाख रुपैयाँ दिएको पाइएको छ भने जग्गा खरिद गर्न सहयोग गर्ने विचौलियालाई समेत उनले ८ लाख दिएका छन् ।

सुन बिक्री गरेर पैसा आइसकेपछि सुकुटे बिच रिसोर्टमा पार्टी गर्दा ४ लाख रुपैयाँ खर्च गरेको पाइएको प्रहरीको भनाइ छ ।

यसरी खुल्यो रहस्य

प्रहरी अधिकृतहरुका अनुसार, १० पुस २०७९ मा चीनबाट आएको भेप्स नियमित जाँचका क्रममा बिहान ९ः१० बजे बरामद भएको थियो । ७३ प्याकेटमा भएको ७ सय ३० पिस भेप्स भन्सार कार्यालयले बरामद गरेको थियो ।

‘सुर्तीजन्य पदार्थ भएकाले त्यो लिलाम हुने कुरा पनि भएन, त्यत्तिकै थन्किरहेको थियो’, ब्यूरोका एक अधिकृत भन्छन्, ‘त्यहीबीच केही मान्छेहरु पटकपटक भेप्सबारे लिलामका लागि सोध्दै आएपछि शंका लागेको रहेछ ।’

स्रोतका अनुसार विमानस्थल भन्सारका प्रमुख प्रशासक सह–सचिव अरुण पोखरेललगायतलाई भेटेर पटक–पटक भेप्सबारे जिज्ञासा राख्दै छुटाउने प्रयास गरेका थिए ।

‘बजार मूल्य अनुसार झण्डै ५ लाखको सामानका लागि धेरै प्रेसर गरेपछि शंका लागेर यसमा अनुसन्धान थालिएको थियो, सुरुमा लागूऔषध वा अरु केही हुनसक्ने अनुमान भन्सारका अधिकारीहरुले गरेछन्’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘ताकेता गर्न नियमित आइरहेका व्यक्तिबारे शंका लागेर छानबिन पनि सुरु भएको थियो, त्यही बेला उनी पनि आउन छाडेछन्, त्यसपछि शंका झन् बढ्यो ।’

पटकपटक आइरहेका मान्छे आउन छाडेपछि भन्सार प्रशासकहरुलाई शंका लागेर सामान हेर्दा सामान सही अवस्थामा देखिएन ।

‘सुटकेश त्यही थियो, तर भित्रको सामान फेरिइसकेको थियो’, स्रोत भन्छ । प्रहरीमा प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले दिएको बयान अनुसार त्यो सामानको बरामद गर्ने बेला ड्यूटीमा रहेका टाइपिष्ट नासु सरोज श्रेष्ठले फोटो खिचेको पाइएको थियो । त्यसक्रममा फोटोसँग गोदाममा भएको सामान जुधाउँदा फेरिएको पाइएको उनले बताएका छन् ।

त्यसक्रममा गोदाम व्यवस्थापनमा खटिने नायब सुब्बा खड्कालाई बोलाएर भन्सारका हाकिमहरुले सोधपुछ गरेका थिए । सुरुमा त उनले त्यहीँ ‘मिसप्लेस’ भएको हुनसक्ने बताए । तर, लामो केरकारपछि उनले आफूले सामान्य ठानेर लिलाम भएको अरु सामानसँगै त्यो ‘रिप्लेस’ गरेर दिएको दाबी गरे ।

‘थप सोधपुछ गर्दै जाँदा उनले त्यहाँ सुन रहेको भन्सारका अधिकृतहरुसँगै स्वीकारेका रहेछन्’, ब्यूरोका एक अधिकृत भन्छन्, ‘त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ब्यूरोमा जाहेरी दिएको थियो ।’ त्यसक्रममा प्रहरीले छ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका नासु खड्का, भन्सारका विचौलिया दिनेश बस्नेत, भोटेबहालका वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरग, शान्तिनगरका अमृत कार्की र पोखराका निर्मलकुमार विकविरुद्ध प्रहरीले आपराधिक विश्वासघात र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाएको छ ।

कार्यालयले हालै जिल्ला अदालत, काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको छ । प्रकरणमा विचौलिया दिनेशका भाइ दिपेश, भिनाजु गोपाल सुवेदी र काभ्रेका रामकेशव थापा फरार छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?