+
+

श्रीमानको जन्मदिन मनाएर फर्किएलगत्तै आत्महत्या

आरोपीलाई एक लाख धरौटीमा छाड्ने आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते २१:४३

३१ असार, काठमाडौं । नेपाल प्रहरीकी सहायक हवल्दार ३५ वर्षीया प्रतीक्षा खड्काका श्रीमान् राज खड्काको ५ असारमा जन्मदिन थियो । जन्मदिन मनाउन काठमाडौंको भंगालस्थित बुबाको घर जाने सल्लाह थियो । त्यही अनुुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत उनी अपराह्न ४ बजे नै छुट्टि लिएर घर फर्किएकी थिइन् ।

प्रहरीका अनुसार घरमा आएर श्रीमान् राजसँगै उनी कपडा खरिद गर्न महाराजगञ्ज चोकतिर गइन् । फर्किएर गरगहना लिन टोखा नगरपालिका–७, तिलिङ्गाटारस्थित बहिनी लक्ष्मी खत्रीको डेरामा पुगिन् । फर्किएर सिधै भंगालस्थित बुबाको घरमा गएर श्रीमानको जन्मदिनको केक काटिन्, फर्किएर साढे ११ बजेतिर घर आइपुगिन् ।

घर आएर प्रतीक्षा छोरीसँगै सुतिन्, श्रीमान् राज बेग्लै सुतेका थिए । बिहान ५ बजे उनका श्रीमान् राज बाहिरको हल्लाखल्ला सुनेर ब्यूँझिए । उठेर हेर्दा श्रीमती प्रतीक्षा भान्छा कोठाबाट बाहिर रहेको बरण्डामा झुण्डिरहेको अवस्थामा भेटिइन् ।

यातना दिएको आरोप

घटनालगत्तै प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । तर, घटनास्थलमा प्रतीक्षाको सुसाइड नोट अथवा अन्य कुनै सन्देश फेला परेन ।

उनको परिवारले श्रीमान् राजले दिएको पटकपटकको शारीरिक र मानसिक यातनाका कारण उनी आत्महत्या गर्न बाध्य भएको दाबी गरेको छ ।

‘विवाहपछि उनको पतिले बारम्बार कुटपिट गर्दा पाठेघरमा पनि समस्या भएको थियो, दिदीको तलब आउने खाताको एटीएम कार्ड समेत प्रयोग गर्न दिएका थिएनन्’, प्रतीक्षाकी बहिनी लक्ष्मी खत्रीले प्रहरीमा दिएको किटानी जाहेरीमा भनिएको छ, ‘दिदीलाई पतिले मोबाइल पनि प्रयोग गर्न दिन्थेनन् भने अफिसबाहेक घर बाहिर जान पनि दिने गरेका थिएनन् ।’

दिदी लक्ष्मीले जाहेरीमा भने अनुसार, पटकपटक यातना दिएपछि सम्बन्ध विच्छेद गर्न भन्दा पनि उनले स्वीकारेका थिएनन् ।

‘सहन नसकेर पटकपटक सम्बन्ध विच्छेद गर्न भन्दा पनि तड्पाएर राखेको थियो, कतिसम्म भने कि तैंले जन्माएको छोरी मारिदिउँ कि मर्छस् भन्दै घाँटीमा खुकुरी राखेर समेत धम्की दिने गरेकी थिइन्’, उनले भनेकी छन्, ‘नाबालक छोरी ६ वर्षकी प्रिसियसलाई पनि आफू र दिदीलाई कुटपिट गर्ने गरेको पटकपटक बताएकी छन् ।’

छोरी प्रिसियस खड्काले पनि प्रहरीसँग बयानमा जन्मदिन मनाएर आएपछि ‘बाबा र आमा किचेन कोठामा गएर झगडा गरेको’ भनेकी छन् । उनले पनि बुबाले आमालाई पहिले कुटपिट गर्ने र आफूलाई पनि गाली गर्ने गरेको खुलाएकी छन् ।

आफन्त सर्मिष्टा थापाले प्रतीक्षालाई श्रीमान् राजले सामान्य विषयमा पनि गालीगलौज गर्ने गरेको बताएकी छिन् । प्रहरीका अनुसार, उनीहरु सासुससुरासँग ३÷४ वर्षअघिदेखि छुट्टाछुट्टै बस्दै आएका थिए ।

‘श्रीमानले उनलाई तेरो कारण मेरो बुबाआमा मबाट छुट्टिएर बस्नु पर्‍यो भनेर समेत शारीरिक र मानसिक यातना दिँदै आएका थिए’, उनले भनेकी छन्, ‘तँ झुण्डिएर मर्छेस् कि छोरीलाई छतबाट फालिदिउँ भनेर समेत धम्की दिने गरेका थिए ।’

प्रहरीका अनुसार, मृतकको परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले प्रतीक्षाका श्रीमान् राजलाई पक्राउ गरेको थियो । पक्राउ गरेर अनुसन्धान सकेर बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?